यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कथा 'शान्तिवन'



यो कथा युएईबाट प्रकाशित हुने परदेश बर्ष -३ अंक -४ प्रकाशित भएको हो साथै कथा संग्रह 'अँध्यारो'मा पनि समावेश छ ! आज तपाईंहरुलाई बाँड्दै छु । 


साँझ झमक्क परिसकेको थियो । चारो खोज्न गएको ढुकुर अझै सम्म गुँडमा नफर्किएकोले ढुकुर्नी चिन्चित भई । भर्खर प्वाँख पलाउँन लागेको बचेँरालाई काखमा च्यापेर सुताउँने प्रयास गर्दै थीइ ऊ । तर बचेँरा सुत्न मानिरहेका थिएन । 
"आमा! आमा! आज मलाई एउटा मिठो कथा सुनाउँनुहोस न"-तोतेबोलिमा बचेँराले भन्यो । 
"तेरो बाबा अझैसम्म आउँनु भएको छैन । कतातिर जानु भयो? मलाई चिन्ता लागिरहेको छ । तिमी भने कथा सुनाउ भन्छौ ।"-आमाले झिजो मान्दै भनिन् । 
"होइन आमा, बाबा नआईपुग्दासम्म आज एउटा कथा सुनाउँनै पर्छ ।"-बचेँराले झनै ढिपी गर्न लाग्यो । 
ढुकुर्नीले केही सिप नलागेपछि कथा सुनाउँन थालि-"लौ सुन ध्यान दिएर" 
एकादेशमा एउटा सुन्दर वन थियो । त्यो सुन्दर वनलाई शान्तिवनको नामले चिन्दथे । त्यो शान्तिवनलाई त्यसै शान्तिवन भनिएको थिएन । माथि सुन्दर हिमश्रिंखला,तल बिशाल,फाँट त्यसैको बिचमा थियो त्यो शान्तिवन । त्यहाँ लालिगुराँस, सुनाखरी, लालुपाते र अन्य बिभिन्न किसिमका फूलहरु ढकमक्क फुलेका हुन्थे । कञ्चन र सफा पानीका झरनाहरु, न्याउलिको मिठो भाखा, कोइलिको कुहु-कुहु, डाँफे-मयूरको नाचमा सबै प्राणी लठ्ठ पर्थे । त्यो वनको बिचमा वर-पिपलको रुख थियो र त्यही रुखको चौतारीमा सबै किसिमको प्राणीहरु मिलेर बस्दथे । त्यहाँ कसैको कसैसँग दुस्मनी थिएन । एकार्कालाई अतिनै विश्वास गर्दथे । त्यसरी आपासमा मिलेर बस्ने गुण त्यही छहारीमा मात्र भए झैं लाग्थ्यो । त्यसैले त्यो ठाउँको नाम शान्तिवन भनि प्रख्यात भएको थियो । 
" अनि के भयो त आमा?" बचेँरा अझै अगाडिको कथा सुन्न उत्सुक भयो । 
त्यसपछी समय आफ्नै गतिमा निरन्तर दौडिरह्यो । समयको बहावसँगै वरिपरी अन्य वनमा लोभ,पाप,स्वार्थ र धनको दुषित हावा चलिरहेको थियो । त्यो हावा विस्तारै शान्तिवनको नजिक पुग्यो । त्यो शान्तिवनको शान्त बातावरण देखेर उनिहरुलाई त्यहाँको बातावरण दुषित बनाउँन मन लाग्यो । उनिहरुको काम नै त्यही थियो । एकदिन प्रजातन्त्रका नक्कली रुप धारणा गरी त्यो शान्तिवनको ढोकामा बास माग्न पुग्यो । साँझको समयमा आएको पाहुनालाई भगवानको मान्ने त्यो शान्तिवन वासिले स्वागत सत्कार गरी जतिदिन बस्न मन लाग्छ बस्नु भनी वास दिए । प्रजातन्त्र रुपधारी लोभ,पाप,स्वार्थ र धनले केहीदिनमा नै आफ्नो रंग देखाउँन सुरु गरी हाल्यो । त्यहाँको प्राणीहरु बिचमा शङ्खा-उपशङ्खा उत्पन्न भयो । यो मेरो त्यो तेरो, यो मेरो काम त्यो तेरो काम, म ठुलो तँ सानो, म धनी तँ गरीब इत्यादी कु-भावना तिब्ररुपमा ब्रिद्धी हुँदै गयो । त्यसैले उनिहरु बिभिन्न गुट-उपगुटमा बिभाजन हुँदै गए । आफु शक्तिशाली हुन अरुलाई कसरी दबाउँने