यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-१




by Dalbir Singh Baraili 'Ghayal' on Friday, March 11, 2011 at 2:40pm

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।
नेपालमा पनि मोतिराम भट्टले 'मोती मन्डली' मार्फत तरही मुसायरा चलाऊँने गरिएको थियो भन्ने कुरा नारायण गाउँले ज्यूले जानकारी दिनु भएको थियो तर हामी आजको पुस्ता 'तरही मुसायरा' बारेमा अनभिज्ञ नै छौं । २०६४ सालमा संयुक्त अरब इमिरेट्स को दुबईबाट मेरै सम्पादनमा प्रकाशन हुने 'सहयात्रा'द्वैमासिक बर्ष १ अंक ४ बाट हामीले 'सहयात्रा तरही मुसायारा' संचालनमा ल्याएका थियौं । जसको स्तम्भकार 'जैकी मोजाहु' हुनु हुन्थ्यो । त्यतिबेला त्यहाँ निक्कै लोकप्रिय भएतापनी प्राविधिक कारणले त्यो पत्रीका आठौं अंक भन्दा माथि जान सकेन र 'तरही मुसायरा'लाई माथि उठाउँने चाहना पनि त्यही तुहियो ।

नयाँ प्रबिधिको सहज पहुँच बढ्दै जाँदा आज फेसबुकमा नेपाली साहित्य निक्कै मौलाएको छ । त्यही मलिलो ठाउँमा मैले पुन:यो 'तरही मुसायरा'लाई ३० जनवरी २०११ मा रोपीदिएँ । 'घायलको तरही मुसायरा'को नाममा संचालित उक्त श्रीङ्खलाको लोकप्रियता यहाँहरु सामु छ । आठौं श्रीङ्खला पछी यसमा केही सुधार र सहभागीता मुलक बनाउँने उद्देश्यले बन्द गरिएको थियो ।

आज पुन: घायलको तरही मुसायरा-१' भएर आएकोछ । हामी पछाडि फर्किएको होइन । एक छलाङ्ग अगाडि मारेको हौं । संग्रह प्रकाशन गर्ने संकल्प र योजना सहित । अब म हरेक श्रीङ्खलामा अलग अलग गजलकारहरुको गजलको मिसरा-ए-सानी दिंदै जानेछु । आशा छ यसमा यहाँहरुको सकृय सहभागीता रहनेछ । अझ खुशीको कुरा ! हरेक श्रीङ्खलामा
यहाँहरुले पोस्ट गर्नु भएको गजल मध्यबाट पाँचजना निर्णायक मण्डलको पोइन्टको आधारमा उत्कृष्ट ३ गजल छनौट गरिने छन् जुन आगामी गजल संग्रहमा समावेश गरिनेछ । हामी अब देखी हप्ताको एक श्रीङ्खला लिएर आउँनेछौं आशा छ समय अभावले मैले भाग लिन पाइन भन्ने गुनासो रहने छैन । यहाँहरुले गजललाई राम्रोसँग केलाएर उत्कृष्ट बनाउँन पनि प्रयाप्त समय मिल्नेछ । यहाँहरुसँग म यो बिनम्र अनुरोध गर्दछु कि गजल पोस्ट गर्न हतार नगर्नु होला । तल उल्लेखित नियमको परीधिभित्र रहेर सबैले सहभागीता जनाउँन सक्नु हुनेछ । 

(१)घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु

(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा नै गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत वा सन्दर्भ उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गरेको गजललाई बढी प्राथमिकता दिइनेछ ।

आज हामीले २०३४ सालदेखी साहित्यको बिभिन्न बिधामा कलम चलाऊँदै,सैनिक रेडियो कार्यक्रम र बिभिन्न गिती एल्बमबाट पाठक तथा स्रोताको मन जित्न सफल कलमकर्मी जो आधा दर्जन भन्दा बढी सम्मान तथा प्रसंसापत्रहरु पाईसक्नु भएकोछ । आज उही अग्रज सर्जक प्रभा आचार्य जीको गजलको एक मिसरा-ए-सानी 'एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो'  यहाँहरुलाई पेश गर्दैछु । यही मिसरा-ए-सानीको आधारमा एक पूर्ण गजल लेखेर पेश गर्नु होला ।

गजल: प्रभा आचार्य
मिसरा: एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न  थाल्यो 
काफिया: खोज्न
रदिफ: थाल्यो
एकान्त /प्रिय /दिलले /पनि //कसैको /साथ /खोज्न थाल्यो
लय: ३+२+३+२+३+२+४=१९ 

गजल पोस्ट गरी सक्नु पर्ने अन्तिम मिती मार्च १७,२०११ रातको १२:०० बजे ।


गजल )आचार्य प्रभा

कोमल मेरो मनले आज निस्छल मुटु रोज्न थाल्यो
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो ।

