यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-२'


'घायलको तरही मुसायरा-२' यहाँरुको सामु छ


by Dalbir Singh Baraili 'Ghayal' on Saturday, March 19, 2011 at 8:54pm
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।

'घायलको तरही मुसायरा-२' यहाँरुको सामु छ । पहिलो श्रीङ्खलामा यहाँहरुको अत्याधिक सहभागीताले निक्कै हौसाएको छ । हामीले एक छलाङ्ग मारेको हौं । संग्रह प्रकाशन गर्ने संकल्प र योजना आफ्नो ठाउँमा छाँदै छ । अब म हरेक श्रीङ्खलामा अलग अलग गजलकारहरुको गजलको मिसरा-ए-सानी दिंदै जानेछु । आशा छ यसमा यहाँहरुको सकृय सहभागीता रहनेछ । अझ खुशीको कुरा ! हरेक श्रीङ्खलामा यहाँहरुले पोस्ट गर्नु भएको गजल मध्यबाट पाँचजना निर्णायक मण्डलको पोइन्टको आधारमा उत्कृष्ट ३ गजल छनौट गरिने छन् जुन आगामी गजल संग्रहमा समावेश गरिनेछ । हामी अब देखी हप्ताको एक श्रीङ्खला लिएर आउँनेछौं आशा छ समय अभावले मैले भाग लिन पाइन भन्ने गुनासो रहने छैन । यहाँहरुले गजललाई राम्रोसँग केलाएर उत्कृष्ट बनाउँन पनि प्रयाप्त समय मिल्नेछ । यहाँहरुसँग म यो बिनम्र अनुरोध गर्दछु कि गजल पोस्ट गर्न हतार
नगर्नु होला । तल उल्लेखित नियमको परीधिभित्र रहेर सबैले सहभागीता जनाउँन सक्नु हुनेछ ।

(१)घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु

(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा नै गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गरेको गजललाई बढी प्राथमिकता दिइनेछ ।

आज मैले क्याम्पस जीवनदेखी नै सिर्जनामा कलम चलाऊँदै हाल कतारमा रहेर फेसबुकमा निक्कै राम्रो सिर्जनाहरु पस्किंदै आउनु भएका सर्जक सुवाश श्रेष्ठ ज्युको गजलको मिसरा-ए-सानी 'अत्यचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ'लाई तरहको रुपमा पेश गरेकोछु । यसैको आधारमा यहाँहरुले एक पूर्ण गजल लेखेर पोस्ट गर्नु होला .

गजल: सुवाश श्रेष्ठ
मिसरा: अत्याचारको पीडाभित्र पसी  हेर कस्तो हुन्छ
काफिया: पसी
रदिफ: हेर कस्तो हुन्छ
अत्याचारको /पीडाभित्र //पसी हेर /कस्तो हुन्छ
लय: ५+४+४+४=१७

गजल पोस्ट गरी सक्नु पर्ने अन्तिम मिती मार्च २५,२०११ रातको १२:०० बजे । (युएईको समय अनुसार )

‎'घायलको तरही मुसायरा-२' मा मैले सुबाश श्रेष्ट ज्युको गजलको मिसारा-ए-सानी दिएको थिएँ । त्यहाँ दिइएको तरहको पूर्ण गजल यस प्रकार छ ।

उस्को ठाउँमा तिमी आफै बसी हेर कस्तो हुन्छ
अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ।

मनमा ईच्छा भए यदि दु:ख पीडा बुझ्नलाई
आफ्नै मुहार खरानीले घसी हेर कस्तो हुन्छ।

अहिले सम्म जति देखेँ न्याय भन्नु पैसा रैछ
गरीबलाई न्याय लेख्ने मसी हेर कस्तो हुन्छ।

