अदृश्य पर्खाल कथा
कथा
--सुधीर ख्वाबी
--सुधीर ख्वाबी
यतिखेर म हस्पिटलको इमर्जेन्सी वार्डको बाहिर राखिएको बेडमा अवाक मनस्थितिमा पसारिएको छुँ | मेरा वरिपरी परिचित मुहारहरु झुम्मिएकाछन् | मेरा आँखाले ती मुहारहरु चिन्न सकिराखेको छैन | मात्र म स्वर सुनिरहेको छुँ | होहल्लाहरुको माझ , चिच्याहटको त्यो मुटुनै सेरिनेखालको आवाजसंगै मानसपटलमा झ्ल्याक्क झुलूक्क फ्ल्यास जस्तै केहि निमेष अगाडिको घटनाको दारुण दृश्य चम्किरहेको छ |
सीमा आफ्नो सल्किरहेको गाउन निभाउने प्रयास गर्दै थिई, जतिबेला म उसको चिच्याहट सुनेर भान्छामा पुगें | आगोले उसको कपाल पनि टिपिसकेको थियो | आफ्नो हातले आफ्नो शरीरमा लागेको आगो निभाउने कोशिश गर्दै थिई | उसको मुखबाट लगातार चिच्याहट निस्की नै रहेको थियो |
म एकछिनको लागि स्तब्ध जस्तै बने | विवेक शून्य झैं बने | फेरि हत्तपत्त हातैले उसको शरीरको आगो निभाउने प्रयास गर्नथालें | भान्छा साँघुरो थियो | एउटा शटरमा भान्छा पनि , सुत्नेकोठा पनि अनि बिचमा रायक राखेर अगाडीको भागमा किराना पसल | एउटा बाध्यता ,एउटा संघर्ष , एउटा यात्रा अनि महँगो काठमाडौँको बसाइमा पसिनासंग साट्न लालायीत केहि थान सपनाको स्यामस्वेत रेखाचित्र जसमा साकारको इन्द्रेणी रंगले रंगाउने रहर, जुन यो आगलागीमा नराम्ररी घाइते भैसकेको थियो |
मेरो हातले मात्र आगो निभाउन गाह्रो लाग्न थाल्यो | मैले उसको हुरुरु बल्न थालेको शरीरलाई जुरुक्क काँधमा बोकें र बाहिर कुदें | यतिन्जेलसम्म बाहिर मानिसहरुको भीड जम्मा भैसकेको थियो | सीमा चिच्याउँदै थिई | शरीरको लुगा पूर्णत: जलिसकेको थियो | कसैले बोरा भिजाएर ल्याएर सीमालाई छोपिदियो | त्यतिन्जेल सम्म उ बेहोश प्राय: भैसकेकी थिई | कोहि एम्बुलेन्स बोलाउ भन्दै थियो , कोहि छिटो अस्पताल लैजाउ भन्दै थियो | दुर्घटनाको समय बाहिर खेल्दै गरेकी छोरी बिनिषा कहालिएर मलाई अंगाल्न आइपुगी |
'बाबा ! बाबा !! मम्मी ! मम्मी….!'- भन्दै डरले अबोध मुहार कालो निलो पार्दै रुँदै थिई | मैले मेरी छोरीलाई अंगालोमा लिएँ |
'के भो , के भो ? '- भीडको जिज्ञासा स्वभाविक नै थियो |
'कसरि, कसरी भो ? ग्यास लिक भा'को होला नि !' - आ-आफ्नै अनुमान र निर्क्यौल पनि |