मायालु बनी मायाको साथ पाउने आश बोक्दै आज
कसैको मुटु मेरो नै भनी खुलेर फेरि तोक्न थाल्यो ।

कल्पना भित्र डुबुल्की मार्दै उसैको स्पर्ष पाए जस्तै
अंगालो हाल्दै मायाको बोझ किन हो आज बोक्न थाल्यो ।

बहने गर्थ्यो आँसुको धारा सधैं नै त्यसै एकान्तमा
पाउने साथ सोँचेर होला आँखाले आसुँ रोक्न थाल्यो ।

जीवन साथी बनेर आजै उसैको मन जितुँ भनी
लजाइे आज आफु नै सँग दन्तले ओँठ टोक्न थाल्यो ।

(रचना मार्च/ ३ /२०११ बिहान ११. ४० )
--------------------------------------------------------------------------------------------------------------

मनको पीडा मनले आफै उनको सामु पोख्न थाल्यो
आँसुका धारा बगाएँ कति अचेल त्यसै जोख्न थाल्यो

सकिन्छ होला जिउन एक्लै यादमा मन जलाएर
निष्ठुरी लाई विर्सर्न्छु भन्दा मनले आज रोक्न थाल्यो
...
तोडेर बाचा कसम मेरो गएछौं बाटो मोडी तिमी
एकान्त पि्रय दिलले पनि कसैको साथ खोज्न थाल्यो

नरुनु तिमी म मर्दा खेरी आँसु ती ब्यर्थे नझार्नु है
अन्तिम पल जीवन हुदाँ हाँसो नै तिम्रो रोज्न थाल्यो

कसरी हुन्छ माया यो पुरा अधुरो छोडी जानु पर्यो
सजाँऊ तिमी दुनियाँ बेग्लै बसेर के नै सोच्न थाल्यो
-----------------------------------------------------------------------------------------------------
‎*****************************
सर्ब प्रथम त सम्पूर्ण गजल प्रेमी मित्र हरुलाई साहित्यिक अभिबादन टक्राउन चाहन्छु हजुर हरु सामु जानी नजानी बिना निम्तो बिन बोलाए पाहुना को तर्फ बाट यो सानो कोसेली कोरेर छोडेको छु ताली र गाली हजुर हरुको हातमा .........
*************************************************

संदेह छैन मलाई भित्री मनले आँत रोज्न थाल्यो
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो |१|

टोलाई बस्छु एकान्त हुँदा संझना बड्छ झन झन
दोबाटो गल्ली सुन्यता देख्छु मौनता प्रश्न सोध्न थाल्यो |२|

हुँदैन माँया पुरानो मनै रहेछ आफ्नो भन्ने सबै
तोडेर बाचा कसम हरु मनले बाँधी रोक्न थाल्यो |३|

अधुरो प्रेम कसरी छोड्ने तमासा हुन्छ सबै लाई
सजाँउ हामी संसार हाम्रो दुनियाँ लाई जोख्न थाल्यो |४|

मुक्तीको बाटो कसरी रोज्ने संसार स्वार्थी रै'छ यहाँ
पाइला हरु अगाडि बड्दा पापीले पाप पोख्न थाल्यो |५|

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
हाल - साउदी अरब
अल साफि कम्पनी
अल खर्ज
------------------------------------------------------------------------------------------------
अनिदो मन दिउँसै कस्तो मधुर स्वप्ना रोज्न थाल्यो
बिक्षिप्त मुटु सिएर फेरि सुनौलो भोलि सोच्न थाल्यो

भिजेका आँखा ओभानो पारी हाँस्नेछु जुनी जुनीसम्म
रुँदिन अब सम्झेर तिमी छायाले तिम्रो पोल्न थाल्यो

नबिर्सु लाग्थ्यो, नभुलु लाग्थ्यो सुनौलो साथ जिन्दगीको
बिर्सनै पर्छ बनेर शूल मुटुमा मेरो घोच्न थाल्यो

भुल्दैछु तिमी कल्पेर कोही नसम्झे दोष यौवनको
अचम्म भयो अदृश्य एक छायाले किन छोप्न थाल्यो

उदास साँझ बोकेर अब समिप तिमी नआउनु
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो
-------------------------------------------------------------------------------------------------
निरस मेरो मनले किन , फूलको थुङ्गा रोज्न थाल्यो !
एकान्त प्रिय दिलले पनि , कसैको साथ खोज्न थाल्यो !!

