मेरो हत्यारा माथि फूल बर्सिंदाको क्षण
मेरो विश्वासको मन जितेर
मेरो पीठमा चुपी रोप्यौ ,तिमीले
मेरो जाहेरीमा कुन्नि के कमि थियो
साक्षी किनारमा कुनै नाम पनि थिएन
त्यसैले , ए मेरो सम्वेदनका हत्यारा
तिमि निर्दोष साबित भयौ
तिमीले उन्मुक्ति पाएको यो क्षण
तिमि माथि वर्साइएका स्वागतका फूलहरुले
मेरो आत्मामाथि काँडा बनि
सामुहिक बलात्कार गरेको जस्तो लाग्यो |
मेरो कौमार्य माथि एकछत्र शाशन गरेका तिमि
जब कि यो बेला ,
मेरो गर्भस्थ अंकुरित पालुवा देखि तर्सेका तिमि
मैले मागेको एक चिम्टी सिन्दूरको सट्टा
तिमीले फ्याँकेका तथानाम वमनले
छियाछिया परेको मन सम्हाली
तिमि विरुद्ध दायर रितको बर्खास्ती संगै
मैले दिन नसकेको ती एकान्त पलहरुको सबूत प्रमाणहरु
निर्लज्जता र चरित्रहिनताको नजिर बनाइएको छ |
तिमि चोखो साबित भए बापत
ए ! मेरो पवित्र प्रेमका हत्यारा
तिमि माथि बर्साइएका फूलको भारीले
मेरो गर्भस्थ पालुवाको घांटी थिचेको जस्तो लाग्यो |
ए ! मेरो हत्यारा, तिमिमाथि फूल बर्सिरहंदा
मैले देखें ,
आँखामा पट्टि बाँधेर हाँसिरहेकाहरु
कालो कोटमा सजिएका केहि तिम्रै अनुहारका प्रवृतिहरु
सत्य मेव जयतेका प्ले कार्डहरु
अनि अनगिन्ती सुइरो बनेका आँखाहरु र
म प्रति ठडिएका चोर औंलाहरू !
तर, ए मेरो कौमार्यका हत्यारा !
तिमीले मार्यौ मात्र मेरो विस्वास
मार्न सक्दैनौ तिमि मेरो कोखलाई
सक्छौ भने अब मार मेरो अठोटलाई
किनकि मार्न सकेनौ तिमीले मेरो आत्मालाई !
-सुधीर ख्वबि