यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

के समय दोषी हो ? भाग ६-७


धाराबाहिक कथा 
             राजु दाहाल 
भाग-६ 


“दिदीको सजिलो र राम्रो जागीर त त्यो पो रहेछ, मेरो भगवान आफ्नै शरिर बेच्दी रहिछन् । मेरी दिदी जस्तै अन्य अरु पनि निकै जना थिए त्यहाँ अनि ग्राहकको रुपमा कोही गाडीमा त कोहि मोटरसाइकलमा आएकहरु थिए जो यत्रतत्र घुम्दै राम्रा राम्रा बोक्रा खोज्दै थिए । ती मध्ये कतिको आँखा ममा आएर गडेको थियो अनि उनीहरु मलाई बिभीन्न ईशाराले आफुतिर बोलाउँदै थिए । 
                                       म निकैबेर बस्न सकिँन त्यहाँ, सोनी दिदीलाई केहि पनि नभनी म सडकमा आएर बनेपाको बसमा चढेर फर्केँ । बेलुकी दिदी आउनुभएको थियो मेरो कोठामा तर मैले अबदेखि मुख नदेखाउन भन्दै गाली गरेर फर्काईदिएँ । दिदी निकै बेर मेरो कोठामा बसेर रुनुभयो तै पनि मेरो मनमा कुनै दया पलाएन । त्यस दिनदेखि म सोनी दिदीकोमा जान आउन र बोल्न पनि बन्द गरेँ ।” – उसको आँखामा एक किसीमको पिडा अनि दुख टड्कारो अनुभव गर्न सकिन्थ्यो ।
                                  “त्यो दिदी अहिले कहाँ हुनुहुन्छ त ?” – मैले प्रश्न तेस्र्याएँ ।
                                    “करिब दुई महिना जस्तो त त्यतै हुनुहुन्थ्यो, मलाई देखेर हाँस्नु हुन्थ्यो अनि बोल्न खोज्नुहुन्थ्यो । म नदेखेजस्तो अर्कोपट्टी फर्केर हिडीदिँन्थे । पछि कहाँ जानु भयो अनि कहाँ हराउनुभयो मैले कहिल्यै भेटिँन । 
                                   एकपटक मात्र एकपटक भेटेर म उहाँको खुट्टा समाएर माफी माग्न चाहन्छु तर समयले त्यो मौका पनि देलाजस्तो छैन । उहाँ मेरो जिबनमा जसरी आउनुभयो त्यसैगरी हराउनु भयो । उहाँ मेरो सामु हुन्जेलसम्म मैले चिन्न सकिँन तर जब म बाट टाढा जानु भो तब चिनेँ मैले मेरो भगवानलाई ....। शायद उहाँ मेरो उद्धार गर्न आउनुभएको भगवानको रुप होला .....।” – लामो स्वास फ्याँकेर झ्यालबाट टाढा टाढा सम्म नजर फ्याँक्दै बोलीन सबिना । 
                          “अनि त्यो दिदीसँग सम्बन्ध टुटेपछि जिन्दगी कसरी चल्यो त ? त्यतीखेर ।” – मेरो मनमा निकै बेरदेखि यो जिज्ञासा उठिरहेको थियो । 
                               “त्यसपछि मैले काम खोज्न थालेँ, काम खोजिदीन्छु अनि जागीर लगाईदिन्छु भन्नेहरु निकै भेटिए । कसै न कसैले त काम देला अनि तीरौला नी  नि भन्ने बिश्वासमा मैले मेरा छिमेकमा रहेका र सामान्य चिनजान भएकाहरुसँग सर सापट माग्न खोजेँ । तर कसैले पनि सहयोग गरेनन् । नजिकैको पसलबाट पनि उधारोमा निकै खाईसकेकी थिएँ त्यस पसलको छेउबाट बाटो हिड्न पनि अप्ठेरो लाग्थ्यो मलाई त्यसबेला । सानो छोरीलाई नजिकैको कोठामा बस्ने मान्छेको बाट खाना बनाउन ढिला भएको निहुँमा एक कचौरा दालभात मागेर ख्वाईसकेकी थिए भने आफु भोकै बसेर के गर्ने भन्ने योजना बुन्दै थिएँ ।          
