एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन्छाएर जुरुक्क उठी ढोका उर्घान पुगेँ । ढोकामा काम गर्ने फुच्चे ठिङ्ग उभिएको छ -
"म्याडम् ! सर बाहिर जानु पर्ने भयो हजुर मेडिकलमा आइसियोस् रे ।" आफ्नो भनाइ सिध्याएर ऊ भान्छा कोठातिर लाग्छ ।
एउटा पत्रिकालाई लेख नभै भएन भनेर फोन गरेको गर्यै गर्यो त्यही लेख सिध्याउन लाग्दा रातको दुई्रबजे मात्र सुतेकी ढिलै भयो उठ्नलाई, पुजाआजा त्यसै छ फेरि मेडिकलमा जानु पर्यो । मन उसै ओसिलो बन्यो । बाथरुममा पसेर हतार हतार आङ्गमात्र खुलुक्क पखाल्न थाल्छु ।
ओ हो ! पानी कति चीसो झण्डै बरफ जस्तो हात गोडा चीसोले झमझमाउन थाल्छ पुजा सकि सक्दा पुजा कोठाबाट निस्कनै लाग्दा फुच्चे बोल्छ-
"म्याडम चिया ।"
"मेडिकलमै ल्याइदे ।" यति भनेर ज्याकेटको चेन लगाउँदै जान्छु मेडिकलमा । नभन्दै डाक्टर रोहनलाई टिचिङ अस्पतालसम्म छाडेर उहाँ भक्तपुर जाने हतारमा हुनुहुँदो रैछ म पुग्नासाथ उहाँहरु हिडिहाल्नु भयो बाइकमा ।
चीसोले मुटु लगलग कमाए पनि पसलमा बिरामीहरु जाँच्दा औषधीहरु दिदा र उनीहरुले मागेको सामान दिँदा बिस्तारै चीसो हराउन थाल्छ । फुच्चेले ल्याएको चिया चीसो भैसक्दा पनि खाने मौका पटक्कै जुरेन । कोही डाक्टरलाई्र वेलुकी जँचाउन नाम दर्ता गर्न आउँछन् त कोही औषधी लिन कोही कोही स्वास्थ सम्बन्धि सुझाव मात्र लिने पनि छन् । सेवाको लागि बसेपछि नाफामा मात्र अल्झन पनि भएन । यसरी नै समय सलल चिप्लन्छ ।
ब्यस्तै ब्यस्तमा नौ बजि सकेछ मान्छेको आगमन नभएको मौका छोपी पत्रिकामा नजर डुलाउँछु । अकस्मात मेरो ध्यान सोकेसमाथि रहेको डायरीमा पर्छ
"अरे ! कस्को हो यो डायरी"
भित्र पल्टाउँछु शुरुको पानामै छ परिवर्तन नेपाल मन अलि उत्तेजित हुन्छ यो डायरी परिवर्तनको रैुछ तर ठेगाना………………… यता उता सबै तिर खोजेँ पाउन सकिन । न ठेगाना छ न सम्पर्क नम्बर नै । यो डायरी म उसको हातमा कसरी फिर्ता गरुँ अलिकति गर्मीले तातो बन्छ शरीर ।
डायरीका पानाहरु सरसर्ती पल्टाउँछु सुन्दर अक्षर तामाको पातामा मेसिनले कुदेकाझैँ छन् । पानाभरी भरी श्रीङ्खलाबद्ध लेख मात्रै छन् अन्त कहीँ कतै कसैको नाम ठेगाना छैन । डायरी हेर्दा लाग्छ चानचुने पक्का होइन त्यसमा लेखिएको जुन लेख छ, अति महत्वपूर्ण कति सीप मेहनत र श्रम खर्चेर लेखेको होला, म एउटा लेखक त्यसैले पनि लेख लेख्नको कठिनाइ अनि त्यसको महत्व सहजै अनुमान लगाउन सक्छु । तर यो डायरी कसरी उसको हातमा पारिदिउ ?
