गज़ल:झरेको फूल झैँ, टेकियो जीवन I
टिका खड्का (राष्ट्रप्रेमी)
झरेको फूल झैँ, टेकियो जीवन |
कहरको कथा भै, लेखियो जीवन |
.
चम्किन्छु सूर्य झैँ आकाशमा भन्दा ,
बादलु घुम्टोले, छेकियो जीवन |
.
देख्नाले हजारौँ, सुनौला स्वप्न ,
विरानो शहरमा, बेचियो जीवन |
.
आफ्नै हुँ भन्नेले, त्यागेर जाँदा ,
बिछोडको पीडाले, रेटियो जीवन |
.
जलेर खरानी, भै गए खुशी ,
उजाड त्यो बगर, झैँ देखियो जीवन |
.
मधुमल्ला -४
मोरंग ,