यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

अस्मिता

हुन त म खासै कथा लेख्दिनँ । अस्ति काठमाडौँमा एकजना पुस्तक पसले दाइले कविता विधाप्रति अलि चित्त नबुझ्ने गरी टिप्पणी गरे । त्यसले मेरो मनमा गहिरो चोट पुर्यायो । एकप्रकारले खुसी पनि लाग्यो । किनभने मेरा लागि उनी प्रेरणाकै स्रोत बन्न पुगे । मैले त्यतिबेलै प्रण गरेँ- अब मेरो आख्यान लेखनको यात्रा पनि सँगसँगै अघि बढ्छ । यो कथा त्यसैको सुरुवाती खुड्किलो हो । समयाभावले बिट मार्न बाँकी छ । यति पढ्ने साहित्यिक मनहरुले कसरी कथाको बिट मर्छ भन्ने बारे सोच बनाउनु नै हुनेछ । तर यो कथाको बिट मैले बिलकुलै फरक ढङ्गले मार्ने विचार गरेको छु । प्रतिक्रिया, राय, सल्लाह र सुझावका लागि मेरो झोली खाली छ । ट्याग लिमिटका लागि क्षमाप्रार्थी छु । धन्यवाद ।

कथाः अस्मिता
टेकेन्द्र अधिकारी 
आज अस्मिताको बाढी रोकिने छाँटै थिएन । ऊ वर्षेझरीझैँ म माथि यसरी वर्षिन थाली "तिमीलाई थाहै छैन अभय, तिम्रो अभावमा मैले कैयौँ  चिसा रातहरु ओढेकी छु । भोक लाग्दा अभावै अभावका असिना खाएकी छु । तिर्खा लाग्दा आँशुकै तुषारो पिएकी छु । त्यही भएर थुप्रै औँसीको कालो रातका आपत् र पीडामा पनि मैले तिम्रो सम्झना सुरक्षित राखेँ । तिमी र मेराबीचको अस्मितालाई जोगाएँ ।"

मैले चुपचाप अस्मिताका कुरा सुनिरहेँ । म नाजवाफ थिएँ । एकप्रकारले भन्ने हो भनेँ इजलासमा उभिएको अभियुक्तजस्तै थिएँ । मलाई अस्मिताको शब्दबाणले घाइते बनाइरहेको थियो । मेरा आँखामा दशवर्ष अघिका दृश्यहरु सलबलाइरहेका थिए । दिमागमा त्यतिबेलाको विदाईको क्षण बिजुली चम्किरहेझैँ लाग्थ्यो ।

वास्तवमा विदेशबाट चाँडै नफर्किनु मेरै गल्ती थियो । बिहे गरेको करिब तीन महिनामै मैले अस्मितासँग छुट्टिनु पर्यो । मभित्र जसरी भएपनि विदेश जाने भूत जागेको थियो । त्यसअघि नै विदेश जाने तारतम्य मिलाउन मैले सिङ्गै दुईवर्ष खर्चिइसकेको थिएँ । ती दुई वर्षमा मैले थुप्रै म्यानपावर कम्पनीका ढोका चहारेँ । कहिले भनेको ठाउँमा जानै नपाइने । कहिले भनेको ठाउँका लागि भीसा मिल्ने भएपनि कामै मन नपर्ने । यसरी कहिले के र कहिले के नमिलेरै मेरा सुन्दर दुईवर्ष स्वाहा भए । तैपनि विदेश जाने टुङ्गो लाग्न सकेन ।

मनमा बेचैनी बढ्न थाल्यो । राति निद्रा पनि पर्न छाड्यो । परिवार, आफन्त र इष्टमित्र सम्झिँदा पनि दिक्क लाग्न थाल्यो । घरमा फोन गर्न त मनै नलाग्ने । फेरि फोन गर्दा पनि के भनेर बाबा-ममीको चित्त बुझाउनु ? यस्तै समस्याले जेलिँदा जेलिँदै दुईवर्ष बितेको पत्तै भएन मलाई । दशैँ नजिकै आइसकेको थियो । अन्ततः दशैँ मनाएर तत्कालै काठमाडौ फर्किने गरी घर जाने निर्णय गरेँ मैले । भीसाका लागि धेरै ठाउँमा एप्लाई गरेकाले दशै र तिहारको बीचमा विदेश उड्ने आशमा थिएँ म । त्यो नभए पनि तिहारलगत्तै त पक्कै उडिन्छ भन्ने थियो । अझ एउटा म्यानपावरले त दशैँकै बीचमा भीसा आउन सक्ने भन्दै घर नजान कर पनि गरेको थियो । नजिकै भएकाले खबर पाउनासाथ आउने बाचा गर्दै म फूलपातीको दुई दिनअघि नै बस चढेर घरतिर हान्निएँ ।

