अर्काको मति जुँगाको खति (व्यंग्य)
रवि रोषी
दोहा कतार
“काँसो रुघाले,
दाई सारै छिप्पेको दारी जुँगाले ।”
“काँसो रुघाले,
दाई सारै छिप्पेको दारी जुँगाले ।”
एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्न जाँदा मेरो बुलबुले छेउको कानले कर्णपान गरेको यो गीत अझ सम्म पनि कन्ठाग्र छ । जाद्रै रसले गुल्मी लुम्पेक, जुभुङ्ग हुँदीका मगर सम्प्रदायका दिदीहरु मखमली घलेकमा सजिएर, दाहिने हात कम्परामा लाएर, खुट्टाको बुढी औँलाले रिढीको गेग्राइलो बगर कोट्याउँदै,जोरमादलको तालमा गाएको गीत आगतमा पनि कानमा गुन्जिरहेकै छ र तत्कालिन दृश्यावली आँखाभरि सचित्र नाचिरहेकै छ । शायद त्यसक्षणको गीतको अन्तराको मर्म आफ्नो मनले खाएको हितको मायाको जुँगा ति दिदीहरुको रुचि बिपरीत भएको हुँदा गीतकै माध्यमबाट जुँगा खौरिन उत्प्रेरित गराइएको हुनुपर्छ । जुँगा फाले मात्र जे भने पनि“मान्चम्” भन्ने ति लुम्पेके दिदीहरुको गीतको आशय अर्घेल्याईं हो कि अन्तस्करणबाट नै मन नपरेर भनेका हुन् , त्यसबेलाको म चौध बर्षेे उमेरको अधबेस्रो किशोरले के भेऊ पाउँथे र ? गीत फर्काउने दाईले ति दिदीहरुको मतिमा लागी त्यसपछि जुँगा पालेकि फाले कहिल्यै भेट हुन पाएन । त्यस समयको जुँगा बिरोधी अध्याय रिढीकै बगरमा साँगे भयो ।
केशवराज पिंडालीले चाहिँ जुँगा नामक निबन्ध अन्तर्गत जुँगाको अस्तित्व शान,मान,पद वर्कतसंग जोडिएको बारेमा आफ्नो लेखकस्व मार्फत जनाउनु भएको छ । उहाँले उक्त निबन्धमा जुँगाको खोइरो खन्न पनि पछि पर्नु भएको छैन र जुँगाबाट हुने फाइदा सम्वन्धि वैज्ञानिक तर्क न्यायसंगत रुपमा जुँगाको भागमा घर्लप्प घोप्ट्याउन पनि पछि पर्नु भएको छैन । उहाँले शाव्दिक प्रतिक्रिया र न्याय दुवै संगसंगै पस्किदिनु भएको छ आफ्नो लेखकीय कलात्मक लेखकस्वमा ।
जुँगाको प्रसंगमा कुरा उठ्दा मैले पनि क्याम्पस पढ्ने छँडुलीहरुको लहैलहैमा लागेर मज्जाले मति बिगारेको छु । अर्काले उचालेको भरमा जुँगा माथिको नाक भनाउँदोले पानी खाईदिँदा नाकमुनिको जुँगा खौरेर बिउ काढेको खले गरो जस्तो सोहोत्तर पार्न पुग्दा पन्ध्र दिन सम्म नाकमुनिको ऐलानी कित्ता ऐना हेर्दै, छाम्दै, कहिले मुर्मुरिदै,कहिले मुसुमुसु हाँसेको हिजो मात्रै हो कि जस्तो झल्कना आउँछ । खै ! दैवले के मति लाईदिए कुन्नि, मेरा आफ्ना सहोदर दाइहरु त त्यस्ता उछिल्या मतिका थिएनन् । म चाहिँ एस.एल.