घोडा र घोडाहरू I
तर दुख्यो भन्दैन
बोल्दैन मान्छेझैँ
बरू आफ्नै भाषामा रिसाउँछ
हिन्हिनाउँछ
बुर्कुसी मार्छ
दगुर्छ आफ्नै रफ्तारमा
उसकै पिठ्यूँमा लगाम समातेर
सानले बसेको मालिकबाट
चाबुक हान्न थालेपछि !
या, अप्ठ्यारो भिरालोमा पनि
घोडाले मालिक बोक्नैपर्छ
ऊ स्वतन्त्र छैन
बाँधिनै पर्छ तबेलामा
जिनकाँटी खोले पनि !
जाति-जातिमा छन्
पार्टी-पार्टीमा छन्
मन्दिर - मन्दिरमा छन्
मस्जिद - मस्जिदमा छन्
घोडा चढ्ने मालिकहरू
चर्च - चर्चमा छन्
घर - घरमा छन्
गाउँ-गाउँमा छन्
सहर-सहरमा छन्
चोकचोक
र गल्ली-गल्लीमा
सालिक भएर आए
गजूर भएर दरबारमा
सिंहदरबारमा हजूर भएर आए !
ठेला परेका हातहरूमा
या, खडेरीले खाएको खेतझैँ
फुटेका आफ्नै कुर्कुच्चाहरूमा
तिमीले घोडेनाल ठोकेको देखेका छौ ?
बर्बरताको भारी पहाडजस्तो
तिमीले आफ्नै पिठ्यूँभरि
जिनकाँटी बोकेको देखेका छौ ?
घोडा बनाएर
उहिलेदेखि अहिलेसम्म
मालिक र सालिकहरूले
हामीमाथि नै घोडा चढिरहेको ..!
