यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"


म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडें इन्टरनेट संग, याहु म्यासेन्जरमा च्याट गर्ने, भिडियॊ कल गर्ने लर्को थियॊ त्यसबेला तर म भने गुगल सर्च इन्जिनमा नेपाली कविता टाइप गर्थें। सर्जकको नाम याद भएन तर त्यॊ कविताको दुई हरफको पनि आधा आधा याद छ। मैले इन्टरनेटमा पढेको पहिलो कविता हो या गजल तर कविता भनेर पढें-


छुट्यो छुट्न दिएँ
टुट्यो टुट्न दिएँ

सर्जक थाहा छैन।

त्यसबेलाको संजालहरूमा अंग्रेजी कविता र हिन्दी सायरीहरू निकै पढें बुझ्न कठिन भैइ भैइकन पनि। ओर्कुट, हाई फाइभ, फ्रेण्डस्टार, प्लास्को हुँदै फेसबुक संजालमा मैले पनि सदस्यता लिई हालें। तर म छिट्टै फर्किएँ नेपाल प्रवासबाट। नेपालका रेडियॊ पत्र पत्रिकामा गजलको कार्यक्रम उधुम बजेको पाएँ। लेख्न औधी रहर भयॊ ०६७ आश्विन तिर यौटा खेस्रा लेखें रेडियॊमा सुनेको भरमा-

न बोल्छन् तिनी न पीडा पोख्छन्
जस्ले जता भन्यो उतै लाग्छन्

म खुब रमाएँ, अहिले आएर बुझ्दा गजल त के एक गतिलो भावनासम्म बनेनछ। रेडियॊ बाटै एक जना केटी साथीसंग परिचय भो, निकै गफ गर्थ्यौँ, उनी बढी एसएमएस गर्थिन् साथमा मीठा मीठा गजलका सेरहरू पठाएर, मैले जवाफ फर्काउने प्रयास गर्थें ती असल साथी थिइन् अहिले कहाँ छिन् कता छिन् पत्तो छैन। छोटो समय पछि म फेरि प्रवास हानिएँ। सानै उमेरदेखि केही न केही लेखिरहने म, ०५९ बाट मनका भावनाहरू लेखेर संकलन गर्न थालेको थिएँ। मैले आफ्नो जीवन कथा निरन्तर लेखिरहेको थिएँ। तर २४ बर्ष सम्मको लेखें त्यपछि लेखिन कति पीडा दु:ख अभाव मात्रै लेख्नु भनेर। त्यही बिच बिचमा मैले गीत जस्ताहरू पनि लेख्थे पहिलो स्रोता रेडियॊबाट परिचित ती साथी "मान्छे" थिइन्।

प्रवासमा नोकिया मोबाइलबाट फेसबुकमा खेल्न थालिरहेको पहिलो पल्ट साहित्यिकार दलवीर सिं बराइली दाजुसंग एड हुन पुगें। किन कि म वाल हेरेर एड माग्थे र साहित्यअनुरागी थिएँ नि त। त्यसपछि म पनि रोमनमा केही सिर्जनाहरू स्टाटसमा राख्न थाले साथीहरूले मन पराउन थाले, त्यति बेलाका साथी कति त आजभोलि भेटिन्नन्। चितवनका कृष्ण विश्वकर्मा गुरु मसंग साथी बन्न चाहे, बन्यौ पनि वहाँ गजल नेपालीमा लेखेर राख्नु हुन्थ्यॊ स्टाटसमा, मलाइ औधी मन पर्ने र लेख्न चाहिरहेको म सिक्न बुझ्न लाज नमान्ने, वहांसंग कहिले काँही इन्बकस्मा कुरा गर्ने भएकोले पनि गजल बारे सिकाइदिन अनुरोध गरें, नभन्दै झर्को नमानी रोमनमै भएपनि उदाहरण सहित सिकाउनु भयॊ। म क्रमश साहित्य लेख्नेहरूलाइ पछ्याउन थालें आनन्द गुरुको फ्रेनलिष्टबाट धेरैसंग जोडिएँ। ठिस बुढा वा अहिले शैलेश मानव वहाँसंग परिचय भो मलाइ छलफल गजलको पेजमा जोड्नु भयॊ धेरै सिक्न पाएँ पाइरहेको छु।

