कबिता : रूपीको सभा I
जीतेन खड्का
मान्छेहरुको जस्तै
रूपीहरुको पनि दैनिक हुने गर्छ महासभा
तर ...रूपीहरुको सभास्थल
मान्छेको जस्तो शान्त र सौहार्दपूर्ण
कहिले हुन सक्तैन
किनकि रुपीहरु सधै
लोभको थैलीमा बिस्कुन उठाउँन व्यस्त हुन्छन्
र त यीनीहरु
मान्छेहरुको जस्तो विविध विषयहरुमा
उन्नायक विचारहरुको मन्थन गरी
सर्ब स्वीकार्य निष्कर्षहरुमा
सम्मतिको सहीछाप कहिले गर्दै गर्दैनन्
मात्र बगर्याल्ल विमतिका उत्कट्टामा अल्झिन्छन् ||
मान्छेहरु सिको गर्ने हावारूपीहरु
गाउँ-गाउँका बाँसझांगहरु देखि शहर-बजारका पार्कहरुमा
सधै यसरी नै बित्थामा भेला हुन्छन्
र सबैले उच्च स्वरमा
च्याउँ-च्याउँती कराउदै होहल्ला गर्छन्,
तर.... यहाँ
कसैले कसैलाई सुन्दैन र सुन्ने प्रयास पनि गर्दैन,
कसैले कसैलाई बुझ्दैन र बुझ्ने चासो पनि गर्दैन,
बरु एक-आपसको ठुङ्गा-ठुङ्ग पछि
रमिते सभालाई अन्त्य गरी
आजलाई आ-आफ्नै बगालमा बाँडीन्छन्
अनि फेरि भोलिपल्ट अर्को सभामा बस्ने हल्ला गर्छन् ||