किन फरक मृत्यु यहाँ पीडा उस्तै भए पनि
उसको जस्तै आफ्नै गला कसी हेर कस्तो हुन्छ।

पराईलाई दु:ख पर्दा खुसी हुन्छौ किन तिमी
आफन्तलाई खाडलमा धसी हेर कस्तो हुन्छ।


-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

( गजल ) आचार्य प्रभा

इज्जतबाट अनायस खसी हेर कस्तो हुन्छ
परिबन्दमा केही क्षण फँसी हेर कस्तो हुन्छ ।

बिर्सिनु हुन्न कहिल्यै नि इेतिहास परम्परा
सँस्कृतिलाई दिगो लेख्ने मसी हेर कस्तो हुन्छ ।

जालसाजीको फन्दाभित्र शत्रु पनि नफंसोस् है
अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ ।

सहनुको नि सिमा हुन्छ अब कती सहने हो
ब्यभिचारीको दलानमा बसी हेर कस्तो हुन्छ ।

जिजीबिषाको उमंगमा बाँच्छु भन्ने हिम्मतीले
कलंकरुपी मैलो रंग घसी हेर कस्तो हुन्छ ।

रचना - मार्च १९ /२०११ समय ५.बजे दिउँसो (अमेरिकाको समय )
----------------------------------------------------------------------------------------------------------------------------------------
अत्याचार मा ( र ) आधा हुन्छ भन्दै बहस गरेको भए पनि मैले पुरै मानेर १७ मै लेखेको छु किन कि जस्तै अत्याचार लाई ( अत्याचार् ) हलन्त बनाएको जस्तो लाग्दैन । फेरि यो १७ मा दिए को हुना ले र र्हस्व दिर्ग ले जस्तो अर्थ मा फरक नपर्ने हुनाले लेखेर चुपचाप पोस्ट गर्दा राम्रो हुन्छ तर बहस गर्नु पनि राम्रो हो जस्तो लाग्छ । धेरै बोलेँ माफी संगै नमस्कार ! सबै लाई ।

नेपाली एकता को डोरी कसी हेर कस्तो हुन्छ
ममता अनि मित्रता मा फसी हेर कस्तो हुन्छ

रगत सबै को रातो हुन्छ प्राण पनि उस्तै नै
जात मा ठुलो सानो लेख्ने मसी हेर कस्तो हुन्छ

पसिना को भेल सधै नै दुई छाक टार्न लाई
पसिना माथि धुलो मैलो घसी हेर कस्तो हुन्छ

भ्रष्टचार गरि गरि सुख सयल गर्ने हरु
महल छोडी झुपडि मा बसी हेर कस्तो हुन्छ

खुशी हुँदै तिमी किन अरु लाई दमन गर्छौ
अत्याचार को पीडा भित्र पसी हेर कस्तो हुन्छ
----------------------------------------------------------------------------------------------------------------------------------------
‎(१६ भए पनि १७ मा तयार भैसकेको र बिजुलीको ठेगान नभएकोले मैले तयार गरेको गजल पेश गरेँ )
'घायलको तरही मुसायरा-२'
गजल
सम्बिधानको रेखा कोर्ने मसी हेर कस्तो हुन्छ
अन्धकारको सिमाभित्र बसी हेर कस्तो हुन्छ ।।१।।

मन्दिरभित्र देवता छ, बाहिर त जोगी बस्छ,
आफन्तलाई खरानी क्यै धसी हेर कस्तो हुन्छ ।।२।।

तानातान भो कुर्ची मात्र, न्याय दिन सकेनौ कि!
अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ ।।३।।

सफल भन्छौ आफुलाई, निर्धोलाई दोषी मान्छौ
झ्यालखानामा दोष बिना फसी हेर कस्तो हुन्छ ।।४।।

आकाशमाथि बास तिम्रो पातालमा देख्छौ कहाँ
जनता जस्तै महँगीमा खसी हेर कस्तो हुन्छ ।।५।।
----------------------------------------------------------------------------------------------------------------------------------------
सबैको वहस बनेको छ "अत्याचार" मैले पनि गजल तयार गरेर राख्न खोज्दा यहाँ चलेको वहसमा अल्मलिएँ,त्यसै त आफु सिकारु के भन्न सक्थें र?
जे भए पनि मैले सबैको या बहुमतको कदर गर्दै जानु पर्ला भनेर १६ मात्रको गजल तयार गर्न लाग्दै छु ।मैले पनि सहभागि जनाएँ भए नभएको जिम्म अग्रजमा सुम्पन्छु ।
गजल
समस्याको जन्जिर भित्र,बसी हेर कस्तो हुन्छ?
समाधानको कथा लेख्ने,मसी हेर कस्तो हुन्छ?