दिउँसोको बाह्रबजेतिर खानपिन सकेर यसो छतमा निस्कन्छु घाम ताप्न वल्लो पल्लो घरका पनि छतमा निस्केर सुन्तला खाँदैछन् । यसो हेर्दा लाग्छ घरभित्र कोही छैनन् सबै जना घामको न्यानोमा नतमस्तक सेकाइरहेछन् आङ । मनमा कसोकसो हुन्छ छटपटि केही सम्झेझैँ केही बिर्सें झै अनि केही हराए जस्तो र कुनै काम बिराए जस्तो । मनभित्रबाट छाएको खिन्नता । करेसामा लटरम्म फुलेका आरुका फूलहरु सिरसिरे बतासले भुइँमा बुर्रर खस्छ किनकिन त्यो फूल अन्जुलिमा उठाइ पोल्टो भरी बटुल्ने रहर जाग्छ मनमा छताछुल्ल ।
फूलहरुमा लुकामारी खेलेको मन सुटुक्क बिहान सोकेसमा फेला परेको बेवारिसे डायरीमा गएर डुब्छ चुर्लुम्म । ओहो ! त्यो डायरी पढ्नु पर्छ मैले, कतै त्यहीँ भित्रका लेखहरुमा पो छ कि उसको ठेगाना । बतास जस्तो हुत्तिएर कोठामा पस्छु म, ड्रेसिङ टेबलमा थपक्क बसेर मलाई्र नै पर्खदै रहेछ विचरोले । गाली गर्यो होला सराप्यो होला र ठुस्कियो होला मसँग । किताव वा डायरीहरु निर्जीव भएपनि चाहना हुन्छ रहर हुन्छ र हुन्छ आकांक्षा । धेरै भन्दा धेरैले उसलाई्र छोउन् सुमसुमाउँन् र पढुन् पत्रपत्र केलाएर, आन्द्राभुँडी खोतलेर सायद यो बेवारिसे डायरी त्यही चाहन्छ मबाट ।
म कस्ति अबुझ मुर्ख लेखिका उसको भावनाको रतिभर ख्याल गर्न नसक्ने, बुझ्न नसक्ने । कतिपय लेखकहरु छन् जो अरुको लेखभन्दा आफ्नै लेख पढन रुचाउने । म त त्यस्ती थिइन आज कसरी उनीहरुको पंक्तीमा पुग्न थालेँछु मनमा सोचाइका उदबेगहरु लहरिदै गर्दा डायरी लिएर पुग्छु ओछ्यान मा ।
ओछ्यानमा तकियाको अढेस लगाएर आधी शरीर ढल्काइ कम्मलले छोपेर पल्टाउँछु डायरी, मन ज्यादै चन्चल उत्सुक भैरहेछ के लेखेको होला यसमा, ऊ को होला ? कसले राखिदियो होला परिवर्तन नाम ? साँच्चै उसको थर नेपाल नै होला त ? यी र यस्तै चुल्ठी परेका जिज्ञासाको जवाफ खोज्दै दौडन्छ नयन यसरी डायरीका अक्षरहरुमा ठोक्किदै चिप्लदै अनि बग्दै :-
"साठी सालको कुरा हो गोधुली सन्ध्याको समय आकास फिक्का रातो लालीमा भित्र कैद थियो सडक, केही सुनसानजस्तै मालबाहक ट्रक र रात्रीबस बाहेक अरु भाडाका र प्राइभेट साधन ठप्प । सडकको दायाँ बायाँ किनारामा नरम हरियो घाँस लहलह थियो । ठाउँठाउँमा त्यही घाँसमाथि ताराजस्ता फूल फुलेका देखिन्थे भने उतिसघारी मन्द मन्द पवनको झोकामा मच्चिदै गर्थे तलमाथि ।
जिल्ला सदरमुकामबाट आफै मारुती कार चलाएर शहरतर्फ जाँदै थिएँ म । बैशाख महिनाको रमाइलो सन्ध्या थियो त्यो । सडकका दुवै किनारामा रहेका झुप्रा पसलहरुमा साँझको टुकी झुल्काइ सकेकोले पनि मन अतालिदै थियो शहर भित्रिने हतारमा । आरामसँग सिटमा ढल्केर क्यासेटमा बजेको गीतको तालमा झुम्दै दुई चारवटा आंलाले मात्र स्टेरिङ समातेर सयको स्पिडमा सुइयय्………। हुइकिँदै थिएँ ।
गाडीमा रहेका दायाँ बायाँका झ्यालका सिसाहरु खोलेको थिएँ किनकि ताजा हावा मलाई्र चुम्दै पास हुन पाओस् । इन्जिन तातेर आएको रापले रतिभर सुमसुम्याउन नभ्याओस् मलाई्र । यात्रा आरामदायी नै थियो । अँध्यारोले बिस्तारै कब्जा गरेको सडक गाडीको हेडलाइटमा छङ्ग उघि्रन्थ्यो । घरीको उकालो घरीको ओरालो त केही घुम्ती काटेर मेरो कार दौडिरहेको थियो तीब्र रफ्तारले सडकको छातीमा मस्तसँग ।
