लघुकथा:-भानेन्द्र सम्बाहाङफे ‘जुझारु’
पुषको मुटु छेड्ने जाडो । मानिसहरु सहरको केन्द्रमा पर्ने रत्नपार्कमा आ–आफ्नो सुरमा मेट्रोरेलको गतिमा आवतजावत गरिरहेका छन् । सडकमा मानिसहरुको एउटा ठूलो हुल उत्तेजित नारा लगाउँदै आफ्नो मान्छेलाई ‘सहिद घोषणा गर !’ भन्दै अगाडि बढिरहेको छ । एउटा अपराधिले अर्को अपराधिलाई मारेको रहेछ । नजिकै रहेको खुलामञ्चमा मानवअधिकारकर्मीहरु देशमा, समाजमा सरकारले अमन–चयन, शान्ति–सुरक्षा कायम गर्न सकेन अनि मान्छेको स्वतन्त्ररुपमा बाँच्न पाउँने नैसर्गिक अधिकार हनन् भयो भनेर सकेसम्मको शक्तिले सहरको कानै खाने कर्कश ध्वनिमा भाषण गरिरहेका छन् । मानिसहरु उनीहरुको भाषण र सडकको जुलुशलाई दिक्कलाग्दो अर्थहीन दैनिकी सम्झेर आफ्नो गन्तव्यतिर लागिरहेका छन् । सडकमाथिको आकासेपुलमा थुप्रै माग्नेहरु कारुणिक अवस्थामा अनुनय–विनय गरिरहेका छन् दुईचार रुपैयाँको लागि । तीमध्ये कसैका आँखा छैनन्, कसैका आधा खुट्टा अनि हात, त कसैका रगताम्मै घाउहरु, देख्दै आङ सिरिङ्ग हुने दृश्य तर मानिसहरु जो तिनका छेउबाट टेकुँलाझैँ गरेर हिँडिरहेका छन्, कसैको न आँखाले अनुभूत गर्छ न कानले ! निरन्तर विचराहरु भनिरहेका छन्–“भोक लाग्यो, एक रुपियाँ देऊ !”, “जाडो लाग्यो, दया गर !”, “औषधि गर्छु, पैसा हजूर !” आँखाभरि आशा बोकेर पीडा, रोग र अभावले ग्रस्त जीवन केहिदिन लम्याउँन चाहनेहरुलाई नदेख्ने सबैभन्दा चेतनशील प्राणी मान्छेहरुको हूल बगिरहन्छ निरन्तर हिमनदीझैँ तर जीवन भीक्षा माग्नेहातहरु निराशिन्छन् हरेक दिन । यो कस्तो विडम्बना हरे पशुपतिको देशमा !
काठमाडौँ ।
२०६८/०९/२९

