बिश्वास
बसन्त कुमार श्रेष्ठ क्षितिज
मुटु बिनियममा
प्रत्याभूतीको लालमोहरमा
उल्लेखित तपशिलका कुराहरु
सम्झौता,आशा र भरोसाहरु थिए
तानतुन/चानचुन
साक्षी किनारामा साक्षी बक्ने
तिम्रा दुई आँखाहरु
तिम्रा दुई कानहरु
र मनन गर्ने मन थियो ।
तमसुकमा
ल्याप्चे हान्न तयार औठा छाप
रेखाङ्कित हस्ताक्षर
काँचो कागजमा लेखिएका काला अक्षरहरु
बस्,
दीर्घकालिन सम्झौताहरु देखिए
प्रमाण पत्रमा जोडीको नाम
एक एक साक्षी बक्ने मानिस
औंलामा रिङ्गको साटासाट
गलामा मालाको पहिरन
जोडीको फोटो
दिनले रातलाई डाक्यो
रात छट्पटीमै दिनमा सर्यो
सम्बन्ध कागजमा भिन्नता थियो
लेखाइ र बुझाईमा अन्तर थियो
सोचाइ र भोगाइमा फरक थियो
सम्बन्धको ढिस्कोलाई
कागतको कोर्ट म्यारिज पत्रले थेक्न सकेँन
जता ततै बाढी,पैह्रो र सुनामी बग्न थाल्यो
मन नै मनमा सर्न नसके पछि
मनले मनलाई बुझ्न नसके पछि
किनार भत्किन लाग्यो
साहारा तुहिन लाग्यो
सम्बन्ध चुडिन लाग्यो
एक दिन यहि सम्झौता पत्र
च्याती दिए
रद्धीमा फ्यालिदिए
सदा सदाको लागि जलाइ दिए
घर छोडेर निस्कदा
गाठी कुरा मनमा बाधे
बिश्वासमा टिकेको प्रेममा
बिश्वासको टेको
विश्वासको जग
बिश्वासको दलान
बिश्वासको छानो
बिश्वासी मनहरु नमिल्नेसम्म साँच्चै घर नबन्दो रहेछ ।
रेखाङ्कित हस्ताक्षर र औठा छापको पत्रले मात्र सम्बन्ध नजोडिदो रहेछ ।
मिती:-०६८-०६-३०