कबिता: आमा सङ्ग ...!
![]() |
जीवित खड्का |
म सँग-
संसार हेर्ने
आँखाहरु छन !
म सँग-
संसार जित्ने
बलिस्ठ हात-पाखुराहरु छन !
तर
बगिरहेको
यो समयभित्र
कैदीझै कैद छु-म !
मिर्मिरे पुष-माघ-
पुष-माघको जाडोमा
आकाशभरी ओइलाउदै,
ओइलाउदै गरेको ताराहरुसङ्गै
धर्तीमा खसिरहेका
शीतका थोपा सरह
तिमीलाई -
असिम बेदनाले सताउदा
ए,,मेरी आमा
तिम्रो आँखाबाट
कति आशुका धारा बहेका होलान ?
तिम्रो गलामा
झरेको आशुसङ्गै
म पनि बगिरहेछु
म पनि पग्लिरहेछु !
चोटहरु दुखिरहदा -
तिम्रो जीर्ण शसिरमा
यो चकमन्न रात - रातहरुमा ,
यो कोलाहल दिन - दिनहरुमा ,
कसरी म निदाउन सक्छु ?
कसरी म हास्न सक्छु ??
उस्तै त हो आमा
तिम्रो कथा र मेरो कथामा ,
तिम्रो ब्यथा र मेरो ब्यथामा ,
त्यसैले- तिम्रो दु:खाइ
म पनि बोध गरिरहेछु !
त्यसैले- तिम्रो आशु
म पनि बगिरहेछु !!
तर ..
दुर्भाग्य
म स्वयम तिम्रो छोरा भैकन
तिम्रो आशु पुछिदिन
सकेको छैन - मैले ,
तिमीलाई खुशीका दिनहरु
ल्याइदिन सकेको छैन - मैले
र मैले चाहेरपनि यतिखेर -
असङ्ख्य तिम्रा दु:खका कथाहरु..
असिमित तिम्रा पिडा र ब्यथाहरु ..
कापीका पाना - पानाहरुमा
रङ्गाउन सकेको छैन मैले
किन कि - म नेत्रहीन छु
किन कि - म अपाङ्ग छु
बगिरहेको
यो समयभित्र कैद भएपछी ...!!
-'छिन-छिनमा चलिरहने
चैत्रको हुरीलाई सम्झिदा
उहिलेका बुढा-पाकाहरु भन्ने गर्थे
कतै जङ्गलमा हुरीसङ्ग परेछौ भने
स्थिर नहुन्जेल त्यो हुरी...
तिमी रुखलाई बलियो गरी समात्नु '
त्यसैले आमा
त्यति धेरै निराश नहुनु
मनभरी आशाको दियो बालेर बस्नु है !
किन कि -दुखाइ एकनाश कहाँ हुन्छ र ?
चैत्र-बैशाखमा चल्ने हुरी
ह्रितु परिवर्तनसङ्गै
असोज-कार्तिकमा त
नचाहेर पनि शान्त हुनैपर्छ !!!
............
'हामी संबिधान-पीडित जनताहरु।।।संबिधान अझै नबन्नुको आक्रोशमा रचिएको कबिता हो यो ! यहाँहरुलाई कस्तो लाग्छ ??
