गज़ल:-एकैचोटी माथि पुग्न हतार गर्नु हुन्न थियो
सुबाश श्रेष्ठ
एकैचोटी माथि पुग्न हतार गर्नु हुन्न थियो
आज तलै फस्नुपर्दा सायद मन रुन्न थियो।
पुग्ने ठाउँ एक भएनि जाने बाटो हजार हुन्छ
अझै पनि यात्रा गर्ने सही बाटो चुन्न थियो।
हतारमा गल्ति गर्दै दोषी मलाई भन्छौ अरे
तिमी बाट अब बाँकी यही कुरा सुन्न थियो।
त्यो त सबै बहाना हो आफू चोखो बन्नलाई
हुनसक्छ भित्री इच्छा मेरो बाटो थुन्न थियो।
फूल पनि तिम्रो लागि यौवनको वासना रैछ
तर मेरो मनको इच्छा बरमाला उन्न थियो।
