सलिम र भदौ १८ (कथा )
स्वप्निल नीरव
कसैबाट क्षणिकका लागि अंगालिएर त्यागिनु भन्दा अर्को पीडा शायदै होला । त्यसो त कसैबाट त्यागिएर पनि मेरो अर्को पुर्ण जीवन छ । अभावको कुनै नामो निशान छैन । शिवाय-सलिम ।इन्टरनेटमा भेटिने झुण्डका झुण्ड मित्र,सम्हाली नसक्नु कृत्रिम/अकृत्रिम आत्मि...यता । तर यस बीच सलिम छैन । सट्टामा छ सुमन ।तर पर्खाइ छ-सलिमकै ।काठमाडौको एक्लो जीवन,यद्यपि एक्लोपनको आभास छैन । दिनै जसो घर माइतीसँग टेलिफोन हुन्छ,अधिकांश साथीभाई रात परेपछि अनलाइनमा पर्खिरहेका हुन्छन्।तर म जानी जानीकनै अफलाइन हुन्छु । अचेल साथी भाईसँग घण्टौ कुरा गर्ने रहर पनि मर्दै गएको छ । बिहे अघिसम्म त ल्यापटप साथमा नहुँदा पनि साइबर गएर घण्टौ साथीभाईसँग च्याट हुन्थ्यो । अहिले मसँग प्रशस्त समय छ,सुबिधा छ र पनि किन किन लुकेर साथीभाईले पठाएका गुनासोले पूर्ण ईमेल पढ्नमै आनन्द आउँछ ।
२ बर्षदेखि काठमाडौँमा छु-कसैको छेकबार,तारबेर छैन ।तर निकै संकुचन हुन्छ आफैभित्र ।ट्राभल एजेन्सीमा रिसेप्सनिष्टको जागिर खानु,कोठामा फर्कनु,हप्तामा २ दिन सामान्य बजार गर्नु,मुड भएछ भने साथीभाईसँग साँझ फेर यसो कोठा बाहिर निस्केर १/२ कप चिया कफी पिउनु बाहेक अरु कुनै उपलब्धी छैन ।साथीभाई डिग्री गर्ने सुझाब दिन्छन्।तर त्यसपट्टि पनि मेरो रुचि छैन ।
आज भदौ १८ गते । आज म अरु दिन भन्दा बढी बेचैन छु, उदास छु र भावुक छु । सलिम र भदौ १८ मेरो जिन्दगीको सबैभन्दा जटिल बिषय । जटिल यस अर्थमा कि,यी २ बिषय मेरो चाख र रुचिको बिषय हुँदा हुँदै पनि म यसको पाना खुलेआम पल्टाउन सक्दिन ।
सलिम कट्टर मुस्लिम समुदायको मान्छे । र म अलिकति खुल्ला हिन्दु संस्कारमा हुर्किएको मान्छे । ७ कक्षासम्म ऊ मदरसामा पढ्यो । र कक्षा ८ बाट आम नेपाली सरह सरकारी स्कुलमा पढ्यो । त्यहीबाट हाम्रो मित्रताको शिलशिला सुरु भ्यो ।ऊ हरेक शुक्रबार मस्जिद जान्थ्यो ।सानो ठेस लाग्दा पनि हामीले भगवान पुकारे जस्तै ऊ अल्लाह भन्थ्यो ।
स्कुले जीवनका ३ बर्ष खासै सम्झन योग्य रहेनन्। म एस एल सी सकेर उच्च शिक्षा अध्ययनका लागि बुटवल झरे र ऊ बिराटनगर गयो । ऊ जस्तै अधिकांश मुस्लिम युबकहरु पढ्नका लागि बिराटनगर जान्छन्। र अधिक भन्दा अधिक छोरी मान्छे त १५/१६ बर्षको उमेरमा आमा नै बनि सक्छन्। एस एल सी उत्तिर्ण गरेर उच्च शिक्षा हासिल गर्ने त नगन्य नै हुन्छन्।
