'अनुभूतिका बिम्वहरु'
कथा –
हेमन्त परदेशी
साँच्ची समयको बहाव पनि कति गतिशील हुदोरहेछ, मानिसलाई अलिकति सुइँको सम्म नदिइ सलल बगिजाने। भन्नैपर्दा हिजै जस्तो मात्र लाग्छ मलाई जीवन यात्राको एउटा अन्जान मोडमा अनायासै उनीसित भेट भएको त्यो दिन।
तर समयका यीनै गतिशील एबं बेअन्दाज बहाव हरु संगै उनीसितको त्यो पहिलो भेटले एक पछी अर्को बसन्त पार गर्दै खै कतिबेला आफ्नो पहिलो भेटको औपचारिक रजत महोत्सव मनायो मैले त अलिकति भेउसम्म पाइन त्यसको।
हो, आज पनि मेरा स्मृतिहरुमा ताजै छन् अग्निलाई सात फेरा मारेर उनीसित प्रणयनाताको औपचारिक सहयात्रा सुरु गरेको त्यो पल। साच्ची कति अन्जान अनि अबोध थियौ हामी त्यसबेला। भन्नैपर्दा ओठमाथी जुँगाको रेखी समेत बसिनसकेको म अनि छातीमा नारी सुन्दरताको गहना समेत पूर्ण बिकसित भइनसकेको उनी, मानौ भाँडाकुटी खेल्ने बच्चाहरुको पुतलीको विवाहको खेल भन्दा विल्कुलै पृथक दृस्यानुभूत नहुने त्यो क्षण। यद्यपि जोइपोइको परिभाषालाई सार्थकता दिन हाम्रो त्यो कलिलो उमेर कहिल्यै बाधक बनेन। त्यो प्राकृतिक प्रदत्त मानवीय गुण र स्वाभावको उपज नै थियो सायद।
आज अनायसै मेरा भावनाहरु तरलित बनिरहेकाछन् र यस डायरीका पानाहरुमा छताछुल्ल बनेर पोखिन उद्धत छन् तर त्यसका छिटा बाछिटाहरुले उनको कोमल नारी हृदयमा तुषारापात पारि पो देलान् कि भन्ने अज्ञात भयबाट त्यतिकै त्रसित पनि बनिरहेकुछु म । यद्यपि बिस्मृतिका गर्भभित्र सुषुप्त प्राय बनिसकेका अतितका आफ्नै प्रतिबिम्बहरुलाई यो ऐनारुपी शब्दहरुको क्यानभासमा नियाल्न पाउँदा निश्चय नै उनले वर्तमानका दर्दनाक पीडाहरुलाई पलभरकै लागि भए पनि बिर्सनेछिन् भन्ने कुरामा बिश्वस्त रहेकोछु म।
त्यसो त आज म यति दुरानुभूतिमा बहकिएर आफ्ना अन्तरमनका भावनाहरु किन ओकलिरहेकोछु भन्ने कुरा म आफैलाई थाहा छैन । तर एउटा अकाट्य यथार्थ चाहिँ यही नै हो कि उनीसित बिताएका जीवनका तिनै तिता मिठा पलहरुको सम्झना नै आज यो डायरी लेखनको प्रेरणाको श्रोत बनिरहेकोछ। भन्नैपर्दा उनीसित छुट्टिने बिहानीको अघिल्लो अन्तिम रात मेरो छात्तीमा टाउको राखेर उनले बगाएका अश्रुधाराहरु आज पनि मेरो स्मृतिमा समुन्द्रको ज्वारभाटा बनेर निरन्तर उर्लिरहेकाछन्।
'विप्लब! बिदेसको रमझम र बिलासिताहरुमा भुलेर कतै यो उजाड गाउँ बस्तीहरुलाई सदाको लागि बिर्सने त होइनौ तिमीले?'