'सिलिन्डर बिस्फोट भएको हो ?'- कोहि घटनाको बारेमा थप पुस्टि को लागि मरिमेटेको जस्तो पनि लाग्यो |
'आफैले मट्टीतेल छर्केर आगो लगाएको होला नि !'- - नकारात्मक सोचका हिलो छ्याप्न पनि भ्याए , कुनै कुनै मुखले |
'बुढाबुढीको खटपट थियो नि अस्ति देखि ! '- दुर्घटनालाई आ -आफ्नै ढंगले शंकाको लंका गर्न थाले |
'होइन , लोग्नेले नै जलाएको होला नि ! विचरी सीमा !'- रमिते भीडबाट चरम निक्रिस्ट विचार पनि फ्याँकियो |
'उफ़! यो लोग्नेमान्छे भनेको यस्तै हुँदो हो !'- कुनै महिलाको यो आवाजले मेरो कानमा होइन मुटुमा नै चसक्क बिझ्यो |
उफ ! जतिवटा मुख त्यति नै कुरा | डेराबाट अस्पताल नजिकै थियो | सीमालाई एउटा तन्नामा राखेर छिमेकीहरुले अस्पतालतिर कुदाइ हाल्यो … त्यसको पछी पछी म पनि छोरीलाई बोकेरै बदहवाश बनेर दौडें | मेरो हालत पागलको जस्तै भैसकेको थियो | रमितेहरु पनि मेरो पछी पछी आइरहेको थियो | बाटोमा छिमेकी दिदीले बिनिशालाई बोकिन |
अस्पताल पुगें म | सीमालाई इमर्जेन्सी वार्डको ड्रेसिंग कोठाभित्र लगियो | मलाइ बाहिरै एउटा बेडमा राखियो | भित्र कोठाबाट सीमाको चित्कार बाहिरसम्म सुनी नै रहेको थियो | उसको चित्कार सामु मेरो जलेको घाउको कुनै तुलना नै थिएन |म एकछिन आँखा चिम्लेर बसें |मनलाई सम्हाल्ने कोशिश गर्न थालें |मलाइ बिस्तारै अनुहारमा जलन महसुश हुन् थाल्यो | दुईवटै हातमा पनि जलन महसुश हुन थाल्यो | आगोले पोलेको ठाउँमा फोका उठ्न थालिसकेको थियो |
यतिन्जेल बा आमा दिदिबहिनिका साथै सीमाका दाई दिदिबहिनिहरुपनि आइपुगे | कसले कसलाई कहिले खबर गरे केहि थाहा भएन | उनीहरू देखेपछी अनायासै मेरो आँखा रसाउन थाल्यो | दुखमा, पीडामा आफ्ना मानिस देखेपछि मन झन कम्जोर हुँदो रहेछ | आँखालाई पनि आँसु बगाउन हतार लाग्दो रहेछ | सबै अवाक बने | अनुहारको रंग फुरुंग उडेको जस्तो | कोहि केहि बोल्न सकेनन् | छिमेकी एकजनाले घटनाको विवरण दिन थाले |
बा त केहि बोल्नु भएन तर उहाँको आँखामा उर्लन उद्यत पीडाको बोध मैले गरें | आमा कहालिएर रुन थाल्नु भो | दिदि बहिनीहरुका पनि आँखा बहन थाल्यो | केहिछिन पछी बल्ल सोध्नु 'भो बुहारी खोइ त् ?'-जवाफमा मैले आँखा ले नै ईसारा गरें , त्यहाँ भित्र छ भनेर…! अनायासै मन भक्कानिएर आयो | मलाइ आकाश नै फाट्ने गरि , धर्ति नै भासिने गरि बेस्सरी रुन मन लाग्यो … तर म रोईन | किन हो किन रुन पनि सकिन |