आँखामा बास कसले माग्यो ,मधुर बोली गुन्जाएर ,
सपनी मात्र देखेको थियो , उसकै याद बोक्न थाल्यो ।।

आयोकी याम रङिन बनी , बोकेर रंग इन्द्रेनीको ,
नजर भरी बदामी रुप , बेसुरै पोखी पोत्न थाल्यो ।।

अधेरी चिरी उजेली बोकी , झुल्कियो जुन मेरा सामु,
उजाड मरु भुमिमा यौटा , हरियो बन सोच्न थाल्यो ।।

अमृत होकी जहर माया , नसोची केही पीइ दिए ,
बिछोड खेपी बेहोसी हुँदा , धड्कन सबै रोक्न थाल्यो ।।
----------------------------------------------------------------------------------------------------


चलाए तिर आँफनाले पनि किनारा मुटु घोच्न थाल्यो
अपांग हुनु रहर हो र ? बिक्षिप्त यो मन सोच्न थाल्यो ||

हिंड़थें जता नजर हरु रोप्पीन्थें कतै शुल जसै
संसारै बाट एक्लिन देह सुरम्य ठाँउ रोज्न थाल्यो ||

कहिले हास्थें कहिले रुन्थें पागल सरि हुन्थें म त
जिन्दगी आफैँ बायेर मुख पैताला देखि टोक्न थाल्यो ||

अकस्मात पाएँ सानिध्य मिठो,त्यो लाग्यो हात भरोशाको
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो ||

लालशा बाँच्ने पलायो 'यश'को मायालु स्पर्श पाएर नै
इन्द्रेणी रंग स्वप्निल चाह उमंग आफैँ बोक्न थाल्यो ||
-----------------------------------------------------------------------------------------------------

घायलको तरही मुसायरा-१'
गजल

तिमीले साथ छोडेका दिन, आँखाले अर्कै रोज्न थाल्यो
एकान्त प्रिय दिलले पनि, कसैको साथ खोज्न थाल्यो,

तिम्रो त्यो हर यादले मनमा, गतिलै छाप पा-यो यहाँ
बितेका सबै, ती मिठा पल, अतित बनी घोच्न थाल्यो,

के गरी सबै, तिता ती क्षण भुलाउँ अब ? सुझ्दैन क्यै
नयनबाट झरेर आँसु, मुटुमा बिष कोच्न थाल्यो,

हारेर हैन,झारेर हैन,सम्हाली सुस्त आफुलाई
सफल हुन, हिड्ने कि नयाँ गोरेटो ! मनले सोच्न थाल्यो,

यस्तै त रै'छ संसार सबै, आफैमा खुशी हुनु पर्ने
बिगत बिर्सी, आँखाले आँसु, "आनन्द" हुँदै सोस्न थाल्यो ।।

आनन्द श्रेष्ठ
दुम्ब:मार्ग,सामाखुशी
काठमाण्डौँ,नेपाल ।।
२०६७-११-२८,००:२८ बजे
-------------------------------------------------------------------------------------------------------
घायलको तरही मुसायरा-१ मा सहभागिता जनाउने कोशिस गरेँ मैले पनि।

आफन्त बाटै टाढिए पछि एकान्त ठाउँ रोज्न थाल्यो
किन हो फेरी यो मन आज बितेका कुरा सोच्न थाल्यो।

बादल वर्षा घामको राप त्यस्को त बरु वास्ता छैन
उनको तिखो वचन वाण काँडाले जस्तै घोच्न थाल्यो।

विश्वास थियो जसको यहाँ उनैले साथ छोडे पछि
दुनियाँ सबै म तिर फर्की मै लाई दोष झोस्न थाल्यो।

चाहेको थिएँ संसार भुली क्षितिज पारी एक्लै बस्न
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो।

बुझ्दैछु बल्ल जिन्दगी के हो नचल्ने रैछ एक्लै यहाँ
त्यसैले होला मुटुले पनि उनैको माया बोक्न थाल्यो।
---------------------------------------------------------------------------------------------------

जुनेली रात खुलेको बैँस मनले के के सोच्न थाल्यो
नशालु तन बेचैनी मन मधुर धुन रोज्न थाल्यो ।१।

व्याँकुल बन्दै बसेछु कत्ति तिर्सना बोकी मनभरि
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो।२।

विश्वाश दियौ सपना नौलो बुनेर राखे परेलीमा
हजारौ भीड मनले उस्कै क्यान्भास मात्र कोर्न थाल्यो।३।

मोहनी रुप काँपेको अधर अंगाल्यौ आँफै समिपमा
निसानी मिठो छोडेर गयौ यादले फेरि घोच्न थाल्यो।४।

