"स्थगित पाइेलाहरु"
( लघु कथा )
----------आचार्य प्रभा
आफ्नो अपाङ्ग श्रीमानको अवस्थाबाट निरश निलिमा। केहि सोँच्दै हिँडीरहेकी त्यो क्षणमा एक्कासी बाटो माथीको घरबाट एउटी नारीको बिह्वल क्रन्दन सहितको चित्कारले झस्किन्छे। उक्त नारी फत्फताउँदै हुन्छे । "यस्तो बेकारी लोग्ने हुनु भन्दा त बरु अपाङ्ग नै भएको भए म आफै पाल्दथेँ । कम्सेकम माया त पाउँथेँ? सपाँग भएर त्यो बल,बैंश के काम? स्वास्नी कुट्न बाहेक........ । रातभर डुल्यो,जाँड धोक्यो अनी आएर मलाई सतायो। बरु भाँच्चिनु नि ती खुट्टाहरु!!!!! डुलेर जाँड धोक्न त सक्ने थिएनन् ? हरे!!!!कस्तो कर्म लिएर आएछु। लोग्ने हुँदा हुँदै पनि यो हालत........।" यी वाक्यहरु निलिमाका कानमा अनायस ठोक्किन पुग्छन र उस्का अघी बढेका गोडाहरु एक्कासी स्थगित भएर आफ्नै घरतर्फ फर्कन लालायित बन्छन् ।जुन पाइेलाहरु आफ्नो लोग्नेको शिथिल अवस्थाबाट निरश बनेर उस्ले आफ्नो माइतितिर बढाइेरहेकी थिइे ।