चैत मास , तराईको ठाऊँ, साथी संगातीहरु जम्मा भएर सडकमा निस्केर पानीका लोला र रङ छ्याप्दै रमाइलो गर्दै थियौ ।साथीहरुसँग त म निर्धक्क रङ पानी खेल्थे । तर सडकमा हिँडिरहेका निर्दोष यात्री र गाडीमा सवार यात्रुहरुलाई रङ पानी छ्याप्न भने निकै डर लाग्थ्यो । तर आखिर होली न हो,डर सर चपाएर,आँखा चिम्लेर होटलको बरण्डामा उभिएर रमिता हेरिरहेको युबकलाई ताकेर पानीको लोला हाने । मज्जैले लागेछ ।त्यसैमाथि साथीभाईका तर्फबाट पनि एक दुई लोला बर्सियो ।
'ए,साले पख ।'
एक्कासी रङले रङ्गिएको त्यो युबक चिच्यायो । हामी झनै मज्जाले हाँस्यौ र एकैसाथ चिच्यायौ-ए साथी! आऊ सँगै होली खेलौ ।हामी रङ खेल्दै,गोला हान्दै छिल्लिदै थियौ । होटलको गेटबाट एउटा युबक हामीतिर हेर्दै निस्क्यो । लुगाहरु पुरै रङ्गिएको तर चेहरा भने भर्खरै धोइएको त्यो युबकलाई म उसको नजिक पुगेर चेहरामा रङ लगाइ दिदैँ भने-Happy Holi Salim.ऊ एकछिन त असमजस्यमा परेर हेरिरह्यो । र फेरि मेरो चेहरा थम्याउने बित्तिकै भन्यो-छिः तिमीले मलाई रङ लगाइ दियौ ?
'अँ लगाइदिए । किन की आज फागु पूर्णिमा हो । बरु भन न तिमी बुटवलमा कसरी ? तिमी त बिराटनगर बस्छौ हैन?'
ऊ जबाफै नदिइ फन्केर होटलभित्र छिर्यो । यो घटनापछि होली रमाइलो भएन । म खुरुखुरु कोठामा फर्केर रङ पानी नपखालिकन रङपानीले भिजेका लुगा फुकालेर बिछ्यौनामा पल्टिए । सलिमको सानो चित्त दुखाइले म आफु भित्रभित्रै पिरोलिए । उसको रुचि बेगर रङपानी लोला छ्यापेकोमा निकै ग्लानी भयो ।द्वितिय बर्ष सकिए लगत्तै गाऊँ फर्किए । सलिम पनि बिराटनगरबाट फर्किएको रहेछ ।एकदिन मुस्लिमहरुको चिहानघारीमा बसेर एक्लै एक्लै टोलाइरहेथेँ। सलिम त्यही आइपुग्यो । तर मलाई देख्ने बित्तिकै ऊ चेहरामा पुरै क्रोध भरेर भन्यो-तिमी बुटवल झरेपछि त अर्काको भावना र मर्यादाको ख्याल गर्नै छाडिछ्यौ नि!'अँ त्यो त हो नि!शहरिया जो परे ।'थोरै ठट्टा गरे । तर उसलाई मन परेनछ । अलि गम्भिर भएर भन्यो-अघिल्लो दिन बिराटनगरबाट आएर बुटवल बसे । भोलि पल्ट होलीको दिन त्यस्तै उछृङ्खल मान्छेले उधुम मच्चाउलान भनेर बुटवलमै बसेथे । तिम्रै चर्तिकला देख्नु रैछ र पो ।
'अनि मलाई के थाहा त त्यो तिमी हौ भन्ने ।
''लोला हान्दा चिनेनौ । रङ लगाउने बेला त चिन्यौ नि!'
'त्यति रङले रङ्गिदा तिम्रो कुन चाहिँ जातै गयो नि?'
