गजल:-पधेरिमा भेटे कोही अलमल भयो फेरी,
-अज्ञात मित्र
पधेरिमा भेटे कोही अलमल भयो फेरी,
पुरानो यो सम्बन्धमा मलजल भयो फेरी,
के पाए खै कुन्नी तिम्रो अधरमा नशा लाग्ने,
छिनछिनमै भेट्न मन तलतल भयो फेरी,
मुस्किलले छुटकारा पाएको'थे घामदेखी,
तिमीजस्तै जून देखे हलचल भयो फेरी,
नसोधेरै आईदियौ सपनिमा अनायासै,
बिचराती मीठो निन्द्रा खलबल भयो फेरी,
सुर्ताए म मिलनपछी बिछोडलाई कल्पिएर,
नयन यो बैराग्यले टलपल भयो फेरी,
सिजुवा ९, मोरंग
(जुबेल साउदी अरेबिया)