प्रेमको दरखास्त
कास्! एउटा यस्तो भुमरी आओस्
र ढुन्मुन्याउँदै यो उफानी मनलाई लगेर
तिम्रो जिन्दगीको मैदानमा बिसाइदेओस्,
नझर्ने तारा गनेर
जिन्दगीका ओस्याइला रातहरु
अब भो काट्न सकिन्न
दस ठुन्कामा भाँचिएको घाइते मनले आज एउटा अठोट लियो
कि सम्झ यो हृदयले पक्कापक्की सदर हुने प्रस्तावना औ दरखास्त दियो ।।।
अहँ यो पर्खाइको भयावह कालखण्ड
यो तड्पाइको अवर्णनिय अनुभूतीहरु
अब लम्बिने छैन उफ्फ! लम्बिनु हुँदैन,
यो नसुक्ने आँशुको भेलसङ्गै बगेर
म सपनाका मोती उसै
सिध्याउन चाहन्न
हजार ठाउँमा चर्किएको मनले आज एउटा घोषणा गर्यो
कि सम्झ यो रहरको चन्चले बटुवा तिमीतिरै बसाइँ सर्यो ।।।
चट्ट चुँडिएर बाटैमा छोडिएको चप्पल जस्तो
बटुवाले फर्केर नहेर्ने चौतारोको ढिस्को जस्तो
चुपचाप बर्षौँ बितेर गयो कैयौँ घमाइलापलहरु,
अब बचेँखुचेको यो अनिस्चित अध्याय
पहेँलिएर तर्केको बुढो साँझ हेरेर
किमार्थ खेर फालिन्न
हजारबार लडेर उठेको आत्माले आज एउटा सपथ लियो
कि सम्झ बैँशालु मैदानमा यो प्रेमको खेलाडी उत्रियो ।।।