यो ब्लग हेर्नेको संख्या

75450

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-२६


सर्बप्रथम म सम्पुर्ण तरही मुसायरा प्रेमी साहित्यिक मनहरुलाई हृदय देखि आभार अनी धन्यवाद ज्ञापन गर्दछु किनकी यहाँहरुको निरन्तर साथ पाएकोले मैले लिएको लक्ष्य २५ सौं भाग सफलतापुर्वक सम्पन्न भएको छ ! र हामी २६सौं भागसंगै हामी दोस्रो खुड्किलोमा पुगेको छौं । पहिलो खुड्किलो अर्थात २५ सौं भाग सम्ममा प्राप्त गजलहरु मध्यबाट छनौट गरेर पुस्तक प्रकाशन गर्ने हाम्रो लक्ष्य पूरा हुन लागेको छ । यहाँहरुले आफ्नो अमुल्य खर्चिएर जुन उत्कृष्ट गजलहरु सिर्जना गर्नु भएकोछ त्यसको मैले अबमुल्यान गर्न पट्टक्कै मन लागेन । त्यसैले मैले यो निर्णय गरेको छु की जति पनि संरचना र गजलको न्युनतम मापदण्ड पुगेको गजल छन् ती सबैलाई सङ्रहमा समावेश गर्ने आशा छ यो निर्णयले कसैलाई पनि मेरो गजल सङ्रहमा परेन भनेर गुनासो गर्ने ठाउँ रहनेछैन । यसको लागि आर्थिक भार निक्कै धेरै हुन जानेछ तर पनि यहाँहरु बाट सहयोग मिल्नेछ भन्ने अपेक्षा गरेको छु ! यहांहरुलाई लाग्ला अब २६सौं भाग पछिको गजल सङ्रहमा समावेश हुन्न किन भाग लिने र लेख्ने भनेर ...??? तर यहाँहरुको साथ मिल्यो भने यस्तै अन्य संग्रहहरु पनि प्रकाशन हुँदै जानेछन । त्यसैले सँधै झैं यहाँहरुको सकृय सहभागिता रहनेछ भन्ने अपेक्षा गर्दछु !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् 

आज मैले हाल इस्राएलमा रहेर फेसबुकमा निक्कै राम्रो सिर्जनाहरु पस्किंदै आउनु भएकी र केही महिना अघि मात्र आफ्नो कबिता कृति 'ममताको आँचल' प्रकाशन गर्न्नु भएकी कबयित्री तथा गजलकार सुमित्रा पौडेल 'आँचल'ज्युको गजलको मिसरा-ए-सानी 'जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो' लाई तरहको रुपमा पेश गरेकोछु । आउनुहोस 'घायलको तरही मुसायरा-२६' मा माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार ०८ डिसेम्बर,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)

गजल: सुमित्रा पौडेल 'आँचल' 
मिसरा: जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो
काफिया: साथ
रदिफ: प्यारो
लय:  जिन्दगीमा/ धन भन्दा// प्रिय तिम्रो/ साथ प्यारो
लय:- ४+४+४+४=१६    

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । 
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

