कबिता:-मेरो आवाज
भूपेन्द्र खड्का
मेरो आवाज
मेरो आवाजलाई जति टंकन गर्न खोज,
मेरो आवाजलाई जति मुद्रण गर्न खोज,
मेरो आवाजमा जति ह्रस्व र दीर्घका नियम लगाई
वर्ण विन्यास मिलाउन खोज,
या,
म बोलिरहेको बेला छेउमै बन्दुकको नाल तेर्साऊ,
चाहे मेरो कुर्सीमुनि बम नै किन नराख,
तिम्रो सम्पादनको धम्की,
तिम्रो बन्दुक र बमको गर्जनले
न त मेरो आवाजको मात्रा घट्नेछ ,
न त मेरा पाउहरू नै हल्लनेछन् !
न त मेरो शिर नै हल न चल हुनेछ !
अनि बुझ्नेछौ तिमीले
आवाजविहीनहरूका आवाज कहिल्यै
सुक्दैनन्,डग्दैनन् र झुक्दैनन् !
त्यसपछि,
तिमीले पनि मेरो आवाजको गति, यति र उचाइलाई
मापन गर्नेछौ !
हतियार बोकी घर फर्केपछि
आफ्नै रेडियोमा आफ्नै खबर सुन्नेछौ-मेरो आवाजमा,
संसारमा धम्कीले नरोकिने यौटै चीज छ,
त्यो हो "आवाज !!!"
