यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-२८

आजभोली केहि व्यस्तताले गर्दा तपाइहरु समक्ष नियमित उपस्थित हुन सकेको छैन ! के गर्ने समय सबैभन्दा बलवान हुन्छ ! आज सम्म समयलाई कसैले जित्न सकेको छ न जित्नेछ ! त्यहि समयको गतिसंगै बग्दै जाँदा  'घायलको तरही मुसायरा-२७'पनि समाप्त भएकोछ र यहाँहरुको सकृय सहभागिता दिनानुदिन अझै बढ्दै गएकोछ ! यसले तरही मुसायाराको लोकप्रियता झन बढाएको छ त्यसको निम्ति यहाँहरु प्रति हृदयदेखि नै आभारी छु ! अझै पनि यहाँहरुको निरन्तर साथ पाइरहने अपेक्षा गर्दछु !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन्

बिराटनगरका टेकेन्द्र अधिकारी ज्यु साहित्यका बिबिध बिधामा सक्रिय रुपमा लाग्नु भएको छ ! उहाँको 'सय पाइला गेडीका' पहिलो गेडीको कृति निकालेर चर्चामा आउनु भएकोछ ! उहाँका गेडीहरु निक्कै स्वादिष्ट हुन्छन् अनि गज़लमा मिठास !साहित्यको बिबिध बिधामा कलम चलाउँदै आउनु भएका टेकेन्द्र अधिकारीको गज़ल यसभन्दा अगाडी 'घायलको तरही मुसायरा-१७' मा पनि मिसराको रुपमा दिएको थिएँ र यो दोस्रो पटक समावेश गर्दैछु मैले ! आजको 'घायलको तरही मुसायरा-२८ मा यो मिसरा-ए-सानी  ' आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर' लाइ तरहको रुपमा दिएको छु ! माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार २२ डिसेम्बर,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)

गजल: टेकेन्द्र अधिकारी
मिसरा: आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर
काफिया: खा'को
रदिफ: मान्छे हजुर
लय:   आउँदा नै/जाने पनि//कसम खा'को/मान्छे हजुर
लय:- ४+४+४+४=१६  

सम्पूर्ण तरही मुसायरा प्रेमी अग्रज तथा मित्रहरुमा साहित्यिक अभिवादन ! यहाँहरुको निरन्तर साथले तरही मुसायरा यहाँ सम्म आइ पुगेको छ ! यसरी नै तपाइहरुको निरन्तर साथ रहनेछ भन्ने आशा लिएकोछु ! अंक २८ मा टेकेन्द्र जीको यहि गज़लको आधारमा मैले तरह दिएको थिएँ कस्तो लाग्यो प्रतिकृया दिनु होला ! 

म त आयु तोकिएकै जीवन पा'को मान्छे हजुर
आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर

मूर्च्छा पारी आमालाई, कोखबाट झरेको रे
काल बेरी गर्भैबाट धर्ती आ'को मान्छे हजुर

मर्नैपर्छ भन्ने था'छ, त्यस्को पछि किन लाग्नु
मौका हेरी मृत्यु पनि सिरान ला'को मान्छे हजुर

ज्ञान बाँड्दा बढ्छ भने त्यसबाट किन भाग्नु
दिँदाखेरी जीवन बाँच्ने लक्ष्य भा'को मान्छे हजुर

दुःख देख्छु अरूको, आफ्‍नैजस्तो लाग्छ मलाई
बाँच्दा फेरि दीन-दुखीकै घर धा'को मान्छे हजुर

केही गर्ने आँट छ साथमा, इन्द्रेणी सपना छन्
मृत्यु नेरी जिन्दगीको गीत गा'को मान्छे हजुर

-टेकेन्द्र अधिकारी
विराटनगर, नेपाल


घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

फेसबुकको लागि तलको लिंक हेर्नुहोला 

Posted by Unknown on 1:01 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

19 comments for घायलको तरही मुसायरा-२८

  1. आफु परेँ सँधै भरी.दूख पा’को मान्छे हजुर
    तिमीपर्यौ चारै तिर खुसी छा’को मान्छे हजुर ।

    मेरो साटो बाँच भन्दा तिमी छिट्टै मर भन्यौ
    तिमी रै’छौ अजम्बरी बुट्टी ला’को मान्छे हजुर ।

    तिमी भन्छौ घरै बसी यो दुनिया आफ्नो पार्छु
    म त परेँ भग्य खोज्दै संसार धा’को मान्छे हजुर ।

    कसो गरी भनौ मैले लाखौ बर्ष माया गर्छु
    आँउदा नै जाने पनि कसम खा’को मान्छे हजुर ।

    कुनै चिन्ता नलिनु है मैले दुख दिन्छ भनी
    कैले फर्की आको छ र नर्क गा’को मान्छे हजुर ।



    --
    कुमार श्रेष्ठ "यात्री"
    रामेछाप,कठजोर-६
    हाल : साउदी अरब रियाद

  2. नेपाली म बीरताको गाथा गा'को मान्छे हजुर !
    संसारमै सधैं उचो शीर भा'को मान्छे हजुर !!