भन्ने उपाए सोच्न थाले । सयौं बर्षदेखी शितल छहारी दिंदै आएको वर-पिपलको रुखमाथि पनि विश्वास रहेन । शान्तिवनको प्राणीहरुको बिचमा अबिश्वास भुसको आगो झैं सल्कियो । लोभ,पाप्,स्वार्थ र धनको प्रभाव बढ्दै गएपछि अशान्ती हुनु त स्वाभविक थियो । अरुलाई तलपारी माथि जाने होडमा कती निर्दोश प्रानीहरुको ज्यान गयो । शितल छहारी दिने वर-पिपलमाथि पनि निरंकुशताको आरोप लाग्यो । सबैलाई समानता हुनुपर्छ भन्ने फोस्रो माग बढ्दै गयो । "यदी यो शान्तिवनमा पुन:शान्ती छाउँछ भने ठिकै छ तिमीहरुलाई मेरो अधिकार बाँडी दिन्छु" वर्-पिपलले घोषणा गर्यो । 
"अनी त्यसपछी शान्ती भयो त आमा?" बचेँराले सोध्यो । 
ढुकुर्निले अगाडि कथा भन्दै गैन्- लोभ्,पाप,स्वार्थ र धनको हातमा अधिकार आएपछि आफूलाई पनि समस्या नाअवोस् भनेर आफु सुहाउँदो कानुन बनाउँन लाटोकोसेरो तम्सियो र कानुन बनायो । त्यही कानुन अनुसार पहिलो पटक बकुल्ला शान्तिवनको नाईके चुनियो । तर लोभ,पाप,स्वार्थ र धनको मोहमा फसेको बकुल्लाले पल्लो खोलाको पानी फाँटको ब्वाँसोलाई बेच्यो । आकाशमा उड्ने ठुलो माछो सिङ्गै निल्यो । त्यसपछि सुगा,गिद्द आदी पानाइके भए र खान मिल्ने चिजजति सबै खाए । नाइके खानमै व्यस्त त्यो वनको स्थिती झन् झन् बिग्रदै गयो । त्यो शान्तिवनमा शान्तिको कुनै संकेत सम्मपनि देखिएन । त्यसरी अरुले मात्र मिठो फल खाएको र आफ्नो पालो नआएको देखेर एकहुल सारौंलाई रिस उठ्यो । बिरोध गर्ने नाममा शान्तिवनभरि बिध्वङ्स मच्चाउँन थाल्यो । त्यो शान्तिवनको सोझासिधा अन्य प्राणीहरु बिचमा खैलाबैला मच्चियो । कती रुखहरु गर्लम्म ढले । अन्य प्राणीहरु त्रासले अन्य वनतिर भाग्न थाले । लोभ,पाप,स्वार्थ र धनको मोहमा आतङ्क झन बढ्दै गयो । वर-पिपल केही गर्न सक्ने स्थितिमा थिएन तैपनि राम्रो बाटो हिंड्न सुझाब दिंदै थियो तर कस्ले सुन्ने ? अशान्ती झन् बढ्दै गयो । त्यस्तो कठिन अवस्थामा एकदिन ठुलो भुकम्प गयो । भुकम्पको केन्द्रबिन्दु त्यही वर-पिपलको चौतारी परेछ । वर-पिपलको रुख गर्ल्यामगुर्लुम ढल्यो । वर-पिपलको रुख ढल्दा शान्तिवनका सम्पूर्ण बनस्पती प्राणीहरु चिच्यायो ,करायो, बिलौना गर्यो तैपनि पापी समय रोकिएन । आखिर जे नहुनुथ्यो त्यो भएरै छोड्यो । तर त्यत्रो भुकम्प जाँदा फाँटतिरका ब्वाँसो,हिमाली भालु, डाँडापारी साँढे र स्यालहरुले के भयो भनेर सम्म पनि सोधेनन् । शान्तिवनका प्राणिहरुको दु:ख बढ्दै गयो । उनिहरुको दु:ख भुलाउँन अर्को त्यस्तै ठुलो रुखको ओत लाग्नु जरुरी थियो ।