गज़ल:-तिम्रो मेरो प्रेम कहानी लेखुँ कि नलेखुँ
आनन्द श्रेष्ठ
तिम्रो मेरो प्रेम कहानी लेखुँ कि नलेखुँ
आँसु झर्ने हर बिहानी लेखुँ कि नलेखुँ
दिन त तिम्रै यादमा बित्छ अनिदो भो रात
सधैँ भिज्ने भो सिरानी लेखुँ कि नलेखुँ
जति टाढा उति माया गाढा हुन्छ भन्थे
मेरो आशा भो खरानी लेखुँ कि नलेखुँ
पानी पर्दा सम्झेँ आज निथ्रुक्कै भिजेको
सोह्र वर्षे त्यो जवानी लेखुँ कि नलेखुँ
माया भन्ने देखिँदैन छाप बस्छ मनमा
तिम्ले छोड्या क्यै निशानी लेखुँ कि नलेखुँ ।
२०६८-०७-२०,११:५५ बजे