प्राथमिक उपचारपछी हामीलाई एउटै कोठामा राखियो जहाँ दुइवटा बेड राखिएको थियो | सीमा प्राथमिक उपचार पछी पेनकिलरको कारण कराउन छोडेकी थिई | म आँखा चिम्लेर सोच्न थालें | डाक्टरले भनेको कुरा भत्भती उम्लेको तेल जस्तै भएर कानको बाटो भएर मुटु नै पोलेको महशुश हुन थाले | …'धेरै नै जलेको छ पेट, छाती र अनुहार पनि ' तर पनि ठिक त हुन्छ | महिना दिन जति लाग्छ होला |'
अनायास म झस्कें | सीमा मुस्कुराउन्दै मेरो सामु देखापरी …पोते , सिन्दूर र चिटिक्क रातो सारीमा सजिएकी | मैले हत्तपत्त आँखा खोलें … सीमा आफ्नो बेडमा सुति नै रहेकी थिई | उसको शरीरभरि मात्र होइन , पुरा अनुहार नै ब्यान्डेजले बाँधिएको थियो |
*************************************************************************
. आज सीमा बितेको महिना दिन भो | डाक्टरले निको हुन महिना दिन जति लाग्ला भनेको थियो | तर महिना दिनमा निको हुनुको साटो उसले जीवनबाट नै मुक्ति पाई | म अक्सर सोच्न थाल्छु अचेल | प्रलयको लागि मात्र केहि सेकेन्ड समय लाग्छ तर त्यसले छोड्ने प्रभावबाट उन्मुक्ति पाउन एउटा जिन्दगीले भ्याउन गार्हो हुने गर्छ |
हाम्रो जीवनको यो त्रासद समयमा मेरो उ प्रतिको मायामा कमि आएको हो की जस्तो लाग्छ | किन कि जब म १५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएँ त्यति बेला सम्ममा म जनरल वार्डमा शिफ्ट भैसकेको थिएँ ,उ आई सी युमा | तर म उसलाई न भेटिकन नै , केहि नबोलिकन नै म चुपचाप घरतिर आएँ | दुर्घटना भएको दिन देखि नै उ मेरो मानसपटलम़ा आउन थालेकी थिई | आँखा चिम्लेर बस्दा पनि , अनि सपनामा पनि | उही सजिसजाउ रातो सारीमा मेरो अचेतन मनभित्र देखिन थालेकी थिई | किन हो किन मलाई डर महशुश हुन्थ्यो |
दुई वर्षको प्रणय सम्बन्ध पछि घरपरिवारको सहमति नभएपनि आफूखुशी गरेको विबाहपनि पाँचवर्ष बितेको पनि पत्तो पाएनौ हामीले |अथाह खुशीको इन्धनुषी रंगको बिचमा छोरी बिनिशाको आगमनले जीवनलाई अझ सुन्दर र संघर्षप्रति अझ हौशला र उत्साह थपिदिएको थियो |
खुशीका पलहरु किन क्षणिक हुने गर्छ ? किन यति छिटो समयले आफ्नो रूप फेर्ने गर्छ ? किन अप्रत्यासित असहज अवस्थाहरुले सुन्दर जिन्दगीलाई घेर्न , सताउन आउँछन् ?
