दुई दिने 'अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सव, २०७१' सम्पन्न
१४९ औँ मोतीजयन्तीको अवसर पारेर नेपाली गजलको विकासमा कृयाशील संस्थाहारू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मन्चको आयोजना र देश विदेशका एक दर्जन संस्थाको सहआयोजनामा राजधानी काठमाडौँको शिल्पी थिएटरमा 'अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सव, २०७१' सम्पन्न भएको छ । भदौ ६ र ७ गते २ दिनसम्म काठमाडौँको शिल्पी थिएटरमा आयोजना भएको महोत्सवको पहिलो दिन शुक्रबार गजलगोष्ठी र विशेष गजलवाचन सम्पन्न भएको छ ।
कार्यक्रममा पुराना गजलकारहरू बूँद राना, ललिजन रावल, रवि प्रान्जल, करुण थापादेखि नयाँ पुस्ताका नवीन चिराग, वासुदेव गौतस, तपेन्द्र घोडासैनीनगायतले गजलवाचन गर्नुभएको थियो ।
कार्यक्रम सुरेश सुवेदीको सन्चालन र अन्तर्राष्ट्रिय नेपाली गजल मन्चका अध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा भएको थियो ।
महोत्सवको दोस्रो दिन भदौ ७ गते विभिन्न स्रष्टाका आधा दर्जन गजलकृति, गजलबहस नामक पुस्तकको ई-कपी विमोचन, विशिष्ट स्रष्टा सम्मान तथा देशका चर्चित गजल गायक गायिकाद्वारा प्रत्यक्ष गजलगायन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २०५० सालअगाडिदेखि नेपाली गजललेखन, समीक्षणका क्षेत्रमा निरन्तर कृयाशील एक दर्जन स्रष्टा, समीक्षकलाई 'विशिष्ट सम्मान', ०५० यता नेपाली गजलको उत्थानमा समर्पित एक दर्जन स्रष्टा, समीक्षक, सङ्गीतकर्मी तथा सन्चारकर्मीलाई 'सम्मान' प्रदान गरिएको छ । विशिष्ट सम्मान प्राप्त गर्ने गजलस्रष्टाहरू ललिजन रावल, बूँद राना, रवि प्रान्जल, करूण थापा, डा. विजय सुब्बा, डा. घनश्याम न्यौपाने परिश्रमी, श्रेष्ठ प्रिया पत्थर, डा भोजराज घिमिरे आदि थिए । यसै गरी देवी नेपाल, अच्युत घिमिरे, शैलेन्द्र समदर्शी, शेखर अस्तित्व, याम थुलुङ आदिलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा अनाममण्डलीले हरेक वर्ष प्रदान गर्दै आएको पाँच हजार राशिका 'मोतीराम-सेतुराम गजल पुरस्कार, २०७०' पनि दुईजनालाई प्रदान गरेको छ । सङ्गीततर्फको पुरस्कार यस वर्ष गायक/सङ्गीतकार शिव परियारलाई प्रदान गरेको छ भने पुस्तकतर्फको मोतीरम-सेतुराम पुरस्कार खकेन्द्र साउद समर्पणको गजलकृति 'आवरण'लाई प्रदान गरिएको छ ।
महोत्सवको अन्तिम दिन हिजो शनिबारको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मन्चले आयोजना गरेको 'अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०७१ का पुरस्कृत गजलकारहरू अछामका कमल सङ्घर्ष, कैलालीका तपेन्द्र घोडासैनी र मकवानपुरका श्रीराम अधिकारीलाई गजलका क्षेत्रमा राखिएको हालसम्मकै ठूलो राशिको पुरस्कार पनि प्रदान गरियो । यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: अमेरिकी डलर ३००, २०० र १०० प्राप्त गरेका थिए ।
प्रत्यक्ष गजलगायन कार्यक्रममा चर्चित गायक शिव परियार, सुवास अगम, करण श्रेष्ठ, राज सागर र गायिका मिलन अमात्यले आधा दर्जन गजल गाएका थिए ।
कार्यक्रममा भारतबाट शैलेन्द्र समदर्शी र शेखर अस्तित्व तथा भुटानबाट याम थुलुङको सहभागिता रहेको थियो भने देश वेदेशमा रहेर गजल लेख्ने सयौँ गजलस्रष्टाको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय नेपाली गजल मन्चका महासचिव घनेन्द्र ओझा तथा अनाममण्डलीका महासचिव जय गौडेलले सन्चालन गरेको कार्यक्रम अनाममण्डलीका अध्यक्ष बलराम दाहालको सभापतित्व र गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