फेसबुकमा जानको लागि यो लिंक क्लिक गर्नु होला 

Posted by Unknown on 2:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

13 comments for घायलको तरही मुसायरा-२६

  1. Anonymous

    घायल सर नमस्कार! केही कुरा भन्न गइरहेको छु कृपया अन्यथा नमानी दिनुहोला , हजुरको यो पछिल्लो निर्णय {{ यहाँहरुले आफ्नो अमुल्य समय खर्चिएर जुन उत्कृष्ट गजलहरु सिर्जना गर्नु भएकोछ त्यसको मैले अबमुल्यान गर्न पट्टक्कै मन लागेन । त्यसैले मैले यो निर्णय गरेको छु की जति पनि संरचना र गजलको न्युनतम मापदण्ड पुगेको गजल छन् ती सबैलाई सङ्रहमा समावेश गर्ने आशा छ यो निर्णयले कसैलाई पनि मेरो गजल सङ्रहमा परेन भनेर गुनासो गर्ने ठाउँ रहनेछैन । }} ले मलाइ अचम्म लागिरहेको छ , यसरी सङ्ग्रह प्रकाशन भएमा यसको वजन वा मान्यता कति होला र सर ? यसो गर्ने भए पहिला देखि किन त्यत्रो तमाम नियमहरु बनाउनु भएको ? प्रत्यक भाग बाट उत्कृष्ट ३ वटा गजल निर्नायक मन्डल बाट छानी सङ्ग्रहमा समावेश गराउने मुख्य तपाईंको नियम आफै बनाएर आफै उल्लङ्घन गर्नु भएको ? वा तरही मुसयराको मान्य मुख्य नियम हरु संचालक ले नै अनुसरण नगर्ने ? कोहि सहभागी हरुले मेहनत का साथ् सबै भागमा सहभागिता जनाउनु भएको छ भने कसैले बीच तिर बाट सुरु गर्नु भएको छ कसैले फात्त फुत्त मात्रै सहभागिता जनाउनु भएको छ अब भन्नु होस् ती सबै भागमा सहभागिता जनाउने सहभागी र कतै कतै मात्रै सहभागिता जनाउने सहभागी हरुको गजल उही मत्रामा अर्थात बराबरी सङ्ख्यामा सङ्घ्रहमा समावेश गराउनु हुन्छ की भाग लिएको आधारमा धेरै थोरै हुन्छ ? यदि बराबरी हुन्छ भने केही होला कित भन्ने आशा बोकेर सबै भाग्मा सहभागिता जनाउने सहभागी हरुको मेहनतको सहि मुल्याङ्कन होला त ? यदि सङ्ग्रहमा गजल समावेश गराउनु मात्रै हो भने त कुनै एक भागमा सहभागिता जनाएको भए भै हाल्थ्यो नी अन्त्यमा आएर यसरी धोका दिनु हुन्छ ? अहिले तपाईंले भने जसरी सङ्ग्रह निकाल्ने भए ननिकालेकै बेश हुन्छ गुरु । यो ऐतिहासिक पनि हुदैन कुनै वोजनदार पनि हुदैन । नछानिएको गजल सङ्ग्रहमा पर्दैन त किन चित्त दुखाउने सङ्ग्रहमा नपर्ने सहभागीले ? वहाँहरुले स्व विचार गरिहाल्नु हुन्छ नी। म लगायत धेरैले आशा राखेको अभियान थियो यो सर हजुरको । यसलाई ऐतिहासिक , नेपालकै प्रथम र पढ्दा पनि केही नया पन पाइने बनाउन कृपया गजल छानेर मात्रै सङ्ग्रहमा समावेश गराउनु होला सर , यहाँ मैले मात्रै कुरा उठाए तर यसमा मलाइ लाग्छ अधिक्तम सहभागी र अरु अग्रज सर्जक हरुको पनि सहमती पक्कै छ ।