झुप्रा पसलहरु कटेरे घरलाई्र छाडेर म जंगलको बाटो कुद्दै थिएँ । जहाँ दायाँ बायाँ सल्लाघारी बीचमा सडक सुनसान वातावरण ,चरा र मुसाकोसम्म चानुमानु नभएको ठाउँ । कताकता बरफझैँ ठण्डा भएथ्यो मुटु आक्कल झुक्कल भेटिन आएका मालबाहक ट्रकको घ्यार्रसँगै लामो श्वास तान्थेँ म नाक र मुख दुवैबाट एकैपटक ।
सडकको छातीमा चिप्लिदै गर्दा अगाडि एकजना महिलाले लिफ्ट माग्न बुढी औँला उठाएको देखेँ । सुनसान जंगलको बाटोमा दिन ढलेर रात पलाउँदै गर्दा एक्ली आइमाई को होलिन् लिफ्ट माग्ने म सोच्दै अगाडि बढेँ कसो कसो ब्रेक दबाउन हिचकिचायो मन । आधा किलोमिटर जति नाघेपछि मनले फेरि सोच्यो कतै विचल्लीमा परिन् होला बिचरी र त गाडी रोकिन् मेरो प्राइभेट कार भएपनि उनलाई्र लिफ्ट दिदैमा के बिग्रन्छ र आखिर म शहर जानु नै छ उनलाई्र लैजादैमा बढि पेट्रोल सकिने पनि हैन क्यारे मनले यस्तै कुरामा सहमति जनायो र गाडी ब्याक गरेर उनी भएको ठाउँमा फर्केँ ।
उनको अगाडि पुर्याएर कार रोकेँ मैले उनले खुल्ला कारको झ्यालबाट भित्र टाउको घुसारिन्-
"तपाई शहरतिर जान लाग्या" भनिन् उनले ।
"हो ।" मैले भनेँ ।
"तिमी पनि जानकै लागि लिफ्ट मागेकी भए छिटो भित्र आउँ ।" कारको ढोका उघारी दिदै भनेँ मैले ।
लामा पाँसुलामा टिपिक्क हुने पाइन्ट लगाएको खुट्टा खुम्चाउँदै कारको अगाडि सिटमै बसिन् उनी । अनि मैले कार हाँक्न थालेँ तीब्र रफ्तारमा र उनी चुपचाप रहिन् । कार हाँक्दै उनलाई्र बेलाबेलामा छड्के नियाल्दै थिएँ म । लाम्चो अनुहार पातली थिइन्, उनका आँखा खैरा र लोखर्केका जस्ता चलाख थिए । कान पनि मुसाका झैँ साना तथा लोती नजानिदो माथीतिर फर्केका तर गहनाको नाममा केही लगाएकी थिइनन् । कपाल पछाडी लगेर बानेकी उनले हरियो रङ्गको पाइन्ट र हरियो रङ्गकै ज्याकेट लगाएकी थिइन् भने साथमा बाक्लो ठूलॊ खकाने झोला च्यापेकी ।
"तिमी शहरको कुन ठाउँमा जान लागेकी ?"
मौनतालाई भताभुङ्ग बनाउँदै मैले सोधेँ उनलाई्र । तिखो आँखाले एकपटक पुर्लुक्क मतिर हेरिन् आफ्नो पछाडि बाकेको झोला दुई्रहातले सकि नसकि उचालेर काखमा राखिन् र भनिन् ।
"शहरकै मुख्य केन्द्र सम्म । मैले अझ स्पीडमा कार कुदाएँ उनी चुपचाप अगाडि लमतन्न पसारिएको कालो सडकलाई नियाल्दै बसिन् । हामी बीचमा वार्ता थिएन पटक्कै मैले क्यासेट बजाएँ ।
"बन्द गर्नुस् यी गाना बजाना मलाई्र यसमा पटक्कै रुची छैन यी रेकर्डिङ बाजा भन्दा चिप्लो सडकमा सलल कार कुदेको आवाज अरु गाडीले साइड माग्न बजाएको हर्नको आवाज हावाको सुसाइ मन पर्छ मलाई्र ।" अलि चिडिएको स्वभावमा क्यासेट बन्द गर्न लगाइन् उनले मलाई्र ।
कस्ती नरपंक्षी पशु ! "साहित्य कला र संगीत बिहिन मान्छे त सिङ र पुच्छर बिनाको पशु नै हो भनिदिउ कि जस्तो लागेको थियो फेरि कसो कसो मुखमै बुझो लाग्यो मौनताको र मन नलाइ नलाइ बन्द गरेँ क्यासेट । एउटा कारमायात्रा गरेका हामी दुई यात्री त्यसमा पनि एउटालाई सुन्न मन नलागेपछि क्यासेट खोल्नुको पनि औचित्य के रह्यो र ?
सडकको छातीमा कार दौडिरह्यो सुइयय्………को आवाजमा मैले स्टेरिङ्ग घुमाइरहेँ नचाहँदा नचाहँदै बेला मौकामा मलाई छक्काएर उनीसम्म लपक्क टाँसिन जान्थे चोर आँखा तर कुन्नि किन हो उनले भने छड्के नजरलेसम्म चियाइनन् मलाई्र । कुनै गहिरो सोचाइमा डुबेको जस्तो देखिन्थ्यो उनलाई ।
