दिलकुमारको फेसबुकभित्र "आरुबोटे कान्छो"
कथा:
बिबेक दुलाल क्षेत्री दमक
यो दिल कुमारको इति ब्रितान्त हो।अर्थात दिल कुमार नेम्बाङ्गको कथा हो। पुर्बी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ति पहिलो पल्ट टेकेको यो युबक आफ्नो बाजे र एक्ली आमाको पालन पोशणमा हुर्कियो। बाबुचाही इन्डियन लाहुरे हुँदै उतै कारगिलको युद्दमा बितेपछी हजुरबाजेको रेखदेख र बिधुवा आमाको ममतामा दिलकुमारले आफूलाई मेट्रिकसम्म पास गराउन सफल भयो। क्याम्पस पनि गयो तर त्यसपछिको पढाइ चाँही बिचमा छोडि दियो दिल कुमारले। पढाइ छोड्नाको कारण कथामा तल आउछ। किनकी कथा भर्खर शुरू भएको छ, सकिएको छैन।
दिल कुमार अहिले घरमा छैन। घरमा छैन भन्नाले देशभित्र पनि छैन। अलि परै छ।घर बाहिर देहरादुन, दिल्ली, मुम्बई भन्दा पनि टाढा। सिधा शब्दमा अहिले सङ्युक्त अरब इमिरेट्सको दुबइ भन्ने शहरमा छ। त्यसो त दुबइमा शुख छैन दिल कुमारलाई । दिलकुमार कहिले राती , कहिले दिउसो गर्दै यौटा सेक्युरिटी कम्पनिमा बाह्र घण्टा ड्युटीगर्छ।दिल कुमारलाई रात ,रात जस्तो लाग्दैन । दिन ,दिन जस्तो लाग्दैन। किनकी दिनमा गर्नु पर्ने काम उ राती गर्छ। अनि राती सुत्नु पर्ने उ दिनमा नै सुत्छ।दिल कुमारको बाजेको सपना थियो नातिलाई छोरा जस्तै लाहुरे बनाउने। तर पैतिस बर्सकै अल्प आयुमा छोरा फौजी लडाइमा परायाभूमिमा बितेकाले दिल कुमारलाई बाजेले बरू खाडी देश भए नी गए हुन्छ भन्ने कुरामा जोड दिए। आमा चाँही आफ्नो छोराले धेरै पढेर आफ्नै देशको सरकारी जागिर नभए यसो मास्टरी पेशा गरेर भए पनि घ्ररमा नै बसोस भन्थिन । तर दिल कुमारले कहिले धान नाच कहिले भलिबलको नशाले गर्दा धेरै शिक्षा हासिल गर्न सकेन र अहिले दुबइमा छ।
आरूबोटे कान्छो । उस्को उपनाम। दिल कुमार हमेशा यहि उपनाम प्रयोग गर्छ । तर फेसबूक बाहेक याहु ,स्काइब, जिमेल, ट्वीटर,हटमैलमा दिलकुमार नाम नै प्रयोग गर्छ । आरुबोटे कान्छोले आजकल अ र द बाट नाम शुरू भएका केटी साथीहरू आफ्नो लिस्टमा राखेको छ। त्यसो त केटा साथीहरू नभएका भने होइनन तर ती नगन्य छन् । तर केटी साथीहरूको नामको फेरीहस्त भने लामै छ। जस्तोकी अनामिका ,अङ्गुरा ,अनिशा ,अनिता ,अप्सरा ,अजीता ,दिपीका, दिब्या ,लुका ,देवी ,दिक्षा ,देबु ,रक्षा आदि । युबकहरूको नाम शुभम ,शौरभ , रमेश ,बिनोद इत्यादी । आरूबोटेले अब घर फर्कियो भन्न चाँही मिल्दैन । तर कहिलेकाही बाजे र आमालाई फोन गर्छ । पैसा पठाउछ । तर ड्युटि पछिको अत्यधिक समय फेसबुक खोल्दैमा रित्याउछ । खाना खानु, सुत्नु ,आरामा गर्नु भनेका तपशिलका कुरा हुन आरूबोटेलाई । आरूबोटे उर्फ दीलकुमार आफूलाई बिहे नगरेकोमा गर्ब गर्छ । एकैदिन एकैपल्टमा पाच पाच जनासित च्याटिङ्गमा गफ गर्दा आरूबोटे आफ्नो भोक तिर्खा बिर्सन्छ ।तर आफ्ना लिस्टका थुप्रै युबतीका नाममध्ये एकजनाको नाम पनि उस्ले डिलेट गर्न उचित ठानेको छैन। यो कस्तो खालको भुत सवार भएको हो आरुबोटेलाई । यो सम्झिदा उ छक्क पर्दै मुश्कुराउछ । केही आरूबोटे कान्छाका परी सम्बाद हेरौ :-
दिपिका : मेरो आरू तिमी कसरी आरूको बोटमा चढ्यौ ?