ऊ निकै गम्भिर देखियो ।र थोरै आक्रोशित पनि । यद्यपि ऊ बोलेन । परपर आँखाले भेटेसम्मका चिहानघारी हेर्दै रह्यो । त्यो त्यही चिहानघारी हो जहाँ भोलि सलिमलाई पनि यही गाडिनेछ मुस्लिम परम्परा अनुसार ।
फेरि त्यस्तै घटना दोहोरियो । होलीको रङ्गिन माहोल थियो ।यद्यपि अघिल्लो वर्ष जस्तो होलीको जमात थिएन । घरमै थिए त्यसैले पनि तराईमा जस्तो उत्साह पहाडमा हुने कुरै भएन । एकदमै एक्लो महशुस भैरहेको बेला सलिमले टेलिफोन गर्यो । ऊ पनि गाउँ आएको रहेछ । ऊ आएको चाल पाउने बित्तिकै मैले उसलाई तत्काल भेट्ने उत्सुकता ब्यक्त गरे ।ऊ हामी दुबैले एस एल सी उत्तिर्ण गरेको सीताराम मा बिको पछाडिपट्टि रहेको खुल्ला चौरमा भेट्न राजी भयो ।
ऊसँग टेलिफोन भएको ५ मिनेट नबित्दै म त्यहाँ पुगेर उसलाई पर्खन थाले । झण्डै १५/२० मिनेट जति नै फर्किए । तर ऊ आएन । मनै खिन्न भएर फर्कन लाग्दैथे -पछाडिबाट कसैले मेरो दुबै गालामा खस्रो हातले चरप्प समायो । मैले प्रतिकृया ब्यक्त गर्दा नगर्दै ती हातहरु मेरो दुबै गालाबाट घाँटी हुँदै पुरै टाउकोमा सल्बलायो । म ती दुबै हातहरु पक्रेर मान्छे चिन्ने कोशिस स्वरुप टाउको मोडे । अचम्म, हल्का रङले रङ्गिएर सलिम मुस्कुराई रहेको थियो ।
सुकिलो र कसिलो जिऊ, हँसिला ती दुई आँखा,मुस्कान पूर्ण ओंठ,गोरो अनुहार,सेफ नगरिएको तर निकै आकर्षक दाह्री । र त्यसैमाथि सजिएको हल्का होलि । त्यतिबेला सलिम सलिम थिएन। ऊ त हरपल मेरो कल्पनामा आइरहने अनाम पात्र थियो ।
उसले पहिल्यै पछाडिबाट अदृश्य... मलाई रंगाई सकेको थियो । रैपनि फेरी रंगहरु उठाएर मेरो गाला,नाक,कान घांटी कतै पनि बाँकी नराखेर रंगायो । प्रतिक्रिया स्वरूप मैले पनि एक मुठी रंग लिएर उसलाई रंगाईदिए । र चुपचाप घर फर्केर धोका थुनेर पल्टिरहे ।
फागुको रंग जस्तै त्यो दिन मेरो मन पनि रंगिन थियो । एउटा मुस्लिम युवकले आफ्नो धर्म बिरुद्दमा गैर रंगाई दिएको त्यो नाथे रंगले मेरो गिन्दगीइमा यति ठुलो प्रभाव पार्छ भनेर मैले सोचेको नै कहाँ थिए र ?