                                अकस्मात मैले पसलको साहुनी मेरै तिर आईरहेको देखेँ । मलाई पक्का भयो पसलको बाँकी उठाउन मेरोमा आएकी हुन भनेर । म भाग्न, लुक्न वा छल्न केहि पनि गर्न सक्दिँनथे । निकै डराएँ तर डराएर पनि के गर्नु र ? सामना गर्ने मनसाय लिएर भित्रै बसेँ मेरो अनुमान जस्तै मेरो ढोकामा आवाज आयो ढक्  ढक् ढक् ढक...................... । ढोकाको आवाजसँगै धड्केको धड्कन लिएर डराउँदै ढोका खोँले मैले । सबैले भन्ने गरेको र मेरो अपेक्षा बिपरीत त्यो पसल्नी दिदी मुस्कुराईरहेकि थिईन् । 
                                निकै अबिश्वसनीय घटनाहरु भए त्यो दिन पहिलो त सबैले त्यो पसल्नी दिदी धेरै छुच्ची र खराब भन्ने गरेकोमा कुनै पनि कोणबाट त्यस्तो लागीनन् अनि दोस्रो अनौठो मैले पुरानो हिसाब चुक्ता नगरिकनै पनि सकेपछि तिर्ने शर्तमा आवश्यक सामग्री ल्याउन पाउने भएँ । अझै घरभाडा तिर्न अनि अन्य खर्च नपुगेमा पनि सहयोग गर्ने भईन त्यो दिदीले ।  त्यो पसल्नी दिदीको उदारतामा म अनुगृहित भएँ अनि सोनी दिदी र त्यो पसल्नी दिदीलाई एकआपसमा दाँजे पसल्नी दिदी आकाश र सोनी पाताल भईन मेरो नजरमा........... ।” – बाहिर ढोका ढक्ढकीयो सबिनाले खोलीन् त्यहाँ उभिएको महिलालाई स्कुलबाट आफ्नो छोरी पनि ल्याईदिन आग्रह गरेपछि पुन पहिलेकै ठाउँमा आएर बसिन् ।
                                    “साँच्चै भगवान त हुन्छन् नै, हाम्रो हरेक समस्यामा केहि न केहि रुपमा प्रकट भएर हामीलाई सहयोग गर्छन । तिम्रो जिबनको अप्ठेरो पलमा त्यो पसल्नी दिदी भगवान भएर आईछन् ।” – मैले तौलेर बोलेँ । 
                                    मैले त्यही टेबलमा भेटेको काँगीयो हातमा खेलाउँदा खेलाउँदै भाँच्न लागेछु सबिनाले खोसेर टाउकोमा प्याट्ट हानी म उनको अनुहार ताकेर मुसुक्क हाँसे ।
                                   “हो, भगवानले कुनै न कुनै रुपमा हामीलाई सहयोग गर्छन । तर सबै देखिएका र ठानीएका भगवान बास्तबीक रुपमा भगवान हुन्नन्  ।” – सबिनाको कुरा शायद सोनी दिदीको लागी आएको होला भन्ने मेरो अनुमान रह्यो । “म धेरै ठाउँमा काम खोज्दै रहेँ, दिन्न भन्ने धेरै कम थिए । दिन्छु भन्नेहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा अरुनै कुरा चाहन्थे, कसैले भन्थे जे पनि गर्नुपर्छ गर्न सक्छ्यौ ? त कसैले भन्थे तिमीलाई चाहेको म दिन्छु तर मलाई चाहिएको तिमीले दिनुपर्छ । 
                                  आखिर के फरक पर्छ र ? सबैलाई आबश्यक कुरा त हो नि भनेर फकाउने अनि तलब र बस्ने कोठा पनि खोज्दीन्छु भनेर पनि निकैले भने । शायद उनीहरु मलाई रखौटी बनाउन चाहन्थे । उनीहरुले मेरो कामको बापत दिने पारिश्रमीकमा  मेरो शरिरको मोल पनि गाभेका थिए क्यारे । 
                                     एकदिन त्यस्तै काम खोज्दा–खोज्दा शरीर र मन सबै थाकेर कोठामा  आएकि थिएँ । मेरो बच्चालाई त्यहीँ अर्को कोठामा बस्ने मान्छेलाई हेर्दै गर्नु भनेर जिम्मा लगाएर जान्थेँ म तर त्यो दिन सानी छोरी सुमिनालाई कतै पनि देखिँन । पछि सोधखोज पछि सुमिना बिरामी भएर जडिबुटी चोकको पोलिक्लीनीकमा लगेको थाहा पाएँ । हस्याङ्ग फस्याङ्ग गर्दै गएँ म, सोनी दिदीले लग्नु भएको रहेछ त्यहाँ सुमिनालाई ..........तर.....।” – सबिना रुन थालीन, दुबै हातले मुख छोपेर । म नरुनको लागी सम्झाउँदै हात निकाल्न खोजेँ । म असफल भएँ उनको रुवाई निकैबेर रह्यो, म अलमल्लमा परेँ रुवाईको कारण जान्न नसकेर ।
