पाँच मुक्तक
१,
खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,
असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,
फूले 'सी आहा भन्दै, टिप्ने त जत्ति छन्,
वाध्य भै ठाउँ सर्दा, रेखदेख गर्ने चाहियो!
२,
आमा भन्नु हुन्थ्यो, यसलाई त के के कोचाइयो,
खै, आफूलाई त लाग्छ पानी खाएरै पो मोटाइयो,
किन मोटाइयो खै कुन्नि, यो दुब्लाए राम्रो युगमा,
आखिर मोटाएर महंगी को, घ्यू तेल त जोगाइयो!
३,
कसैले बिरालोले गुँड लगायो भन्छन्, आफ्नो भने मुसाको गुँड छ,
घरमा पालेको सुगा, प्रजातन्त्र को माग राख्दै पिंजरा तोडेर उड्छ,
कसको अधिकार छ, कसको छैन, लेखाजोखा गरेर हिंडीयो, थाहा भो,
मानिस लाई सबै कुरामा बन्देज, जनावरलाई जे गर्न पनि छुट छ!
४,
रोज्दैमा पाइंदैन विदितै छ, त्यसैले रोजेकी छैन,
जमाना यस्तै आयो, असमान वर खोजेकी छैन,
मख्खै छु, जिज्ञासा, प्रशंशा र भलाकुसारी ले तर,
कसैको अधिनमा फेरी बसौंला भन्ने, सोचेकी छैन!
५,
एक जमाना थियो, कुकुर भुक्थ्यो मानिस इमान्दार थियो,
जमाना फेरियो, कुकुर इमान्दार बन्या'छ, मानिस बदलियो,
आफै मात्र सर्वेसर्वा, आफू नै ब्रम्हाण्ड सम्राट बन्दैछ मान्छे,
यहि रितले त सिद्धिएला, कि बालीरहन्छ श्रीष्टि को दियो!