साँझ टेलिफोन आयो-सलिमको । त्यहि होली काण्डलाई लिएर घरमा ठुलो कलह मच्चिएछ । दिउँसो को संग होली खेल्यो त्यसको खोजी पनि भएछ । तर उसले मेरो नाम लिएनछ । परिणाम उसको बावुको ३ जना सौतेनी आमाको ५ जना दाजु भाइ मिलेर पाली पालो मस्त चुटेछन । मैले चुपचाप सुनि मात्र रहे । एकोहोरो आधा घन्टासम्म रुँदैरुँदै उसले सबै दुखेसो पोख्यो । र भोली नै बिराटनगर फर्कने निर्णय सुनाएर फोन राख्यो ।
म एकदमै शिथिल बने । फागुका रंगहरु सबै सबै अनायास पोखिएको महशुस भयो । लाग्थ्यो-ती फागुका रंगहरु संधै संधैका लागि ममा समाहित होउन । तर मैले भुले कि,त्यो रंग हो जुन कुनै बेला पनि पखालिन सक्छ-नचाहेरै पनि ।
सलिम बिराटनगर फर्क्यो । फर्कनु अघ...ि उसलाई भेट्नुको कुनै औचित्य थिएन । र भेटिन पनि । ३ दिनपछि म पनि बुटवल झरे । स्मृतिमा घरिघरि सलिम झुल्कंथ्यो- हातमा रंग लिएर । रंग सलिमका लागि बन्देज थियो जान्दा जान्दै पनि मेरो स्मृतिमा झुल्कने सलिम हातमा रंग लिएर आउथ्यो । मलाई रंगाउथ्यो अनि आफु पनि रंगिएर जान्थ्यो ।
स्नातक दोस्रो वर्षको परिक्षा सकिए लगत्तै सलिम आकस्मिक बुटवल आयो । त्यस्तै स्निग्ध,हँसिलो त्यस्तै आकर्षक दाह्री-सेफ नगरिएको । तर पहिलेको तुलनामा धेरै आँटिलो ।
ऊ एक हफ्ता बुटवल बस्यो । एक हप्ताका बीच १७ पटक सिद्दबाबा पुग्यौ । रिक्सामा बसेर बुटवलका चोक गल्लि गल्ली चहारी हिड्यौ,सिद्दबावाको मन्दिर छेउमा बसेर अल्लाहाका कुरा गर्यौ,भगवानका कुरा गर्यौ र थोरै मात्र प्रेमका कुरा गर्यौ । र कति पटक त सलिम र ...मैले एकै साथ देउताको पाउ छोएर चुपचाप चुपचाप प्रेमको प्रार्थना गर्यौ ।
जब जब हामी प्रेमका कुरा गर्थ्यौ, शव्दहरु घाँटीमै अड्किएको महशुस गर्थ्यौ । भित्र शव्दको भण्डार छ तर ब्यक्तिन नसकिरहेको त्यो असहज घडीमा ऊ टाउको कन्याउथ्यो,म भूइ कोट्याउथे । यसो उसोमै बेअर्थ समय घर्कंथ्यो,मलाई मेरो दाइको दाइको फोन आउथ्यो,उसलाई उसको साथीको । अनि हामी चुपचाप चुपचाप उठेर गन्तव्य तताउथ्यौ ।
ऊ बिराटनगर फर्क्यो । जानेबेला मेरो कानै नेर आएर भन्यो-तेस्रो वर्ष सकिए लगत्तै हामीले बिहे गर्नु पर्छ ।
त्यो एक वाक्य सुनेर मन त्यसै त्यसै हावामा उड्न थाल्यो । प्रेमका हजार हजार वाचा कबुल्हारू भएनन त के भयो । आखिर त्यो पनि त प्रेम्नै थियो ।
