यथार्थ शान्ति
लघुकथा -------लोचन रिजाल
"ए बा ! हेर्नु न माथ्लाघरे ठुलेबा हामीलाई सामन्ती भन्छन् ।" श्यामवीरको सात वर्षे छोरो श्वेतवीरले आफ्नो बाबुलाई पोल सुनायो ।
खेत जोत्तैगरेको श्यामवीरले छोरातर्फ फर्केर भन्यो,"भन्नदे बाबु ! त्यस्ले हाम्रो भागको अंश समेत गुट्मुट्याएर हामीलाई अर्काको हलो जोत्नेसम्म बनाइदियो । अहिले त्यो अंशमारा पार्टीको कार्यकर्ता भएं भन्दैमा हामीलाई उल्टै शोषक र सामन्ती भन्दै हिड्छ । भन्नदे ,भन्नदे ।"
"अनि नि बा ! ति ठुलेबाको घर चारतले छ हाम्रोचाहीं सानो झुपडीमात्र किन त्यस्तो भाको ? ठुलेबाको जस्तो घर हाम्रो किन छैन ?" विचरा त्यो अबोध बालकले प्रश्न गर्यो ।
छोराको प्रश्न सुनेर श्यामवीरले आफ्नो मन खिन्न पार्दै भन्यो,"त्यस्ले हामीलाई मात्र होइन बाबु ! दुनियाँलाई शोषण गरेको छ अनि किन नबनाओस त तर हामीचाहीं त्यस्तो दुष्ट्याइ नगर्ने । बरु दु:ख नै गरौंला शान्तिले बसौंला ।"
छोराले चित्त बुझाएझैं गरी बाख्रापाठा धपाउंदै एकातिर लाग्यो ।
Posted by Unknown
on 2:12 AM.
Filed under
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0