गद्दय कविता 'जेल जीवन'I
बिना तामाङ 'सुनगाभा'
जीन्दगीको परिभाषा नबुझ्दै
जीवनको अर्थ नलगाउँदै
एका एक म अपराधी भैइछु
न मैले जीवन रङ देखेकीछु
न मैले जीवन बाँच्ने ढङ्ग सिकेकी छु
कसरी वैशं नफुल्दै कोपिलामै टिपिएछु?
अनबिज्ञ छु म आफै बाट
वरिपरि हिमाल चुलिदैं गर्दा
म थुम्का थुम्कीमै सिमित भैइछु
र त मैले विद्रोह गर्न खोजें
तर परिधिले यस्तो चक्कर लगायो कि
भावशून्यताको जेल चलान भैइछु
बेकसुर म अझै बन्दी छु
आजिवन सजाय भोगिरहेछु
यो निर्वासित जेलजीवन्मा
रित्तोपनाले मलाई गांज्दै गर्दा
म सडकको चौबाटो खोज्दैछु
म खुल्ला आकाशको सपना देख्छु
तर सपना त सपनै भएछ
र त गर्भ मै तुहिएछ
कुनै पल त यस्तो लाग्छ
यो फलामे ढोका फुटाउँ
यहाँबाट भागुँ
तर खै कुनै मार्ग नै देख्दिन
चारैतिर अट्टहासको ,बाध्यताको
लोकाचारको अनि औपचारिकताको
बडेमानको साङला छ
न तोड्न सक्छु
न त आत्मसाथ गर्न नै
दोधारको यो भूमरीमा रुमलिदैं गर्दा
पीडाले होला सायदअनायसै मेरा नयनहरु
ओसिलो सिमखेतमा ट्रान्सलेट भैइसक्छ
म पत्तै पाउँदिन
कुनै दिन अकांक्षाको बेर्ना टुसाउँदै गर्दा
कस्तरी क्रुर समयले निमोठिदिएछ भने
म भित्र विस्फोट हुनु स्वाभाबिक थियो
र त हावा हुरी बनि चल्न थालेथें
तर सबै प्रयास बिफल हुन पुग्छ
अनि म कुनै चोक वा गल्लीमा थुप्रिन पुगिछु
अथवा रद्दी सरी कन्टेनरमा फालिएछु
मेरो जीवन प्रतिको अस्विकारितालाई
मेरो विद्रोहलाईअपराधीको संज्ञा दिएर
मलाई जेल चलान गरिएको छ
हो म अझै जीन्दगीको जेलमा छु
काठमाण्डौं