घायलको तरही मुसायरा-१२
आज देखि 'घायलको तरही मुसायरा' फेसबुक र ब्लग दुबैमा संचालन हूनेछ र यहाँलाई पायक पर्ने ठाउँमा आफ्नो सिर्जना पोस्ट गर्नु सक्नु हुँनेछ धन्यवाद !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
'घायलको तरही मुसायरा-१२' को नियमित श्रीङ्खलामा आज मैले मेरो आफ्नै गजलको मिसरा-ए-सानीलाई तरहको रुपमा दिएकोछु ।आउँनुहोस् आज यो मिसरा-ए-सानी 'हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज' लाई तरहको रुपमा दिएकोछु । यहाँहरुले यसैको आधारमा एक पूर्ण गजल लेखेर ब्लगमा पोस्ट गर्नु होला ।
गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
काफिया:बानी
रदिफ: भयौ तिमी आज
लय: हिजै लाग्छ/ मुटु साट्या// बानी भयौ/ तिमी आज
४+४+४+४=१६
मैले मेरो यहि गज़लको मिसरा-ए-सानी तरहको रुपमा दिएको थिएँ ! प्रस्तुत छ पुरा गजल यहाँहरुको लागि .......!
पराई थ्यौ आँखाभित्र नानी भयौ तिमी आज
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
मायाको त्यो सागरमा जति डुब्यो डुबु लाग्ने
मरुभूमि जीवनमा पानी भयौ तिमी आज
एकै मिठो मुस्कानको प्रतिक्षामा दिन बित्थे
सपना झैं लाग्छ साँच्चै दानी भयौ तिमी आज
कहाँ साचौं यति धेरै अमुल्य छ तिम्रो माया
खुशीको त्यो नरित्तिने खानी भयौ तिमी आज
'घायल'को हृदयमा आऊ अब राज गर
यो मनको महलमा रानी भयौ तिमी आज
गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार ०२ जुन,२०११ रातको १२:०० बजे (युएई समय अनुसार)
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक र ब्लग दुवैमा संचालन हुँने भएकोले दुबैमा पोस्ट गरेको गजललाई मान्यता दिईनेछ ।
फेसबुकमा सजिलो भएता पनि ब्लगमा आफ्नो सिर्जना पोस्ट गर्न असजिलो भएमा तल उल्लेखित तरिका अप्नाउँनु भयो भने सजिलै पोस्ट गर्न सक्नुहुनेछ ।
अबदेखी तपाईंको सिर्जना र प्रतिक्रिया सिधै वालमा प्रकाशन हुन्छ त्यसैले ढुक्क भएर मर्यादित रुपमा आफ्नो रचना पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद !
1) तपाईंले आफ्नो प्रतिक्रिया लेख्न चाहेको श्रीङ्खला वा रचनालाई खोल्नुहोस्
2) त्यसको तल हेर्नुहोस् जहाँ पोस्ट अ कमेन्ट (Post a comment) लेखिएको छ त्यसमा क्लिक गर्नुहोस्
3) एउटा बक्स आउँछ त्यहाँ आफ्नो प्रतिक्रिया वा सिर्जना पेस्ट गर्नुहोस्
4) त्यहाँ आफ्नो परिचयको लागि अप्सन छनौट गर्नुस्
5) Name/URL मा क्लिक गर्नुहोस्
6) त्यसको तल आफ्नो नाम लेख्नुहोस्
7) तपाईंले क्याप्स (बाङ्गो टिङ्गो अक्षर र अंकहरु)आउँछ त्यो देखाएको बक्समा टाइप गर्नुहोस्
8) त्यसको मुनि (Publish your comment) पब्लिस योर कमेन्ट्समा क्लिक गर्नुहोस् । तपाईंको सिर्जना र प्रतिक्रिया तुरुन्तै ब्लगमा प्रकासित हुनेछ ।
