खा'को भए मरीजाउँ
कृष्ण कुमार श्रेष्ठ-गज़ल
धरोधर्म झुठो कसम्, खा'को भए मरीजाउँतिमी छाडी अन्तै माया, ला'को भए मरीजाउँ
यति राम्री मेरी प्यारी, माया गर्ने हुँदा हुँदै
अर्कै ठिटी संग डिस्को, गा'को भए मरीजाउँ
जिस्काउन केटीहरु, सबेरै त्यो पँधेरिमा
आँखा मिची दिन दिनै, धा'को भए मरीजाउँ
यति चोखो तिम्रो माया, बिर्सिएर अरु संग
लुकिछिपी कुराकानी, भा'को भए मरीजाउँ
हाँसीखुसि बाँच्नलाई, तिम्रो माया भए पुग्छ
कसैबाट जालीमाया, पा'को भए मरीजाउँ
प्यास मेट्न जवानीको, योवनमा लठ्ठीएर
साथ माग्न तिम्रो सामु, आ'को भए मरीजाउँ