आनन्दै छ जिन्दगी बजारमा
नेपाली स्रष्टाहरुले गजललाई व्यापकरुपमा आत्मसात गरेको डेढ दशक हुन लागेको छ । यस समयावधिमा नयाँभन्दा नयाँ र स्थापित स्रष्टाहरुले गजल संरचनाका आधारभूत तत्वहरुलाई अर्थपूर्ण रूपमा प्रयोगमा ल्याईरहेका छन् । शुरुमा प्रेम-प्रणय र शृङ्गारको भावभूमीबाट आफ्नो पहिचान बनाएको यो विधा समय र सामाजिक परिवर्तनसँगै परिवर्तित हुँदै आयो र यसले प्रेम मात्र होईन,जीवनका सबै पाटाहरुको उद्घाटन गर्दै आयो । यसरी गजलले दुःख पीडादेखि लिएर सामाजिक परिवर्तन र क्रान्तिकारी भावहरुको अभिव्यक्ति दिन थाल्यो । गजलमा आएको परिवर्तनले गजलको भाव-भूमिमा व्यापक परिवर्तन ल्यायो तर गजलको रुप-भूमि अर्थात संरचनात्मक पद्धतीको निर्वाह भने गम्भीर रुपमा भई नै रहृयो । किनभने काफियाबिनाको गजल नै हुँदैन र लयबिना गजलको कल्पना नै गर्न सकिदैन । गजल संरचनाका आधारभूत तत्वहरुको निर्वाहबिना त्यो रचना अरु कुनै बिधा बन्ला तर गजल हुन सक्दैन ।
नेपाली साहित्यमा गजल लोकप्रियताको शिखर चढ्दै गरेको बेला प्रशस्त सम्भावना बोकेको नयाँ-नयाँ गजलकारहरुको उदय भइरहेको छ । यसै सर्न्दर्भमा " आनन्दै छ जिन्दगी " गजल कृति मार्फ गजलकार आनन्द श्रेष्ठले नेपाली गजल साहित्यमा पदार्पण गरेका छन् ।
गाउँबाट देशलाई उठाएर आऊ तिमी
किसानको गाँसबास जुटाएर आऊ तिमी
आफ्नो मुलुकको उन्नति र देशवासीहरुका आधारभूत आवश्यकताप्रति यति सचेत भएर लेखिएको यस शेरबाटै गजलकार आनन्द श्रेष्ठको गजलकारिताको भविष्यप्रति आश्वस्त हुन सकिन्छ । गजल लेखनको छोटो अवधिमै यस विधाप्रति समर्पित भएर कलम चलाईरहेका गजलकार आनन्द श्रेष्ठले गजललाई बुझने र आत्मसात गर्ने राम्रो प्रयास गरेको देखिन्छ ।
चोटै चोट छ मुटुभरि,त्रि्रो नासो प्यारो भयो
जाँदा आँसु छोडि गयौ,त्यही टाँसो प्यारो भयो
दुःख जति परे पनि भाग्दा कहाँ पार पाएँ
जहाँ हिँडे बाटैभरि चट्टानको धार पाए
गजलको समुचित प्रयोग गर्न सकेको खण्डमा आफ्ना भोगाइहरुलाई संक्षिप्त,कोमल र हार्दिक रुपमा अभिव्यक्त गर्नको निम्ति यो विधा आफैमा एक अत्यन्तै र्समर्थ विधा हो । यस कुराको पुष्टिका निम्ति गजलकार आनन्द श्रेष्ठको यो शेर हेरौं -
आफूलाई परेपछि थाहा हुँदो रैछ
अरुलाई पर्दा मान्छे कहाँ रुँदो रैछ
यस्तै उनको अर्का सटिक शेर यस्तो छ -
के भएर जिन्दगी यो हातबाट बित्तो भयो
तिमी उता गएदेखि संसार यो रित्तो भयो
माथि उल्लेख गरिएका शेरहरु भाव र सौर्न्दर्यका दृष्टिकोणले सन्तुलित र सुन्दर उदाहरणहरु हुन् । यसको अर्थ हो गजलकार आनन्द श्रेष्ठले गम्भिर भएर गजल सिर्जना गरे भने हामीले उनीबाट यस्तै बान्कीका अरु सुन्दर गजलहरु प्राप्त गर्दै जाने छौँ ।