तेस्रो वर्ष सकियो । त्यसपछि भने म निकै गम्भीर भए । आफन्त दाजु भाइ आमा बाबु सदाका लागि त्याग्नुछ,खुल्ला हिन्दु संस्कारबाट उखेलिएर जर्जर मुस्लिम संस्कार र मान्छेलाई अप्नाउनुछ । हुन सम्मको पीर चिन्ता जति मेरै थाप्लोमै खनियो । एकातिर सलिम,अर्कोतिर मेरो आफन्त परिवार र अझै अर्कोतिर ऊ र मबीचको धार्मीक र सांस्कृतिक द्विवार । वास्तवमै अगाडी धेरै ठुला ठुला चुनौतीका पहाडहरु खादा थिए । त्यो पार गर्न त्यति सहज थिएन ।
तेस्रो वर्षको परिणाम पनि आयो । तर बिहेको चाँजो पाँजो मिलाउदा मिलाउदै समय धेरै नै घर्क्यो । अब त मेरो घरबाट पनि बिहेको कुरा चल्न थाल्यो । आफु भन्दा माथिको दाजुलाई उछिनेर बिहे गर्दिन भनेर टारे । तर यता भने सलिमसंग सुटुक्क भाग्ने योजना बनिरहेको थियो । उसले र मैले पुरै गाँउ आफन्त त्याग्ने दिन थियो-भदौ १८ ।
पत्थरको मुटु लिएर म सलिमको हात समाएर एक चोटी पनि पछाडी न्फ़र्किई उसको पछी लागे । म पछाडी फर्कनु भनेको मेरो हार थियो । र मलाई थाहा थियो-त्यो एक हार पछी मेरो जिन्दगीमा कुनै जीतहरु आउने छैनन् ।
१७ गते धरान पुग्यौ । र १८ गते बिहानै दन्तकाली मन्दिरमा बिहेको औपचारिकता पुरा गर्यौ । एउटी हिन्दु केटि र मुस्लिम केटाबीच हिन्दु परम्परा अनुसार भैरहेको बिहेको साक्षी थियो-अनुप । सलिमको हँसिलो साथी अनुप्कै कृपाले यी सब असम्भव कुराहरु सम्भव भैरहेका थिए ।
लमतन्न बसेको धरान,बि.पी कोइराला मेमोरियल अस्पतालको त्यो बिशाल प्रांगण-जहाँका प्रत्येक धूलाका कणले पनि हाम्रो माया अनुभूत गरेका थिए । हामी बीच कुनै बाधाहरु थिएनन । दुबैका मोबाइल अफ थिए । घरि घरि अनुप र उसैका २/४ साथी हाम्रो प्रेममा बाधा पुर्याउथे । तर पनि मलाई त्यो कुनै बाधा जस्तो लाग्दैनथ्यो । बरु लाग्थ्यो-हाम्रो प्रेमको संकुचित संसारमा फैलिएको परिधी हो-सम्बन्धको । अपरिचित त्यो सहर पनि किन किन परिचित र आत्मीय लाग्थ्यो । अनुपको परिवार,परिवारबाट मिलेको अथाह माया र अनुपको सानो संसार-जहाँ कुनै अभाव थिएन माया र मित्रको,निकै प्यारो प्यारो लाग्थ्यो । एक दुइ दिनको भेटमै अनुप र अनुपको सम्वन्धित हरेक नाता सम्बन्धले हामी दुइलाई सहर्ष स्विकार्नु नै हाम्रो प्रेमको जीत थियो ।
पाँचौ दिनको दिन सलिमको दाइको फोन आयो । सलिमलाई खोज्दै वहाँ बिराटनगर आइसक्नु भएको रै'छ । त्यहि दिन हामी बिराटनगर पुग्यौ । बिराटनगर खै किन किन मलाई पटक्क मन परेन । बिराटनगर मलाई कुनै कैदी गृह जस्तै लाग्यो । सबै केरकार भए । दाइले हिन्दु परम्परा अनुसार बिहे भएको कुरा छाल पाउनु भयो । आफ्नो भाइले आफ्नो धर्मको धज्जी उडाउदै एउटी खुल्ला हिन्दु केटीको सिउँदोमा सिन्दुर भरेको कुरा थाहा पाउनु भयो । त्यो भन्दा ठुलो अपमान वहाँका लागि के हुन सक्छ ? सलिमबाट वहाँलाई ठुलो आसा थियो । आफ्नी आमा मुनि ३/३ जना सौतेनी आमा भित्र्याएपछी दाजुले गर्नु परेको संघर्ष र सलिमलाई मान्छे बनाउन दाजुले गर्नु भएको मिहनेतदेखी सलिम र म दुवै अनभिज्ञ थिएनौ । अतः ऊ दाजुलाई आदर गर्थ्यो-जति आफ्नो बावुलाई घृणा गर्थ्यो ।