"आज आमाको मुख हेर्ने, आमा खुवाउने औँसी तिमी पनि आफ्नी आमालाई खुवाउन जान थालेकी" जेत पर्ला सम्वादको पर्दा उठाएँ मैले ।
"म कहिल्यै पनि आमालाई खुवाउँदिन फेरि म जन्मनु भन्दा पहिला देखि नै खाँदै आएकी थिइन् उनले । कहाँबाट आयो बाबु आमा खुवाउने चलन वाइयात । देश संकटमा परेर आफ्नै अधिकार र अस्तित्वको खोजीमा सिङ्गो नेपाल आमालाई निरंकुशता र जहानिया शासनको पन्जाबाट मुक्त पार्न दौडधुप गर्ने छोरा छोरीले कसरी आफ्नैमात्र आमाको पेट भर्न सक्छन् ? हामी करोडौं आमाहरुको मुक्तीको बाटोमा होमिएका छौँ बुझ्नु भो तपाईर्ंले ।"
राताराता आँखाले मलाई्र प्वाक्क हेर्दै बोलिन् उनी ।
उनको भनाइ पटक्कै बुझिन मैले त्यो भनाइ दाँतमा ढुङ्गा बिझाए जस्तो दिमागमा भने बिझाइरह्यो । मन अलि कति तुसारोझैँ ककि्रएर टाँसियो छातीमै, त्यति ठूलो गह्रौ झोला भित्र के होला त हामीहरु धेरै बेरसम्म मौन भयौँ । मैले उनलाई्र अझ बढि प्रश्न नगर्ने निश्चय गरेँ । हुन त जिज्ञासाहरु प्रशस्त थिए । तिमी को हौ कहाँ जान लागेकी त्यो झोला भित्र के छ तिम्रो विवाह भयो या छैन भए उसको नाम के हो आदि इत्यादि । मलाई्र यो सब मन पर्दैनथ्यो ।
लगभग एक घण्टा पश्चात् जंगल छिचोलेर गाउँको सडकमा प्रवेश गर्छौँ हामीहरु । अब भने कुकुर भुकेको आवाज र दुम्सीले बारीको गहुँ नखाओस् भनी बाली कुर्न बसेकाले टिन बजाएको एकोहोरो आवाज प्रशस्त सुन्न सकिन्थ्यो । ठाउँठाउँमा तरकारीको भारी राखेर गाडी पर्खिरहेको किसानसँग पनि देखादेख हुन थाल्यो । पहिलाको तुलनामा मन बत्तिएको छ कारको स्पिडसँगै । कारमै जडित घडीलाई नियाले मैले रातको दश बजिसकेको थियो ।
"तपाईलाई यो मारुती कारमा सलल कुद्न बडो आनन्द आएको होला हैन "
"सधँ बसेर यात्रा गर्ने कारमा त्यस्तो महसुस किन होस् बरु तिमीलाई्र त्यस्तो भान परेको हुन सक्छ ।"
अलिकति इतरिएर जवाफ फर्काए मैले ।
"सेट अफ ! कसरी सोच्नु भो यस्तो कुरा ? के तपाईर्ंले कल्पना गर्नु भएको छ देशमा कुनै त्यस्तो ठाउँ पनि छ जहाँका बासिन्दा मोटर कार चढ्नु त परै जाओस् मोटरलाई्र कुन चराको नाम हो भन्छन् । के यो देशका उनीहरु नागरिक होइनन् र उनीहरुको पनि त्यति अधिकार छ जति तपाईर्ंको छ ।"
ती कुकुर भुकेका र टिन ठटाएका आवाजलाई चिरा पार्दै बोलिन् उनले । उनको यो भनाइ पनि मेरो सोचाइ र बुझाइ विपरित लाग्यो । उनीसँग सवालमा जवाफ लडाउने पक्षमा पटक्कै थिइन त्यसैले चुप लाग्दै कारको स्टेरिङ्ग घुमाएँ ।
"तपाईं समाचार कत्तिको पढने हेर्ने र सुन्ने गर्नुहुन्छ "
हावाले निधारतिर ल्याएको कपाल हातले तह लगाउँदै प्रश्न गर्छिन् उनले ।
"हत्याहिम्सा आतङ्क मरे र मारेको बाहेक सुन्न पाइन्न । कुन्नि किन हो खालि देशमा हतियारको भरमा सत्ता लिन तम्सेका छन् विभिन्न पक्षहरु । यस अर्थमा म समाचार प्रति त्यति रुचि राख्दिन ।" मन नलाइ नलाइ जवाफ दिन्छु म उनलाई्र ।
