नविनता (कविता)
-> दिवाकर स्वप्नील
जिजिबिषामा लम्पसार
नविनताका छालहरु
असह्य पिडा बोल्छ घरिघरि !
अमेरिकाको भुसिया ल्याएर
मेरा गल्लीका रैथाने भुसिया किन नहटाउँ ?
बेलायतको बुट्टे कपडाले
लगौटीलाई किन बिस्थापित नगरुँ ?
माओका तारे फेटा बाँधेर
या भनौ ग्वेभाराको जर्सी लाएर
चाहे गान्धीको खाँडी होस्
वा मार्क्स को दाह्री मुसारेर
नविनताको आभास किन नगरुँ म ?
दक्षिणतिरका साँढे ल्याएर
बस्ती बस्तीमा किन नगराउँ गर्भाधान ?
उत्तरतिरका लामा ल्याएर
बुद्धलाई किन नखोजुँ आफ्नै घरमा ?
यहाँ,
मलाई प्राचीनता होईन !
नविनताको खाँचो छ !
मौलिकता होईन बरु
नविनताको छ जरुरी मलाई !
अनि
नविनता भन्दा पनि नविनता चाहिन्छ !
अब,
प्रत्येकमा नविन सोच ल्याउनुपर्छ
चाहे आकाश तोडेर होस् वा समुन्द्र फोडेर
सामन्तबादलाई भत्काउदै बन्नुपर्छ देश नविन !
अरु त अरु के साथी,
अब पूर्व, पश्चिम,उत्तर, दक्षिण होईन
मुर्दालाई पनि टाउको तल र खुट्टा माथि पारेर जलाइनुपर्छ !!!