पाप लाग्यो
यै जुनीको फल हो कि कुन जुनीको पाप लाग्यो
तड्पी तड्पी बाँच्नु पर्ने मलाइ के श्राप लाग्यो
ओंठमा न हाँसो फूल्छ रोऊँ छैन आँसु पनि
दुनियाँको नजरमा अभागीको छाप लाग्यो
मायाको त्यो न्यानोपना चिसो झनै चिसो हुँदा
भित्र-भित्रै जल्दैछु म वेदनाको ताप लाग्यो
कसैले न बुझ्न चाहे बुझ्नेले न बाँड्न चाहे
आफ्नै पीडा आफैसंग खाप माथि खाप लाग्यो
बिलौना म कति गरौँ स्वार्थि रैछ दैब पनि
पग्लिदैन मन उसको संधै चुपचाप लाग्यो
सिर्जना हो सिर्जनालाई सिर्जनाको रुपमा हेरियो भने सिर्जनाको इज्जत रहन्छ ! सर्जकले सबै आफ्नो जीवन नै लेख्छ भन्ने केहि छैन ! धन्यवाद !
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी युएई