नोट: यदि तपाईं यो ब्लगको सदस्य बनी सक्नु भएको छ भने साइन इन गरेर आफ्नो रचना वा प्रतिक्रिया पोस्ट गर्न सक्नु हुनेछ । त्यसैले यहाँहरु सबै सदस्य बनिदिनु होला । धन्यवाद
फेसबुकको लागि तलको लिंक हेर्नु होला




( गजल ) आचार्य प्रभा
मेरो मीठो तिर्खाइेको पानी भयौ तिमी आज
मेरा दुइे नयनको नानी भयौ तिमी आज ।
तिम्रै निम्ती हर रात जागै बस्थेँ अनिँदो भई
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज ।
कस्तो मीठो तड्पन् थियो उस्तै मीठो चाहा पनि
तड्पनको गला रेटी रानी भयौ तिमी आज।
रुखो थियौ पैलो भेटमा ब्यवहार चर्को लाग्थ्यो
त्यही रूप बद्लिएर ज्ञानी भयौ तिमी आज।
मेरो तिर्खा खहरेको पानी जस्तै रुखो थियो
त्रिषित् आत्मा त्रिप्त पार्ने घानी भयौ तिमी आज।
बोलाउँ भने नाम थे'न अप्ठ्यारोमा थिएँ म'त
मीठो मनले बोलाउने सानी भयौ तिमी आज।
(रचना- मे/ २७ /२०११ समय दिनको १.00 बजे )
कपास नै गह्रौँ हुँदा, तिमीसँग भेट भयो
"आनन्द"ले साथ लिने,दानी भयौ तिमी आज ।।
likes this
(Sarang)
Tekendra Adhikari दलवीरजीको रमाइलो अभियानमा सहभागी हुन पाउँदा साह्रै खुसी लाग्छ । त्यही भएर घायलको तरही मुसायरा-१२ का लागि तलको गजल कोर्ने प्रयास गरेको छु । धन्यवाद ।
गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
काफिया:बानी
रदिफ: भयौ तिमी आज
लय: हिजै लाग्छ/मुटु साट्या//बानी भयौ/तिमी आज
४+४+४+४=१६
घायलको तरही मुसायरा-१२ का लागि गजलः
जाँतो मात्र थियो मेरो, मानी भयौ तिमी आज
हातो पाएँ तिमीबाटै, दानी भयौ तिमी आज
अत्तालिन्थेँ, निस्सासिन्थेँ, आफैँसँग एकान्तमा
साथ दिई मैले पुज्ने, थानी भयौ तिमी आज
शंका लाग्छ आफैँसँग, आत्मविश्वास घटेपछि
उठेँछु म धर्तीबाट, नानी भयौ तिमी आज
सम्झिए आफ्नै अतीत, सपनाझैँ हुन्छ अचेल
हिजै लाग्छ मुटु साट्या, बानी भयौ तिमी आज
ठक्कर खाएँ जिन्दगीमा, हण्डर पनि धेरै खाएँ
तिर्खाउँदा प्यास मेट्ने, पानी भयौ तिमी आज
भाग्य ठूलो भन्थे अरू, मेरा निम्ति सबै तिमी
राजा भएँ त्यो मुटुको, रानी भयौ तिमी आज
चल्दै जान्छ बाँकी कुरा, नछुटि्टयोस् हाम्रो साथ
आश फुल्यो ‘टेकेन्द्र’को, खानी भयौ तिमी आज
-टेकेन्द्र अधिकारी
विराटनगर, नेपाल
(गजल)चन्द्र लिम्बु(चुहानडाडा ४ तेह्रथुम हाल दोहा
हिजो लाग्छ मेरो माया रानी भयौ तिमी आज
सोझी थियौ मेरी माया ज्ञ्यानी भयौ तिमी आज ।
कस्तो रैछ हाम्रो माया थियो जस्तै नङ मासु
त्यस्तो गाढा भुली माया जानी भयौ तिमी आज ।
पानी पर्दा छानो राख्ने घाम लाग्दा खल्ली बल्ली
रङ फेर्ने जीब जस्तै सानी भयौ तिमि आज ।
फेर्यौ तिम्ले काँचुलीनै मैले चिन्न भुल गरेँ
जसको पनि आँखा लाग्ने मानि भयौ तिमि आज ।
दु:खी थियौ हिजो सम्म दानी भयौ तिमि आज
अतितनै सबै बिर्सी रानी भयौ तिमि आज ।
पोस्ट मिति:२०६८जेष्ठ१४ २३:५५ बजे
शर्मा हिरु जीको फेसबुकमा प्रेषित गज़ल यहाँ पस्किन्दैछु धन्यवाद !