सायद जिन्दगि जस्तै खुशीको पनि भरोसा छैन रहेछ | कहिले कसरि नाता तोडेर विलय हुने गर्छ , थाहा भएन |
जिन्दगि रहस्यमय पनि हुँदो रहेछ | माया , बिश्वास र आस्था पनि कम्जोर धरातलमा प्रस्तूत हुँदो रहेछ |
सीमासितको यो जीवनको सहयात्रामा कसरी कसरी असहज परिस्थिति प्रतिबिम्वित हुन् थाल्यो | सुन्दा पनि विश्वास गर्ने गार्हो लाग्ने , आँखाले देखेर पनि विस्वाश गर्न नसकिने , हुन त मैले उसित वर्तमानमा माया गरेको हुँ , साईनो गाँसेको हुँ | उसको अतीतसंग मैले सरोकार राख्नु नपर्ने हो तर मैले सायद सोच्नै नसक्ने , सोच्दै नसोचेको कुराको खुलासाले म आक्रोशीत भएको हुनु पर्छ | जब मैले अहिलेको समयमा आएर सीमाको पहिलो बिबाह , सम्बन्ध विच्छेद अनि दस वर्ष को एउटा छोराको बारेमा थाहा पाएँ |
पर्दा त उठ्यो ,तब मैले सोधें सीमालाई - 'के यसमा सत्यता छ सीमा ?'- उ नाजवाफ बनेकी थिईन . मुहार कान्तिहीन | उ जहाँको त्यहीं थचक्क बसेकी थिईन |
मलाई लाग्छ , विहे हुनु पारपाचुके हुनु अथवा बच्चा हुनुमा उसको दोष त होईन | उ परिस्थितिमा फंसेकी मात्र हो | तर पनि मैले उसको अतीतको कुनाकाप्चा सबै चहारें र यो कुराको थप पुस्टिपछी म ठगिएको जस्तो भएँ | त्यो दिन म उसित एकपटक फेरि धेरै नै कराएँ तर उसले केहि बोलिनन् | त्यसदिन पछी उसले हाँस्न बिर्सेकी थिईन | सँधै चुपचाप बस्थी |
आज सोच्छुं म , जब हुनु उसको स्मृति मनभरि भक्कानिएर भरिएर आउँदा , मैले मन पराएँ उसलाई , हृदय देखि आत्मा देखि तर पनि किन उसको अतीत प्रति सहज हुन सकिन | हामी बीच एउटा अदृश्य पर्खाल ठडिन थाल्यो | र चुलिंदै पनि गयो | दिन बिते महिना कटे वर्ष फेरे तर पर्खाल ढलेन | हामी बिचको त्यो अदृश्य पर्खालको पारी मलाई लाग्छ उसले आफ्नो जीवनको दियो आफैले निभाउने प्रयास गरेकी थिईन | उसको प्रयासले उसलाई त जित्यो तर उ आफै त हारिन हारिन मलाइ मात्र होइन आफ्नी छोरीलाई समेत हराएर गईन . मलाई छटपटी लागेर आउँछ | उसले अतितको चोट मात्र लुकाइन म देखि | सायद जिन्दगी भरिका ती तीता दुस्वप्न भुलाई नयाँ रूपमा शुरु गर्न चाहेकी होलिन तर समयले किन फेरी उसको घाऊको खत देखाए ? के समय बलबान छ भनेको यहि त होइन ?
मन मरेपछि संसार रितो लाग्न थाल्छ , जिन्दगि बोझ लाग्न थाल्छ , नातागोता समाज बिरानो लाग्न थाल्छ | यस्तोमा भावुक ज्यानलाई सम्हाल्न सकेन भने कसरी खण्डित हुनपुग्छ , ओझेल पर्न सक्छ , एउटा निर्जीव तस्बिरमा अनुवाद भएर स्मृतिको भित्तामा झुन्डिन पुगेको हुन्छ |
उ निरासाको भुमरीमा फँस्न पुगिन जहाँबाट मैले उसलाई निकाल्नु पर्थ्यो म अदृस्य पर्खालको वारी बसेर आफ्ना गुनासाका प्लास्तरले त्यो पर्खाललाई अझ बाक्लो बनाउंदै लगें …करिब वर्षदिन सम्म … र आज त्यो पर्खाल मेरो मनमा हुनु नहुनुको अर्थ केहि रहेन तर … उ पनि त रहेन सायद मेरो असहिश्नुताको ,कारण .. यस्तै लाग्छ ….के अतीत भुलाई हाँसि हाँसि जिउन किन गाह्रो हुन्छ ?
संगै सुतेकी छोरी बिनिशा चलमलाउन थाली , निन्द्रामा बर्बराउन थाली ….' मम्मी मम्मी पानी खाने , मम्मी तपाइँ कहिले आउने !…'
मेरो आँखा धमिलो भएर आयो सायद आँखामा पनि आँसुको पर्खाल बनिदियो स्मृतिको यो पलमा |
सुधीर ख्वबि
Posted by Unknown
on 11:39 PM.
Filed under
feature,
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0