के बिषयमा लेखुँ??
इन्द्रमणि नेपाल
धेरै भयो,
मैले लेख्न खोजेको
कथा, कविता, आख्यान
दुख, खुशि, हाँसो र आँसुको कथा
तर खै??
जहाँ गए पनि,
जता हेरे पनि
कुनै गतिलो बिषय नै भेटिएन
पहिले सम्झिएँ जन्भुमिलाई
अनि शूरु गरें लेख्न
आमाको प्रसव पिडा देखि
स्याहार सुसारको कथामा
तर त्यहाँ छोराहरुको ज्यादतीले छेक्यो
त्यहाँ कुपुत्रहरुको अत्याचारले रोक्यो
खै कसरि लेखुँ र
मात्री स्नेह को बदलामा
सन्तानमोह को बदलामा
उनकै सन्तानहरुद्वारा
उनि माथि नै गरिएको बलात्कार बारे
छोराहरुको मत्रिसंभोग बारे
तेसैले मेरो कलम
लेखाइ बाट पछी सदै गयो...
अनि सम्झिएँ इतिहास लाइ
र आँटे फेरी लेख्न
इतिहासमा भएका बहादुरी का कथा
सहास र हिम्मतले भरिएको इतिहासमा
पृथ्बीनारायण देखि जंगबहादुर सम्मन का कथा
विभिन्न शासकहरुले गरेका
सुशासन बारे सम्झिएँ
तर,
ती अमुल्य इतिहास संगै
अमर बिगतहरुसंगे
कोत पर्ब हरु आए
भण्डारखाल हरु आए
१०४ देखि ३० बर्षे आए
विभिन्न देशभक्त शहिदहरुको
बलिदानका कुराहरु आए
यस्तैमा,
जनता लाइ वास्तविक इतिहास बाट
बन्चित गराइएको
नारायणहिटी पर्ब आएर
मेरो कलम भाँचिदियो
अनि कैयन निर्दोष जनताको रगतले
मेरो कपि भिजाइदियो
परिणाम मेरो लेखाइ शुरु हुनुभन्दा
पहिले नै समाप्त भयो
मेरा हात लेख्नु भन्दा अगाडी नै
थरर्र काप्न लागे
बिषयको खोजीमा
म भौतारिरहें
म छटपटाईरहे
के लेख्ने भनेर
अनि सम्झे आफ्नै गाउँलाई
सम्झिएँ आफ्नै खोंच र पहाडलाई
त्यहाँ त केवल शान्ति मात्र मिल्छ
त्यहाँ त केवल सुख मात्र मिल्छ
सम्झदै गएँ आफन्तहरुका सद्भावहरुलाई
कोर्दै गएँ कदर योग्य भावनाहरु
जब म आफ्नो गाउँको भित्रि गहिराईमा डुब्न लागें
तब मैले त्यहाँ पनि आपसी फुटहरू पाएँ
भाईभाईमा झगडा भेटाएं
बोलीको मिठासमा घृणा र इर्ष्याको गन्ध पाएँ
द्वन्दले ग्रस्त भएर बगिरहेका
रगतहरु देखें
शालिग्रामको रुपमा पुज्ने ढुंगाहरूमा
आतंकित र त्रस्त बनाउने
बम र गोला बारुद देखें
र त्यहाँ पनि मेरो मनै भाचियो
लेखाईको कोशिश नै मासियो
म बिषयको खोजीमा नै थिएँ
किनकि म बेरोजगार थिएँ
बेरोजगारले खोज्नु शिवाय
अरु के नै गर्न सक्छ र
त्यस्तैमा मेरोसोचाईमा
बेरोजगारी को कुरा आयो
रोजगारीको कुरा आयो
सम्झिएँ बिदेशी भुमि
जहाँ विभिन्न सपनाहरुको जाल बुनेर
भविष्यका माछा मर्ने गरिन्छ
जहाँ विभिन्न योजनाका बल्छिले
धन रुपी भबिष्य तान्ने प्रयास गरिन्छ
तर यहाँ पनि भेटें मानव तस्करहरु
यहाँ पनि भेटें मानव दलाल हरु
जहाँ गरिबहरुको चित्कार सुनें
दुखीहरुको क्रन्दन सुनें
अनि रोजगारीको ठाउँमा
मरुभूमिको बालुवा देखें
बन्द खाम देखें धागोले बाँधिएको
जसमा भविष्यका सपनाहरु पनि बाँधिएका थिए
जहाँ गरिबका सपना हरु बन्द थिए
कहिल्यै निस्कन नसक्ने गरि
अनि दुखिका आशाका किरण हरु
बिदेशबाट आउने बाकस हरुमा
आशाका किरण हरुपनि बन्द भए
कहिल्यै ननिस्कने गरि
अनि ती सबै कहाली लाग्दा दृश्यले
ती सबै दर्दनाक कहानी हरुले
मेरो मसि नै सुकाइदियो
र बनाईदियो मेरो मन चैतको खडेरी जस्तै
बनाइदियो मेरो मन
हिरोशिमा र नागाशाकी जस्तै
कहिल्यै सिर्जना हुन नसक्ने गरि
त्यसैले म,
अझै पनि खोजीमा छु
लेख्ने बिषयको
अझै पनि खोजीमा छु
लेख्ने बिषयको
भोटसिपा-९, सिन्धुपाल्चोक
नबोदित साहित्यिक मोबाइल पुस्ताकालय
दोहा, कतार