                               केहिबेरमा उनी चुप लागीन उनको रुवाई बन्द भयो तर आँशु अझै ओभाएको थिएन । 
                             “अनि के भयो त छोरीलाई ?” – उनी बिचमै रोएकीले पनि मेरो मनमा जिज्ञाशाहरु थपिँदै थिए । 
                               “मैले बच्चालाई सोनी दिदीको हातबाट खोँसे अनि जथाभावी गाली गरेँ । बेश्या सेश्या भनेर, अनि भनेँ ..... मेरी छोरीलाई पनि आफुँजस्तै बनाउने बिचार छ की के हो ? तैँले शरिर बेचेर कमाको सम्पतीले मेरो छोरीको उपचार गर्नुभन्दा त खोलामा लगेर बगाईदिन्छु भनेर भनेँ, अरु के के भनेँ के के ? सारा संसारको रिस ल्याएर पोखेँ दिदीलाई ...... ।” – सबिनाले रुदैँ रुदैँ सुनाउँदै थिईन् ।
                                 “तर दिदी रुँदै चुपचाप सुनेर बस्नु भयो केहि बोल्नु भएन । त्यहाँ निकै मान्छेहरु पनि थिए । म निकै रिसाउँदै घरमा आएँ त्यो दिन.... ।” 
                                  “अनि त्यो दिदीको त बेईज्जत पो गरेछौ त ? त्यसपछि त्यो सोनी दिदीसँग भेट भयो कि भएन ?” – मलाई किन किन त्यो सोनी दिदीको चिन्ता लागीरहेको थियो । 
                                 “त्यही मैले गाली गरेको पर्सिपल्ट बेलुका पसल्नी दिदी आएर एउटा कागज दिएर गईन मलाई । कागज खोलेँ भित्र दश हजारको चेक थियो अनि एक पानामा केहि लेखेको थियो । पहिले पुछारमा नजर पुग्यो त्यहाँ सोनी दिदीको नाम लेखिएको थियो । मैले कामेको हातले चिठी पढ्न थालेँ जति पढ्दैँ गएँ मेरो मुटु शरिरबाट बाहिर निस्कन खोज्थ्यो, म भासिँदै जान्थेँ........ । पढ्दै जाँदा मलाई थाहा भयो मैले कत्रो अत्याचार गरेको रहेछु दिदीमाथी ...........। म पापीनी भगवानलाई चिन्न नसकेर .....?” – दुबै हात मुठी पारेर बुढी औँलाहरु दाँतले टोक्दै एकोहोरो भईन सबिना । 
                                “अनि के के लेखेको थियो त चिठीमा ?” – मैले निकै बेरको मौनतालाई तोडेँ ।
                            सबिना चुपचाप उठेर दराज खोलिन अनि जतनसाथ राखेको पाना निकालेर मलाई दिईन् । मैले त्यो पाना खोलेँ पुरानो भएर अक्षरहरु धुमिल हुन लागेको त्यो पानामा कति अक्षरहरु खुट्टयाउँदै पढ्न शुरु गरेँ मैले । 
“बहिनी सबिना, 
                                  म अब यो शहर छोडेर कतै टाढा जाँदैछु । यो चिठी तिम्रो हातमा पर्नुभन्दा एकदिन अगाडी नै म धेरै टाढा पुगिसकेको हुनेछु । जिन्दगी जिउने क्रममा कैयौँ ठक्कर अनि कैयौँ हण्डर खाएको छु मैले । आफ्नै भनिनेहरु बाट लुटिएको छु म । जिबनको यात्रा क्रममा तिमीलाई भेट्दा आफ्नै अतित पाएको महशुस भयो मलाई । मेरो र तिम्रो जिबन कथा करिब करिब उस्तै लाग्यो मलाई  त्यसैले तिमीमा मेरै प्रतिछाँया देखेँ मैले । त्यसैले त तिमीलाई म बन्न नदिने प्रयास रह्यो मेरो । तिमीलाई मेरो काम गर्ने ठाउँमा नलग्न मैले धेरै कोशीस गरेकी हुँ तर तिम्रो जिद्धीले नै ..।  
                                मेरी छोरी थिई दुई बर्षकी समयमा उपचार पाउन नसकेर बिती । त्यसैले सुमिनामा म मेरै छोरीको प्रतिछायाँ देख्थेँ ....
