रागप्रति - ४
रामगोपाल आशुतोष
प्रिय राग
सम्झनाको भर्याङमा
उत्सुकताको आँखा बिछ्याएर
म विस्मृत
विशाल नीलो आकाश ओढेर
तिम्रो बिछट्टै
न्यानो प्रेमको नवीन र
मौलिक गणतन्त्र
अनि संविधानमा लेखिएका
प्रत्येक धारा उपधाराबाट झर्ने थोपाथोपा
निर्मलजलबाट सिञ्चित
म आशाको घनघस्या उकालो फुल्दो छु
एक निमेष हर्ष पिएर
म आशाको काँडेभ्याकुर
रैथाने असारपुत्र
रात पिएर
समताको बिहान जन्मिन मनपराउँदो छु ।
पिउनेहरु पिइरहून्
पुतनाको अभिषप्त दूधहरु
पढ्नेहरु पढिरहून्
मार्क्स, लेनिन वा माओ
जिउनेहरु जिइरहून्
धूवाँको पर्दा हालेर पोलपोट जीवन
नाच्नेहरु नाचिरहून्
फूलको लाशमा ताण्डब नृत्य
हाँस्नेहरु हाँसिरहून्
आवरणमा क्रान्तिकारी खोल ओढेर
बाँच्नेहरु बाँचिरहून्
यथास्थिति र जमेको
हनुमन्तेको लेदो जीवन
पण्डित इतिहासका
कलङ्कित घण्टाकर्ण बूँख्याचा मठाधीशहरु
प्रिय राग
म हार्न नजान्ने रैथाने चेतना
म हराउन मन नपराउने नवीन विचार
म समताको इन्द्रेणी
म समावेशी विचार
म विधिको विधान
म मानो रोपेर
पाथी फलाउने कर्मबीर ज्यापू
म आँखा दान दिएर
आँखा हेर्ने समाजबादी व्यबहार
म आशुतोष
छाता ओढाएर अरूलाई
आँधीको, हुरीको
झरीको बेग लड्ने अटल पहरा
म हिमाली चितुवा
भारी बोकेर विश्वको सर्वोच्चता चिनाउँछु
संस्कार र सँस्कृति देखाउँछु
म पहाडी लाली गुराँस
कर्म र कठिनाइको रङ पढाउँछु
पहरा जीवनमा
रातो इतिहासको राष्ट्रिय गौरब फुलाउँछु
म तराईको हरियाली
म चारकोसे झाडी, मलिलो विचार
मेरो देशको जीवनभण्डार
आकाशरहीत
आँखाको आकर्षण नमिलेको
स्वयम्भूभैष
न्यायिक नाकको सौन्दर्य भत्केको
निसाफ कर्म र श्रमको डोको बोक्ने
एक रागी, एक अनुरागी
एक प्रेमी
समता सिर्जना र शान्त नेपालको
समाबेशी आवाज
इन्द्रेणी नेपालको गणतान्त्रिक फूल ।




I like this poem very much ............!