"वा ! महाशय कस्तो आनन्दको धारणा । हेर्दा त शिक्षित जस्तै देखिनु हुन्छ तर सोचाइ भने किन यस्तो ? अधिकार भन्ने कुरा मागेर आउँदैन बुझ्नु भो । त्यसैले लड्दा दुई्रचार जना मर्छन् त के भयो र अर्को कुरा समाचार नहेर्ने त्यसो भए सिरियल हेर्नुहुन्छ होला काल्पनिक कहानीमा बनाइएका, पप र्याप र झ्याप संगीतहरु सुन्नु हुन्छ होला नेपाली मौलिक गीत संगीतलाई कुरुप पारेर, हेर्नु हुन्छ होला दिदी बहिनी नङ्ग्याएर नारीलाई मनोराजनको साधन बनाएर पैसा कमाउन बनाइएका चलचित्रहरु । पूर्वपश्चिम उत्तरदक्षिणको दुःखी गरिबको कथाब्यथा समेटिएका हुँदैनन् त्यसमा । के एउटा च्याङ्बा भोकले अत्तालिएर रुखको बोक्रा कोपरेको तीतो यथार्थ हुन्छ ती चलचित्रमा कि धनी मुखियाले फुर्वाकी तरुनी छोरीको अस्मितामाथि धावा बोलेकै देखाइन्छ ? कि रामेको घरबारी जम्दारले हडपेर गाउँ निकाला बनाइएको सत्यता नै ओकलिएको पाइन्छ ? सायद तपाईर्ंहरु जस्ता स्वार्थी मतलबीले चासो पनि राख्नु हुन्न यस्तो बिषयमा, महलमा बस्नेलाई्र झुपडीको ब्यथा बास्मती चामल नरुच्नेलाई्र भोकको छटपटाहट र मारुतीमा दौडनेलाई्र नाङ्गो पैतलामा गेगरले बिझाएको र काँडाले चिथोरेको अनुभव कसरी होस "
उनी यसरी बहकिइन् कि कुलोमा पानी बगेसरी । उनीभित्रको एउटा आन्दोलन शब्द भएर मेरो शिरमा थोपारियो असिना बर्षे जस्तो । उनको धारा प्रभाव भनाइ चुपचाप सुन्दै थिएँ म बिना प्रतिवाद । बोल्ने कुनै कुना भेटिन सत्य ओकलेकी हो उनले तर मेरो दिमागले यी सबै कुरा सोच्न कहिल्यै भ्याएन । मुटु सोचाइ र बुझाई ठूलॊ सानो हुन्छ कि कसो हामीहरु गाउँ छिचोलेर माझ बजार तर्फ जादै थियौँ । गाउँको तुलनामा बजार नाङ्गै थियो रातको एघारबजे सम्मपनि । बत्तीहरु बलिरहेका ससाना सटरमा होटेलहरु खुलै भुसियाकुकुरहरु पुच्छर हल्लाउँदै एउटा अर्को सटरहरु बाहिर चहारिरहेका ।
"एकछिन कार रोक्न सक्नुहुन्छ " उनका हात मेरो हातमा राख्दै बोल्छिन् उनी ।
"किन नसक्नु तर केका लागि " नचाहेरै सोधेँ मैले ।
बिना जवाफ कारको ढोका उघारेर बाहिर निस्किन् साथमा त्यो झोला पनि बडो जतनले च्यापेर । उनको त्यो होसियारीपन देख्दा लाग्यो त्यो झोलामा शिशा जस्तै फुट्ने गह्रौ सामान छ । उनी बाहिर निस्केपछि लामो आङ तन्काएँ मैले पनि अब केही समयमै माझबजार पुग्छाँ हामी । कारको साइड सिसाबाट दायाँ बायाँ चियाएँ उनको छायाँसम्म् पत्तो लागेन । छोडौँ त त्यहाँदेखि सँगै आइयो एक्ली आइमाई मान्छे । रातको बीचमा कहाँ जालिन् सँगै लैजान कता गएकी होलिन् अत्तोपत्तो छैन । एकछिन त कुर्नै पर्यो भन्ने मानसिकतामा पुगे म ।
उनी कारबाट बाहिरिएको दश मिनेटमै बजारभर बत्ती गयो अघिसम्म उज्यालोको अंगालोमा कसिएको माझबजार ऐले चुक पोखिएझैँ अन्धकार भयो । म कार भित्रको बत्ती बालेर क्यासेट खोल्न मात्र के लागेको थिएँ मै माथि चट्याङ्ग खसेझैँ बेजोडले आवाज आयो जुन आवाजको सामना गर्न नसकेर मैले दुवै हातले कान थुनेँ र आँखा चिम्लिएँ ।
मुटु असाध्यै छिटो धड्कियो हंस उडेर टाढै गएझैँ यस्तो लाग्यो कार सहित म भासिएँ तलतल, मेरो सातोपुत्लो गयो एकोहोरो बम बारुदका आवानले । एक घण्टा पछि आँखा र कान खोल्दा बजार कोकोहोलामा चुर्लम्म डुबेको बजारको प्रहरी चौकीले आगो ओकल्दै, बन्दुक पड्केको आवाज हाँडीमा मकै पड्केझैँ भन्दा बढि । हेर्दा त्यस्तो देखिन्थ्यो आकासबाट माझबजारमा उल्का वर्षा भैरहेछ । मान्छेहरुको भागाभाग मारामार काटाकाट दौडादौड रुवाबासी चिच्याहट । उफ !
