–सौरभ कार्की
निष्ठुरी भगवानसँग
चेतनाको – चैतन्यको
हाँसो खुसीको आगो खोस्नु छ !
हो वेगम
म भगवानबाट
जीवनको आगो चोर्न हिडेको
यस शताव्दीको प्रमिथस ।
तिमी पोल्टाभरि – भरि
सजाएर राख्नु ल
हाम्रा सुन्दर सपनाहरु !
म एकदिन अवश्य
संगालेर हाम्रा सपनाहरु
उदाउनेछु
आदिम रातो सूर्य बनेर ।
त्यसैबखत बेगम
तिमी नियालेर हेर्नु
उद्यानको बिचै – बिच
अहिले तिम्रो हातभरि
तिम्रो शरीरभरि
लत्पत्तिएको – मेरो रातो रगत
सिंचित गर्दै
म फुलेको हुनेछु
हाम्रो प्रेमको निशानी
रक्तिम गुलाफ ।
के तिमीले अनुभव ग¥यौ ?
खुकुलिदै गरेका मेरा हातहरु ?
तन्किन खोज्दै गरेका यी खुट्टाहरु ?
यो मस्तिष्कभरि
छाईरहेछ – आनन्दको आवेग
म बिस्तारै
शिथिल – शितल हुदैछु
र यसबेला
यो मुटु – सरल रेखा कुद्न खोज्दैछ ।
वेगम
ती अमुल्य मोतीदाना
तिमी नझार्नु ल ।
जब देख्नेछ आकाशले
र पढ्नेछ भविष्यले
हाम्रा युद्धका कथा , हाम्रा वियोगका कथा
त्यहीनेर लुकेको हाम्रो प्रेमको कथा ।
र मानिसहरु
जब छातीबिचै च्यापेर हिड्नेछन्
त्यो रातो इतिहास
त्यसबेला काम आउनेछ
तिम्रा आँसुहरु ।
त्यसैले वेगम
आज विन्ति तिमी नरुनु ल ।
वेगम
मुटु दरिलो पार है
मलाई था’छ
मर्नेहरुका लागि
मृत्यु परिवर्तन हो – संसारको ।
अनि विभत्स रुप हो त्यही मृत्यु
बाँच्नेहरुका लागि ।
तिमीले बुझ्ने यहीनेर हो
र तिमी हाँस्ने पनि हो – यहीनेर ।
किनकी म त
यस शताब्दीको प्रमिथस पो त
जीवनको आगो चोर्न हिडेको
भगवानबाट !
झुले – ४, दोलखा
हाल ः बुध्द एयर, चन्द्रगढी, झापा