सपना फुल्छ शिरिष बनी सुसुप्त मनका तरेलीमा
कल्पना भित्र हराइ मिठो सुगन्ध मात्र बोक्न थाल्यो।५।
--------------------------------------------------------------------------------------------------
‎..
सर्बप्रथम त ह्र्दयदेखी नै धन्यवाद को भारी बर्षा ले रुझाउन चाहन्छु, घायलको तरही मुसायरा संचालक अनी आदरणिय स्रस्टाहरुमा, मिठा-मिठा गजल भावहरुमा बग्ने अवसर दिनुभएकोमा । मैले पनि नयाँ आगमन सँगै नजान्दा नजान्दै केही कोर्ने चेष्टा गरें, चर्को भयो कि खल्लो भयो कुन्नी! हजुरहरुको अमुल्य सुझाबले पक्कै पनि म जस्ता गजल मा रमाउन चाहने नयाँ कलम हरुलाई हौसला मिल्ने छ , आशा छ- अबस्य पनि अग्रजहरुबाट औंला ठड्याउदै बाटो निर्देश हुनेछ ।
*********************************

भुलेर आँफै हरायो कहीं अनेकौं कुरा सोंच्न थाल्यो !
बल्झियो फेरी जीवन यात्रा चसक्क मुटु घोंच्न थाल्यो !

भेटिंदै साथ छुटिंदै गए आफन्त हरु टाढा भए
जिउँछु भनें आँटेर एक्लै अँध्यारो झनै छोप्न थाल्यो !

खपेर चोट सहेर पीडा सकिन हाँस्न कत्ती पनि
कोमल मन पग्लियो झनै मायालु भाव पोख्न थाल्यो !

सोंचेको थिएँ बाँधेर राखुँ रमाउँ बरु एकान्तमै
रहेन आफ्नै वशमा आज शितलो काख रोज्न थाल्यो !

हुँदैन रै'छ जीवन त्यती सजिलो यहाँ सोंचे जस्तो
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो !!

हमाल "express"
Jeonju, South Korea
---------------------------------------------------------------------------------------------------
एकै क्षण फुर्सद भयो कि कसैको बारे सोच्न थाल्यो
छाती भित्र ह्रुदय मा आज कसैको याद बिझ्न थाल्यो

एक्लै रमाउने यो मन उ बिना रमाउदैन किन
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो

पुर्णिमा को जुन झैं अनि ईन्द्रेणी को रंग मन पर्छ
एकोहोरो हेरुँ जस्तो लाग्ने कसैको रुप रोज्न थाल्यो

काहिले त लाग्छ मलाई माया प्रिती बेकार हो भन्ने
तर अनायासै फेरि किन कसैको प्रिती बोक्न थाल्यो

जिन्दगी को गोरेटो मा बीचमै छोडी जान खोज्ने लाई
जानै दिन्न भनि पाल्पाली ले कसैको यात्रा रोक्न थाल्यो

अज्ञात पाल्पाली -
-----------------------------------------------------------------------------------------------------
‎...
आखिर मलाई पनि "घायलको तरही मुसायरा-१" मा सहभागिता जनाउन मभित्रको सिकारु गजल्गोले घच्घच्यायो .... ताते गर्दैछु ... हजुरहरुकै हात समाउँदै छु हिंड्न सिकाउनु होला .... अनि दौडने प्रयास गर्ने छु ... कमीकमजोरीहरु औल्याइदिनुहुन्छ भन्ने आशा सहित मेरो गजल यहाँ पस्केको छु :

खिन्नता पाली कति पो बाँच्ने, मनैले प्रश्न सोध्न थाल्यो
निष्क्रिय बस्ने मस्तिष्क अब, सक्रिय भइ सोच्न थाल्यो

हिजोका निम्ति बैरागी बन्दा, सुनौला क्षण कति छुटे
हिसाब राखी असूल गर्न, मुटुले तुलो जोख्न थाल्यो

बिगत गुम्यो तीतोमा परि, भविष्य किन तीतो पार्नु ?
ईखले आजै मीठास खोज्ने, संकल्प नयाँ रोज्न थाल्यो

हितैसी बिना जीवन एक्लै, धानेर बस्न गाह्रो सम्झी
एकान्त प्रिय दिलले पनि, कसैको साथ खोज्न थाल्यो

रोजी र छाडी फूलका थुँगा, आँखामा फेरि फुल्दै गए
गुलाब रोज्दा अचम्मै भएँ, काँढाले मीठो घोच्न थाल्यो

# अनुराग "अनुरागी मन"
दक्षिण कोरिया
---------------------------------------------------------------------------------------------------
उदास छैन हिर्दय मेरो मायालु मर्म सोच्न थाल्यो
कल्पेर त्यहा दयालु हात प्रेमको भाव पोख्न थाल्यो

तोकिनु पर्छ मायाको मुल्य अमुल्य के छ ससारमा
तराजु बिना धरै र थोरै त्यसैको तौल जोख्न थाल्यो

सक्दिन अब ससार भुली रोएर एक्लै जिन्दगीमा
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो

मिलाइ शुर नाचौला हामी बाचौला यही दुनियामा
अठोट बोकी यस्तै पल खुशीकै राबोले घोच्न थाल्यो