जता हेर्यो बडेमानका,पर्खाल पनि उस्तै उस्तै
ब्यावधानको बाटो मेट्न,फसी हेर कस्तो हुन्छ?

जिन्दगी नै फसेको छ,दल्दले त्यो हिलो भित्र
बुझ्न चाहे त्यही तिमी,खसी हेर कस्तो हुन्छ?

भन्नलाई त सजिलो छ,भोग्न भने गर्हो पर्ला
अत्याचारको पीडा भित्र,पसी हेर कस्तो हुन्छ?

के नै हुन्न'प्रयास'गर्दा,भन्छौ भने गर्दै जाऊ
भष्ट्रचराको खुल्ला पाटो,कसी हेर कस्तो हुन्छ?
इन्दिरा प्रयास,हाल-इजरायल्
------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

लौ मैले पनि समेल भएँ । अरु बहस -सहस त जानिफकार हरुको काम हो . गर्दै गरुन ........

ओ भगवान झूपडीमा पसि हेर कस्तो हुन्छ
ए सृस्‍टि-कर्ता भोकै पेट बसि हेर कस्तो हुन्छ

जलेर मेरो आस्था आज खरानी भो एक चिम्टी
देवताहरु निधारमा घसी हेर कस्तो हुन्छ

ए न्याय मूर्ती चुपचाप किन बस्छौ दर्द सुन्दै ?!
अत्याचारको पीडा भित्र पसि हेर कस्तो हुन्छ

उपहासले हाँसु कि म भाँचिदिउँ कलम त्यो !?
भाग्य लेख्ने त्यो कलमको मसी हेर कस्तो हुन्छ !

रोग र भोक अभावमा कति दुखें जान्ने भए,
आगोमा बस्नु सियो माथि खसि हेर कस्तो हुन्छ ।
------------------------------------------------------------------------------------------------------------------------------



यो साहित्यिक चौतारीमा साथीहरूको भलाकुसारी सुनेर म पनि सामेल भएँ। इतिहासको पाना भित्र दसी हेर कस्तो हुन्छ
वीर शहीद नाम लेख्ने मसी हेर कस्तो हुन्छ।

जीवन दान गरी लडे बिर्सी दिए ऐले सबै
राजनीतिको फन्दा भित्र फँसी हेर कस्तो हुन्छ।

जालसाजी छ जता ततै काम गर्ने मरी राछ
अत्याचारको पीडा भित्र पसी हेर कस्तो हुन्छ।

आन्दोलनको मर्म बुझी सबै एक भए पछी
रातो सिंदुर बिजयको घसी हेर कस्तो हुन्छ।

नेपाललाई माया गर्ने सबै मन एक भई
बाहुपासको डोरी जोडी कसी हेर कस्तो हुन्छ।
------------------------------------------------------------------------------------------------------------------


नमस्कार '''घायल ज्यु ''' यहाँले संचालन गर्नु भएको यस शुभ कार्यको पुनह ; सफलताको कामना कामना गर्दै ,,,तरही मुसायरा ----२ मा जानी नजानी भाग लिने प्रयास गरेको छु मूल्यांकन हजुर कै हुने छ ----------

देशको लागि सहिदको दसी हेर कस्तो हुन्छ
इतिहासमा कोरिएको मसी हेर कस्तो हुन्छ

फूलका माला अबीरको देख्दै हौला सपना ति
असफलता भित्र झनै फसी हेर कस्तो हुन्छ

देश बिकास गराउँने ढुकुटी नै रित्याएर
अत्याचारको पीडा भित्र पसी हेर कस्तो हुन्छ

जलश्रोतको धनी भन्छन् अन्धकार देश किन ?
बिकाशोन्मुख मूलुकको शशी हेर कस्तो हुन्छ

परिबर्तन ल्याई देश नेपाल आमा हँसाउन
समानताको घेरा घेर्ने रसी हेर कस्तो हुन्छ

एक छाकले भोक टार्दै रोहिरेछन् ति जनता
महल छाडि ति पाखुरा धसी हेर कस्तो हुन्छ

आत्मियताको प्रेम ठुलो डाह,ईष्या,घृणा किन
सुन र चांदी छुट्याएको कसी हेर कस्तो हुन्छ