Sharma Hiru
तिम्रो राजा बनें म त रानी भयौ तिमि आज !
मेरो निम्ति गंगाजी को पानि भयौ तिमि आज !!
तिम्रो मन चोर्न भनि झुटो आँशु झार्दा खेरि !
रावण हासों हसाउने ज्ञानी भयौ तिमि आज !!
माँया भन्नु अचम्म छ भावनामा डुब्न थालें !
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमि आज !!
सुख भन्नु त्यस्तै न हो ,कर्म गरे प्राप्त होला !
अप्रत्याशित आगमनको खानी भयौ तिमि आज !!
जति हेर्छु हेरुँ लाग्छ तिम्रो रुप सधै भरि !
आँखामा,नै बसी राख्ने नानि भयौ तिमि आज
ख्याल ख्यालै यो आँखाको नानी भयौ तिमी आज ।
खडेरीमा वर्सी दिने पानी भयौ तिमी आज ।
गोरेटोमा सुरु भा'को सुक्ष्म थियो तिम्रो प्रेम
सयौँ जूनी माया दिने दानी भयौ तिमी आज ।
मेरो लागि लोक भन्दा हितकारी गुणकारी
नरित्तिने अनन्त यो खानी भयौ तिमी आज ।
भावनाको कुरा गर्दा लजाएर मुख छोप्थ्यौ
हिंजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज ।
छरिएका नयन यी एकोहोरो पारिकन
यो मनको मझेरिमा रानी भयौ तिमी आज ।
आनन्द भट्टराई "गाउँले"
खोटाङ
घायलको तरही मुसायरा -१२
गजल
दिलै घुम्ने कस्तो कक्ष? मानी भयौ तिमी आज
पिरतीमा नटुङ्गीने खानी भयौ तिमी आज
सर्माएर टाढा हुन्छौ भन्ने थियो धरै पीर
काख माथी बसी मेरै सानी भयौ तिमी आज
दक्ष प्रेम ठाने मैले लोभ छैन कति त्यँहा
जति मागे त्यति दिदै दानी भयौ तिमी आज
कस्ले कस्तो माया गर्छ शास्त्र सिद्ध कहाँ छ र
स्वार्थी युग भित्र बेग्लै ज्ञानी भयौ तिमी आज
गुम्बा माने साँछी राखी एकान्तमा झरी रुज्दा
हिंजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
आमा बाको चौघेरामा बस्दा दिक्क भा की ठुली
लुट्पुटिन्दा काख मेरै नानी भयौ तिमी आज
बुद्धि मोक्तान
२०११/०५/३०
Indra Narayan Chongbang
दलबीर गुरु ; साहित्यिक अग्रज मैले मान्नै पर्ने एक हस्ती हुनुहुन्छ , म हजुरको उदाहरनिय कसरथको खुलेर प्रसंशा गर्छु ,फेसबुकको डिजिटल सम्बन्ध देखि भावनात्मक रुप बाट पनि धेरै नजिकै बाट चिनेको प्रिय अग्रज गजलकार हुनुहुन्छ तर यो प्रयोगमा मेरो केहि खुल्दुली अनि सन्देह छन .. अबस्य पनि पुरा गुर्नु हुनेछ ..
(1)-जब सक्कल गजल हजुरको हो यो सक्कली गजल लाई आधार बनाएर अर्को गजल सृजना गरिदा के त्यो गजल दोस्रो सक्कल हुन् सक्छ ? ... (2)-यसरि हजुरको सहयात्रामा कोरिएका गजलहरु अर्को कुनै प्रकासनमा लेखकले प्रकासित गर्न सक्छन ?.....