त्यस रात उनको मुखराबिन्दबाट अप्रत्याशित रुपमा मुखरित भएको यही एउटा शंकालु एबं अबिश्वासयुक्त वाक्यांशको स्मरणले मात्रै पनि मेरा हर रातहरु अनिदो बनेर बिहानीमा अनुवाद हुने गर्छन।
'आखिर म प्रतिको उनको विश्वासमा किन यति फराकिलो दरार?'-यही छटपटाहटमा रातभर नराम्री पिरोलिने गर्छु म।
खै कुन शब्दहरुमा बयान गरौ म कि उनीबाट यसरी टाढा बनेर जिउनुपर्दाको नियतिमा यो मन कति जलिरहेकोछ र उनलाई यो पनि थाहा छैन होला सायद, कि उनको उपस्थिति बिनाका मेरा दिनचर्याहरू कति निरस र अर्थहीन बनेर बितिरहेकाछन् । साँच्चै भन्ने हो भने उनि बिनाको मेरो जीवन जीवन नभएर केवल एउटा कृतिम मानावाकृति मात्रै हो, जो एउटा अमूर्त कलाकारको क्यानभासमा हरपल जीवनको परिभाषा दिन खोजिरहेकोहुन्छ। यद्यपि आँखा वरिपरि सल्बलाइरहेका घरको चुहिएको छानो, बाबाको शीरको फाटेको टोपी, आमाको आङ्को टालेको चोली अनि दिन प्रतिदिन अँध्यारोतिर उन्मुख हुँदै गइरहेको आफ्नै अनिश्चित भविष्यका दृष्यचित्रहरुले वर्तमानका यी सारा तिक्तताहरुलाई सहन गर्न विवश बनाइरहेकाछन् मलाई।
त्यसो त भौगोलिक अवस्थिति एवं भौतिक उपस्थितिको दृष्टिले उनीबाट जति नै टाढा रहे पनि आत्मिक एबं भावनात्मक रुपमा भने म सधै उनको सन्निकट एबं सान्निध्य रहेको महसूस गर्छु। भन्नैपर्दा पच्चीस बर्षे लामो यो समयदुरीको अनेकौ आरोह अनि अबरोहहरुमा कति उकाली ओरालीहरू पार गरिएहोलान्, कति घुम्ती र देउरालीहरु भेटिएहोलान् अनि कति जंघार र भंगालाहरु तरिएहोलान् तर उनीसितको यो सहयात्रा भने कहिल्यै पनि निरस र पट्यार लाग्दो अनुभूत भएन मलाई।
आज पनि सम्झन्छु म, उनीसित बिताएका अतितका ती रमाइला पलहरुलाई । साँच्ची कति उत्साह र उमंगहरुमा बितेका थिए ती बेपर्वाहका दिनचर्याहरू । सुख-दुख जे भए पनि जिन्दगीका हर गोरेटाहरुमा हाम्रा पाइलाहरु साथै हुन्थे। यहाँ सम्म कि एकको पैतालामा काँडा बिझ्दा अर्काको पैतालाले त्यसको दर्दको महसुस गर्थ्यो। एक अर्थमा भन्ने हो भने अस्थिपन्जररुपी भौतिक शरीर दुइटा भए पनि हामी भित्रको आत्मिक संवेदना भने एउटै रहेको थियो।
तर बिडम्बना! नियतिले हाम्रो सम्बन्धको त्यो सुमधुरतालाई पटक्कै पचाउन सकेन। आततायी राज्यसत्ता र तथाकथित क्रान्तिकारीहरुको दोहोरो मारको चपेटामा पिल्सिएर एकाएक ध्वस्त बन्नपुगेको जीवनका सपनाहरुलाई पुन ब्यूँताउनका लागि बिदेस पलायन हुनुको विकल्प थिएन मसंग र त्यसबेलाको मेरो त्यही निर्विकल्प बिबशता नै समय रेखाको परिधि नाप्दै जाँदा अचानक आजको सम्झौतामुखी जीवनको अनिवार्य सर्तमा अनुवाद हुनपुग्यो। एक अर्थमा भन्ने हो भने जीवनको आयु छोटिदै जाँदा स्वतस्फूर्तरुपमा लम्बिदै जाने स्वाभाविक मानवीय एबं दायित्वबोधका बोझहरुले मेरो जीवनयात्रामा नै एउटा नयाँ मोड थपिदियो।
