यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कथा - ठूलो रुख I


विपुल सिजापति 


झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु तल भुँईमा झर्दथे । भुँईमा झरेका ति सेता पुष्पपत्रहरुले अनौठो नक्कासी गर्दै एक आपसमा मिलेर कुनै सुन्दर चित्र बनाउन प्रयाशरत् भए झैं प्रतित हुन्थ्यो । म मुग्ध भएर निमग्न ति पत्रहरुलाई हेरिरहन्थें । पश्चिमा बायुको बिहानी मन्द वहावले कोठाभरि फूलका सुगन्ध हुलिदिन्थ्यो । मन्द चीसो हावामा मिसिएको त्यो फूलको सुगन्ध म नाथ्री फुलाएर फोक्सो भरिने गरी तान्थें । मलाई औधी मनपर्दथ्यो त्यो वासना र झरेका पुष्पपत्रका अपूर्ण अपूर्व चित्र ।

एकाध घण्टा पछि त्यो पत्र झरेको ठाउँमा घाम तेर्सो परेर लाग्दथ्यो । त्यस बखत सम्म सूर्यले आफ्नो प्रतापमा बृद्धि गरिसकेको हुनाले ति कोमल पुष्पपत्रमा निहीत आद्रता क्षणभर मै शोषीत हुन्थे र ति पत्रहरु अबभने चार बीसः बसन्त पार गरिसकेका निस्तेज बृद्ध शरीर झैं प्रतित हुन्थे ।

अफिस जाने बेलामा झ्याल बन्दगर्नु अगाडी म ति पत्रहरुलाई हेर्दथें । थकित उदास गालीगढ जस्ता ति पत्रहरु वैलाएको देख्दा मनभरि एकतमासको अनौंठो उदासी छाउएयँथ्यो । म मन दुखाएर झ्याल लगाउँथें ।

मलाई माया लाग्दथ्यो ति पत्रहरुका, आदर गर्दथें तिनलाई, त्यो बृक्षलाई । मैले कहिल्यै त्यो रुखमा पानी हालिन, कहिल्यै स्याहार सुसार गरिन त्यो रुखको । पर्खाल पारीको त्यो रुख र मेरो सानिध्यता डेरासरेर आएको दिनदेखि नै सुरु भएको थियो । मेरो झ्यालै सम्म आईपुग्ने गरी त्यो हाँगो मात्र कसरी फैलिएर आईपुगेछ कुन्नी !

झरीपर्दा म बाहिर झ्यालबाट त्यो हाँगाको टुप्पा हुरीको वेगले मेरो झ्यालमा आएर ठोकिन्थ्यो र ढक्ढकाएको जस्तो लाग्दथ्यो । लाग्दथ्यो, ऊ झरीले निथ्रुक्क भिजेको हुँदा भित्रआउने अनुनय पोखिरहेको छ, बिन्ती बिसाईरहेछ । म किंकर्तव्यबिमुढ भित्र आएर पल्टन्थें । पानीले निथ्रुक्क भिजेको त्यो हाँगा केहि नुहेको हुन्थ्यो र त्यसका पातहरु लपक्क एकअर्कासंग टाँसिएर रहन्थे, मानौं मैले झ्याल नखोलिदिंदा ठुस्केर एक आपसमा चुपचाप गुजुल्टो परेर न्याँस्रीदै घुर्कि देखाएर बसेको जस्तो ।  सायद रातभरि त्यसैगरि बस्दो हो, बादल उघ्रीएर जुन देखा पर्दा जुनको उज्यालोमा म सुतेको कोठा भित्र चिहाउँदो हो, मलाई देखेर फेरी माया पलाउँदो हो तब त बिहान फेरी मैले झ्याल खोल्ने बित्तिकै झ्लायमा ठोकिएर पुष्पपत्रहरु झारेर अभिनन्दन गर्दै प्रेम प्रकट गर्दथ्यो ।

समयले छलाङ हान्यो, अब फूललाई बिस्थापीत गर्दै हाँगाहरुमा जवानीका लक्षण देखिए । दानाहरु हाँगाभरि छपक्कै लागेका थिए । नुहेर त्यो हाँगो अब भने झ्याल खोल्दा पनि नठोक्किने भएको थियो । त्यसमा लटरम्म लागेका चिल्ला दानाहरु म झ्याल बाहिर हात निकालेर सुमसुमाउँथें, हृदयका प्रेम तरंगहरु त्यसमा समाहित गर्दथें । संचारीत प्रेमले होला रुख बेसमारी लहराउँथ्यो, हावासंगै ।

दानाहरु पाक्न थाले । त्यो हाँगा र बृक्ष प्रति मेरो मनमा माया र सन्मान दुई गुणा बढ्न गयो । मैले बृक्षको महत्वा संझें, देन र उपादेयता मनमनै गमें र त्यो हाँगालाई छोईरहें । पाकेका राता दाना देखेर मनमा अगाघ प्रेम छल्किएर आयो र मैले हाँगालाइ सुस्तरी हल्लाए । हाँगाबाट केहि दाना फल झरे । मैले ति फलहरुलाई निकै बेर हत्केलामा राखेर हेरिरहें, चाखें, बडो सुस्वादु थिए । मैले धीत मरुञ्जेल श्रद्धाका साथ रुखलाई हेरें । रुखमा कतै कतै झुसिल्किरा टाँसिएका रहेछन । मनमा झस्का पस्यो र तुरुन्तै पल्लो घरको मालीलाई बोलाएर किटनाशक औषधी दिएर छर्न लगाए ।

पोहर सालको फलको स्वाद अझैसम्म जिब्रोमा गढेको थियो । यसपटक फूल फुल्नु अगावै मैले मालीलाई बोलाएर उन्नत जातको मल दिए, किटनाशक औषधी दिंए र राम्रो स्याहार गर्न भने । म दिनहुँ मालीले रुखको स्याहार गर्यो गरेन हेर्थें, औषधी हाल्यो कि हालेन चियो गर्थें । हावा आएर हाँगाहरु हल्लिदा म धन्यवाद दिएको ठानेर मग्न हुन्थें ।

मौस बदलियो । रुखमा पालुवा टुसाउन थाले । म प्रसन्न भए । हृदयले फेरी पुरानो पुष्पसुगन्ध माग्यो, आँखाले फेरी पुष्पपत्रका अपूर्ण चित्र हेर्न खोज्यो । मैले झ्याल खोलें अचम्म यसपाली हाँगा झ्यालमा ठोकिएन । मैले दुई तीन पटक झ्याल खोलें बन्द गरें तर हाँगा झ्यालमा ठोकिएन । उदासीको परकाष्ठामा पुगेर मैले अनुनय भरिएका आँखाले रुखलाई हेरें ।
 
हाँगा अग्लिई सकेछ, रुख ठूलो भै सकेछ । आजकाल मैले त्यतापट्टिको झ्याल खोलेको छैन ।

Posted by Unknown on 4:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कथा - ठूलो रुख I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011