    गौरव छ विश्वमा नै ज्ञान-भुमी, शान्ती-भुमी
    पौरख गर्न हिमाल-पहाड, तराई धा'को मान्छे हजुर !

    तर आज दुख्दै'छ देश् आफ्नै नेता बैमान हुँदा
    अहिले देशको पीडा संगै तड्पिरा'को मान्छे हजुर !

    अब गाउँ बस्ती सारा चेतनाको दियो बाली
    जनतालाई जुटाउँदै उठ्न ला'को मान्छे हजुर !

    देशको लागि मर्नु परे मरिदिन्छु हाँसी-हाँसी
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर !

    हमाल "एक्स्प्रेस्स्"
    १६ डिसेम्बर २०११
    सउल, दक्षिण कोरिया

  3. घायलको तरही मुसायरा-२८मा मेरो प्रयास

    आफ्नै बाट धोका खाइ एक्लो भा'को मान्छे हजुर
    सधै भरि बिछोडको गीत गा'को मान्छे हजुर ll

    दिन रात देवी सरी पुजी मुटु भित्र राख्दा
    कैले भुल्न नसकने चोट पा'को मान्छे हजुर ll

    मेरो माया जति सबै पापीनीले लुटे पछि
    रित्तो दिल बोकी जोगी हुन ला'को मान्छे हजुर ll

    स्वार्थि यो संसारमा स्वार्थ हेर्न नसकेर
    आउदा नै जाने पनि कसम खा'को मान्छे हजुर ll

    हरपल तड्पिएर बाँच्नु भन्दा मर्छु भनी
    यमराज कहाँ मृत्यु माग्न धा'को मान्छे हजुर ll

    (बिकाश) "घायल "

  4. मुटु भित्र अनगिन्ति, चोट भाको मान्छे हजुर !
    जन्मदा नै दु:ख सँग , मित लाको मान्छे हजुर !!

    दोष दिन्न दैबलाइ, ब्यथा किन दियौ भनि
    को नै छ र ? चाहे जती, सबै पाको मान्छे हजुर !

    आफु जती दुखे पनि, दुखाउदिन अरुलाइ !
    आउँदा नै जाने पनि, कसम खाको मान्छे हजुर !

    सहि दिन्छु चोट हरु, बाँचिदिन्छु जसो तसो !
    भत्किए थ्यो दिलको छानो, फेरी छाको मान्छे हजुर !

    सुकि सक्यो गला मेरो, भयो केहि बोल्दिन म !
    बिरहका गित हिजो, धेरै गाको मान्छे हजुर !!
    _______________________________________
    सन्तोष बस्नेत (Sun Toss)

  5. मुसायरा भाग २८ अनुसारको गज़ल|

    ज्ञान बुद्धि बिबेक त्यो उच्च भा'को मान्छे हजुर
    संसार मै श्रेष्ठ प्राणि हुन पा'को मान्छे हजुर ||

    अमुल्य यो धरती का चिज बिज हरुसंग
    आपसमा प्रित अनि मित ला'को मान्छे हजुर ||

    बाँच्ने इच्छा हुदा हुदै अँगाल्नुछ मृत्यु यहाँ
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर ||

    किन होला हत्या हिँसा बढ्दैछ यो दुनियाँमा
    इश्वर भुल्दै नरभक्षी बन्दै गा'को मान्छे हजुर ||

    भोका नाङ्गा दुखिया को सेवा तिन्ले गर्न छोडे
    देउता खोज्दै मन्दिरमा किन धा'को मान्छे हजुर ||



    समाप्त

    मदन न्यौपाने
    चक्चाकी-७,झापा

  6. उन्कै याद्मा टोलाउँदा पागल, भाको मान्छे हजुर ।
    करोडौंमा छान्दा बल्ल एउटा ,पाको मान्छे हजुर ।

    मन्मा कुरा सजाएर सुन्दर सप्ना देखाएर ।
    आउदा नै जाने पनि कसम ,खाको मान्छे हजुर ।

    बाध्यताले फसेको छु जँघारमा बसेको छु ।
    समयको पावन्दिले घेरा ,लाको मान्छे हजुर ।