जनाधिकार दिन्नौ भने तिमी नेता के का लागि ?
देश चलौछन् जनताले बसी हेर कस्तो हुन्छ !!!!
--------------------------------------------------------------------------------------------------------------------------------
साहित्यिक अभिबादन सम्पूर्ण गजलकार हरुलाई । तरही मुसायराको सफलताको कामना गर्दै यो गजल राखेको छु ।

आँफैलाई बाध्ने डोरी कसी हेर कस्तो हुन्छ
अन्यायको कठघडामा बसी हेर कस्तो हुन्छ

अचानोको पीडा यहाँ खुकुरीलाई थाहा हुन्न
दुर्गान्धको ताल भित्र खसी हेर कस्तो हुन्छ

स्वतन्त्रता खानेहरु हक आफ्नै ठान्नेहरु
अत्याचारको पीडा भित्र पसी हेर कस्तो हुन्छ

खुर्सानीको धुलो पनी रङ्ग होला नबुझ्नेलाई
चहराएको घाऊ भरी घसी हेर कस्तो हुन्छ

आफ्नो मात्र जीत लेख्ने खुशीहररु मेरै ठान्ने
बेदनामा तप्की लेख्ने मसी हेर कस्तो हुन्छ
-------------------------------------------------------------------------------------------------------------------------------
स्वप्निल नीरव
दर्छा पाल्पा

आफ्नै छातीमा तिखो छुरा धसी हेर कस्तो हुन्छ
मलाई जस्तै आफैलाई डसी हेर कस्तो हुन्छ

निमुखा शीर कुल्ची भेट्यौ उच्च लक्ष्य जिन्दगीको
निरीह भइ कालो रङ घसी हेर कस्तो हुन्छ

एकै गासको मधुरो त्यो आशा जति जलाएछौ
भोकमरीको खडेरीमा फँसी हेर कस्तो हुन्छ

आफ्नै बनेर थाप्यौ पासो अल्झाएर लडाउन
अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ

'स्वप्निल' मेरा पाइला यी तानी, छाड्यौ लडाएरै
शिखरबाट तिमी पनि खसी हेर कस्तो हुन्छ
--------------------------------------------------------------------------------------------------------------------------------
सम्पूर्ण साहित्यप्रेमी मनहरुमा यो बिरानो प्रदेशिको साहित्यिक अभीबादन साथै दर्शन नमस्कार। मैले पनि घायलको मिसरा २ को नियम पालना गर्दै एउटा जानी-नजानी गजल लेखेर पेश गरेको छु।सम्पूर्ण मेरा अग्रज साहित्यप्रेमीहरुले मेरो गजल को राम्रा नराम्रा पक्षहरु छुट्याइ दिनु हुन्छ भन्ने आशा मनभरी राख्दै गजल पेश गर्दछु।।गाली र ताली तपाईंहरुको हातमा नमस्कार।।।

गजल
दु:खै दु:खको चौतारीमा, बसी हेर कस्तो हुन्छ।
अत्याचारको पिडाभित्र, पसी हेर कस्तो हुन्छ ।।

इज्जतदारी बनी फुल्न, खोज्छौ किन बगैचामा
ओइलाएर डालिबाट , खसी हेर कस्तो हुन्छ ।।

आमाको काख भुलीफेरी,अन्यायको बाटो हिडदा
गोमन सर्प बनी आँफै, डसी हेर कस्तो हुन्छ ।।