गजलकार आनन्द श्रेष्ठले हतार गरेकाले र गजलको सङ्ख्या बढाउनतिर उनी बढी अग्रसर भएकाले यस सङग्रहका कैयौँ गजलहरु कमजोर हुन पुगेका छन् । जबर्जस्ती काफियाको प्रयोगले ठाउँ-ठाउँमा भाषागत त्रुटि हुन पुगेको छ ,शृङगारको नाममा कतै -कतै मर्यादाको उल्लङ्घन भएको छ,ठाउँ-ठाउँमा भावको पुनरावृत्ति भएको छ र कैयौँ शेरहरुले पूर्ण भाव बोकेका छैनन् । यी त्रुटिहरु गुणभन्दा सङ्ख्यामा गजलकारले बढी जोड दिएकाले हुन पुगेका हुन् । अभ्यासको क्रममा तयार पारिएको यस कृतिले आनन्द श्रेष्ठलाई नेपाली गजलमा चिनाउने काम पक्कै गरेको छ र आगामी गजल यात्रामा उनले माथि उल्लेख गरिएका शेरहरु जस्तै सुन्दर शेरहरुले निर्मित गजलहरुको सिर्जना गर्ने छन्,सङ्ख्या भन्दा गुणलाई महत्व दिनेछन् र गजलका सम्पूर्ण संरचनात्मक अवयवहरुलाई अझै आत्मसात गर्दै अब्बल कोटिको गजलहरुव्दारा नेपाली गजलको श्रीवृद्धिमा योगदान दिनेछन् भन्ने आशासहित उनलाई शुभकामना दिन चाहन्छु ।
--------------------------------------------------------------------------------------------------------------------
मेरो भनाई
म भन्दा नि अझ अघि बढिदिनु ल
"आनन्दै छ जिन्दगी" यो पढिदिनु ल
२०४५ सालमा दशरथ रङ्गशालामा भएको हृदयविदारक घटनाले उद्वेलित मनमस्तिस्कबाट पहिलो पटक एउटा कविता लेखें । साहित्यिक यात्रा भनौँ वा कविता लेखनको शुरुआत दुखद् घटनाबाट शुरू भयो ।
२०४६ सालमा खानेपानी तथा ढल निकास विभागको रसुवा धुन्चेको अस्थायी जागिरे जीवनमा धेरै कविताहरु लेखेँ । कहिले गणेश हिमाल हेर्दै लेखेँ,कहिले लाङटाङ हेर्दै लेखेँ । कहिले गतलाङ पुगेर लेखेँ त कहिले स्याफ्रु र रसुवागढी पुगेर लेखेँ । कविता लेख्ने क्रम अविरल बगिरह्यो तर सेतीझैँ बगिरह्यो भित्रभित्रै । २०६० सालतिर होला सायद,केही कविताहरु पीस साप्ताहिक लगायतका पत्रिकाहरूले नियमित प्रकाशनमा ल्याएका थिए ।
प्रत्येक मानिस कवि हुन् ,फरक यत्ति हो, कसैले शब्दलाई, सबैले देख्ने गरी भावनामा पोख्छ त कसैले पोख्न नजानेर एक्लै लुकाएर पिउँछ । मैले पनि जिन्दगीका उकाली ओरालीहरूसँगै यस्ता भावनाहरू कति पिउँदै पोखाउँदै २०६६ सालसम्म आउँदा ब्रेन ट्यूमरले पत्तै नदिई मेरो शिरमा डेरा जमाइसकेको रहेछ । भर्खर – भर्खर फेसबुकमा रमाईरहेको मनमा सो रोगको उपचार गर्न जानुपूर्व छातिभित्र बाँच्ने र मर्ने विषयले आन्दोलन गर्दैगर्दा लेखिएका हरफहरू यस्ता थिए–