    उभौलि त्यो साकेलामा समाउदै हत्केलामा ।
    उन्लाई नै हेर्ने निहुमा कति ,धाको मान्छे हजुर ।

    देखावटी रुप रैछ देखावटी मायाँ पनि ।
    मलाई जाल्मा फसाएर अन्तै ,गाको मान्छे हजुर ।

    दिलिप राइ (मुस्कान कान्छा )।भोज्पुर नेपल हेलौछा ।

  7. दुखमा छौ भनि साथ दिन् आ'को मान्छे हजुर
    तिम्रै खुशी खोज्न संसार धा'को मान्छे हजुर
    भो कुरा नगर,तिम्रा आफ्ना कोही छैनन् भनि
    तिमी त् साना ठुला सबैले चा'को मान्छे हजुर
    बास मागूँ कसरी ?तिम्रो त्यो शिश महलमा
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर
    कर्मै खोटो लेखिएको रैछ आउँदा नै धर्तीमा
    चारै तीर ,सबै बाट धोका पा'को मान्छे हजुर
    खोजे भेट्टीन्छ भन्छन देवता नी पत्थर मा
    आफ्नो त पाउने बाटै बन्द भा'को मान्छे हजुर

    निर्मला खड्का
    भैरहवा

  8. Bhakti Prasad Paudyal

    आमालाई दुखाएर यता आ'को मान्छे हजुर !
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर !
    उठ्न खोज्दा आफन्तको छिर्के लाग्यो पटक पटक
    सयौँ पटक जीवनदेखि दिक्क भा'को मान्छे हजुर !
    अभावमै हुर्केको छु भाइबैनी स्याहारेर
    देख्नुहोला केटाकेटी , म त पाको मान्छे हजुर !
    गाउँ उस्तै सहर उस्तै आफूसँगै पेट जाने
    सुख खोज्दै लेकबेँसी सधैँ धाको मान्छे हजुर !
    बर्मा जाँदा कर्म सँगै नेपाल जाँदा कपाल सँगै
    साथै हिँड्ने दुःखसँग प्रीति लाको मान्छे हजुर !

  9. गरिबिको जञ्जिरले बिदेश् धाको मान्छे हजुर!
    आमाकोनै न्यानो काँख छाड्दै आको मान्छे हजुर!
    .
    आधा बाटो हिड्दा हिड्दै जिन्दगीले धोका दिँदा,
    बिरहको धुन सँगै गीत गाको मान्छे हजुर!
    .
    यो जिन्दगी दुई दिने भल पानी सम्झि मैले,
    आउँदानै जाने पनि कसम खाको मान्छे हजुर!
    .
    प्रबासमा तड्पि तड्पि एक्लो जीबन् बित्ने गर्दा,
    एकान्तको एक्लो यात्रि हुँदै आको मान्छे हजुर!
    .
    खोज्दै जाँदा जिन्दगीमा सुख मिल्ने गन्तब्यनै,
    बदलामा नसोँचेको दुःख पाको मान्छे हजुर!
    .
    पूर्ण गोर्खाली मुस्कान
    गोर्खा 3
    मसेल.

  10. Shrestha Subash घायलको तरही मुसायरा भाग-२८

    तिमी रैछौ चारै तिर नाम छा'को मान्छे हजुर
    जन्मदैमा ईश्वरबाट वर पा'को मान्छे हजुर।

    म त परेँ आफ्नै भाग्य सँग पनि ठगिएको
    यात्रा गर्ने बाटोपनि बन्द भा'को मान्छे हजुर।

    तिमी मालिक यो ठाउँको म त यौटा पाहुना हुँ
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर।

    बस्दा सम्म केही गर्न सकिन्छ कि भनेर नै
    चारैतिर दिन रात एक्लै धा'को मान्छे हजुर।

    मरे पनि यो जिन्दगी तिम्रो मनमा बस्न सकुँ
    भन्दै सधै तिम्रै नाममा गीत गा'को मान्छे हजुर।

  11. Shreeram Adhikari घायलको तरही मुसायरा-२८ को लागि मेरो सानो प्रयास ।


    बाध्यताले धकेलेर लाहुर धा'को मान्छे हजुर
    यस्तै रैछ कर्म मेरो दु:ख पा'को मान्छे हजुर ।।

    देखावटी हासो हास्छु ब्यथाहरु लुकाएर
    मुटु जल्ने बिरहको गीत गा'को मान्छे हजुर।।

    पिडाहरु चिरिएर सयौ टुक्रा भएपछी
    आसुँ थाम्न हत्केलाले आँखा छा'को मान्छे हजुर ।।