सी. पास भएर क्याम्पस पढी टोपल्ने के भा को थिएँ शुरु भईहाल्यो“लभस्क्याण्डल”कलेज गर्लहरुसंग । सहपाठी मित्रहरुले सम्झाउँदै“पढ् है डिल्लीराम पढ् तेरो यो लभ गर्ने टाइम हैन”भनी हकार्दा टाइमपास हो यार भनी पानी माथिको ओभानो बन्ने गर्थेँ । भालुको मन खन्युँ माथि भने झैँ कसैको कुरा नसुनीकन आफ्नो उधेश्यबाट टसका मस नभईकन साइड बिजनेश तिर लागिरहेँ उँधोमतिले गाँजेको वेलामा । खैर मायाको पोखरीमा बाँकाटे हान्दै जाँदा अनलाइनमा ल्याउन सफल भएँ एउटीलाई त । मेरो पनि भाग्य दरो रैछ नि हो गाँठे, के कुरामा कम्ति रैछु र म पनि भन्दै खुशीको उन्मादले या......हु भन्दै चिच्याएर उफ्रिने भएको त क्यान्टिनको झ्यालमा ठोक्किएर जुँगा मुन्तिरको माथिल्लो कित्ताको ओठ त चार वटा बारुलाले एकै ठाउँमा टोकेको जस्तो हुसुसुस्सु फुलेर रिसाएको खस्रे भ्यागुता जस्तो भईहाल्यो । उतरपक्षबाट इतरपक्ष तर्फ सकारात्मक जवाफ आएको खुशियालीमा बुर्लक्क उफ्रिन पुग्दा झ्यालमा ठोकिएर त्रिभुवन चौध लोक मात्र कहाँ हो र ढकमक्क फुलेको वनतोरी र रामतोरीका फूल एकै खेपमा देख्न पुगेको थिएँ ।
पहिलो दिन त यो गति भयो डेटिङ्गको दिनमा अरु के अशुभ हुने हो भनेर हर्रो चपाएको मुख जस्तो बनाएर झोक्रिएर बसिरहेँ ।
आखिर एकान्तमा मनका कुरा साटासाट गर्ने दिन पनि अन्मरिदै आयो । म एक जना हुलका हुल र कन्यापात्रहरु जम्मा चारजनाको संख्यामा जम्काभेट भयो । म पनि मनको कुरा भन्न के को लाज मान्नु भन्दै एउटा हातको पञ्जाले अर्को हातको पञ्जा फुत्केला कि भने जस्तो गरेर मरिमरि समात्दै नाभिखण्ड भन्दा मुन्तिर हात लतार्दै लजालु पारामा झोलुङ्गो झैँ ज्यान हल्लाउँदै ओजस्वी पारामा सोधिहालेँ ।“मेरो प्रेम प्रस्तावप्रतिको तिम्रो समर्पणलाई त आत्मसात गरेँ,म तिमीलाई प्रेम मात्र हैन विहे नै गर्न चाहन्छु । के तिमी मेरो बिचारमा सहमत छ्यौ त भिमकुमारी ?”भनेर किक्लिक्क घाँटी तन्काएर जिब्रोको पचास प्रतिशत भाग तल माथिको दाँतले करप्प टोक्दै आँखी भौँ मचक्क खुम्च्याएर मुन्टो अन्तै बटारेँ । उनले पनि आफ्ना समावेशी पात्रहरुको कानमा कानेखुशी गर्दै म पट्टि फर्किएर धक नमानिकन भनिन् “तिम्रो हरेक प्रस्ताव प्रति मेरो समर्थन छ । तर जुँगा पाल्ने मान्छे देखि अलि घृणा जागेर आउँछ । यदि तिमी मलाई सच्चा प्रेम गर्छौ भने तिम्रो नाक मुनिको जुँगा खौरेर अमिर खान जस्तै चक्लेटी बनेर प्रस्तुत हुन सक्छौ ?”