सोच्न थालें गम्न थालें तिमीलाई देखेपछि
सोच्न थालें गम्न थालें तिमीलाई देखेपछि
तिमी जस्तो दुरूस्त नै एउटा गजल लेखेपछि
जून हाँस्यो अँधेरीको केश राशि पन्छाएर
तिमी हाँस्यौ भनी हाँसे,होला अब के के पछि
सगर सारा शून्य थियो सिंगारिन थाल्यो अब
तिम्रो नाम इन्द्रेणीले आकाशमा लेखेपछि
टुङ्गिएको रहेनछ मेरो जीवन-यात्रा अझै,
बल्ल अब सुरू होला तिम्रो आँगन टेकेपछि
'मनु'लाई सोध तिमी,मलाई केही थाहा छैन
कस्तो हुन्छ आफूलाई फूलैफूलले छेकेपछि ।
१ चैत २०४६,बानेश्वर,काठमाडौँ