    मर्दा के नै लानु छ र ब्यर्थै लाग्ने लोभ पनि
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर ।।

    आँखा भरी शिशिर यो बिझाएर पोल्छ सधैं
    हरियाली उतै छोडि यता आ'को मान्छे हजुर।।

  12. Bhagawati Basnet घायलको तरही मुसायरा-२८



    रुदैँ रुदैँ आफन्तलाई छोडि आ'को मान्छे हजुर
    बिछोडका पीडासँगै प्रीती ला'को मान्छे हजुर ।

    लामो यात्रा संघर्सको गरिराछु दिनरात
    सुख खोज्दै भौतारिँदा दु:ख पा'को मान्छे हजुर।

    आशा अनि निराशाको भुमरिमा रुमलिँदै
    जस भन्दा अब्जस मात्र धेरै भा'को मान्छे हजुर।

    केही बर्ष केहि महिना सम्झौँतामा बिताउन
    आउँदा नै जाने कसम खाको मान्छे हजुर ।

    सिर्जनलाई नसके नि संगीतका धुनहरु
    तिम्रै मात्र सम्झनामा गीत गा'को मान्छे हजुर ।

  13. Mad Nepali Solta


    स्वर्ग हिड्दै गर्दा नर्ग तिर ला'को मान्छे हजुर
    माछो खोज्दा भ्यागुतो मात्र पा'को मान्छे हजुर

    गुलाबी ओठ,सुन्केश्री वाल देखेपछी लोभीए,
    जिन्दगि भर तिम्रै गुलाम भा'को मान्छे हजुर

    माया पाउने आसा पलाए'सी नजिक तिर आए,
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर

    तिम्रै निम्ति जोगी बन्दै भिक्छा माग्न लाए'सी,
    थोरै दया आसा गर्दै यो गित गा'को मान्छे हजुर

    जीवनभर नै मायामा धोका मात्र पाएपछी मैले,
    तिम्रै पछौरा समाउन सामु आ'को मान्छे हजुर

    -म्याड नेपाली सोल्टा

  14. जन्मदा नै खोटी भाग्य बोकी आ'को मान्छे हजुर
    गरीबी त निधारैमा दाईजो पा'को मान्छे हजुर !१!

    हुन्न भाग्य निधरामा विश्वाश गर्छु कर्म माथि
    गर्छु कर्म पसिनामा भाग्य भा'को मान्छे हजुर !२!

    हेर्दिनौ रे मेरो मुख इच्छा तिम्रो यस्तै भए
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर !३!

    कहाँ भेटु नयाँ लुगा बाँच्नै यहाँ गार्हो भा छ
    उद्रिएको दौरा टाली खुटी ला'को मान्छे हजुर !४!

    पहाडैमा घर थियो बेंसी पर्‍थ्यो खेती मेरो
    उकाली र ओराली त कती धा'को मान्छे हजुर !५!
    -----------------------------------------
    जीतु खड्का (गाँउले )

  15. Starhang Bantawa 'jalan'

    जिन्दगीमा अनगिन्ती चोट पा'को मान्छे हजुर ।
    सुख खोज्न घर छोडी टाढा आ'को मान्छे हजुर ॥

    नेपालमा बेरोजगारी भए पछी आफ्नो माया ।
    त्यगी आज बिदेशमा एक्लै धा'को मान्छे हजुर ॥

    मानबको चोला हाम्रो दर्पण छाँया जस्तो सम्झी ।
    आउदा नै जाने पनी कसम खा'को मान्छे हजुर ॥

    साँझ बिहान मुख जोड्न गार्यो मलाई हुन्छ साथी ।
    त्यसैले त घरको छानो खरले छा'को मान्छे हजुर ॥

    आफ्नो खुशी टाढा राखी अर्काको नै साथ दिदा ।
    आफ्नै बाट लुटीनाले जोगी भा'को मान्छे हजुर ॥

    "झुत्रेजेठा"
    16/12/20011

  16. यौँटा गोप्य खोल्छु आज, मन्मा आ'को मान्छे हजूर!
    चौँरी खर्क जादाजादै, भेट भा'को मान्छे हजूर!

    साक्षी हाम्रो गुम्बा म्हाने, ज्यूज्यानै उन्लाई ठाने,
    आउदा नै जानेपनि, कसम खा'को मान्छे हजूर!

    कुरी बसे मत ह्लासामा, भेट हुने आसामा ,
    फर्किएन च्याङ्बा मेरो, प्रदेश ला'को मान्छे हजूर!