छैठौ दिन बिहानै म ब्युँझदा सलिम छेउमै बसेर टोलाईरहेथ्यो । म ब्युँझेको चाल पाउने बित्तिकै ऊ मलाई आलिंगनमा बेस्मारी कस्यो । लाग्यो ऊ मलाइ अंगालीरहेको छैन । कुनै आवेशमा आएर झम्टिएको छ-मायाको भ्रम पालेर । सलीमको आलिंगनमा जवर्जस्ती च्यापिएर बसेको बेला मैले तातो आँसुको स्पर्श महसुस गरे काँधमा । उसको आलिंगन बाट फुत्केर मैले उसलाई हेरे । ऊ झनै असंयमित भएर मलाई अंगालेर रुन थाल्यो ।
सलिमको आँसु आँसु थिएन । उसलाई थाहा थियो त्यो सावने झरी हो । र त्यो झरिपछी पहिरो निश्चित छ-सम्बन्धमा । किन कि झरी पर्नु अघि अंधेरिमै सलिम रुपी बादलले पहिरोको सम्झौता गरि सकेको थियो-दाजुसँग ।
म एदमै हतोत्साहित भए । केहि सुझबुझ भएन । दाजुलाई फोन गरे । वहाँ पनि मेरो खोजीको लागि बुटवलबाट गाँउ जानु भएको रहेछ । मैले फोनबाटै सत्य भनिदिए-दाइ मैले सलिमसंग बिहे गरे । तर आजै राति उसले दाजुको करकापमा परेर अर्को मुस्लिम केटीलाई बिहे गर्यो । ऊ चाहन्छ कि,म ऊसंगै बसु । तर मैले के गर्ने सुझिरहेको छैन । हजुर जे भन्नुहुन्छ म त्यहि गर्छु ।
पर्सिपल्ट साँझ ३ बजेतिर दाइ आइपुग्नु भयो । त्यो साँझ उसको र मेरो सम्बन्धको अन्तिम दिन थियो । सलिमलाई कोहि पराइ स्त्रीको आलिंगनमा छाडेर म जाँदैथें-सदा सदाका लागि । छुट्ने बेला मेरा आँखा रसाएनन । सलिमको हातमा मायाको गहिरो चुम्वन छाडेर म मेरो दाइको हात समाएर लम्किए-जीवनको अनिइच्छित गन्तव्य भेटन ।
मन मस्तिष्क पुरै खाली खाली थियो । दाइले जता भन्नु हुन्छ त्यति डोरीइरहे । दाइको झर्काइ फर्काइ रिस आवेग सबै सबै सहदै पर्सिपल्ट बिहान ८ बजे काठमाडौँ भित्रिए । बिल्कुलै नयाँ शहर ,नयाँ परिवेशका विच म मुढो शरीर जता लडायो त्यति लडिरहे । कुनै चेतना कुनै भावना थे'न ममा ।
काठमाडौँ भित्रिएको छैठौ दिनको दिन मैले थाहा पाए-सलिमको स्थान सुमनले लिदैछ । कुनै आनाकानी,विरोधको नामै निस्केन मबाट । तर जब एउटा संवेदनशील घडी आयो तब सलिम मोह एका एक जागे । सुमनका बालिष्ठ पाखुरा पन्छाउदै हप्ता दिनदेखि अफ रहेको मोबाइल अन गरे । आकाशबाट असिना बर्सेजस्तो भटा भट एस एम एस का लर्को लागे । १२१ ओटा एस एम एस र एस एम