मलाई याद छ शैलेश मानवले एकसेर राख्थे म सेर थप्न पुगिहाल्थें मेरो सिकारू सेरको वरिपरि अर्को सेर थप्न आइपुग्थिन् साबित्रा लुइँटेल घिमिरे।

शैलेश मानवको वालमा सेर जुहारी गर्दा गर्दै हामी साथी बन्यौ, मैले सजिलै दिदी सम्बोधन जोडें। वहाँ लेखहरू विशेष गजल नै हामीलाई नजिक बनाउन सहयॊग गर्यो। म खुब पढ्न थालें वहाँका गजलहरू र मैले लेखेका पनि नछुटाई ट्याग गर्थें त्यॊ बेला ट्याग गर्ने मिल्यॊ मिलेन भनिने यॊ बिग्रियॊ भन्ने कति मिठो चलन थियॊ त्यतिबेला त्यॊ चलन हुँदैन थियॊ भने म कसरी आजसम्म आइ पुग्थे?

साबित्रा दिदी पनि प्रवासमा र म पनि, कहिले काँहीको फुर्सदमा सजिलै दिदी भाईको नाता हाँसेर कुराकानी गर्यौ । त्यो भन्दा तेब्बर हामी एक अर्काको रचना मुनि नै भेटिन्थ्यौ। निरन्तर लेख्दै जानु भयॊ वहाँ। मैले पनि निरन्तर लेख्दै आएँ। वहाँले समय मिल्दा नमिल्दा लेखनलाइ प्रभावकारी बनाउन निखार्न अप्रत्यक्ष साथ हौसला उर्जा दिई रहनु भयॊ। हाम्रो आत्मियता संजीलबाटै पनि गहिरो नातामा कायम हुन पुग्यो दिदी भाई बनेर शायद रहिरहनेछ कालान्तर।


बिस्तारै साथीहरू बढ्यौ एक दिनमै थुप्रै गजल आउन थाले त्यही अनुपातमा गजल संग्रह पनि प्रकाशन हुन थाले एकल, संयुक्त नयाँका पूरानाका गर्दै।

दैनिक संजालमा साबित्रा दिदीको गजल पढिरहेको म पुस्तक प्रकाशनको कुराले मनमा निकै ठुलो खुशी छायॊ लामो समय देखिको चिनजान भएकोले पनि आतुर थिएँ, ब्यग्र प्रतिक्षामा वहाँका पढ्न छुटेका बाँकी र संजालमा जोडिनु भन्दा पहिलाका गजलहरू पढ्न।

साँच्चै समय पनि आयॊ वहाँले आफ्ना गजलहरूलाई पुस्तकको आकार दिनु भयॊ। दोहामा अनेसास र नवोदितको ४६ औं डबली अर्थात महिला साहित्यकार पारिजातको ७८औं जन्मजयन्तीको अवसरमा रचना वाचन श्रृंखलामा जाँदा भर्खरै स्वदेशबाट फ्रकेका निराजन लुइटेल सरले कार्यक्रममा पुग्ने बित्तिकै थमाउनु भयॊ साबित्रा दिदीको स्नेह सौगात स्वरूप वहाँकै पहिलो गजल कृति खोलीबिनाको बगर।

यतिन्जेल कसैले नचिने पनि राम्रो लेख्न नसके पनि म अनौपचारिक लेखनमा ब्यस्त भएको करिब एक दशक बढी भएको थियॊ जीवनमा पहिलो पटक पुस्तक स्नेह सौहातको रूपमा हात पर्दा साँच्चै खुशीको सिमा थिएन।