सुन्दरताको घमन्ड छ, तिमिलाई जिन्दगीमा
बैरागी बनी खरानीले, घसी हेर कस्तो हुन्छ ।।

धनै-धनको लोपलाई, मन देखी त्याग्दै फेरी
अङ्गालोमा"मायालु"को,कसी हेर कस्तो हुन्छ।।

दिनेश बस्नेत "मायालु"
थुकिमा ताप्लेजुङ् मेची-नेपाल
अहिले-बिरानो प्रदेशी।
--------------------------------------------------------------------------------------------------------------------------------
घायलको तरही मुसायरा -२ मा म पनि सहभागी हुन पाउँदा अतिनै खुशी लागेको छ । यस्ता नयाँ नयाँ अबसर पाउँदा सार्है खुशी लाग्यो । गजलको दुनियाँमा म त बिल्कुलै नयाँ हुँ । जानी नजानी यो गजल प्रस्तुत गर्न गैरहेको छु । कमी कमजोरीमा प्रस्ट्याई दिन अनुरोध गर्दछु ।

पीडाहरु माला उन्ने , रसी हेर कस्तो हुन्छ
निधारमा भाग्य लेख्ने,मसी हेर कस्तो हुन्छ

पत्थरको मुटु तिम्रो ,अन्याय नि कती गर्छौ
अन्यायको घेरा भित्र ,फसी हेर कस्तो हुन्छ

पीडा के हो ? थाहा छैन , महलमा रम्नेलाई
गरीबको झुपडीमा , बसी हेर कस्तो हुन्छ

तिम्रा दमन सही दिन्छु,आँसु पीई बाँच्छु मत
आत्याचारको पीडा भित्र,पसी हेर कस्तो हुन्छ

तिम्रा लाखौं कोशीसले,सक्ने छैन दाग छल्न
अनुहारमा पाउडर ,घसी हेर कस्तो हुन्छ

भिम बहादुर बस्नेत
दोहा कतार
--------------------------------------------------------------------------------------------------------------------------------
‎...
अफ्ठ्यारो लय/मात्रा को भए पनि कनिकुथी लेखियो "घायलको तरही मुसायरा-२" के-कस्तो भयो जानीपाउँ अग्रजहरुबाट .....

निर्धन्यता र अभावमा बसी हेर कस्तो हुन्छ
पटुकी बाँधी भोको पेट कसी हेर कस्तो हुन्छ

वारि न पारि हुँदा खेरि के-के बग्छ जिन्दगीको
जान्ने नै भए त्यो भेलमा फसी हेर कस्तो हुन्छ

अरुको साँध उप्काएर आफ्नो जग हाल्नेहरु
गरिबीको त्यो खाल्डोभित्र खसी हेर कस्तो हुन्छ

बलियो सम्झी निर्धामाथि जथाभावी टेक्नु भन्दा
अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ

नीतिनियम भन्नु मात्रै उँचनीच ज्यूँको त्यूँ छ
समानताको मर्म लेख्ने मसी हेर कस्तो हुन्छ

............ अनुराग "अनुरागी मन"
-------------------------------------------------------------------------------------------------------------------------------
‎..यस मुसायरा-२ मा जोडीनु भएका सम्पूर्ण हजुरहरुलाई हार्दिक अबिभादन गर्दछु । म पनि हजुरहरुकै पाइला पछ्याउँदै आउँदैछु, हेरुँ, कहाँ सम्म पुग्न सक्छु..
(गजल )

जीवन धान्ने भरियाको रसी हेर कस्तो हुन्छ !
महल हैन झुपडीमा बसी हेर कस्तो हुन्छ !

राष्ट्रलाई नै खोक्रो पारी व्हिस्की-बियर् तान्नेहरु
बेरोजगारी दल्'दल् भित्र फसी हेर कस्तो हुन्छ !

बिकाऊ हुन्छ पैसा सँग कस्तो तिम्रो न्याय मुर्ती ?
बिना कसुर दोषी दाग घसी हेर कस्तो हुन्छ !

निर्धाहरुको स्वाभिमान्'मा कती लाद्छौ खुनी पन्जा
अत्याचारको पीडा भित्र पसी हेर कस्तो हुन्छ !