  2. नमस्ते मित्र ! यहाँले आफ्नो नाम उल्लेख नगर्नु भएतापनि यहाँले उठाउनु भएको कुरा एक हद सम्म स्वीकारयोग्य नै छ ! जहाँ सम्म मेरो निर्णयले तपाईलाई अचम्म लाग्यो भन्नु भएको रहेछ त्यो कसरि??? हो मैले पहिले गरेको निर्णय अनुसार हरेक अंकबाट ३ वटा गज़ल निर्णायक मण्डल बाट छनौट गर्ने थियो तर त्यसको लागि लाग्ने लामो समय अनि निर्णायक मण्डलका अग्रजहरुको व्यस्तताको कारण पनि यी सबै काम छोटो समयमा गर्न सम्भव देखिएन....! बिचमा २-३ महिना म नेट भन्दा टाढा बस्नु परेकोले पनि तोकिएको समय सिमा भित्र सुरुमा उल्लेखित कामहरु सम्पन्न गर्न कठिन छ ! अबको करिब २ महिना भित्र संग्रह प्रकाशन गर्नु पर्ने बाध्यता पनि आफ्नो ठाउँमा छ ! अर्को मुख्य कुरा पहिले नियम अनुसार १० जनाले लगानी गर्ने भन्ने कुरा पनि पछी सबैको गज़ल समावेश गर्दै गएकोले अहिले २० जना भन्दा बढी भएको छौं र अहिले सम्म लगानीको स्रोत के भन्ने प्रष्ट भएको छैन र संग्रह प्रकाशन को लागि लाग्ने आर्थिक संकलनको कुरा सेलाएको अवस्थामा केहि मित्रहरुको आस्वाशन बाहेक अन्यबाट कुनै सहयोग को हात अघि बढेको छैन र जसरि पनि यो संग्रह प्रकाशन गर्नै पर्ने जिम्मेवारीबाट म पछी हट्नु सक्दिन र कसरि मितव्ययी रुपमा संग्रह निकाल्न सकिन्छ मेरो ध्यान त्यस तर्फ पनि गएकोछ ! त्यसैले पनि निर्णायक मण्डलमा लाग्ने खर्च कटौती हुन्छ भन्ने मलाइ लागेको छ ! जहाँ सम्म त्यत्रो नियम बनाएर संचालकले नै तोड्ने कुरा गर्नु भयो त्यो नियम भनेको समय अनुसार बदलि हुन सक्छ जुन कुरा यहाँले हरेक अंकमा नियम पढ्दै आउनु भएको छ भने पछिल्लो अंकहरु हेर्नुस यो तपाइले उल्लेख गर्नु भएको नियम धेरै पहिले नै हटी सकेको छ !संग्रहमा सबै गज़ल समावेश गर्दा गुणस्तर खस्किने कुरा केहि हद सम्म सत्य भएपनि गज़लको संरचना र मापदण्ड नपुगेका गज़ल लाइ समावेश नगर्ने बित्तिकै स्वत:स्तरीय गज़ल छनौट हुनेछन भन्ने मलाइ लागेको छ ! तपाइले उठाउनु भएको कसैले थोरै भाग लिएका र कसैले धेरै भाग लिएका छन् त्यसमा के भन्ने सवाल छ त्यसमा कुनै दुबिधा छैन जसले जति चोटी भाग लिएको छ उत्कृस्ट भएमा सबै गज़ल समावेश हुनेछन र थोरै भाग लिनेको थोरै नै हुनेछ नकी सबैको बराबर ...! त्यसैले तपाइहरु जसले धेरै चोटी भाग लिनु भएको छ स्वत:तपाइहरुको गज़ल धेरै नै समावेश हुनेछन !तपाईलाई म यो आस्वस्त पार्न चाहन्छु कि संग्रहको स्तरीयतामा कुनै कम्प्रोमाइज हुनेछैन ! पक्का संरचना र नियमभित्र नपरेको गज़ललाइ संग्रहमा राखिने छैन ! यहाँले जुन सल्लाह सुझाव दिनु भएको छ त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु र तपाइले उठाउनु भएको कुरा लाइ सके सम्म ध्यान दिएर 'तरही मुसायारा' को यो संग्रहलाई एतिहासिक बनाएरै छाड्ने कुरामा यहाँलाई अवगत गराउदछु र यहाँको पनि यस अभियानमा सक्दो साथ रहनेछ भन्ने आशा राखेको छु ! धन्यवाद !