एस भित्र अभिव्यक्त सलिम....। १२१ ओटा एस एम एस ले अघाएना । फोनै गरे । मैले त्यति बेला बिर्से कि,सुहागरातको रंगिन कल्पनामा कोहि मेरो पर्खाइमा छ । म यी सबै कुराको बेवास्ता गर्दै धारा प्रवाह बोल्न थाले-सलिम,म आज फेरी सुहागरातको गम्भीर घडीमा छु । प्रेम बिना पनि सुहागरात हुन्छ यो जानेर तिमीलाई अचम्म लाग्ला । तर बिश्वाश गर सलिम तन सामेल होला सुहागरातमा,मन हैन । र यो पनि जानी राख,सुधाको हरेक रातको ढोका सलिमका लागि बन्द छ ।
उताबाट कुनै आवाज आएन । मलाई थाहा थियो-ऊ मलाई सुन्दैछ ।म एकोहोरो बोलीराहे-जसरी तिम्रो प्रेम तिम्रो दाइको अघि झुक्यो,त्यसै गरि मेरो पनि झुक्यो । फरक यत्ति हो,तिम्रो प्रेम धर्म बचाउका लागि झुक्यो र मरो प्रेम अस्तित्व बचाउका लागि झुक्यो । त्यस रात तिमी मलाई छाडेर अर्की कुनै बेदाग केटीलाई अन्गाल्दैनथ्यौ त म प्राप्तीको खातिर विद्रोहको तुफान मच्चाईदिन्थे । तर अब त्यो पनि जरुरी छैन । म तिमी बिना अधुरो हुन्छु-जानी जानी तिमीबाट अलग्गिए । अतः मैले अब तिमी बिना बाँच्ने बानी पार्नु पर्छ ।
'सुधा तिमी कति सजिलो कुरा गर्छौ । तिम्रो मसंग बिहे भैसकेको छ । तिमी मलाई माया गर्छौ र म तिमीलाई माया गर्छु । फेरी भन्दैछौ-मैले सुमनसंग बिहे गरे ।'
उताबाट आद्र स्वरमा सलिम बोल्यो ।
'अनि म चाही के गरु त ? तिमी त मेरो जिन्दगीबाट गइसकेका छौ । तिम्रो यादमा तड्पी तड्पी बाँच्थे हुँला,तर यसरि म बाँचेको देख्न मेरो आमा बुवा दाइले सक्नु हुन्न । र सबै भन्दा महत्वपुर्ण कुरा त म यो दलदलबाट निस्केर धेरै अघि बढ्न चाहन्छु-सुमनसंगै ।'
'सुधा तिमी यसो गर्न कसरी सक्छौ ? हेर उसले हाम्रो वास्तविकता थाहा पाएपछि ऊ टुक्रिनेछ,तिमीलाई उसले खुब यातना दिनेछ । बरु तिमी त्यहाँबाट जति सक्छौ चांडो भाग । म तिमीलाई पर्खिरहेछु । तिमी पराइको काखमा तड्पी तड्पी बाँचेको म देख्न सक्दिन ।'
'सलिम,सुमन मेरो अतितसंग पूर्ण परिचित छ । ऊ पनि विवाहित पुरुष हो म जस्तै । बिहे गरेको एक हप्तामै उसकी श्रीमतीलाइ उसका आमा बाले ऊबाट छुटाएर अन्तै बिहे गरिदिएछन । अतः तिमी ढुक्क होउ सलिम,हामीले आ-आफ्नो अतित सहित एक अर्कालाई स्वीकारेका छौ ।
उताबाट रोएको आवाज आयो । यता म पनि आँसुले भिजिसकेको थिए । मोबाइल फ्यात्त फालेर घोप्टो परेर एकोहोरो रोइरहे । रुंदा रुँदै थाकेर त्यतिकै निदाएछु । ब्युँझदा भोलि भैसकेको थियो । सुमन ल्यापटपमा झुण्डीसकेको थियो । म ब्युंझेको चाल पाउने बित्तिकै ल्यापटप छोडेर म नेर आयो । र भन्यो-सुधा हामी आ-आफ्नो अतित भुलेर अघि बढ्नु पर्छ । गाह्रो छ तर म पुरा पुर् कोशिश गर्नेछु मनदेखि तिमीमा समाहित हुन ।