मेरो नाम उल्लेख गरेको पुस्तकलाइ प्यारले सुम्सुम्याएर सुरक्षित लिएर कोठा फर्के, साथीहरूसंग केही पुस्तक मागेर लिएको भएपनि त्यसै दिन पढ्ने पहिलो पुस्तक छाने साबित्रा लुइटेल घिमिरे दिदीको पहिलो गजल कृति खोलीबिनाको बगर।

समय मिलाएर पढ्न सुरु गरें भूमिका सहित १०१ गजल पढ्न प्रवाशी समयलाई मिलाउँदा मिलाउँदा तीन दिन लाग्यॊ। दिदीको स्नेह सौगातलाई कसरी धन्यवाद दिऊँ भैरहँदा पूरै पुस्तक पढे पछि अनुमति बिना नै दिदी पुस्तकबारे म बबुरो फुच्चे भाईले कतै तारिफ त कतै भए गरेका सामान्य त्रुटिहरू खेाजेर बुझाउन मन लाग्यॊ। अनर्थ नलागोस् म पुस्तकको समालोचक बन्न खोजेको हैन र म समालेचना लेख्ने क्षमता भएको मान्छे कहाँ हुँ र! ममा के खुबी भएर गरूँ वा लेखुँ! यॊ त केवल दिदीको काखमा सानो बबुरो फुच्चे भाइको चकचक मात्र हो यही चकचकको रूपमा लिई दिनु है दिदी आग्रह गर्छु नत्र रोईदिन्छु फेरि।

लौ त पुस्तक भित्र छिरें।
खोलीबिनाको बगर दिदीले नितान्त भित्री कोमल हृदयमा गुम्सिएका अनेक किसिमको भावनालाई गजलको माध्यमबाट बाहिर निकाल्नु भएको छ। मलाइ लोभ्याएको वहाँको आफ्नै मौलिक र ठेट भाषाको प्रयॊग र हरेक गजल लयात्मक हुन नै हो।

गजलमा दिदी आफूलाई फूलसंग दाँज्दै फुलाउनु भएको हर वसन्तमा, चोइटिनु भएकोछ आँधीहुरीमा, चुटिनुछ भएको असिना पानीबाट, र ओईलिनु भएको छ चर्को घामबाट। त्यति मात्र कहाँ गजलको हरेक यात्रामा साहशी बनेर, निडर भएर, आत्माविश्वास बोकेर हिंड्नु भएको छ। लक्ष्य प्राप्तिकोलागि, शालिन र सभ्य भाषा शैलिको पुल बनाएर। आफुले आँफैलाई सान्त्वना दिंदै भाषा, संस्कृति, परम्परा, राजनिति, विसंगति, कुरिति र अन्धविश्वास पश्चिमा संस्कृतिको पर्दाफास सहित शालिन कोमल लहरीमा सेरहरू उन्नु भएको छ।

आफू तरूनो छँदाका बिठ्याँईहरू, रमाइला ठट्टाहरू, समय संगै प्रेम, मिलन बिछोड, बेदना, चोट गुनासो, आग्रह अनि घरि काँचो अल्लारे, र कैले पूर्ण, कैले बुझक्की बनिरहनु भएको छ सेरसेरमा।

त्यति मात्र कहाँ! प्रत्येक ठाउँमा महिलाको लागि आवाज, नेपालको प्रशासनिक गतिबिधि, पछिल्लो जमानामा पनि महिलाको स्थान, समाजले हेर्ने दृष्टिकोण, लोभ, लालच, हिंसाहरूलाई नियाल्दै दु:ख, पीडा, अभाव र सबैको साझा पीडा प्रवाशी हुनु, प्रवासमा भोग्नु परेको पीडा, समुन्ग्र पारि हुँदा घरपरिवारको याद, मायाहरू, आफ्ना आफन्तहरूलाई सम्झनाको थांक्रोमा बेर्न सेर सेरमा हरिया काँक्रा झैं फलाउनु भएको छ।