पर्दैन अब सुन्दर राम्रो जे जस्तो पर्छ भाग लाग्दा
भन्दैमा फेरि यो पापी मन चादनी जस्तै रोज्न थाल्यो
--------------------------------------------------------------------------------------------------
प्रथम पङ्ती त प्रभा दिज्युको नै हो, जुन दल्बीर दाजुले प्रस्तुत गर्नु भएको थियो जुनकुरा उहाँले उल्लेख गरिसक्नु भएको छ।-म दुबै जना सँग आभारी छु र श्रोत उल्लेख यसै कथनबाट गर्छु।-

"झुकेर आज शिरले मेरो"

एकान्त प्रिय दिलले पनि,कसैको साथ खोज्न थाल्यो,
जिन्दगी तिमी यात्रामा पनि,तिम्रो'नै हात रोज्न थाल्यो।।-

साथमा तिमी नहुँदा प्रिय,बेहाल हुन्छ छाती जल्छ,
छ्यौ'कहाँ तिमी देख्दिन किन,दुखेको मन सोध्न थाल्यो।।-

बेचैंन मन रोएको छ'नि,जलेर आँफै बल्न थाल्यो,
सम्झना पनि मस्तिष्क भरी,यसैले मुटु घोच्न थाल्यो।।-

पर्खाइ लामो चञ्चल आँखा,प्रतिक्षा गर्दै थाक्न लागे,
बिछोड झनै सहन गाह्रो,के'भयो मन सोच्न थाल्यो।।-

यात्रामा आँफु हुन्छु'कि एक्लो,मनले पिडा भोग्न थाल्यो,
झुकेर आज शिरले मेरो,मान्दिर मुर्ती ढोग्न थाल्यो।।-

यम महरा
By Yam Mahara on Sunday, March 13, 2011 at 3:33pm.
--------------------------------------------------------------------------------------------------------

मिसरा: एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो
काफिया: खोज्न
रदिफ: थाल्यो
एकान्त /प्रिय /दिलले /पनि //कसैको /साथ /खोज्न थाल्यो
लय: ३+२+३+२+३+२+४=१९
यस तरही मुसायराका सञ्चालक तथा प्रत्यक्ष एबम् अप्रत्यक्ष रुपमा सहभागिता जनाईरहनुभएका/जनाउंनुहुने सम्पूर्णमा हार्दिक धन्यबाद ज्ञापन गर्दै मेरो गजल लेखन प्रयास यसरी राख्दछु,कृपया पूर्ण गजल नपढी लाईक "like" नगर्नुहुन सबैमा अनुरोध गर्दछु....

नजर तिम्रो झुकेको देख्दा मनले अनेक सोच्न थाल्यो
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो

थिएन केहि बिशाल चाह देशको जय भए हुन्थ्यो
आतंक हैन मनले अचेल शान्तिको धुन रोज्न थाल्यो

देश छ मेरो स्वर्गको टुक्रा छातिमा टाँसी रम्छ मन
परदेशी कर्म स्वदेशी माया दुरीले आत्मा घोच्न थाल्यो

दुखि छ यहाँ जगत सारा कुन छ ओठ मुस्कुराएको?
कम्पन भयो मनमा मेरो आँशुले गह छोप्न थाल्यो

इश्वर छ रे सुनेथेँ मैले कहाँ छ भनी खोज्दा खोज्दै
पागल भई "अतृप्त" मनले बगरे ढुंगा ढोग्न थाल्यो

धन्यबाद!!
--------------------------------------------------------------------------------------------------
फूल झैं/ फूल्ने/ जून झैं/ खुल्ने/ मनले/ कोही/ रोज्न थाल्यो
माया मै/ हाँस्न/ माया मै/ बाँच्न/ माया मै/ मन/ रुझ्न थाल्यो

मै मात्र चुमूँ तिम्रो त्यो रूप मै मात्र छोउँ तिमीलाई
चुम्ला कि हावा शंकाले आज यो मेरो मुटु घोच्न थाल्यो

समय टक्क रोकियो तिम्रो स्पर्शले थप्प भो जग नै
मोहित भई फूल र जून तिम्रो नै रूप पूज्न थाल्यो

मन्दिर भित्र लुकेर मूर्ती अश्लील भई मर्न लाग्यो
देखेर तिमी देउता पनि स्वार्थले के के सोच्न थाल्यो

आवाज देऊ सुन्दरी तिमी सपना भई लहराऊ
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो

- Yam Budha Magar,UAE
-------------------------------------------------------------------------------------------------
नमस्कार मैले पनि घायलको तरही मुसायरा-१'
मा सभागी हुने चाहनले एउटा गजल पेश गर्दै
सर्ब प्रथम त सम्पूर्ण गजल प्रेमी मित्र हरुलाई
साहित्यिक अभिबादन टक्राउन चाहन्छु।
हजुरहरु सामु जानी नजानी बिना निम्तो
बिना बोलाए पाहुना को तर्फ यो कोसेली कोरेर छोडेको छु
ताली र गाली हजुर हरुको हातमा नमस्कार।।
गजल