                                  ठिकै छ मलाई कसैप्रति केहि गुनासो छैन भाग्य अनि समयप्रती पनि  । अँ, अनि केहि काम नपाउन्जेलसम्म त्यही पसलबाट सामलहरु ल्याउनु मैले त्यो पसल्नी दिदीकोमा लिन बाँकी बिस हजार तिमीलाई दिनु भनेकी छु । अनि यो चिठीसँगैको चेक छोरी सुबिनाको लागी .... यो अभागीको तर्फबाट । 
                                                                    सधैँ सुखी र खुशी रहनु ।
                                                                                                                                                             उहि अभागी दिदी 
                                                                                                                                                                      सोनी  
                                                                    म चुपचाप चिठी दोहो¥याईरहेको छु, सबिना अपलक मलाई हेरिरहेकी छिन् । खै किन किन मेरो आँखाबाट आँशु बहन्छ अनि सबिना, उनी त अघिदेखि रुँदैछिन् .......।          
क्रमशः.....................

भाग-७ 


सबिनाले केहि सम्हालीएर मेरो हातबाट चिठी लिईन भनौँ करिब करिब खोसिन अनि जतनसाथ दराजमा राखिन् ।
”म खाई त हाल्दीन थिएँ होलानी, के खाईहाल्छ जसरी खोसेकी नी ?” – म बनावटी रीस देखाउँछु ।
                                  ”खायौ भने त सकिईहाल्यो नी । यो मेरो जिबनको सबै भन्दा ठुलो सम्पती हो, मेरो भगवानको चिनो अनि मेरो जिबनको मार्ग दर्शन ।” – म पक्क परेँ । आज उस्का आफ्ना कुराहरु जसरी राखेकी थिई त्यो मेरो लागी अनपेक्षित थियो । उस्का कुराहरु कहिले लय मिलेका कबिता जस्ता लाग्दथे त कहिले जिबनको गहिरो दर्शन जस्ता । 
                                 “त्यसपछि के ग¥यौ त तिमीले ?” – मैले उस्को केश उस्को अनुहार तिर झट्कार्दै बोलेँ । 
                                  “त्यसको दुई चार दिन चुपचाप बसेँ, मेरो मन नै ठिक थिएन । खाली सोनी दिदीकै याद आईरहन्थ्यो मलाई । एकदिन साँझमा एउटा डाक्टरको फोन आयो जस्को क्लीनीकमा म काम खोज्न गएको थिएँ केहि दिन पहिले । फोनमा उस्ले आफ्नो घरमा त्यतीखेरै आउन भन्यो र त्यसको लागी गाडी पठाईदिने कुरा ग¥यो । मातेको त्यो डाक्टरले निकै लोभ देखायो मलाई राम्रो जागीर र तलब, बच्चाको पढाई ईत्यादी । अनि उ मसँग प्रेम गर्ने कुरा पनि भन्न्न थाल्यो । मैले धेरै कुरा सुन्न उचीत नसम्झेर फोन अफ गरेर राखेँ । 
                                    त्यो रात मैले निकै – निकै सोचेँ । सधैँ – सधैँ आफन्त शिक्षक लगायत सबैले भन्ने गरेको कुरो धेरै पढेर ठुलो मान्छे बन्नु नानी । त्यो दिनको सोचमा निकै ठुला मान्छेहरु आए, मा बी मा गणीत पढाउने अनि मेरो बर्बादीको कारण सिबुन सर, डीग्री पढ्दै गरेको मैले मेरो जिबनको सहारा बनाएको बिनायक, मलाई भर्खरै फोन गर्ने डाक्टर, यसो कहिलेकाहीँ अफिसको समय पछि मेरो ईच्छा पनि पुरा गरिदीनपर्छ भन्ने बिद्यालयका प्रिन्सीपल, गएकै दिन हातपात गर्न खोज्ने बानेश्वरको अफिसको मान्छे आदि आदि । 