त्यस्तो धमाका एक घण्टा जति भैरह्यो । म न अगाडि बढन सकेँ न पछाडि नै उनी पनि फर्केर आइनन् । मलाई्र डर त्रास र शंकाले झ्यापझुप समात्यो एक पटक बन्दुक पड्कन छोडेपनि मन पड्किरह्यो आफूलाई्र विचलित बनाउने गरि त्यसरी नै छटपटिले निल्दै ओकल्दै गर्दा हातमा टर्च बोकेका तीनचार जना मैतिर आए परबाट ।
मैले पनि कारको हेडलाइट बालेँ उनिहरु प्रहरी थिए । एउटाले झ्यालबाट टाउको घुसारेर सोध्यो ।
"ए को होस् तँ यति राती एक्लै कार रोकेर यहाँ के गर्दै थिइस्"
उसले हातको टर्च बालेर गाडी भित्र यताउता हेर्दै पनि थियो, अगाडिको सिटको तल एउटा पेस्तोल र छापामारको परिचय पत्र टिप्यो । जुन त्यहाँ छ भन्ने मलाई्र पनि थाहै थिएन ।
त्यसपछि त के चाहियो र एउटाको इसारामा अर्कोले कन्चटमा पेस्तोल तेसा्रउँदै मलाई्र कारबाट झर्न हप्कायो ।
"हान्दिउ कि बाहिर निस्कन्छस् साला आतंककारी ।"
सात्तोपुत्लो गयो मेरो । सिङ्गै बजार रक्ताम्मे देखँ मैले यसैगरि कतिको कन्चटमा पड्कियो होला बन्दुक टेकेको जमिन मुनीमुनी गइरहे जस्तो अत्यासले मन फतक्कै गल्यो । मनमा कपर्दी खेल्दैछ त्रास मच्चिन्छ डर ।
लासैलास बजारभरि तीनै लासको पंक्तिमा अर्को्र एउटा लास थपिने भयो मेरो उनीहरुले घिच्याउँदै लगे जलेर भग्नावशेष भएको चौकीतिर, असरल्ल छरिएका लास सडकभरि टुप्लुकिन थाल्यो नजरमा । अगाडिको सिङ्गै संसार अन्धमुष्ठी कालो बाहेक अरु केही थिएन शून्य एकदम शून्य । कम्प छुट्यो छातीमा पूरा शरीर भुकम्पले घर हल्लाए जस्तो गरी भीरबाट खसेर ढुङ्गामा पछारिएर लागेको चोट जस्तो थिलथिलिदै दगल्चियो मन पसिनाको मुल फुटाउँदै ।
प्वाँ…। प्वाँ…॥ साइरन बजाउँदै थप सुरक्षाकर्मी बोकेर आयो सैनिकको गाडी बजारमा ।
"सायव ! एउटा छापामारलाई्र समातेका छौँ जिउँदै अरु त कति मरे घाइते भएकालाई्र लगे उनीहरुकै साथीहरुले ।"
जिउ तन्काउँदै र बुट बजार्दै तनक्क तन्कियो एउटो । हातमा वाके ट्वाके लिएर निस्कियो अर्को ट्रकबाट ।
"ए तँ चाहीँ किन भाग्ने प्रयास गरिनस् त मर्न डर नलागेर हो" साला !
ब्यङ्गग्य र रीसको हेराईसँगै पेस्तोलले कन्चटमा घोच्दै पड्कन्छ अर्को, थर्थर कामेको शरीर ओठमा बोली पनि लर्बरियो साँच्चै काल आएकै हो त भन्ने सन्त्रासले लटरम्म भोगटे पलायो मनमा कारमा भेटेको परिचय पत्र मैनटोलको उज्यालोमा नियाले उनीहरुले त्यो छापामार हिमालीको थियो ।
"बता यो केटी र अरुलाई्र कता पठाइस, तिमीहरुको योजना थियो हैन माझबजार हान्ने" आगो जस्तो भएको प्रहरीले एक मुक्का कसेर बजायो मेरो कन्चटमा । होस समालेदेखि परिवारको लाड प्यारमा हुर्केको मैले रुखो वचनकोसम्म् सामना नगरेको म त्यो मुक्काले तोरीको फूल देखेँ लटरम्म फुलेको चारैतिर, मुखले नबोल्दा शरीरले यातना पाउने थाहा पाएर डराई डराई वास्तविकता बताएँ । मेरो यथार्थलाई्र झुटो कहानी भन्ठाने उनीहरुले । रातभरमा धेरैको लात्ती मुक्का घुस्सा र लठ्ठीको वर्षाइ खाइरहेँ मैले । मलाई्र विना सित्तैमा मार्ने भए भन्ठानेँ मैले ।
अगाडिसम्म मनमै मात्र भोगटे फलेको थियो तर पछि अनुहार पिठ्यू पाखुरा र तिघ्रामा छाम्दै फेला पार्ने साह्रा भोगटे झुण्डियो साथमा रक्ताम्य बनाए मलाई ।