आरूबोटे कान्छो तिमीले शिकाएर!
अप्सरा :ए बोटे आरूको बिरूवा छ तिमीसित ?
आरूबोटे कान्छो : छ नी पठाइ दिउ ल्याप्टपबाट !
देवी: आरूबोटेजी !हालखबर के छ नि?
आरूबोटे कान्छो :अहीले सम्म त ठिकै छ देवीजी!अनी हजुरलाई कस्तो छ नी सुनाउनुहोस्न ।
अनामिका :तपाइ मलाइ कहीले बिहे गर्ने आरूबोटे !
आरूबोटे कान्छो :तिम्रो र मेरो बाबाआमाले हामी दुवैको इच्छामाथी स्वीकारोक्तीको लाहाछाप लगाएपछि ।
अङ्गुरा :ए मेरो परदेशी आरू !तिमी भन मलाइ म के गरौ ह, मलाई केटा हेर्न आएका आएकै छन् ।
आरूबोटे कान्छो (हास्दै) :अङ्गुरा तिमी बिहे गर ल !
बिनोद :हेल्लो दीलकुमारजी गाउघरको हाल खबर के छ?
दीलकुमार ;थाहा छैन।
शौरभ :दीलकुमारजी के छ देशको नयाँ खबर ?
दीलकुमार :थाहा छैन यार!
शुभम :अस्ती नेपालमा त थुप्रै मान्छे मरेछन नी !
दीलकुमार :मर्न देउ यार म डाक्टर हैन ।
रमेश :दीलकुमारजी !के छ नी आफ्नो हाल खबर?
दीलकुमार :ए केटाहरू कति ह्याङ्ग गरेको !बुझन यार एउटी लाइनमा छे। सरी ल!
मैले भनि हाले । दीलकुमार धेरै दीलकुमार रहेन । उ अचानक आरूबोटे कान्छो भयो । साथीहरू उसलाइ दीलकुमार नै खोजिरहेछन ,बाजे आमाहरू दीलकुमार नै सम्झिरहेछन ।तर दीलकुमारभित्र देश दुखेन किन ?आफन्त दुखेन किन ?प्रश्न गम्भीर छ। दीलकुमार दुबइ जसै पस्यो । फेसबुकभित्रको आरूबोटे कान्छो भयो ।थुप्रै देश बिदेशमा रहेका नेपाली युबतीहरूको आरू भयो त कतिको आरूको बोटै भयो । यो निश्चित छ आरूबोटे आरूकोबोट भएर दुबइ सधैं बस्दैन । त्यति सारा युबतीको सपना उसले पुरा गर्न पनि सक्दैन । सक्छ त उस्को आमा र बाजेको दुखमा खुशी बाड्न । हद भए आरूबोटे नै सहि स्वदेशी माटो चिन्ने एउटी सिधा ,सरल मिजासकी युबतीको पति बन्न । म आरूबोटे कान्छालाई दीलकुमार नेम्बाङ्गमा पुनर्स्थापित गर्छु। उ दीलकुमार नै होस् । नेपाल आमाको दीलकुमार । दीलकुमारको प्रबेश हुन्छ । उ मलाइ के छ रमेशजी भन्दै हात मिलाएर आफ्नो अफिसको ड्रेस नै नखोली ल्याप्टप खोली फेसबुकभित्र च्यातिङ्गमा ब्यस्त हुन्छ । पाठकहरू !दीलकुमारको कथा सिध्दियो ।
बास्तबिक नाम :भानु भक्त दुलाल
दमक ,झापा
हाल :अबुधाबी ,यू ए इ ।
Posted by Unknown
on 4:56 PM.
Filed under
feature,
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0