‘...............मलाई ब्रेन ट््यूमर भएको रहेछ । म उपचार गर्न जाँदैछु । आजसम्म मलाई चिन्नुहुने मेरा इष्टमित्रहरू , ब्रेन ट््यूमरको अपरेशनमा कमै मात्र मान्छे बाँचेको देखेको छु , बाँचिएछ भने फेरि भेटौंला अन्यथा मबाट जानाजान कुनै गल्ति भएको रहेछ भने मलाई माफ गरिदिनुहोला । म मेरी श्रीमती र भाइ डा.किरण(श्रीमतीको भाइ)लाई उपचारको क्रममा साथै लिएर जाँदैछु । कुनै जानकारी लिनु परे ................... नम्बरमा सम्पर्क गर्न सकिने छ ।’ (यस्तै यस्तै)
मेरी प्यारी अर्धाङ्गिनीको अथक प्रयास र उनको भगवानसँगको प्रार्थनाले सही समयमा सही चिकित्सकको हातबाट शल्यचिकित्सा हुनुले र थुप्रै इष्टमित्रहरूको सद्भाव र मायाले मैले पुनर्जीवनको जीवनदान पाएँ र आज यहाँहरू समक्ष यो कृति लिएर उपस्थित भएको छु । मैले मेरी उनीलाई दिनुपर्ने धन्यबाद स्वरूप यो कृति उनैमा समर्पित गरेको छु ।
गजल लेखन कार्य मैले २०६७ पुषतिरबाट शुरु गरें जतिखेर मलाई गजलको संरचना बारे जानकारी नै थिएन । मैले शुरूमा लेखेको गजल (गजल एक प्रयास)यस्तो थियो –
रात कालो भई अझै किन सामु छाइरहेछ
यो मुटुमा अझै किन तिम्रो याद आइरहेछ
यसको दोश्रो शेर यस्तो थियो –
तिम्रो याद मेटाउन धुवाँलाई पिइरहेछु
आहत यो मुटुसँगै उद्विग्न भई जिइरहेछु
यस्ता हरफलाई शेरको रूपमा प्रस्तुत गर्दा फेसबुकमा गाली त खाएँ नै तर धेरै परिश्रम गर्न पनि सँगसँगै सिकायो ती गाली र सुझावहरूले । यस्तैमा मलाई नेटको भेटले मिलायो कवि श्री बसन्त श्रेष्ठ क्षितिजलाई । वहाँले पहिलो भेटमै डा.सनत कुमार वस्ती ज्यूको ‘वाह ! गजल’ पुस्तक उपहार दिनु भयो र म लगातार सोही पुस्तकको अध्ययनमा लागेँ । दैनिक गजल लेखि रहें,कहिले एउटा त कहिले तीनवटासम्म । कहिले मायाको गजल लेख्न सिकेँ,कहिले देशभक्तिको । कहिले शिवरात्री विशेष त कहिले फागुपूर्णिमा विशेष । मेरो गजल लेखाइमा फेसबुकले पनि साथ दिंदै गयो । फेसबुक नहुँदो हो त सायद मेरा गजलहरू पनि कविता झैं कागजका पानाहरूमै सीमित हुन्थे होलान् सेती नदी झैं भित्र–भित्रै । मेरो गजल लेखनमा मेरो फेसबुकका मित्रहरूको सूची (Friend's List)मा रहनु भएका थुप्रै आदरणीय अग्रजहरुको भरपूर साथ मिलेको छ त्यसैले त मेरो यो यात्राले यहाँसम्मको दूरी सजिलै पार गर्न सफल भएको छ । मेरा गजलहरू अभ्यासका क्रममा तयार भएका छन् । म अझै सिक्दैछु र सिक्न धेरै बाँकी छ भन्ने लागेको छ ।
अन्त्यमा मलाई सहयोग गर्नुहुने सबै स्रष्टाहरूमा हार्दिक आभार व्यक्त गर्दछु । मेरो गजलहरूका विषयमा आफ्नो मन्तव्य राखी शुभकामना दिनुहुने श्रद्धेय दाजु वरिष्ठ गजलकार एवम् प्राज्ञ श्री ललिजन रावलज्यूलाई र यस सङ्ग्रहको आवरण डिजाईन गरिदिनुहुने कलाका धनी गीतकार दाजु रमेश पौडेलज्यूलाई हृदय रित्तिने गरी धन्यवाद् टक्र्याउँदछु ।
सबै दियौ छाड्यौ यही धर्तीमा शुन्य कमायौ तिमीले
लाखौँ लाख शुभकामना दियौ पुण्य कमायौ तिमीले
– आनन्द श्रेष्ठ