बिहानीको मिर्मिरे उज्यालोले धर्तीलाई्र आफ्नो गोधमा समेटुन्जेलसम्म पिटाइ खाइरहेँ मैले । उज्यालो भएपछि धमाधम लास बटुल्ने काम गरे । कोहीको हात छैन कोही खुट्टा कसैको आँखा फुटेको त कसैको गिदीसम्म बाहिर निस्केको । पचासौँ जना प्रहरी र सत्र अठार जना छापामारको लास थियो त्यहाँ । लासको पङ्तिमा हिमालीको पनि लास थियो । एकमनले सरापेँ उनलाई्र । आफू त मरिन् मरिन् मलाई्र पनि फसाइन्, दोश्रो कताकता एकदमै नरमाइलो पनि लाग्यो उनको लास देख्दा । चार दिनसम्म मलाई हात खुट्टा बाँधेर माझबजारको एउटा किनारामा उनीहरुले आफ्नो निगरानीमा राखे । माझबजार चौथो दिन बल्ल प्रहरीले आफनो कब्जामा लियो । जिल्लामा मलाई लगे, साचारमाध्यममा आयो- "माझ बजारमा आतंककारीहरुको समूह पक्राउ प्रहरी हिरासतबाट भाग्न खोज्ने क्रममा प्रहरीको गोली लागि सत्रजनाको मृत्यु एकजना आतंककारी प्रहरीको हिरासतमा । दुई्रजना प्रहरी सामान्य घाइते ।" आदि इत्यादि । मलाई्र उनीहरुले पानी पानी भन्दा पानी सम्म खान दिएनन । जुठो भात दिए कैयौं दिन । मलाई पन्ध्रदिनसम्म निकैनै यातना दिएर केरकार पारे मैले रुदै हात जोडेर सबै यथार्थ बताएँ । बाबाको नम्बर दिएर फोन गरी बुझ्न अनुरोध गरेँ । बल्लतल्ल बाबालाई फोन गर्छु भन्यो मलाई यातना दिने ट्वाकेले । थाहा छैन फोनमा बाबासँग के के कुरा गरे कुन्नि । तँलाइ तेरो बुबा लिन आउँदै छ तेरो बुवाको जमानीमा छुट्न सक्छस् भन्यो त्यसले ।
गतहप्ता माझबजारमा दोहोरो भिडन्त भयो त्यस अर्थमा तँ माथि शङ्खा गरेछन् हाम्रा सिपाइले । फेरि त्यो केटीको पेस्तोल र परिचयपत्रले पनि शङ्खा गरायो । यति भनेर कठालो समात्दै अर्को्र कोठामा लग्यो मलाई । त्यहाँ मेरो बाबा आमा र मामालाई पनि देखेँ, बाच्ने भएँ भन्ने आश जाग्यो ।
एउटा प्रहरीले चिया ल्याएर दियो तर मलाई्र त्यो चिया आफ्नै रगत उमालेर ल्याएझैँ लाग्यो कसो कसो पिउन पटक्कै मन लागेन । भोक र प्यासले त्यत्रा दिन छट्पटिदा केही दिएनन् । शरीरमा लागेको चोटले र भोकले आन्दोलित थिएँ म आँखा भन्दा मन ज्यादा रोइरहेको थियो । यस अर्थमा चिया पिउन अस्वीकार गरिदिएँ । माझबजार गतहप्ताको घटनाले निकै त्रसित छ रे । वरपर दायाँ बायाँ मान्छेको कुण्ड थ्यो रे तर नजिक आएर उभिने हैसियत कसैमा थिएन रे । प्रहरी चौकी र त्यस वरपर सबै खरानी नै भएको छ रे ।
बाबा आमा र मामालाई देख्ने बित्तिकै आफूलाई्र समालेर थाम्नै सकिन मन, हामी अंगालोमा बाँधिएर खुब रोयाँ एकछिन मेरो अवस्थाले मैन झैँ पग्लनु भयो उहाँहरु पनि ।
मलाई्र शहरको महङ्गो नर्सिङ होममा छ महिना सम्म भर्ना गरेर राखियो शरीरका चोट त निको हुँदै गयो तर मनमा लागेको चोट भने रुखमा ऐजेरु झांगिएझैँ दिन प्रतिदिन झांगिदै थियो, पिडालुमा गवरा सल्के जस्तो सल्कदै जान थाल्यो दिन प्रतिदिन । क्यासेट टेप रेकड गरेझैँ प्रहरीहरुको अमानविय व्यवहार, प्रहरी प्रसासनको विना अपराधको यातना र हिमालीले भनेका कुरा रेकर्ड भएको थियो दिमागमा । म त महङ्गो नर्सिङ होममा उपचार गराउँदै थिएँ तर ती छापामारहरु वन वनमा बनमारा निचोरेर आफ्नो चोटमा दल्दै होलान् आफैले गोली निकालेर । ठीकै हो उनीहरुको सोचाइ म मात्र आफ्नो लागी बाँचेर आएँ उनीहरु अरुका लागि मरेर गए । म त के हु्ँ र यहाँ शोषक सामन्ती र भ्रष्टाचारीहरु पैसाको ढसनामा सुत्छन् । गरिब दुःखीहरु त्यही पैसाका लागि सूर्य्र उदाए देखि अस्ताएसम्म पसिना चुहाउँदै दश नङग्रा खियाउँछन् । मसिनो चामलको भात कुकुरले निल्दैन कतै कतै कोदाको खोले एक पेट खान रुवाबासी छ । देश एउटै बासिन्दा एउटै मान्छे उस्तै मात्र भोगाई फरक किन ? समानता चाहिन्छ सबैलाई्र परिवर्तन आउनु पर्छ देशमा । म एउटाले मात्र नर्सिङ होममा उपचार गरेर हुँदैन । गाउँ बस्तीका बासिन्दाले पनि ज्वरो आउँदा सिटामोल पाउँनु पर्छ । साँझमा सल्लाको मेटो र माटाको पालामा कपडाको झुम्रा होइन बिजुली बाल्न पाउनु पर्छ । सय ठाउँमा तुनेको भोटो हैन एकजोर गतिलो मयलपोस लगाउन पाउनुपर्छ । साँझ बिहान दुई छाक राम्रो खान पाउनु पर्छ । यी सब परिवर्तनको लागि क्रान्ति आवश्यक छ जुन एउटाले गरेर हुँदैन हामी जस्ता युवा जाग्नु पर्छ लाग्नु पर्छ तात्नु पर्छ मुठीमा आलु उसिन्न सक्ने जोस बोकेर नसा नसामा रगत उमाल्दै !