भनी अप्ठ्यारो गरालो तेर्साइन् । “मरता क्या नहिँ करता भने” झैँ हुन्छ नि हो गाँठे भनी घर तिर लागेँ । ति भिमकुमारीले मेरो जुँगा मात्र कटाउन खोजेकी हुन्कि जुँगा संगसंगै मेरो नाक पनि कटाउन खोजेकि हुन् म आँधोको सुद्धिले त्यस बेला भेउ पाउनै सकेन । आईतवार अमिर खान जस्तै चक्लेटी बनेर माताको जस्तो मुख बनाएर क्याम्पस जाने मुर्हुत नजिकिदै थियो । शर्त अनुरुप नाक मुनिको एक आँतर जँुगा खौरेर क्याम्पस तिर हानिएँ । क्याम्पसको गेट मात्र पुग्न के भ्याएको थिएँ, मेरी प्रेमिका भनाउँदी भिमकुमारी सुकन्या त दस बाह्र जना दलबल सहित क्याम्पसको गेटमा स्वागतार्थ उभिएको पारामा मेरै प्रतिक्षामा पो बसेका रहेछन् । बखान गरी साध्य भएन नि बरि लै ! रत्यौली घरमा एक्लै हाजिर हुन पुगेको छोरा मान्छेको हालतमा पुर्याएर छोडिदिए मोरीहरुले ।“यो के गरेकी भिम कुमारी तिमीले”भनेर आफ्नै नाकमुनिको ऐलानी पाटो सुम्सुम्याउँदै सोधेको त“टाईम पास हो डिल्लीराम, टाईमपास” भन्दै एक हलको मेलो हाँसेर ग्वारग्वार्ती कुदे क्लास तिर । थुईक्क ‘छन्दकाँटको मानुष, मन्द बुद्धि विद्धान’ भनी आफैलाइ धिक्कारीरहेँ ।
म नाथेको त के कुरा भो र ? छँडुलीहरुले छक्याए, झुक्याए, हाँस्यपात्र बनाए, बनाए । हे दैव ! केहि बर्ष अघि राष्ट्र हाँकी टोपलेका श्रीपेचधारी ज्ञानेन्द्र(मौसूफ?) लाई जुँगा प्रकरणमा मुछिदिएर भाउँतो भाउँतो लाईदिएर “भाङ्गा्राको टोपीलाई गूयेंलाको फूल”भनेझैँ बसन्तपञ्चमीको दिनमा प्रजा सामु उनकै खेमाका तान्त्रिक महोदयले कुरुप बनाएर मच्छिन्द्रनाथको भोटो झैँ हनुमानढोकामा प्रदर्शनीको रुपमा उभ्याएर छाडिदिएको कुरा झलझली भल्कना मनभरि आईरहन्छ । मलाई जुँगा फाल्देर हास्यपात्र बनाए नखरमाउलीहरुले भने ज्ञानेन्द्रलाई जुँगा हाल्देर उछित्तो उडाए तान्त्रिक भनाउँदा साँढहरुले । हुन त इन्द्रियले पुरै काम गर्न छोडिसकेको ज्ञानेन्द्रलाई बस्ने कुर्सी देखि लिएर सुत्ने पलङ्ग र राज आहार पनि तान्त्रिकको सल्लाह बाट मात्र लिनु पर्ने अवस्थामा अवतरण भईसकेका थिए । राजतान्त्रिक कालीवावाको लहैलहैमा लागेर रातो खुर्सानीको धुप,कालो बोकाको भोग र २८ रांगाको बली चढाउने ज्ञानेन्द्र राजा र हाम्रो गाउँको रिठ्ठेझाँक्रीले जे जे भन्यो त्यहि त्यहि मान्ने लैनो विरामीमा के अन्तर रह्यो र ? न मैले जुँगा फालेर प्रेमिका भनाउँदी रामकुमारी भेट्टाउन सकेँ न सरकारले जुँगा पालेर विरेन्द्ररुप धारण गदैँमा आफ्नै पोल्टाबाट फुत्किएको कुन्नि के हो नै भेट्टाउन सकिबक्सियो ।