मायालु दिल भित्रको मन, आँफैले आज रोज्न थाल्यो।
एकन्त प्रिय दिलले पनि,कसैको साथ खोज्न थाल्यो ।।

भुल्दामा मैले मायाको साथ, पराइ बनी पापी जस्तै,
दिलको ढोका खुल्दामा आज,पछुतो मानी सोच्न थाल्यो।

मनकै फुल बारीमा रोपे, सुन्दर फुल फुल्छौ भनी,
ओइली झर्दा बाटोमा ब्यर्थै,काडाले मन घोच्न थाल्यो।।

खुशीका पल पर्खेर बस्दा, सम्झेका क्षण आँखा भरी,
आउँदा किन दु:खले दैलो,तोडेर तन कोच्न थाल्यो।।

बितेका खुशी भुलेर आज,आँफैले एक्लै मन्दिरामा,
देवता सम्झी उनैको माया,दिलले फेरी पोज्न थाल्यो।।
--------------------------------------------------------------------------------------------------
सहभागी सम्पूर्ण गजलप्रेमी अग्रज तथा समकालिन गजलकारहरुलाई तरही मुसायरा अभिबादन टक्र्याउदै मेरो यो सहभागीतामा मिठो नमिठो एउटा कोसेली राखेको छु । चाख्ननुस् है त !

फुलेछ क्यारे' यौबन अब' मनले धेरै' सोच्न थाल्यो
दिलको भित्री' संसार बाट' एउटा फूल' रोज्न थाल्यो

कहिले बस्छु 'जुनेली रात' आकाश भरी' तारा गन्दै
एउटा तारा' टिपेर राख्ने' रहर ठुलै' बोक्न थाल्यो

बसन्त फूल्दा' जिबन एक्लो' शिरिर जस्तै' झर्छ आँफै
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो

चियाइ हेर्यो' फुलले यतै' डालिले आँखा' बन्द गर्‍यो
दोबाटो पुग्ने' पाइला अब' गोरेटो छेउ' रोक्न थाल्यो

चाहना कस्तो' बाहाना कस्तो' आँफैले बुझ्न' गार्हो भयो
मोहनी लाग्ने' मन्तर गर्‍यो 'याद्ले मुटु' टोक्न थाल्यो

श्यामकुमार ग्लान (तामाङ)
माझुवा सिन्धुली
हाल :दोहा,कतार
-------------------------------------------------------------------------------------------------
नमस्कार ''घायल ज्यु '' तथा साहित्य प्रेमी सम्पूर्ण प्रिय मित्रहरुमा न्यानो साहित्यिक अभिबादन ,
घायलज्यु ले संचालन गर्नु भएको ''घायलको तरही मुसायरा ''मा सहभागिता जनाउँन पाउँदा अत्यान्तै खुशी लागेको छ यो सर्हानिय कार्यको पूर्ण सफलताको कामना गर्दछु , व्यस्तताको कारण समयमा उपस्थित हुन नसकेकोमा क्षमा प्रार्थी छु , आफु अझै सिकारु नै भएको हुँदा जानी नजानी दिएको ए-सानीको आधारमा गजल कोर्ने प्रयास त गरेको छु मूल्यांकन यहाँ कै हुने छ धन्यबाद ----------------

बैसालु जोवन् उर्लेदै फेरी तिम्लाई आफ्नो सोच्न थाल्यो
कल्पना भित्र डुबेर मन त्यो तिम्रै साथ खोज्न थाल्यो

हृदय भित्र लागेको चोट्ले बगेका तिम्रा आँशुहरु
देखेर पनि यो दिल किन दयालु भाव जोख्न थाल्यो

आफन्त सारा छाडेर आज क्षितिज पारी एक्लै हुँदा
एकान्त प्रिय दिलले पनि कसैको साथ रोज्न थाल्यो

मायामा भुले बिर्सन्छ भन्थ्ये जीवन्का दु;ख पिडाहरु
बिषालु काँडा भए झैँ लाग्यो झन् मुटु मेरो घोच्न थाल्यो

नछाडी जाऊ भन्दिन प्रिय जोखिन्न माया तराजुमा
देख्दैछु आज दुनियाँ स्वार्थी सम्झना मन्ले रोक्न थाल्यो !!
---------------------------------------------------------------------------------------------------
घायल ज्यको तरही मुसायरामा पहिलो सहभागिता जनाउदै छु र आशा छ अग्रज सर्जकहरुको सल्लाह सुझाव पाउनेछु .

