यात्रा धेरै लामो छ (कविता)
भानेन्द्र सम्बाहाङफे ‘जुझारु’
यात्रा धेरै लामो छ
हतार नगर ! भ्रममा नपर !
आवेशमा भरिएको जाँगर
दिगो हुन्न बुझ्ने गर !
भर्खरै यात्रा शुरु गरेका छौ मुक्तिको
भेटेकै छैनौ बाटामा तेर्सिएका तगाराहरु
परिवर्तन गर तिम्रो सोचाई
यात्राको अन्तिम टुङ्गोमा पुग्नलागेको ठम्याइँ
धैर्यका साथ अघि बढ
निरन्तर हिँडाइको खाँचो छ
लक्ष्य टाढा छ, पुग्नैपर्छ ।
लामो यात्रामा हिँड्नलाई
एक्लै कोसिस नगर
किनकि एक्लो हुट्टिट्याँउले
थाम्न सक्दैन सगर
बुझेजति मात्र बुझेँ भन्न सिक
किनकि अभिमान ज्ञानको शत्रु हो
अभिमान मित्रताको बाधक हो ।
हो, जाँगर तिमीमा हुनुपर्छ
हो, जोश तिमीमा हुनुपर्छ
हो, आगोझैँ तिमीले बल्न सिक्नुपर्छ
अनि, कहिले हिमनदीको पानीझैँ चिसिइनु पनि
तर हिउँदको न्यानो घामझैँ
जोश र जाँगर समयानुकूल हुनुपर्छ
आगो र पानी आवश्यकतानुसार बन्न सक्नुपर्छ ।
बीच यात्रामा शत्रु भेटिइन सक्छन्
आक्रमण गरिहाल्नुपर्छ भन्ने छैन
जबसम्म आफूमाथि आइलाग्दैनन्
यात्राको गन्तव्यमा पुग्नैपर्छ तिमी
झिनामसिना सफलतामा मात्तिइनु हुन्न तिमी
अनावश्यक छलफलमा अल्झिइनु हुन्न तिमी
किनकि तिमीले असमानताको पहाड सम्याउँनु छ
मान्छे–मान्छे बीचको अहमको पर्खाल भत्काउँनु छ
तिम्रो गन्तव्य भनेको त–
‘एकल जातीय हैकमवादको अन्त्य गरी
सबैले ससम्मान बाँच्न पाउँने समाजको निर्माण गर्नु हो’
त्यसैले अघि बढ निरन्तर
भेलहरुमा सम्हालिँदै
खेलहरुमा जोगिदै
किनकि आशावादी आँखाहरु
तिम्रो आगमन पर्खिरहेछन्
निर्मुक्तिको आशामा ।
***
@ भानेन्द्र सम्बाहाङफे ‘जुझारु’
धरान ।
२०५१/०२/१३