  3. Krrish Magar
    ¤-¤ गजल ¤-¤

    माँया पाए भन्छन् सबै जुनेलीको रात प्यारो,
    सिउँदो यो रङ्गाउने मायालुको हात प्यारो ।

    दुनियाँमा किन्न कहाँ पाइन्छ र चोखोप्रेम,
    जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो ।

    धोका खाँदा छट्पटिने मनुष्यको रीत रैछ,
    किन होला मुटु जल्दा आदर्शको बात प्यारो ।

    जब पाएँ तिमीलाई उल्लासले पिएँकोथेँ,
    जति पियो आहा उति नशाको यो मात प्यारो ।

    बिन्ति छाडी नजानु है मर्छु म त तिमीबिना,
    तिमी साथ भए बरू दुखको यो खात प्यारो ।

    { घायलको तरही मुसायरा २६ मा मेरो अर्को प्रयास । }

  4. Acharya Prabha
    आज भने समय अगावै गजल लेखेर पोस्ट गरिहाल्ने प्रण गरें किन कि अन्य कामहरुले गर्दा यो प्रयासमा पूर्ण बिराम नलागोस् भन्ने मेरो आशय / सुमित्रा बहिनीको गजल मिसरा अत्ति नै सजिलो भएकोले झट्ट गजल लेखेर पोस्ट गरि हालें /शब्द/ चयन/ भावमा कमजोरी त अवश्य होलान् कारण छोटो समयको सृजना भएकोले /

    (गजल) आचार्य प्रभा

    आदि जून हाँस्दा पनि लाग्छ किन रात प्यारो
    प्रेम प्रतीक सम्झनलाई पिपलको पात प्यारो /

    भन्छन केवल मर्द जात जय जन्म चलाउने
    तरै पनि नारीलाई लाग्छ मर्द जात प्यारो /

    संसारमा आजसम्म साँचो प्यार अमर छ
    माया जताई सुम्सुम्याउँने प्रियतमको हात प्यारो /

    सुनचांदी हिरा मोती मनग्गे नै भएपनि
    जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो /

    संसारमा धेरै होलान् मन रम्ने बस्तुहरु
    तरै पनि लाग्दोरैछ पिरतीको मात प्यारो /

    (रचना -डिसेम्बर २/ २०११ साँझ अमेरिकी समय )

  5. Shreeram Adhikari
    गजल - घायलको तरही मुसायरा २६

    मुटु भित्र फुलिदिने मायालुको जात प्यारो
    सम्झनामा बल्झिदिने मदहोशी रात प्यारो ।।

    सुन चांदी केही हैन माया प्रेम ठुलो रैछ
    जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो ।।

    झरी संगै बर्षिनु त्यो असिनाको दोश हैन
    भेलबाढी ल्याए पनि बर्षातको घात प्यारो ।।

    बेहोसिमा कही कतै लर्बरिन्छ मन पनि
    पोखिएका खुशीहरु टिपिदिने हात प्यारो ।।

    रिसाउदै बशन्त त्यो आँखाबाट भागे पनि
    हरपल जिस्काउने शिशिरकै मात प्यारो ।।

  6. Bhagawati Basnet
    घायलको तरही मुसायरा २६

    जल: सुमित्रा पौडेल 'आँचल'
    मिसरा: जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो
    काफिया: साथ
    रदिफ: प्यारो

    जीवनमा कैले कैले हुने रैछ घात प्यारो
    पीडा छल्न एकान्तमा जुनेली त्यो रात प्यारो

    खुट्टा तान्ने छड्के हान्ने दुनियाँको जमातमा
    लागेको छ आज मलाई चोटैचोटको खात प्यारो

    संघर्सको मैदानमा अनायसै एक्लो हुँदा
    भरोशा र विश्वाशले सुम्सुम्याउने हात प्यारो

    शुद्द मनले शुद्द तनले पवित्र प्रेम गर्छौ भने
    जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो

    ब्यभिचारी दुराचारी जत्ति बढे पनि यहाँ
    परोपकारी भावनाका मानिसको जात प्यारो

  7. जीतु खड्का गाउले ‎
    ===== सबै अग्रज हरुमा यो गाउलेको तर्फ बाट न्यानो अबिबादन========
    ठुलो मान्छे र ठुलो गजलकार त होइन म जान अन्जानमा कोर्छु यदा कदा कनी कुथी कस्तो भयो कोरेको जस्तो भएनी हजुरको भित्तो फोहोर भए नि होस टाँसी दिए है त रिसानी माफ होला ==================

    घायलको तरही मुसायरा २६

    जल: सुमित्रा पौडेल 'आँचल'
    मिसरा: जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो
    काफिया: साथ
    रदिफ: प्यारो

    छुवाछुद अन्त्य भयो किन ठान्छौ जात प्यारो
    पूजा पाठ गर्ने भन्दा सेवा गर्ने हात प्यारो |१|

    मिठा मिठा कुरा गर्छौ तितो सत्य ओकल्दैनौ
    आदर्शका कुरा भन्दा यथार्थको बात प्यारो |२|

    तिमी बिना अधुरो छु के नै गर्नु कमाएर
    जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो |३|

    पुर्णिमाको जुन जस्तै हसिलो त्यो मुहार तिम्रो
    तिमी जस्तै हाँस्ने जुन जुनेलीकै रात प्यारो |४|

    बिदा दियौ भक्कानिदै आँशु झार्दै आँखा बाट
    दुई थोपा आँशु ल्याए यही भयो सौगात प्यारो |५|

    जीतु खड्का गाँउले
    मोरङ उर्लाबारी
    हाल - साउदी अरब

  8. Jane Tamu
    मिसरा: जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो

    काफिया: साथ

    रदिफ: प्यारो

    लय: जिन्दगीमा/ धन भन्दा// प्रिय तिम्रो/ साथ प्यारो

    लय:- ४+४+४+४=१६
    घायलको तरह26मा आधारित गजल यस प्रकार छ ।
    जिन्दगीमा धन भन्दा, प्रिय तिम्रो साथ प्यारो!
    दु:ख पर्दा थमाउने, मायालुको हात प्यारो!

    नत रूप छ न रङग, मात्र मन छ ऊ सँग,
    एकै धर्को अजम्बरी, पानपाते पात प्यारो!

    मन्दिर भनु या गजुर, दोधारै भो हजुर,
    शिरबन्दी सजाउने, झलमल माथ प्यारो !

    चाहिन्न भो जुनतारा, तिमी भए विश्व सारा ,
    अन्धकारै नहोस किन, सुनसान रात प्यारो!

    सराप पिउ या जहर, दम छैन त्यसमा,
    एकै घुट्को यौवनको, मस्त मस्त मात प्यारो!

    जेन तमू

  9. Purna Gorkhali Muskan
    मेरो पनि एउटा प्रयास हो यो स्विकार्नुस ल यदि कतै गल्ति हुन गएमा फेषबुकको मित्रले गरेको गल्ति भन्दै स्विकार्नुस है

    "गजल" ( पूर्ण गोर्खाली मुस्कान )

    हरदिन ढलेपछि बित्दै जाने रात प्यारो !
    अँगालोमा बाधिएर गर्ने मिठो बात प्यरो !!

    साथ दिन जिन्दगीमा कति आए कति गए,
    तर आज यस्तो लाग्छ तिम्ले माग्ने हात प्यरो!

    सम्बन्धको बिज मैले उमारेर जाँदा जब,
    छुट्नै खोज्दा पनि आहा मायालुको जात प्यरो!

    गहकिला मनभरी अनेकौँ ति कुरा खेल्दा,
    मन्कै कुरा बुझ्ने थियौ तिम्रो एउटै आँत प्यरो!

    यस्तो लाग्छ प्रबासमा गरिबिले एक्लो हुँदा,
    जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो!

    .........................,...,,.............

