गज़ल:-जवानी बैँशमा छल्कायौ पियारी,
किरण लिम्बु
जवानी बैँशमा छल्कायौ पियारी,
रसीलो ओँठमा पल्कायौ पियारी ।।
बलेको दीप झैँ हाम्रो प्रीतलाई,
दुवैको छातिमा सल्कायौ पियारी ।।
मुसुक्कै हँसिली आँखाले नियाल्दा,
खुलेकी यौवना झल्कायौ पियारी ।।
दरीलो आज मेरो यो सोचलाई,
कसोरी सर्लक्कै ढल्कायौ पियारी ?
नशीली बैँशको मायामा पगाली
निभेको भाग्य नै टल्कायौ पियारी ।।
बहरे मुतकारिब मुरब्बा सालिम