स्वार्थी मान्छे !
कबिता
दामोदर नेपाल
सृष्टिको आदिम कालदेखि
आफ्नो प्रभुत्व जमाउंदै आएको
संसारका प्राणीहरु मध्ये
उच्चतम प्राणीको कोटीमा
दरिएको प्राणी
मान्छे
प्राणीहरु मध्येको उच्च मान्छे
विचारले उच्च मान्छे
विवेकले उच्च मान्छे
चेतनाले उच्च मान्छे
सबै कुरामा उच्च भएर होला
स्वार्थमा पनि उच्च मान्छे
षडयन्त्रमा पनि उच्च मान्छे
सपार्न पनि उच्च मान्छे
बिगार्न पनि उच्च मान्छे
उच्चै उच्चको पगरी भिरेर
चुलिंदा पनि नअघाउने मान्छे
पदै पदको भारी बोकेर पनि
कहिल्यै नथाक्ने मान्छे
राम्रो जति सबै आफ्नो भन्छ मान्छे
नराम्रो सबै अरुमा थोपर्छ मान्छे
अविच्छिन्न आकाशिई रहेको
स्वार्थको महल अकस्मात् भताभुंग हुंदा
धुरु धुरु रुंदो रहेछ मान्छे
बिछिप्त बनी छटपटाउंदै
बरबराउंदो रहेछ स्वार्थी मान्छे ।