आहा!
मजाले अतितका घाँसका भारिहरू, गोठाला जाने पाखा, गाई चराउने साथीहरू, मेलापात, डाँडा भन्ज्याङ, झरी बादल, र मनोरम हाम्रो काखको प्रकृति पनि सेरहरूमा छुटेका छैनन्। प्रवासबाट हरेक तिथिमितीमा आफ्नो मायालु र माइतीलाई सम्झनु भएको छ। आत्माविश्वास अठोट आग्रह गर्दै अझै सप्नाहरू पनि देखेकै छिन् । साँच्चै यति शालिन ठेट मौलिक शब्दहरूको प्रयॊग छ नि कि कृति पढिरहँदा र एकनास लयमा निरन्तर बग्दा को आनन्द नहोला र! साँच्चै यस्तो कृति पढ्न गजल अनुरागी र सिकारू नछुटुन्।

खोलीबिनाको बगर भित्रका १०१ गजल र मेरो बबुरो फुच्चे हरीले ठम्याउन सकेका राम्रा र नराम्रा पक्षहरू, म जानकार भएर हैन एक पाठकको निजी बिचार वा आफ्नै दिदीसंग खुलेर प्रस्तुत भएको मात्र ठान्नु होला।

भुमिकाबाटै पढ्न सुरू गरेको मैले मुख्य भूमिका लेख्नु हुने आदरणीय अग्रज पोष्टराज सरलाई पढें सायद टाइप मिस्टेक हुन सक्छ वहाँको भूमिकामा कृतिको नाम पानीबिनाको बगर लेखिन पुगेछ।

अब म गजल तिर फड्को मारें, त्यतिका गजल पढ्दा स्रुति सहज नलाग्ने केही शब्दहरू जस्तै डर्दिन म, दिनै, खुशी मैले पांछ छन्। डराउँदिन, दिननै मैले पा'छु हुनु पर्ने मेरो निजी बिचार मात्र।

मैले केही पुस्तक पढेको छु राम्रो वाक्यहरू, राम्रो श्लोकहरू, र राम्रो सेरहरूमा चिन्ह लगाउने गर्छु र आफूलाई नराम्रो लाग्नेमा पनि चिन्ह नै प्रयॊग गर्छु। घमण्ड गर्दिन केही पुस्तक आधा पढ्दा पढ्दै अघि बढ्दिन पनि। तर दिदीको हरेक सेर सरल छन् उत्कृष्ट छन् गहिरो भावमा छन् खाँटी कुरा त म जस्तो कम्जोर पाठक कतै झुक्किनु परेन, अल्मलिनु परेन, यॊ वहाँको बलियॊ खुबी हो। एक सेर छान्दा अर्को अन्याय़मा पर्ने भएको सेरहरू छानेर साध्य नै भएन तर केही गजल भने जिब्रोमै झुन्डिने छ्न् मनमै छापिएका छन् गजल क्रम १३, १६, ३७, ४४, ५०, ८२ अलवा सबै उतिकै बेजोड छन्।

म साबित्रा दिदीलाई लयमा गजल लेख्नेहरूको भिडमा अग्र पङ्ति मै लिन्छु, तर पनि केही गजलहरू कताकति लय हल्लिएका छन् एकाध पाइन्छ भनिन्छ तर म यत्तिको चल्छ भन्ने कुरा स्वीकारदिन यति चलाउँदा उति चलाउँदा गजल नै चलेका उदाहरण हाम्रै सामु छन्।

दश बर्ण देखि सोह्र बर्ण सम्मको लयमा गजल सिर्जना गरिएको छ औधी सचेत भएर, दिदीले हलन्त नलाग्ने तर उच्चारणमा ह्रास हुनेलाई प्राय गन्ति गर्नु भएको छैन एकाध ठाउँ बाहेक।

