आजभोली समयसंग रिस उठ्छ (गद्दय कविता)
समय! हा! यो समय!
शब्द उच्चारण गर्दा नै
ह्र्दय कठोर हुन पुग्छ
काँडा उम्रन्छ मनभरि
आँखामा क्रोधाग्नीले
ताण्डव नृत्य गर्न थाल्छ
कसरी यति बिघ्न घृणित
बन्न पुग्यो यो समय?
सायद यसले हुर्कदोँ जीवनसंगै
दिएको दु:खद क्षण
असफलताका खातहरु
अदृश्य अनि सादृश्य घातहरु
बर्बादित जीवन
असंख्य पीडाहरु भएर नै होला
आजभोली समयसंग रिस उठ्छ
उसको चाहना
उसंगै बहोस हामी
बहन्न भन्दा पनि
घिसारेर,लतारेर,घोच्याएर
उसंगै हिड्न बाध्य बनाउने
अनेच्छालाई ईच्छारुपी डुङ्गामा खियाउने
सायद त्यसैले होला
आजभोली समयसंग रिस उठ्छ
बोक्सी जस्तै लाग्छ समय
जो अरुको मृत्युमा
केश फिंजाएर
हर्षोल्लास मनाउँछे
अनगिन्ती चित्कारहरु
कठघरामा थुनेर
आफू मस्तसंग
रगतको आहालमा पौडिन्छे
हो मलाई समय बोक्सी जस्तै लाग्छ
त्यसैले होला
आजभोली मलाई समयसंग रिस उठ्छ
कहिलेकाँहि लाग्छ
म ब्रम्हाण्डनिर्माणकर्ता हुदोँ हो त
समयको अस्तित्व सखापै पार्थें
असमयको जन्म गराउँथें
जीवनको जुन पल रमैईलो
सुखद रह्न्थ्यो
त्यहि टक्क अडिएर
त्यसलाई छातीमा टाँसेर
गुराँस झै फुलाउँथें
सुन्दर भूत
विक्षिप्त वर्तमान
अनि अज्ञात भबिष्य बोक्ने
समयको शिर छेदन गर्थें
अनि उभ्याउँथें मेरो असमयलाई
तर मलाई थाहा छ यो मेरो भ्रम हो
त्यसैले होला मलाई
आजभोली समयसंग रिस उठ्छ
बिना तामाङ'सुनगाभा'
काठमाण्डौं