म्यानपावर कम्पनीमा धाउँदा धाउँदा मेरो गोजी रित्तो भइसकेको थियो । त्यसै पनि घरबाट खटाएको खर्चले काठमाडौको महँगीलाई धान्न गाह्रै पर्छ । त्यसमाथि भीसाका लागि धेरै ठाउँ एप्लाई गर्नु परेकाले मसँग घर पुग्ने खर्चमात्रै थियो । दशैँका बेलामा घर जाँदा सबैलाई एक जोर कपडा किन्ने मन नभएको त कहाँ हो र ! त्यो पनि मनभित्रै सीमित रह्यो । वास्तवमा घरबाट ल्याएको पैसाले खाँदै ठिक्क हुने । अनि विदेश जाने चक्करले यहाँको केही काम गर्नै मन नलाग्ने ।

फेरि एक-दुई महिनामै विदेश उडिहालिन्छ भनेर सुरु सुरुमा राम्रैसँग पैसा उडाइयो । मोजमस्ती पनि गरियो । ट्याक्सीमै घुमियो । रेस्टुराँमै खाना खाइयो । महँगो लजमै बसियो । अन्तिममा केही नलागेपछि सबै कुरा सस्तो खोज्दै हिँड्नुपर्ने भयो । भरसक पैदलै हिँडेर काम चलाउनुपर्ने भयो । त्यो नभए यदाकदा सार्वजनिक बस पनि जिन्दावाद हुन थाल्यो । सस्तो खाना खोज्दै काठमाडौका गल्ली-गल्ली चहारेको झझल्को अहिले पनि ताजै छ । सम्झिँदा कहिलेकाहीँ त सपना जस्तो पनि लाग्छ । फेरि त्यतिबेला त्यसो गर्नु विकल्प पनि त थिएन आफूसँग ।

रित्तो हात र अमिलो मन बनाउँदै बस चढेँ । दशैँको बेला भएकाले बस कोचाकोच थियो । सबै यात्रुहरु मजस्तै दशै मनाउन घरतिर लागिरहेका थिए । सबैका अनुहारमा दशैँको खुसी पोतिएको स्पष्टै पढ्न सकिन्थ्यो । सायद् अरुले पनि मेरो अनुहार त्यसैगरी पढे होलान् । कतिले त अनुहारबाट म बेरोजगार भएको सङ्केत पनि पाए होलान् । तर, मभित्र पनि तिहारलगत्तै विदेश उड्ने चाहना बाँकी थियो । त्यही चाहनाको फाँको हालेर घरिघरी अनुहारमा खुसी देखाउने प्रयत्न गर्थेँ म ।

"कोही मनभित्र पस्ने होइन क्यारे ! मान्छेका अगाडि थोरै खुसी देखिँदा के बिग्रेला र ?" बेलाबेला यस्तै तर्कना मडारिन्थे मनभित्र । यी तर्कनासँगै आँखामा पुरानो दशैँका सुन्दर दृश्यहरु ठोक्कन आइपुग्थे । म रोमाञ्चित हुन्थेँ । त्यसबेला भने मेरो पनि अनुहार खुसी नै देखिन्थो होला । त्यतिबेला मेरो अनुहार देख्नेहरुले पक्कै पनि मलाई बेरोजगार सम्झेनन् होला । तर सम्झनाको दशैँले चञ्चल मनलाई धेरैबेर बाँध्न सकेन । फेरि म यथार्थकै सोचाइमा डुबुल्की मार्न पुगेँ । त्यसबेला मैले साँच्चै नयाँ कुरा थाहा पाएँ भन्ने लाग्यो। मलाई लाग्यो- यथार्थको दशैँभन्दा सम्झनाको दशैँ धेरै राम्रो हुँदो रहेछ ।

अहिले पनि मलाई त्यस्तै लाग्छ । किनभने ती दशैँले अझै पनि मलाई रुवाउन छाडेका छैनन् । तर, त्यो बेला र अहिलेको रुवाइ कता-कता समान लाग्छ । त्यो बेला म साथमा पैसा नभएर रोएको थिएँ । अहिले मसँग भनेजति पैसा छ । तर, चाहेर पनि म त्यस्तो खुसी किन्न सक्दिनँ । सायद सन्सारमा त्यस्तो खुसीलाई नाप्ने यन्त्र पनि बनेको छैन होला ।

त्यही बेलादेखि मलाई पैसाले खुसी हुन सकिन्छ तर किन्न सकिँदैन भन्ने लाग्यो । जुन मान्यतामा अहिले पनि उत्तिकै अडीग छु म । त्यतिबेला गोजीमा पैसा नभएकैले मैले मानवीय जीवनको एउटा महत्वपूर्ण यथार्थ थाहा पाएँ । आफ्नो जीवनको आदर्श भेटेकोमा खुसीले गदगद पनि भएँ म । मैले त्यही बेला जस्तोसुकै आपत-विपतमा पनि यो आदर्शलाई जोगाउने प्रण गरेँ । बसभित्र यस्तै तर्कनामा डुबुल्की मार्दा मार्दै कतिखेर झपक्क निदाइएछ पत्तै भएन ।