हो एकाएक थपिन पुगेको जीवनको यही नयाँ मोडसंगै यो दुरोदेसको माटोसंग अझ गाढा र प्रगाढ बन्न पुगेको मेरो सम्बन्ध पराधिनतामा बाँच्न झन् झनै अभ्यस्त बन्दै गयो र अन्तत बिनाकुनै थाहा पत्ता दशक लामो यात्रा समेत तय गराइसक्यो।
हुन त चैत्र २८ गते सम्पन्न ऐतिहासिक संबिधानसभाको निर्वाचन मार्फत अभिव्यक्ति भएका जनअभिमतहरुले मुलुकलाई एउटा दिगो शान्ति एबं स्थायित्वको दिशामा उन्मुख हुन मार्गनिर्देशन गरिसकेकोछ र यसले भविष्यमा मुलुकलाई राजनीतिक रुपमा मात्र होइन अपितु आर्थिक,सामाजिक एबं सांस्कृतिक रुपमा समेत सवल, सक्षम र समृद्द बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने कुरामा हामी सबैलाई आशाबादी बनाएकोछ। यद्यपि संबिधानसभाको निर्माण हुदैमा कुनै जादुगरले कालोलाई सेतो र सेतोलाई कालो बनाए जस्तो त्यति सजिलै मुलुकको काँचुली फेरिनेछैन र त्यस्तो अपेक्षा गरिहाल्नु पनि अहिलेको लागि अलिक हतारो नै हुनेछ।
हो मुलुक यतिबेला झनै संक्रमणको अवस्थाबाट गुज्रिरहेकोछ। जनताका अभिमतहरुबाट सामन्तबादको मुख्य नाइके शाहबंशीय राजतन्त्र किनारा लागे पनि त्यसको आड र भरोसामा शदीयौदेखि समाजमा जरो गाढीरहेका आर्थिक,सामाजिक एबं सांस्कृतिक लगायतका सबैखाले सामन्तबादका अबशेषहरुलाई निमिट्यान्न बनाउन निश्चय नै सोचे जस्तो सजिलो छैन। यद्यपि २ सय ३८ बर्षे पुरानो सामन्ती राजतन्त्रको अन्त्यसंगै सबै खाले सामन्तबादी सोच र संरचनाहरुको अवशानको शुभमूहुर्त भैसकेको कुरामा भने कसैको बिमति छैन।
स्वभावैले राजतन्त्रको अवशान र गणतन्त्रको अरुणोंदयले मात्रै नयाँ नेपालको परिकल्पना गर्न सकिदैन। किनभने हामीले परिकल्पना गरेको नयाँ नेपाल त त्यो हो जहाँ के खाऊँ , के लाऊँ र कहाँ ओत लागौको कसैलाई कुनै चिन्ता नहोस्। औषधोपचारको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् अनि जातीय, बर्गीय एबं लैंगिक विभेदको शिकार बनेर कुनै नागरिकले सीमान्तकृत एबं उधारो जिन्दगी जिउन नपरोस्। एक अर्थमा भन्ने हो भने भोलिको नयाँ नेपाल यस्तो होस् जुन राजनीतिक रुपमा मात्र नभई आर्थिक, सामाजिक एबं सांस्कृतिक रुपमा समेत सबैका लागि साझा र समाबेशी फूलबारी बन्न सकोस्।
हो, राजनीतिक क्रान्तिको सफलताले मात्रै गरीबका भोका पेटहरु भरिने छैनन्, नांगा आंगहरु ढाकिने छैनन् नत हुरीले उडाएका झुप्राहरुका छानाहरू नै टालिने छन्। भन्नैपर्दा सशस्त्र द्वन्दले ध्वस्त बनेका भौतिक संरचनाहरुको पुनर्निर्माण एबं बिस्थापित नागरिकहरुको पुनर्स्थापन गर्ने कामदेखि लिएर गाँस, बास र कपास जस्ता जनताका न्यूनतम आधारभूत आवश्यकताहरुलाई सम्बोधन गर्नुपर्ने दायित्व समेत एकै साथमा बहन गर्नुपर्ने अपरित्यक्त बाध्यताका कारण गणतन्त्रका सारथीहरुलाई नयाँ नेपाल हाँक्न निश्चय नै त्यति सजिलो हुने छैन। यद्धपि हामी सबैमा देस निर्माण प्रतिको सामूहिक प्रतिबद्दता एबं 'देसले रगत मागे बली मलाई चढाऊ' भन्ने गोपाल योन्जनकृत देशभक्ति भावना हुने हो भने नयाँ नेपालको निर्माण गर्न त्यति गाह्रो पनि छैन।