                                        मेरो सोचले छुट्टयाउन सकेन, को हुन त ठुला मान्छे भनेका ? के पैसा कमाउनु नै ठुलो मान्छे बन्नु हो त ? के ठुला मान्छे सम्पत्ती ले नै हुन्छ त ? यदि सम्पतीवाल र धेरै कमाउने नै ठुलो मान्छे हुन भने मेरी सोनी दिदीको स्थान कहाँ नेर त ? 
                                       त्यो रात रातभर नसुती सोचेर बसेँ म । मैले जोखेँ समाज अनि मान्छेलाई जति जोख्दा पनि सोनी दिदीकै पलडा भारी भयो । अन्तमा निश्चय गरेँ म नचाहेरै लुटीरहनु भन्दा आफ्नै खुशीले लुटिन्छु । लोभ, लालच अनि जबरजस्तीमा लुटीनुभन्दा आफ्नै जिबनको लागी लुटिन्छु । यी ठुला मान्छेहरुको हातबाट मन र आत्मा सहित लुटीनुभन्दा त आफ्नो तनमात्रै लुटाउनु धेरै उत्तम । 
                                       भो, मलाई ठुलो मान्छे बन्नु थिएन ईज्जतीले पनि बन्नु थिएन । यदि साँच्चै ठुलो मान्छे हुने हो भने हामीहरु हौँ सबैभन्दा ठुला मान्छे । हामी पनि फि लिन्छौँ नी एक पटकको कम्तिमा सात सय डाक्टरले जस्तै, शिक्षकको तलब जस्तै अनि अरुले कमाउने पैसा जस्तै । हामी त उनीहरुले भन्दा पनि बढि कमाउँछौ नी । डाक्टरले आफ्नो सीप बेच्छ, शिक्षकले आफ्नो पढाई बेच्छ, एउटा भारी बोक्ने मान्छेले आफ्नो श्रम बेच्छ । हामी आफ्नो शरिर बेच्छौँ के नै फरक छ र आखिर ?
                               आखिर धेरै हामी लुटिईरहेकै छौँ नी । विवाहको नाममा, प्रेमको नाममा, पेट पाल्ने नाममा ईच्छा सहित वा ईच्छा रहित कारण अनेकौँ छन् तर पिडा एउटै । हामीमा फरक यति हो की हामी मन लुटाउँदैनौ त्यो पेशामा मात्रै बोक्रा लुटाउँछौँ । अनि मान्छेहरु त्यही बोक्रा पाएर पनि सिङ्गो हामीलाई पाएको भ्रम गर्छन ।
                                   त्यो रात सकियो,  ११ बजेतिर म नुहाई धुवाई गरेर जगाते तिर लम्केँ । जे भने पनि निकै असजीलो लागीरहेको थियो त्यो पहिलो दिन मलाई । म सरासर कटेजको मेनेजर भन्नेलाई गएर भेटेँ । उस्ले मलाई केहि नियमका कुराहरु सम्झायो, भनौँ एउटी नारीबाट यौन तृप्ती वा सन्तुष्टि दिने मेसिन बन्ने तरिका सिकायो । 
                                हो, त्यही दिनदेखि म मन रहित शरिरको बोक्रा बेच्दैछु आफुखुशी । मन लागेको बेला जान्छु नलागेको बेला जान्नँ पनि ।” – लामो सास फेरिन सबिनाले जस्तो कि सबै अप्ठ्याराहरु सकिएको होस् । कति लामो कुरा एकैपटक राख्न सकेकी म छक्क पर्छु । 
                                 “अनि के जिन्दगी अब यसरी नै चल्छ अनि कहिले सम्म चल्छ त ?” – मेरो जिज्ञाशा रह्यो सबिनालाई ।