  10. Laxmi Pokharel

    मिठो याद बल्झाउने त्यो चाँदनी रात प्यारो
    मेरो दिल चोरी लाने हजुरको वात प्यारो

    मुटु भित्र सजाएर राखेकोछु तिमीलाई
    पिरतिमा होस भन्दा बेहोसिकै मात प्यारो

    कल्पिएर रुन्छ मन कुनै वेला दु:ख लाग्दा
    यि नयनका आसुँ पुछ्ने मायाँ तिम्रो हात प्यारो

    एकान्तमा टोलाउँछु तिमी टाढा भईदिँदा
    तिमीलेनै पठाएको त्यो चिठ्ठिको खात प्यारो

    तिमी जाहाँ मेरो लागि त्याहाँ सधैं स्वर्ग हुन्छ
    जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो

  11. तरही मुसायरा प्रेमी सम्पूर्ण सर्जक ज्युहरुमा साहित्यिक अभिवादन ...!!मैले तरही मुसायरा-२६ पोस्ट गरेर अबुधाबी तिर घुम्न निस्किएको थिएँ आज आएर हेर्दा यहाँहरुको सकृय सहभागिता जनाउनु भएकोमा धेरै खुशी लाग्यो ....! विभिन्न जिज्ञाशा र समाधान पनि यहाँहरुबाट भएछ त्यसको लागि यहाँहरु सबैमा हार्दिक आभार व्यक्त गर्दछु ! यसरी नै यहाँहरुको साथ पाइरहने अपेक्षा गर्दछु ! हामी सबै एक भएर यो अभियानलाई अझ अगाडी बढाउदै लैजाउँ यहि मेरो हार्दिक अनुरोध छ ! यहाँ हरु सबैको समय सुखद रहोस ......!

  12. Anonymous

    घायलको तरही मुसायरा-२६ मा मेरो पहिलो सहभागिता हो । गजल कस्तो भयो प्रतिक्रियाको अपेक्षा गर्दछु ।

    बेहोसी नै बनेपनि मदिराको मात प्यारो
    चाँदनीको ज्योति भन्दा अधेरी त्यो रात प्यारो

    उमंगको दिप बाली लठ्याएर लुट्नु लुट्यौ
    तरंगमा झुमिदिने वैशालुको साथ प्यारो

    जिन्दगीमा छल गर्ने जवानीको चाल तिम्रो
    कुटिल त्यो वाचासँगै फर्काएको हात प्यारो

    पुरिएका भाग्यशिखा खोज्न पनि सकिएन
    तड्पिएर बाँच्नु भन्दा उन्मादको घात प्यारो

    जिउँनु नै थियो मैले रङ्गहिन जिन्दगी त
    फूल्न भुल्ने फूल भन्दा'शिरीष'को पात प्यारो

    लक्ष्मण भन्तना 'शिरीष'
    गोर्खा
    हाल दुबई,युएई

  13. घायलको तरही मुसायरा २६

    मिसरा:
    जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो

    काफिया: साथ

    रदिफ: प्यारो
    मेरो प्रयास ।
    लय= जिन्दगिमा /धन भन्दा/ प्रिय तिम्रो /साथ प्यरो ।/
    4+4+4+4=16.

    जिन्दगिमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो ।
    मलाइनि जिन्दगिमा जवानिकै मात प्यारो ।

    कसैले त छोडी गए बाटो अन्तै मोडी गए ।
    एकैपल थामिदिने प्रियसिको हात प्यारो ।

    सुर छैन ताल छैन जिबनको हाल छैन ।

    कुरा काटी नाना भाति यहि उन्को बात प्यारो ।

    वारिपारी सब्ले देख्ने झलमल जुनेलिमा ।
    त्यसैले त पुर्णे भन्दा अौंसिको नै रात प्यारो ।

    आफैलाई झुक्याएर बज्रपाथ मच्याएर ।
    नाना थरि बाहानामा गर्ने उन्को घात प्यारो ।...!!!

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011