सोच्दा सोच्दै आगोको कोइलाझैँ रातो भएर म एकदिन नर्सिङ होमबाटै भागेँ ।
त्यति बेला बाबा आमाको माया सम्झना अपनत्व भन्दा हिमालीले देखाएको बाटो प्यारो अति प्यारो लाग्यो । उनको सपना साकार बनाउन दौडिएँ वनवनै पाखापाखै र खोलैखोला, हजारौँ हिमालीहरुको साथमा । बाटामा साथीहरुसँग परिचय गर्दा मैले आफ्नो नाम परिवर्तन नेपाल बताएँ । कारण हामी सबै नेपालमा परिवर्तन ल्याउन चाहन्छौँ, हो म पनि त्यही परिवर्तनको प्यासमा सिदार्थ गौतमझैँ घर छाडेको युवा ।
क्रान्तिको बाटोमा हिड्न कहाँ त्यति सजिलो हुँदो रैछ र कैयां दिन भोकै बस्न पर्यो कैयौ रात खुल्ला आकासलाई्र ओढने, हरियो चौरलाई्र ढसना र ढुङ्गाको सिरानीमा सुखको निद निदाएको थिएँ । त्यो दिन बम पड्कदा कान थुन्ने हातले कैयौं बम पड्काएर ध्वस्त बनाइयो दुश्मनका इलाकाहरु…………………। मनमा परिवर्तनको भोक उम्लेको बेला अप्ठॆरा सकस र सङ्कट त सामान्य तवरले चपाइदो रहेछ ।"
"आभा ! साँझ झमक्क परिसक्यो तल बैठक कोठामा गेस्ट आएका छन् । केटाले के कस्तो स्वागत गर्यो तिमी भने यहाँ के गर्दै छौ " उहाँको आवाजसँग यर्थाथमा पछारिन्छु नराम्रोसँग ।
"के पढ्छौ त्यसरी आफूलाई्र नै बिर्सिए र ? "
"केही होइन विहान पसलमा एउटा डायरी फेला परेथ्यो त्यहीँ पढेकी ।" मैले भनेँ ।
"कस्को रैछ "
"थाहा छैन परिवर्तन नेपालको नाम छ ।"
"चिन्दै नचिनेको मान्छेको डायरी पनि कसैले पढ्छ त "
"पढ्नै नहुने इन्द्रजाल त होइन क्यारे, अँ सुन्नुस न यो डायरी कस्को हो थाहा नपाएकीले मैले बेवारिसे डायरी नाम राखेँ ।"
उहाँ हाँस्दै तल झर्नु भो म भने डायरी टेबलमै फ्यात्त फालेर भान्छा कोठामा पस्छु ।
गेस्टहरु आएकोहुँदा सदाको भन्दा बढी व्यस्त रहनु पर्यो भान्छामा, म केटाले के बनाउँछ कस्तो बनाउँछ चित्त बुझ्दैन खानापिन सक्दा रातको दश बज्यो ,एकछिन पाउनासँग सन्चो बिसन्चो हाल खवर सोध्नै पर्यो । बिस्तरामा पुग्दा बाह्र बजिसकेछ, थकाइले आँखा झप्प लाग्न लाग्दा डायरी पढ्न जाँगर पलाएन भोलि हेरौंला भन्दै सुतेँ ।
बिहानको दिनचर्या उही हो नुवाइ धुवाइ पुजापाठ यसो उसो गर्दा आठ बजि गयो । उहाँ आज पनि बाहिर जानु भयो कामले मेडिकलमा म नै परेँ । हिजो अस्तिको जस्तो भिडभाड छैन आज मेडिकलमा खाली सयम बस्न पाउँदा झस्स डायरीको याद आयो केटालाई पठाएँ । आफूले हेरी भ्याएको ठाउँसम्म बाट अर्को पाना पल्टाउँदै गर्दा एउटा एक्सिडेन्टको केस रगतपच्छे भएर आयो ।
बिरामीलाई डाक्टर रुममा बसालेर डे्रसिङ्ग गरि औषधि इन्जेक्सन दिदा आधा घण्टा चिप्लेछ । उनीहरु त्यहाँबाट हिड्न नपाउँदै एकहुल मान्छे कुडुलो परेर नारा र जुलुस लगाउँदै आए ।
के भयो किन यस्तो भयो मैले अनुमान लगाउन सकिन ।
उनीहरु पसल बन्द गर्न निर्देशन दिदै थिए सटर तान्दै लात्ताले हान्दै थिए । अगाडि दायाँ वायाँका अन्य पसलका सटरहरु धमाधम बन्द भए । उनीहरुले मेडिकल पनि बन्द गर्न भने तर मेडिकल त सर्वसाधारणको सेवाको लागि खोलिएको हुँदा जस्तो सुकै बेलामा पनि बन्द गर्न नपर्ने कुरा म बताउँदै थिएँ तर हुलले खाउँला जस्तो गर्दा मैले डराएर सटर तानेँ । सटर तानिसकेर सोकेसको डायरी खोज्दा त्यो डायरी त्यहाँ थिएन । यताउता धेरै खोजेँ भेटिएन डायरी । जसरी हात परेथ्यो त्यसरी नै गायब भयो । मलाई्र भने असाध्यै नमीठो लाग्यो बेवारिसे डायरी पूरा पढन नपाएकोमा ।
साभार "रहस्यमय भोगाइ"