                                    “यो पेशा यौवन र उमेर छउन्जेलसम्म मात्र हो भन्ने थाहा छ । त्यसपछि त रीटायर्ड भईहालीन्छ नी ।” – हामी दुबैले हाँसो रोक्न सकेनौँ । “त्यो थाहा छ मलाई, त्यही भएर आफ्नो र छोरीको भविष्यको लागी सकेसम्म काम गरेर केहि पैसा बचत गरेकि छु अनि भक्तपुरमा एक टुक्रा जग्गा पनि लीन लागेकी छु तर नागरीकता नभएकोले लिन मिलेको छैन । बैना गरिसकेकी छु ।
                                      आजकल त काममा केहि मतलब हुन्न कति जना पुगे अनि आज कति कमाई भयो भन्ने बाहेक । ग्राहकहरुसँग हामी कहिले आत्मीय हुन्नौँ अनि कहिल्यै सत्य बोल्दैनौँ । हाँस्छौ आशुँ पनि खसाल्छौँ तर ती सबै अभिनय हुन्छन् । बस हामी त पलाष्टीकको गुडीया झैँ बनिदीन्छौ उनीहरुका लागी जस्लाई रुन अनि दुख देखाउन सिकाईएको हुन्छ ।” 
                                    “कतै अहिले पनी ढाँटेको त छैनौँ नी ?” – म बोल्छु मुस्कुराउँदै ।
                                    “तपाईँलाई कस्तो लाग्छ ? हुन त म यहाँसम्म आईपुग्नु अनि यतिका दुख र पिडाको पछाडी तपाईँहरु जस्तै केटा मान्छेहरुकै हात छ । तर पनि खै किन हो, पहिलो भेटदेखि नै मैले तिम्रो आँखामा त्यो वासना अनि स्वार्थ देखिन जो मैले सबैमा देख्ने गर्थेँ । खै कसरी पो हो, त्यसपछि हाम्रा फोनका बार्तालापमा पनि मैले सधैँ तिमीमा आफ्नोपन महशुस गरेको छु । 
                                  त्यसैले त तपाईँ यहाँ हुनुहुन्छ आज म सबै कुरा खोलेर नाङ्गीदैँछु तै पनि तपाईँको ब्यबहार र आँखामा केहि खराबी भेट्दिन म । तपाईँसँग मेरो निकै आशा अनि बिश्वास छ ।” – उ बोल्दा बोल्दै मेरो हात मेरो खल्तीको कण्डममा पुग्यो अनि निकै असजीलो लाग्यो आफैँदेखि आफैँलाई । म उस्को खिचडी जस्तो कहिले तिमी त कहिले तपाईँ सम्बोधनले छक्क छु अनि मबाट के आशा त म कता कता डराउँछु पनि ।
                                       “त्यस्तो के हो भनन् ? मैले सक्ने रहेछ भने म गर्छु नी ?”– औपचारीकता पुरा गरेँ डराएरै भए पनि । 
                                      “म भन्छु नी पछि, पहिले कथा त सक्न देउ ।” – उस्ले म डराएको अनुभव गरेरै होला मेरो गालामा चिमोटी हल्कासँग । 
                                   “अझै बाँकी छ र भन्या ?” – म सोध्छु ।
                                “महत्वपुर्ण कुरा बाँकी छ झन्, पछि त्यो सिबुनेसँग भेट भाको थ्यो । त्यही जगातीकै कटेजमा ......।” – कुरा सक्ने नपाइ बाहिर ढोकामा ढक् ढक् आवाज आउँछ । एउटी रहरलाग्दी फुच्ची दौडेर भित्र छिर्छे ममी भन्दै ।
“आईपुग्यौ सोनी .............

क्रमशः .................................    

Posted by Unknown on 10:59 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for के समय दोषी हो ? भाग ६-७

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011