(3)यसको मतलब ति रदिफ चयन ,काफिया चयनमा कुनै प्रस्न उठ्दैन ? .....
.(4)अर्कोको आधार बनाएर कोरिएको गजल लाई कुन मौलिकी कसीमा जाच्ने ?
यी मेरा पाठकीय प्रस्न हुन् ; धेरै कोणबाट गलत साबित हुँला तर म मौलिकी लाई प्राथमिकता दिने गर्दछु मौलिकी नै आफ्नो सक्कली अनुहार ठान्ने प्रवृति छ , यति हुदा हुदै पनि हजुरको यो यात्राको सफलताको कामना ...सेवारो
गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
काफिया:बानी
रदिफ: भयौ तिमी आज
लय: हिजै लाग्छ/ मुटु साट्या// बानी भयौ/ तिमी आज
४+४+४+४=१६
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
श्यामकुमार ग्लान (तामाङ)
माया मात्र भरीपूर्ण तिमी खानी भयौ आज
जुनी भर मेरो दिल्को रानी भयौ तिमी आज
मरुभुमी जिन्दगीको यात्रा लाम्रो गर्दै थिए
तिर्खाएको आंत भरी पानी भयौ तिमी आज
अस्तीसम्म कल्पनाको सागरमा डुब्दै थिए
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
आफु बाहेक सबै नयाँ जिन्दगीको यो उमङ्ग
आँखाभित्र यती प्यारी नानी तिमी भयौ आज
धेरै होला जुराएका शुभ नाम तिम्रो लागि
मन पर्ने एउटै नाम सानी तिमी भयौ आज
सिन्धुली,माझुवा
हाल : दोहा, कतार
घायलको तरही मुसायरा-१२
गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
काफिया:बानी
रदिफ: भयौ तिमी आज
लय: हिजै लाग्छ/ मुटु साट्या// बानी भयौ/ तिमी आज
४+४+४+४=१६
--------------गजल-----------------
घुमी घुमी भाग्न खोजें मानी भयौ तिमी आज ।
संसार जित्ने विश्वाशको खानी भयौ तिमी आज ॥१॥
वर्षौ भयो पिउन थाल्या नशा लाग्ने प्याला तिमी ।
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज ॥२॥
छुँदै तिम्ले बगे पनि युगौदेखि किनारा यी ।
तिर्खा मेट्न नसक्ने त्यो पानी भयौ तिमी आज ॥३॥
एक पल माग्या थिएँ तिमीले त जुनी दियौ ।
दान-वीर बली जस्तै दानी भयौ तिमी आज ॥४॥
तिमीलाई सजाउन मसंग त्यो महल छैन ।
जून फूल्ने छानो मुनी रानी भयौ तिमी आज ॥५॥
राजेन्द्र मल्ल
जेष्ठ २०, २०६८ बिहिबार
निलकण्ठ-१, धादिंङ बेंशी
हाल काठमाडौं
यहाँहरुको सक्रिय सहभागिताको हार्दिक आभार व्यक्त गर्दछु !
मैले मेरो यहि गज़लको मिसरा-ए-सानी तरहको रुपमा दिएको थिएँ ! प्रस्तुत छ पुरा गजल यहाँहरुको लागि .......!
पराई थ्यौ आँखाभित्र नानी भयौ तिमी आज
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
मायाको त्यो सागरमा जति डुब्यो डुबु लाग्ने
मरुभूमि जीवनमा पानी भयौ तिमी आज
एकै मिठो मुस्कानको प्रतिक्षामा दिन बित्थे
सपना झैं लाग्छ साँच्चै दानी भयौ तिमी आज
कहाँ साचौं यति धेरै अमुल्य छ तिम्रो माया
खुशीको त्यो नरित्तिने खानी भयौ तिमी आज
'घायल'को हृदयमा आऊ अब राज गर
यो मनको महलमा रानी भयौ तिमी आज