अनायासै छचल्किन पुगेका मनका अभिव्यक्तिहरुलाई शब्दहरुमा उतार्दा उतार्दै खै कतिबेला डायरीका पानाहरु आफ्नै आत्मबृतांतका कथाहरुले भरिन पुगे विप्लवलाइ त्यस् कुराको सुइको सम्म भएन । जब उसले डायरीको खालीपानाहरुमा स्वतस्फूर्त पोखिएका आफ्ना शब्दरुपी भावनाहरुलाई सर्सर्ती नियाल्यो तब ऊ आफै अचम्मित बन्न पुग्यो ।
'हन म पनि एउटा आख्यानकार नै पो बनिसके कि क्या हो ?'-आँफैलाई प्रश्न गर्यो उसले ।
'बनिस् आख्यानकार , आख्यानकार बन्नु तैले सोचे जस्तो सजिलो छ र ? यी त तेरा गुम्सिएका अभिब्यक्तिह रुको बिष बमन मात्रै हुन ।जसमा न त कुनै राजनीतिक दर्श नको पारी भाषा समेटिएको छ न त साहित्यको सुन्दर कथा बस्तु नै……………………।
आफ्नै अगाडी ठिङ्ग उभिएर आफुमाथि वाक युद्द छेडिरहेको आफ्नै प्रतिरुप देखेर विप्लब एकाएक हड्बडाउन पुग्यो । यद्यपि आफ्नो आत्मसम्मानमाथिको ठाडो हस्तक्षेप लाई त्यती सजिलै स्वीकार्ने खालको ब्यक्ती थिएन ऊ ।
'आखिर त को होस् मलाई साहित्यको बारेमा पढाउन खोज्ने ?,हो तेरो बुझाईमा साहित्य म्याक्सीम गोर्की र लु-सुनको जस्तो हुनुपर्छ होला अथवा रुसो, शेक्सपियर र रबिन्द्रनाथ टैगोरका जस्ता बिश्वबिख्यात रचनाहरु मात्रै साहित्य होलान ।तर मेरो बुझाईमा साहित्यको कुनै मापदन्ड हुँदैन न त कुनै सीमाङ्कन नै । एक अर्थमा भन्ने हो भने यथार्थ जीवनका अनुभव र अनुभूतिका सजीव शब्द-चित्रहरु नै बिशुद्द साहित्यिक सिर्जनाहरु हुन र जुन सिर्जनामा जीवनका यथार्थताहरु बोल्दैनन त्यो साहित्य साहित्य नभएर काल्पनिक कथाहरुको एउटा मनगढन्ते दस्ताबेज मात्रै हो ।'
आफ्नै आत्मसम्मान माथि चोट पुर्याउन तम्सिरहेको आफ्नै प्रतिरुप प्रति एकाएक आक्रोशित बन्न पुगेको विप्लबले भावाबेशमा आएर कति जायज अनि कति नाजायज कुरा गर्यो, त्यसको बिश्लेषण त ऊ स्वयमले गर्ने कुरा हो । यद्यपि अहिलेको लागि भने उसले आफ्नो डायरीका पानाहरुमा टिपोट गरेका आफ्नै जीवनका अनुभव र अनुभूतिका शब्द-चित्रहरुलाई 'अनुभूतिका बिम्वहरु' नामाकरण गरेर कथाकृत गर्ने सङ्कल्प गरेरै छाड्यो ।
मेरो पुरानो फेसबूक खाताबाट थुप्रै अग्रज तथा स्रस्टा मित्रहरुलाई भागबण्डा लगाइसकेको यो कथा यहाँहरुलाई पनि चास्नीको रुपमा पस्किएकोछु । पित्तललाई सुन भन्ने प्रबृतिबाट माथी उठेर यहाँहरुले ब्यक्त गरिदिनु हुने प्रतिकृया नै मेरो लागि प्रेरणाको श्रोत बन्नेछन् भन्ने मैले ठानेकोछु।
साभार 'अनुभूतिका बिम्बहरु'