'सुमन म पनि हजुरमा हराउने कोशिश गर्नेछु ।'
भन्न त भने तर त्यो वाक्य बोलिरहँदा आफैभित्र कस्तो कस्तो संकुचन भैरहेको थियो ।
त्यहिदिन हामीमा अलिखित सम्झौता भयो-एक अर्काको अतित नकोट्टाउने र एक अर्काको इच्छा बेगर शारीरिक रुपमा एक नहुने ।
बिहेपछि सुमन र म काठमाडौँ नै रहन थाल्यौ । उसका आमा बाबुले पनि त्रिशुली आएर बस्न कर गर्नु भएन ।
बिहे गरेको तीन महिनापछि बैदेशिक रोजगारका लागि क्यानडा गयो । ती तीन महिनाक बीच हामी बीच केहि पनि भएन । जुन हरेक लोग्ने स्वास्नी बीच हुने गर्छ । जब जब हामी एक अर्कामा डुब्न खोज्थ्यौ तब सलिम हाम्रो अगाडी ठिंग उभेको पाउथे म । सुमन पनि हामी बिचको दुरी मेटिन नपाउदै लामो लामो सास फेर्थ्यो र अर्कोतिर कोल्टे फर्कन्थ्यो । उसलाई पछादिबत हल्लिएको देखेर म अनुमान गर्थे-ऊ रोइरहेको छ । म उसलाई आफूतिर फर्काउथे । ऊ झनै अधीर बन्थ्यो र एकोहोरो रुन्थ्यो । उसको रुवाईले मेरो पनि मुटु निचोरिन्थ्यो । अनि दुवै जना एकै ठाउँमा घोल्प्तो परेर रुन्थ्यौ-मनभ
ऊ क्यानाडा गएपछि म एक्लै भए । परिवारसंगै त्रिशुली गैर बसौ कि,भन्ने नसोचेको पनि हैन । तर खै किन किन एक्लै बस्न मन लाग्यो । हरेक पटक फोनमा उसले(सुनाम) सम्झाउदै भन्ने गर्थ्यो-त्यसै नबस । डिग्री join गर । त्यसतै खाली बस्दा मानसिक तनाव बढ्छ । तर मलाई अगाडी पढ्न पनि मन लागेन । ऊ गएको ४ महिनादेखि ट्राभल एजेन्सीमा रिसेप्सनिष्टको रुपमा काम गरिरहेछु । सुमन संग दिनमा झन्डै १ घण्टा च्याट हुन्छ । भौतिक रुपमा टाढीएर पनि मनको दूरी घटाउने कोशिसमा छ ऊ । प्रयास म पनि गरिरहेछु । तर प्रयास व्यर्थै खेर गैरहेछ ।
ऊफ! झनै बेचैन छु । साँच्चै मेरो मन मस्तिष्कबाट सलिम मोह किन मेटिदैन ? सलिम र भदौ १८ ले मरो जिन्दगीमा यति साह्रो किन अड्डा जमाएर बसेको छ? प्रिय सलिम, म तिमीलाई भुल्न चाहन्छु । तिम्रो त्यो साथ,प्रतिबिम्व अनि ती विषाक्त यादहरु सबै सबै बाट मुक्ति चाहन्छु । म आफैलाई पलपल ढाँटेर सुमन कि पत्नी हुँ भन्ने झुटो ढों रचेर दुनियाँ सामु बाँच्न चाहन्न । सलिम, ए मेरो अतित ! म तनमन सम्पूर्ण रुपमा सुमनको हुन चाहन्छु । यसरी मुटु चुँडाउन,पागल बनाउन याद बनेर मेरो सामु न आऊ-अबदेखि कहिल्यै कहिल्यै न आऊ ।
Posted by Unknown
on 5:37 PM.
Filed under
feature,
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0