उनान्चासको जन्ति
कविता
आनन्द श्रेष्ठ
म
जन्मेदेखि नै
कहिल्यै दोश्रो नभएको मान्छे
जन्मदा –
आमालाई पछाडि धकेलेर
म अगाडि उछिट्टिएर आएको मान्छे,
पढ्दा –
साथीभाइलाई सधैँ उछिनेर
म प्रथम हुँदै आएको मान्छे,
सस्तो नारा दिए भन्छन्
सस्तो गाडि चढेको छु
भलै मैले
विज्ञापन खर्चको विज्ञापन गरेको छैन,
मेरो बिहे भैसक्यो
तर आज म
जन्ति बटुली रहेछु
जन्ति जान चाहने थुप्रै छन् अझै
जति छन् जन्तिमा
कसै-कसैलाई त चिनेकै छैन
कसैको नामै थाहा छैन
कुन गाउँ,कुन ठाउँका हुन् कुन्नि !
मलाई जसले
दुलही नपाउने गरी
दुलाहा बन्न लगाए
मण्डपमा बस्ने मात्र
मन्त्र पढ्न नपर्ने
दुलाहा बन्न लगाए
उनैले पठाए छानी छानी
तैपनि
यत्तिमै म पहिलो भएको छु
सबैलाई उछिनेको छु
बाउन्न पुगेको छैन
पञ्चायती कोटा नाघेको छैन
भर्खर
उनान्चासको जन्ति बोकेको छु ।
२०६८-०७-२९,२३:२० बजे ।



