गज़ल:-उनी देख्दा दोबाटोमै ढलेको थें झन्डैझन्डै...
पोस्टराज चापागाईं
एक प्रयोग फेरि..! 'विन्देश्वरी' नाम राखेर छन्दको न्वारन गरेको छु..गति, यति र लयका दृष्टिले कस्तो बन्यो कुन्नि !? सुझाव पाए.....
उनी देख्दा दोबाटोमै ढलेको थें झन्डैझन्डै...
बिहोशीमै माया गर्छु भनेको थें झन्डैझन्डै...
थियो क्यारे माघेजाडो, जहाँ तिन्को न्यानोन्यानो
रुवा जस्तो अङ्गालोमा लडेको थें झन्डै झन्डै...
परेवाको जोडी जस्ती उनीलाई सम्झीसम्झी
म लाजैले पानीपानी भएको थें झन्डैझन्डै...
दुवालीको माछो जस्तै, बगैंचाको भौंरा जस्तै
जहाँ यौटो मुस्कानैमा फसेकोको थें झन्डैझन्डै...
लुकामारी खेल्दाखेल्दै जवानीको बैमानीले
अनायासै चुम्माचुम्मा गरेको थें झन्डैझन्डै...
छुटे त्यहीं आँखा मेरा, कहाँ जाने दोधारैमा
हिंडू भन्दा पाखाभित्ता चढेको थें झन्डैझन्डै...
छन्द - विन्देश्वरी
lSS SSS SSl SSS SSS S
( आठ अक्षरमा विश्राम)