"अमरनगर ! अमरनगर ! लौ अमरनगर आइपुग्यो, कोही हुनुहुन्छ ?" गाडीको खलाँसीको आवाजले म झसङ्ग भएँ । ब्यूँझिने बित्तिक एक्कासी चिच्याएँ- "छ है छ ।" बसको झ्यालबाट पर्दा हटाएर यसो बाहिर चिहाएँ । ओहो ! बाहिर त छ्याङ्गै उज्यालो पो भइसकेको रहेछ । त्यसको केही क्षणमै म झर्ने "अमरनगर बस बिसौनी" आइपुग्यो । त्यहाँ ओर्लेर हाम्रो घर पुग्नलाई आधाघण्टा हिँड्नुपर्छ । बिहानको समय भएकाले रिक्सा पाउन मुस्किल पर्छ । एउटा झोलामात्रै भएकाले विस्तारै हिँडेरै जाने विचारले बसबाट झरेँ ।

झर्दा बसको ढोकामा झोला अड्किएछ । मैले ख्यालै गरिँन । झोला एकातिर, म अर्कातिर भएपछि पो झल्याँस्स भएँ । निद्राका सुरमा हतार गर्दा झोलाको बोक्ने उजिण्डो नै चुँडियो । बेरोजगार नै भएपनि मेरो तौललाई झोलाले थाम्न सकेन । यस्तो सम्झिँदा थोरै खुसी पनि लाग्यो । अब झोला बोक्ने बनाउन उझिण्डोको गाँठो नकसी धरै पाइएन । फेरि आधाघण्टाको बाटो घिसार्दै लाने कुरा पनि भएन । गाउँतिरका कोही भेटे पनि हुन्थ्यो जस्तो लाग्यो । दशैँको बेला एकाबिहानै को पो आउँथे र ! सबै मन्दिरतिरै पुग्छन् । अनि मन्दिर र बस बिसौनी ठिक्क उल्टो दिशामा छन् । यस्तै सोच्दै झोला बोक्न मिल्ने बनाएँ । अनि छोटै भएपनि पछाडि बोकेर विस्तारै बाटो लागेँ । बाटाभरि मनमा रातिकै सम्झनाले फन्को मारिरह्यो- दशैँको खुसी, विदेश, पैसा, जीवनको आदर्श ।

घरमा पुगेपछि एकदिन त्यत्तिकै बित्यो । भोलिपल्टदेखि बिहेको उही पुरानो कचकच सुरु भयो । बाबा-ममीलाई भीसाका लागि एप्लाई गरिसकेकाले कुनै पनि बेला हिँड्नुपर्छ भनेर सम्झाएँ पनि । तर, मेरो केही सीप लागेन । खासगरी बाबाभन्दा पनि ममीले साह्रै कर गर्नुभयो । केही गर्दा पनि मान्नु भएन । मलाई माकुराको जालमा परेर छटपटिरहेँ जस्तो लाग्यो । केही गरे पनि फुत्किने उपाय थिएन । बिजयादशमीकै साइतमा भएपनि मैले बिहे गर्नैपर्ने भयो ।

अन्ततः स्वीकृति जनाउन बाध्य भएँ म । मैले बाबा-ममीको इच्छालाई टार्न सकिनँ । मेरो सर्त थियो- भीसा लागेको खबर आउनेबित्तिकै मैले हिँड्न पाउनुपर्छ । मेरो सर्तमा घरका सबै मञ्जुर भए । त्यसपछि सुरु भयो केटी खोज्ने क्रम । यसमा मेरो भन्नु केही थिएन । "तपाईहरुलाई मन पर्ने बुहारी रोजे मञ्जुर छ" बाबाले सोद्धा मैले सहज उत्तर दिएँ ।

ममीलाई म खुसी छैन कि भन्ने लागेछ क्यारे । फकाउने हिसाबले मेरो मन चोर्न थाल्नुभयो "त्यसो भनेर काँ हुन्छ ? कि तेरो केही छ ? छ भने अझै पनि केही बिग्रेको छैन ।" वास्तवमा त्यतिबेलासम्म मैले बिहेका बारेमा सोचेको पनि थिइनँ । मलाई जसरी भएपनि विदेश जाने एकोहोरो भूत सवार भएको थियो । त्यो बाहेक अरु कुनै कुरामा मैले ध्यानै दिएको थिइनँ । 
...क्रमशः... 
© टेकेन्द्र अधिकारी, विराटनगर

Posted by Unknown on 12:23 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अस्मिता

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011