भलाद्-मी
कथा
लोचन रिजाल
लोचन रिजाल
बिरटनगरको कुनै एकठाउँमा जम्ल्याहा दाजुभाइ बस्थे । जेठाको नाम धर्मरत थियो अनि कान्छाको नाम मधुकर । कान्छो मधुकर अति नै खर्चालु स्वभावको थियो । मीठो मसिनो खानु,राम्रो लगाउनु घुमफिर गर्नुका साथै माछा,मासु,रक्सी आदिमा पनि ऊ प्रशस्त दिलचस्पी राख्ने गर्दथियो । जेठा दाजु धर्मरत चाँही ठीक त्यसको विपरीत थियो । बिहान सवेरै उठेर नुहाइधुवाइ गर्नु । एकछिन चट्ट पूजामा बस्नु अनि धोती फेरेर खाना खानु आदि गर्ने गर्दथ्यो । रक्सी मासु तास जुवा आदिको लत् त परै जावस् मुखमा पान सुपारीसमेत न हाल्नु कसैसँग धेरै नबोल्नु , चारपाँच किलोमिटरसम्मको दुरीलाई स्वास्थ्यलाभको वहानाले कुनै सवारीसाधन प्रयोग नगरिकन हिंड्नु आदि धर्मरतको बानी थियो । समग्रमा भन्नुपर्दा धर्मरत अति नै मितव्ययी थियो ।
समय हेलिदै गयो । ऋतुहरु परिवर्तन हुँदै थिए । बिस्तारै बिस्तारै दुबै दाजुभाइ विवाह योग्य भएपछि केटीहरुको खोजतलास शुरु भयो ।
जेठा धर्मरतको लागि कुटुम्बहरुको ओहिरो लाग्यो । वरपर गाउँ टोलहरुमा चर्चापरिचर्चा हुन थाल्यो । घरमा छोरीचेली हुनेहरु लमीसँग गएर अनुरोध गर्दथे "लौ न ! त्यो केटो नऊम्कियोस । छोरीको उमेर अलिक कम छ त के भो ? केटो कस्तो राम्रो छ । उम्काउनै नहुने । रक्सी चुरोट केही खाँदैन रे । घरमा नित्य पूजाआजा पनि आफै गर्छ रे । कस्तो भलाद्मी । लौ न ! कुरो मिलाईदिनुस् "। आदि आदि ।
नारी समाजमा मुग्धकण्ठले धर्मरतको वयान चल्न थाल्यो । जेठा धर्मरतले केटी छान्दाछान्दै उसका दिनहरु बित्न थाले ।
कान्छो मधुकरको लागि पनि केटीको खोजी जारी नै थियो । परन्तु कुटुम्बहरुले उसको लागि चाँही कानमा तेलहाले । किनभने मधुकर रक्सी खान्थ्यो । कसले दिने छोरी ? त्यसैले मधुकरका पनि दिनहरु बिते केटी खोज्दा खोज्दै । लगनका लगन गुज्रिदै गए ।
आखिर दुबैजनाको पूर्वजन्ममै दैवले जोडी बाँधिदिएकै रहेछ । लहना आयो चिना जुर्यो । दुवैको विवहा भयो ।
विवाहपश्चात दुबैजनाले पैत्त्रिक सम्पत्तिलाई बराबर बाँडेर आ-आफ्नो गरिखान थाले । जिम्मेवारि काँधमा आयो । बढदो महँगी , आम्दानी सिमित दुबैको आर्थिक स्थिति बिस्तारै बिस्तारै खस्किदै गयो
एकरात यस्तो भयो , दुबै दाजुभाइ आ-आफ्नो घारमा राती निदाउँने प्रयासमा थिए । दुबैलाई निन्द्रा लागिरहेको थिएन । छट्पटी थियो । दुबैजना आ-आफ्नो भविष्यतर्फ ध्यानदिदै थिए । अब कसो होला ? दुबै चिन्तित थिए ।