निस्ठुरी हुँ भन्नेले पनि मायाको सागर पोख्न थाल्यो ।
व्युँतेरआज मनले फेरि उसैको बारे सोच्न थाल्यो ।

म विरक्तिएर विरानो वस्तिमा यात्रारत भएनी
बिना लक्ष्य टोलाई हिँडेका पाउले गती रोक्न थाल्यो ।

वेकार भएँ वेहाल भएँ त्यो नशालु मायामा फसी
तैपनि आज फाटेको मन सिउँकी भनि सोच्न थाल्यो ।

म एक्लै जिउँछु एक्लै मर्छु भनि कसम खान्छु भन्ने
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो ।

प्रियसीको साथले यो जीवन फूल्ने आभाशले अब
सयौँ फूलका थुंगाबाट मन पर्ने यौटा रोज्न थाल्यो ।

आनन्द भट्टराई "गाउँले"
दक्षिण कोरिया
--------------------------------------------------------------------------------------------------
घायल जी नमस्कार !! घरायसी कामले गर्दा समयमा उपस्थिति जनाउँन सकिन, माफि चाहन्छु । यो सिकारुले पनि मुसायरा- १ मा प्रतियोगीको रुपमा सहभागीता जनाएँ है । संपूर्ण अग्रजस्रष्टा तथा समकालीन सर्जकहरुमा एकमूष्ट नमस्कार ।

मेरा शेरहरु यसप्रकारका छन् ।

गज...ल– मुसायरा **** बिष्णुनन्द चाम्लिङ्ग****

टाकुराबाट फेदीमा हेर्दा कलेजी मुटु ठोस्न थाल्यो ।
भीरको बाटो लहरा भर शंकाले मुटु घोच्न थाल्यो ।

औँसीको रात गोरेटो बाटो गन्तब्य भेट्न नसकिदा,
गुजार्नु रात भेटिने बास मनले बस्ती रोज्न थाल्यो ।

बटुवा भेटी सोधेथेँ मैले योबाटो कहाँ पुग्छ भनी,
नबोली उनी मैतिर हेर्दै एको’रो केके सोच्न थाल्यो ।

डरायो मन हरायो जोस भएर एक्लो हजारौमा,
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो ।

पाएको थियो ‘बिष्णु’ले चिनो मायाको तृष्णा मेटाउने,
निष्ठूरीबनी हुरीले आज मायाको चिनो खोस्न थाल्यो ।

रचना समय :– १५ मार्च २०११
स्थान :– मुसायरा फेसबूक सञ्जाल ।
Email:bnchamling@yahoo.com

धन्यबाद !!
---------------------------------------------------------------------------------------------------

नमस्कार मैले पनि घायलको तरही मुसायरा-१'
म सभागी हुने चाहनले एउटा गजल पेश गर्दै
सर्ब प्रथम त सम्पूर्ण गजल प्रेमी मित्र हरुलाई
साहित्यिक अभिबादन टक्राउन चाहन्छु।

गजल
कसम सानी दिलको रानी तिमीलाई नै रोज्न थाल्यो
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो

आँशु झर्यो दुई थोपा सानी अतितको यादमा तिम्रो
परदेशीको मनमा आज अनेक कुरा सोच्न थाल्यो

भेट हुँदा सानी चौतारीमा झर्को मान्दै बोलेको बाचा
विषालु काँडा बनि अचेल परदेशीलाई घोच्न थाल्यो

कहिले यो आँशु यो जिन्दगी कहिले हाँसो अनायासै
यादमा तिम्रो शिखर चुम्ने मेरो पाईला रोक्न थाल्यो

अस्मितालाई जोगाउनु सानी परदेशी यो हुँदा टाढा
परिचय नै हामी बिचको ढुकढुकीले बोक्न थाल्यो

-अनिल लामा "चलाख"
माझीफेदा-६ ,काफ्ले ,काभ्रे, नेपाल
हाल :साउदी अरब .
---------------------------------------------------------------------------------------------------

पहिलो पल्ट मैले पनि हजुर हरु को यो तरही मुसायरा मा भाग लिने जमर्को गरेको छु स्वीकार गर्नु हुन्छ भन्ने आसा लियको छु
तरही मुसायरा -१
उमेर चढ्दै आएर हो कि मनले के-के सोच्न थाल्यो
आफू त राम्रो होइन तर केटी चैं राम्री रोज्न थाल्यो

सोह्र र सत्र नपुग्दै आफ्नो आखामा आफैँ हिरो हुँदा
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो

देख्दैमा केटी मानेर लाज सबैको पर बस्ने मान्छे
केटी त देख्नै नहुने भयो सजिलै नाउ सोध्न थाल्यो

बढेर आयो चौगुणा अंग टाउको देखि पाउ सम्म
सोच्दैमा पनि मनले किन जवानी मात पोख्न थाल्यो