त्यसैले केही परको वर-पिपलको रुखमा छहारी लिन थाले । तर त्यत्रो भुँईचालो गएको बेला पनि सारौंहरु भन्दै थिए-वर-पिपलको रुख ढलिसक्यो अब हामीले अर्कै खालको रुखमा ओत लाग्नुपर्छ । आऊ हामी सबै सल्लाको रुखमा बसौं । उनिहरुले दवाबदिन थाले । तर वर-पिपलको छहारीमा बस्ने बानी परेका प्राणिहरु सल्लाको रुखमा कहाँ बस्न सक्थे र? सारौंहरुले वर-पिपलको रुखको औचित्य समाप्त भएको घोषणा गर्यो । यस्तो दु:खद स्थितिको फाईदा उठाउँन व्यस्त थियो, बकुल्ला,सुगा,हुटिट्याउँ,लाटोकोसेरो,बुढो गिद्द र चमेराहरु चौतारीको बिचमा को बस्ने भनेर । त्यहाँ झन् झन् अशान्ती बढ्दै गयो । त्यही बेला सुगाले आफ्नै गुँड भत्कायो । बकुल्ला र सुगाको जुधाइले बनमा अझै त्रास थपियो । भोको हुटिट्याउँ कहिले सुगाको पछी,कहिले बकुल्लाको पछी कहिले गिद्दको पछी लाग्दा सँधै धोका खायो र भुतुक्कै भयो एकदिन । मौका पाईन नत्र संसार धान्थें भन्थ्यो हुटिट्याउँ । आखिर ति सबै केही गर्न सकेन । 
"त्यहाँ कसैले शान्ती ल्याउँन चाहेन त आमा?"-बचेँराले सोध्यो । 
ढुकुर्निले अगाडि थप्दै गईन् । 
-खै के भनौं बाबु! त्यसपछी सुगाले सारौं धपाउँन छाडेको बाजले उत्पात मच्चायो । सारौंसँग चुच्चो जुधाइ गर्दा कति कलीला डाली भाँचिए,कती फूलको कोपिला झरे, कती चराका गुँड भत्कियो हिसाबै थिएन । त्यो शान्तिवनमा सग्ला रुख,पखेटा लागेका पंक्षी र भाग्न सक्ने कुनै प्राणि बाँकी थिएनन् । जती नाइके फेरिए पनि त्यो वनमा शान्ती आउँन सकेन । त्यसपछी वर-पिपलको रुख अघी सरेर शान्ती ल्याउँन खोज्यो तर त्यसको लागि सबैभन्दा पहिले लोभ्,पाप, स्वार्थ र धनको मोहबाट छुटाउँनु आवश्यक थियो अनी त्यसपछी सुगा,बकुल्ला,हुटिट्याउँ आदिलाई पिंजडामा हाल्नु पर्दथ्यो तर त्यसो नभएको हो कि झैं थियो तैपनि हुलकाहुल बाजहरुलाई छोडियो । सुगा, बकुल्ला, हुटिट्याउँ आदिलाई कहिले पिंजडामा थुनियो कहिले छोडियो तर कसैलाई दु:ख नदिने परेवा र खतरा वा शुभ संकेत दिने कागलाई भने पिंजडाभित्रै राखियो । अझैपनि शान्तिवनमा हाहाकार मच्चिएकै थियो । रगत पानी झैं बगिरहेकै थियो । त्यो स्थिती कहिले सम्म चल्ने.....? शान्तिवनभित्रका वर-पिपल, बाज, सारौं, बकुल्ला,सुगा, हुटिट्याउँ र अन्य मै हुँ भन्ने प्राणीहरुले आफ्नो हठ नत्यागे सम्म शान्ती हुन सम्भव थिएन बरु ब्वाँसो,भालु,स्याल र साँढेहरु शान्तिवानभित्र घुसी हाम्रो अस्तित्व नै समाप्त हुन्छ कि भन्ने चिन्ता शान्तिवन वासिलाई थियो । 
"त्यो कुन ठाउँ हो र कहिले भएको हो आमा?"- बचेँराले फेरी प्रश्न गर्यो । 
"बाबु त्यो शान्तिवन यही हाम्रो वन हो र अहिले यहाँ भईरहेको कुरा हो यो ।"-ढुकुर्निले भनिन् । 
त्यत्तिनै बेला ढुकुर फत्र्याकफत्र्याक पर्दै गुँडमा आई पुग्यो । ऊ पुरै घाइते थियो । त्यहीं एकहुल सारौंहरु पनि आईपुग्यो । त्यसैको पछीपछी बाजहरुको ठुलो हुल आई पुग्यो । सारौं र बाजहरुको बिचमा घमासान लडाईं चल्यो । ढुकुर-ढुकुर्निको गुँड क्षतबिच्क्षत भयो । भोलिपल्ट बिहान ढुकुर-ढुकुर्नी र बचेँराको लास भुइँमा लडिरहेको थियो । 



दलबीर सिंह बराइली 'घायल' 
गुप्तेश्वर-३, रामेछाप 
हाल:अबुधाबी,युएई 

Posted by Unknown on 2:21 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कथा 'शान्तिवन'

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011