बिचार गर! शोषकहरु टिक्ने छैन कालो शासन्
इतिहासको पाना भर्ने मसी हेर कस्तो हुन्छ !!

हमाल 'express'
Jeonju, South Korea.
-------------------------------------------------------------------------------------------------------------------------------
‎"घायलको तरही मुसायरा -२"

अन्तर्मनको कथा लेख्ने मसी हेर कस्तो हुन्छ
जलिरहने गगनको शशी हेर कस्तो हुन्छ ।

जालीहरुको जालो च्याती पर्दाफास गरु भन्दा
बोल्न नपाइ त्यै जालीमा फसी हेर कस्तो हुन्छ ।

जनताको खुन पिइ आशिष लिने चिरिन्जिवी
कानुनभित्र दायरामा बसी हेर कस्तो हुन्छ ।

हैकमबादी औंलाहरु किन उठे निर्धा माथी
अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ ।

टिकाइ राख हासो सत्ता तिम्रो पनि दिन त्यै हो
मेटाइ दिने जनताको दसी हेर कस्तो हुन्छ ।
-बुद्धि मोक्तान
-------------------------------------------------------------------------------------------------------------------------------
अग्रज सर्जकहरु बीच यसपालीको तरह १६ की १७ अक्षरको ? भन्ने वहस चलिरहदा पनि मैलेचैँ १७ अक्षरकै मानेर यो गजल प्रस्तुत गरेँ, मुल्याङ्कन गरिदिने जिम्मा यहाँहरु कै अभिभारा -

पशु ठान्नेले आफ्नै पाउ कसि हेर कस्तो हुन्छ ?
जोगी ठान्नेले खरानी त्यो घसी हेर कस्तो हुन्छ ?

अरु जनको रगतको खोली बग्दा किन हाँस्छौ
आफुलाइनै तिखो छुरा धसी हेर कस्तो हुन्छ ?

निर्दोस हामि प्रजालाई कति गर्छौ अतिचार
निरङ्कुसको पिंजडामा वसी हेर कस्तो हुन्छ ?

दमन तिम्रो जनताले पा'को ख्याल हुन्न भने
अत्याचारको पिडा भित्र पसी हेर कस्तो हुन्छ ?

यो प्रजातन्त्र भन्दै आज कुन तन्त्र लाद्न खोज्छौ
प्रजातन्त्रको बिधी लेख्ने मसी हेर कस्तो हुन्छ ?

गिठ्ठा भ्याकुर के थाहा र महलमा वस्नेलाई
भोकमरिमा एक चोटि फसी हेर कस्तो हुन्छ ?

आनन्द भट्टराई "गाउँले", खोटाङ
--------------------------------------------------------------------------------------------------------------------------------
तरही मुसायराका सञ्चालक तथा प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा सहभागी सम्पूर्णमा साहित्यिक अभिवादन भन्दै मैले पनि सहभागिता जनाएँ...