सबै भन्दा बढी १४ ( ८+६) बर्णको लयमा २६ गजल लेखिएका छन्
२१ वटा गजल ८+८ को लय,
१८ गजल बाह्र बर्णको लयमा लेखिएका छन् भने हरेक गजलमा यति र गति स्वनिर्मित छन्।
बाँकी ९+७ लयमा ११ वटा,
७+८ को लयमा ४ वटा,
७+७ को लयमा ७ वटा,
८+५ को लयमा ३ वटा,
६+७ को लयमा २वटा,
६+५ को लयमा ५ वटा,
५+५ को लयमा ४ वटा गजल लेखिएका छन्।
बिडम्बना हाम्रै लोकलय झ्याउरे लयमा असारे भाकामा जम्मा एउटा मात्रा गजल समावेश छ गजल क्रम ८९।

दिदीको अधिकांश गजल पूर्ण काफियामा लेखिएका छन् एकाक्षरी त्यति जाती त मान्दिन र यॊ संग्रहमा समावेश पनि छैन खुशीको कुरा हो। काफियामा भाव फरक परे दोहोर्याए पनि जाती नै मान्छु म चैं पाँच सेर पुर्याउन कै लागि अर्थ न बर्थमा काफिया राख्नु भन्दा यहाँ दिदीले जम्मा एउटा काफिया दोहोर्याउनु भएको छ गजल क्रम ४८ मा काफिया मात र जमात चर यसलाई कसरी दोहोर्याएको भन्ने!!

पछिल्लो समय अनेक विषयमा लेखिन्छ गजल, तर दिदीको गजलहरू प्राय प्रणय भावकै छन् । दालमा ढुंगा जस्तै एकाध गजल र सेरमा सराबी र व्यङ्ग भेटिन्छ। गाली, रिस, आक्रोस त फिटिक्कै छैन माथि नै भने सबै शालिन र सभ्य भाषामा छन्।

शिर्ष गजल एक मात्र छ, गजल क्रम ९ हो। भने १०१ गजलमा जम्मा ६ वटा गजल क्रम ३, १७, ६७, ६८, ७५, ९९ मा मात्र तखल्लुसको प्रयोग छ।

गजलहरू ४ सेरका ४ वटा,
६ सेरका ११ र
बाँकी सबै पाँचै सेरका छन् भने गजल क्रम २१, ३४, ४७, ५९, ८० ,८३, ९१, ९५ गैर रदिफमा छन्। यतिका गजलमा दुइवटा मात्र उखान टुक्काको प्रयॊग भेटिन्छ भने जटिल बिम्ब या शब्द छन् भन्ने मलाई लागेन।

सामान्य टाइप मिस्टेक पनि छन् जस्तै गजल १० को मतला ( कैलेकंही), गजल २५ को मकता ( जुन तर चल्छ भन्छन्), गजल ५१ मा मतला को काफिया, गजल ९५ को मकता ( आमबाको)। मोटो श यॊ कृतिमा पनि लोपोन्मुखमा पर्न गएको छ।

दिदीको गजलमा नारीलाई हौसला प्रोत्साहन आग्रह जति छ पछिल्लो समय सबै विषयमा गजल लेखिए पनि वहाँको गजलमा देशभक्ति, चाडपर्व, आमाबाबाको सम्झना, नेतालाई गाली गलौज गरी गजलहरू खोजि रहे एक बाहेक अरु नपाएइला।

अन्तमा दिदी यॊ हजूरको लाडे भाई हजूरको "खोलीबिनाको बगर माथि खुब चकचक गर्यॊ उफ्रियॊ। रिसाऩी नहोस् है! रिसाउनु भयॊ भने रून बाहेक अरु के गर्न सकुँला र म। कृति सफलताको कामना गर्छु, अझै सुन्दर र यस्तै मार्मिक गजलहरू पढ्न पाइयॊस् कृति र सर्जक अजर अमर रहुन्। जय गजल।।

रूप रसाइली विश्वकर्मा
घान्द्रुक २ कास्की
हाल प्रवास

Posted by Unknown on 7:21 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011