मनमा जोश उमंग छ म गरुँला पाएँ भने देखि
हतार गर्दा फसिन्छ कि त दिमाग फेरि सोच्न थाल्यो
------------------------------------------------------------------------^_~)


Ruben Pun
सपना बनि आउछ कोही ढुक्ढुकी मेरो रोक्न थाल्यो ।
आँखाले पनि उसैको मात्र सपनाहरु बोक्न थाल्यो ।

मायाको मिठो सुभाष बोकि उमङ्ग् सँगै चुल्बुले मन
कहिले फूल कहिले पातमा डुलेर माया पोख्न थाल्यो ।

चखेवा जोडी देखेर होला कल्पना भरी डुबेर मन
एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो ।

प्रितीको फूल फूलेकै हो कि वैँशालु मात चढ्यो कुन्नि
भमरा जस्तै यो मनले पनि फूलैको थुङ्गा रोज्न थाल्यो ।

साउति मार्छ सपना भरी आएर उहि परदेशी
वैँशले हो कि जवानी यस्तो मनैले के के सोच्न थाल्यो ।

हतारमा सहभागिता मात्र जनाए ।
Ruben Pun Magar
Baglung,
Now - Malaysia
----------------------------------------------------------------------------------------------------
घायलको तरही मुसायरा का सम्पादक गजलगो दाई दलबिर अग्रज गजलगो प्रभा दिदी तथा यस घायलको तरही मुसायरा भाग - १ मा सहभागि तथा सम्पूर्ण साहित्यिक मित्रहरुमा अबिबादन सहित मैले पनि यस श्रीङ्खलामा सभागिता जनाएको सम्बन्धित सबैमा जानकारी गराउदछु ।

घायलको तरही मुसायरा भाग - १ मा राखिएका सर्तहरु :
गजल: प्रभा आचार्य
मिसरा: एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो
काफिया: खोज्न
रदिफ: थाल्यो
लय: ३+२+३+२+३+२+४=१९

************ गजल*******************

दुनियाँ सारा भुलेर मन, जीबन साथी रोज्न थाल्यो
उसैको साथ जिउने चाह, बढेर छाती घोच्न थाल्यो

लिएर जन्ती त्यो पञ्चे बाजा, बेहुला बनि घोडा माथि
कहिले होला आउने दिन, यो मन आज सोच्न थाल्यो

चौबन्दी चोली फरिया अनी, खुट्टैमा छमछम पाउजुको
मेहन्दी दलि हातमा संगी, ओंठमा लाली पोत्न थाल्यो

त्यो रातो चुरा गलामा पोते, शिरैमा टीका र सिन्दुर
बेहुली घुम्टो ओढेर हात, लाजले आँखा छोप्न थाल्यो

कापेका ओंठ अधर चुमी, उन्माद छायो तनै भरी
एकान्त प्रिय दिलले पनि, कसैको साथ खोज्न थाल्यो

धन्यवाद !
सरोज पंहाङ्गो लिम्बू
जलजले-१, तेह्रथुम, नेपाल ।
हाल : संयुक्त अरब ईमिरेट्स ।
*********************
-------------------------------------------------------------------------------------------------

गजल: प्रभा आचार्य
मिसरा: एकान्त प्रिय दिलले पनि कसैको साथ खोज्न थाल्यो
काफिया: खोज्न
रदिफ: थाल्यो
एकान्त/प्रिय/दिलले/पनि//कसैको/साथ/खोज्न थाल्यो
लय: ३+२+३+२+३+२+४=१९

घायलको तरही मुसायरा-१ का लागि गजलः

औँसीको रात ह्रदय मैलो, पूर्णिमा याद जोख्न थाल्यो
नितान्त एक्लो भएछ मन, आँखाले आँशु पोख्न थाल्यो

रातो राम्रो र गुलियो मीठो हुन्छ रे, विश्वास त्यस्तै छ
एकान्त प्रिय दिलले पनि, कसैको साथ खोज्न थाल्यो

आँखा राम्रो ठानूँ कि रूप राम्रो भनूँ, अन्यौलमा परेँ म
चर्किँन्छ मुटु यादमा सधैँ, उसैको भार बोक्न थाल्यो

बाँच्नु न मर्नु दोसाँधमा जिन्दगी, शून्य लाग्छ सबैतिर
देखिन्न छाम्दा छातिमा केही, सम्झना शूल रोप्न थाल्यो

विश्वास छैन आफैँलाई, कसैसँग नाता गाँसिन्छ यसरी
हरायो निद्रा रातमा कता, झल्कोले साह्रै छोप्न थाल्यो

टेकेन्द्र अधिकारी
विराटनगर, नेपाल

Posted by Masti Entertainment on 3:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for घायलको तरही मुसायरा-१

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011