गजल: सुवाश श्रेष्ठ
मिसरा: अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ
काफिया: पसी
रदिफ: हेर कस्तो हुन्छ
अत्याचारको /पीडाभित्र //पसी हेर /कस्तो हुन्छ
लय: ५+४+४+४=१७

~~~>A GAJAL BY ATRIPT KAMAL<~~~

चखेवाको झैँ माया जालमा फसी हेर कस्तो हुन्छ
त्यो मदहोसी मात तनको धसी हेर कस्तो हुन्छ

भन्नलाई त सजिलो छ पैसा फल्छ बिदेशमा
परदेशीको अधिनमा बसी हेर कस्तो हुन्छ

यै समाजले हामीलाई दर्जा दियो तल्लो जातको
तिरस्कृत भई आफैबाट खसी हेर कस्तो हुन्छ

धन हुनेकै चल्छ आदेश गरिब त पिसिएकै छन्
अत्याचारको पींडाभित्र पसी हेर कस्तो हुन्छ

तिमी केवल जून हेर्छौ बिर्सिएर आफैलाई
कहिले काहिँ झिल्मिलाएका शशी हेर कस्तो हुन्छ

धन्यबाद!!
-------------------------------------------------------------------------------------------------------------------------------
‎'घायलको तरही मुसायरा-२' दिइएको मिसरा "अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ" पढ्दा मलाई यो गजल सिमान्तकृत वर्गको लागि लेख्‍नु भनिएको जस्तो लागेको थियो । उक्त वर्गको पीडा त ज्युँ का त्युँ छँदैछ त्यो भन्दा बढी पीडा अहिले नेपाल आमाले भोगिरहेकी छिन्। देश जलिरहेको छ । देश बनाउँछु भन्नेहरु हातेमालो गर्नुको सट्टा एक अर्काको खुट्टा तानातान गरिरहेका छन् । मैले यसैलाई आधार मानेर गजल लेख्‍ने कोशिष गरेको छु । यस गजलमा सिमान्तकृत वर्गको पीडा, सम्पुर्ण राष्ट्रवादी जनताको पीडा, र स्वंयम नेपाल आमाको पीडा झल्काउन कोशिष गरेको छु । गजल यहाँहरुको सामु प्रस्तुत छ ।

समृद्धिलाई जाँच्न सक्ने कसी हेर कस्तो हुन्छ ।
झुपडीभित्र एकरात बसी हेर कस्तो हुन्छ ।१।

नटुङ्गीने छलफल, कस्तो तिम्रो संम्विधान ।
छिमेकीको नीति लेख्ने मसी हेर कस्तो हुन्छ ।२।

सहनुको नि सिमा हुन्छ हाम्रै बास हाम्रै भात ।
अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ ।३।

जनता मारी होली खेल्छौ सामन्ती त्यो तिम्रो पारा ।
मानवता र प्रेमको डोरी कसी हेर कस्तो हुन्छ ।४।

लुछिराछन् सिमा जम्मै के हेर्दैछौ लाटाले झैं ।
एक अन्जुली देशको माटो घसी हेर कस्तो हुन्छ ।५।

राजेन्द्र मल्ल
धादिङ बेंशी
हाल काठमाडौं ।
-------------------------------------------------------------------------------------------------------------------------------
सर्वर नेपालीको गज़ल नेपाली लिपिमा पुनः प्रकाशित
निर्मोहीको धोकाबाट भित्र फासी हेर कस्तो हुन्छ
आकाशबाट धरतीमाथि खसी हेर कस्तो हुन्छ

छोराहरु त ठुलाभाये बुढीसंग विदेश गए
बुढो आमा बुबा जस्तो बसी हेर कस्तो हुन्छ

अर्कालाई भन्दै हिंड्ने कति वोटा गल्ति गर्यो
साथी आफ्नो अन्तर्मनमा पसी हेर कस्तो हुन्छ

बाहिरबाट खोक्रो कुरा महलवाला गरि रहे
अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ

येस्तो राम्रो गज़ल लेख्ने सीधा सादा सर्वरको
कलम हेर कस्तो हुन्छ मसि हेर कस्तो


--------------------------------------------------------------------------------------------------------------------------------
गरिबले जस्तै झुपडिको बास् बसि हेर कस्तो हुन्छ ?
भोक् भोकै पेट्मा पटुकि त्यो कसि हेर कस्तो हुन्छ ?

गर्नुको पनि सिमा हुन्छ अति गरे खति होला
अत्याचारको पिडा भित्र पसि हेर कस्तो हुन्छ ?

बिष बमन कति गर्छौ सर्पले झै मुर्ख मान्छे
सक्छौ नै भने सर्पलाई नै डसि हेर कस्तो हुन्छ ?

हलो अड्काई गोरु कुटने धर्मछाडा पापिहरु
फाली झै आफै ढुङ्गा बिच फसि हेर कस्तो हुन्छ ?

अनिर्णयको बन्दि बनाई देशको ईज्जत लुटि राख्दा
जनताले भोलि फासी दिने रसि हेर कस्तो हुन्छ ?

घायलको तरहि मुसायरा - २
-------------------------------------------------------------------------------------------------------------------------------



Posted by Masti Entertainment on 11:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for घायलको तरही मुसायरा-२'

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011