एकातिर जेठा धर्मरतले सोच्यो,"महगी बढ्दोछ । घरको खर्च धान्न मुस्किल भो । अब यो टेलिफोन र केबुल नहटाइ भएन । बिजुली पनि रातिको खाना खाउँन्जेलमात्र बाल्ने गर्नु पर्यो । यो मिटर चढ्ने धाराको पानी पनि ठीक्कसँग नचलाए बरवाद छ । एक बाल्टी खाने पानी थाप्यो भने त पुगिहाल्छ । बाँकी ट्युवेल चलाए भैगो । घरमा आउँने यि पत्रपत्रिकाहरु पनि छुटाइदिनु पर्यो । एकछिन पत्रीकापसलमा उभिएर सबै पत्रिकाहरु सरसर्ती हेरे त भैहाल्छ किन पैसा खर्च गर्नु ।" यस्तै यस्तै मितव्ययका योजनाहरु मिलाउँदा मिलाउँदै धर्मरत भुसुक्कै निदायो ।
अर्कातिर कान्छो मधुकर पनि ओछ्यानमा छट्पटिदै थियो । "के गरेर खर्च टार्नु ? घरायसी खर्चहरु त छदैछन् त्यसमाथि मेरो आफ्नो खर्च पनि ओइरो छ । कसो होला ? नराम्रो लगाएर नमिठो खाएर मलाई त हुँदैन । बानी पर्या छ । यत्रो वर्ष शोखले गुजारा गरियो । अब कसरी आफ्नो स्तर घटाऊनु ? मनले मान्दैन । जोरिपारीहरुले पनि के भन्लान् ?" आदि-आदि सोचेर मधुकरका मनमा पनि तिल जौ पाक्न थाल्यो । ऊ छट्पटायो । आखिर मधुकरले आफ्नो आयस्रोत बढाउनका लागि कुनै कारोवार गर्ने रातिनै निधो गर्यो । त्यसपछि ऊ कतिखेर निदायो उसैलाई थाहा भएन ।
निन्द्रा पुगे पनि या नपुगे पनि रात बित्यो । दाजु धर्मरत बिहान सबेरै उठेर नुहाइधुवाइ गरी पूजामा ढ्याप्प बस्यो अनि लक्ष्मीको आराधाना गर्न थाल्यो ।
कान्छो मधुकर पनि बिहान सबेरै जुरुक्कै उठेर बोतलमा बाँकिरहेको तर्याकतुरुक रक्सीलाई ठाडोघाँटी लगाएर आफ्नो लक्ष पुरा गर्ने उद्धेश्यले घरबाट हिंड्यो ।
मधुकरले एउटा कारोवार समात्यो । उसको कारोबार बढ्दै गयो । उसलाई अब कामले फुर्सद हुन छाड्यो । साथीभाइहरुको सङ्गत पनि बिस्तारै बिस्तारै छुट्न थाल्यो । कारोवार झन् झन् बढ्दै गयो । बिहान बेलुकाको खानाखाने समय पनि अब उसले बिचार गर्नुपर्ने भयो । हुँदाहुँदै उसको आँगनबाट अभाव, चिन्ता, दु:ख आदि सबै पलायन भैसकेका थिए ।
रक्सी त परै जाओस् पानसुपाडीसमेत मुखमा नहाल्ने सार्है भलाद्मी भनाउँदो धर्मरत्को कारोवारविहीन अहिलेको अवस्था देखेर अचेल गाउँका नारीसमाजले उसलाई सोझो अनि पानीमरुवा भन्न थालेछन् र अर्को सर्वभक्षी मधुकरलाई चाँहीं असल भलाद्मी भन्दै गाउँका उनै नारीहरु अन्त्यमा थक्थकाउँदारहेछन् "थुक्क !उसैलाई छोरी दिएको भए पनि त हुन्थ्यो ।