    त्यै पूरानो रनबन, सम्झ्यो भने जल्छ मन,
    टुना डम्फु रातैभरी, सेलो गा'को मान्छे हजूर!

    बिर्सियोकी गाउकी चेली, जाई जुली चमेली,
    हरा'कोछ मैच्याग्ङले, मन प रा'को मान्छे हजूर!

    #नोट: गजलमा तामाङ परिवेश र भाषाहरू प्रयोग गरीएकोछ ।साथै गजलका पात्र महिला हुन् ।

    जेन तमू(gyanendra) धादिङ nepa

  17. म त परे दु:ख सित मित ला'को मान्छे हजुर ,

    छाती भरि मुटु भरि चोट भा'को मान्छे हजुर |

    .

    हाँसो छैन अधरमा आँशु प्युदै बाँचेको छु ,

    जिन्दगीमा जता पनि धोका पा'को मान्छे हजुर |

    .

    आँखा भरि सुनौला ति सपनालाई सजाएर ,

    सुख खोज्दै समुन्द्रनै तरी आ'को मान्छे हजुर |

    .

    जन्मे पछि मर्नु पर्ने रिती हुदा जिन्दगीको ,

    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर |

    .

    तड्पिएर रेगिस्तानमा भौतारिदै हिड्दा पनि ,

    देश सम्झी बिरताको गाथा गा'को मान्छे हजुर |



    (समाप्त)



    .

    टिका खड्का

    मधुमल्ला .४

    मोरंग |

  18. ( गजल ) आचार्य प्रभा

    बालकैमा असह्य नै दु:ख पा'को मान्छे हजुर
    जीवनमा अनगिन्ती चोट भा'को मान्छे हजुर ।

    जहाँ चोट पीडा हुन्न त्यो जीवन के जीवन?
    दु:ख अनि ब्यथासंगै मीत ला'को मान्छे हजुर ।

    जिन्दगी यो बुझ्नलाई ठक्कर त खानै पर्छ
    जन्मैदेखी पीडा बोक्दै म,त आ'को मान्छे हजुर ।

    एकदिन सत्य नै छ मृत्‍यु भन्ने अवश्य छ
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर

    परिबन्द समस्याको बोझ बोक्ने भरौटे हुँ
    संघर्षशिल बन्नलाई यहाँ धा'को मान्छे हजुर ।

    रचना -डिसेम्बर/ २१/ २०११ दिउँसो १ बजे ( अमेरिकी समय )

    केही समय अघाडी नै गजल पोस्ट गर्ने मनसायले गजल लेखि सकेथें तर प्राविधिक कठिनाइले गजल डिलिट भयो हुन सक्छ अझ राम्रो भाव बन्नलाई पो हो की ? जहिले हत्तारमा गर्छु । हुन त यो पनि हत्तारमा नै भयो । यता समय पनि हेर्नु पर्‍यो । आफ्नो काम कर्तब्य पनि । जे होस् सहभागितामा शुन्य नहोस् भन्नकालागी मात्र यो प्रयास हो ।

  19. सम्पूर्ण तरही मुसायरा प्रेमी अग्रज तथा मित्रहरुमा साहित्यिक अभिवादन ! यहाँहरुको निरन्तर साथले तरही मुसायरा यहाँ सम्म आइ पुगेको छ ! यसरी नै तपाइहरुको निरन्तर साथ रहनेछ भन्ने आशा लिएकोछु ! अंक २८ मा टेकेन्द्र जीको यहि गज़लको आधारमा मैले तरह दिएको थिएँ कस्तो लाग्यो प्रतिकृया दिनु होला !

    म त आयु तोकिएकै जीवन पा'को मान्छे हजुर
    आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर

    मूर्च्छा पारी आमालाई, कोखबाट झरेको रे
    काल बेरी गर्भैबाट धर्ती आ'को मान्छे हजुर

    मर्नैपर्छ भन्ने था'छ, त्यस्को पछि किन लाग्नु
    मौका हेरी मृत्यु पनि सिरान ला'को मान्छे हजुर

    ज्ञान बाँड्दा बढ्छ भने त्यसबाट किन भाग्नु
    दिँदाखेरी जीवन बाँच्ने लक्ष्य भा'को मान्छे हजुर

    दुःख देख्छु अरूको, आफ्‍नैजस्तो लाग्छ मलाई
    बाँच्दा फेरि दीन-दुखीकै घर धा'को मान्छे हजुर

    केही गर्ने आँट छ साथमा, इन्द्रेणी सपना छन्
    मृत्यु नेरी जिन्दगीको गीत गा'को मान्छे हजुर

    -टेकेन्द्र अधिकारी
    विराटनगर, नेपाल

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011