कविता "मेरो गाँउ/अभावको कथा"
कविता by पदम चिन्तित नेपाल
प्रतिस्पर्धामा
हुलका हुल यूवाहरु
अभावको झोला बोकेर
शहर पसेपछि
आजकल गाँउका
रेडिमेड आकँक्षाहरु
शहरबाट आयातित
सडेको चामलको
बोराभित्र
जीवन खोज्दैछन
बलौटे खेतहरुमा
फल्दैनन
आजकल जीवनहरु
उमारेर बनमारो
फोहोटाहरुमा
टन्न हाँसेको छ अभाव
फाँटभरी
खित्का छाडेर
पँहेला तोरीबारीहरु
कुल्चदै
बेढङ्गको सडक
गाँउ भित्रीए पछि
अलग अलग जत्थाहरु
गुराँश फुल्ने
पहाडको आँगनमा
डन्डिबियो खेल्दैछन
खास्टो च्यातिएर
अभाव हाँसेका
निरिह
अनुहारहरु सँग
मेरो
पाँगो माटोको
भुगोलमा
अक्टोपस इन्जिनिएर
सिम खेतहरु मासेर
कम्प्लेक्सको
नक्साहरु कोर्दैछ
बिहानै
एक टिङगालो घामको
बलेसीमा
एक हुल मोटरहरु
कुकुर भुकाउदै
धुलोको कुहिरो भित्र
हराउछन
म
उनिहरुकै स्वागतका लागी
मेरो करेसामा
अभावको स्टेज बनाएर
बिभेदको पम्प्लेट टाँग्ने
तयारीमा छु
पोखरा
अचेल-दोहा
