यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

लेख- कलामा नवीनता र मौलिकता


ज्ञानेन्द्र विवश

प्रकृति र संस्कृतिका हिसाबले मात्र होइन ललितकलाका दृष्टिले समेत नेपाल विश्वमै नमूना मुलुक हो । यस्तो सुन्दर, शान्त र समृद्ध मुलुकले नेतृत्वदायी अग्रज पाउन नसक्नु दुर्भाग्य भए पनि यहाँका अनेकौं सम्पदाहरूको उचित उपयोग गर्न सकियो भने हामीले धेरै फाइदा लिन सक्ने छौं । तर त्यस्तो अनुकूल
वातावरण बन्न सकिरहेको स्थिति छैन । सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने र पर्यटकहरूलाई नेपालमा निम्त्याउने घोषणा गरेको पनि निकै महिना व्यतीत भइसकेको छ । यसलाई सार्थक पार्न कलाका माध्यमबाट पनि सकारात्मक प्रभाव पार्न सकिन्छ । सायद यही कुरालाई मनन गरेर ‘नेपाल पर्यटन वर्ष’ को घोषणा समारोहमा कलाकारहरूलाई हजारौं जनसमुदायका माझ दशरथ रङ्गशालाको मैदानमा उतारिएको थियो । त्यहाँ कलाकारहरूले स्वतःस्फुर्त कलासिर्जना गरेर सो अभियानलाई सफल पार्ने प्रतिबद्धता जनाएका थिए । सहभागी कलाकर्मीहरूले त्यस ऐतिहासिक जमघटमा आफ्ना सिर्जनात्मक शक्तिको रामै्र सदुपयोग गरेका थिए । कलाका माध्यमबाट शान्ति, सद्भाव, मानवता, मित्रता र आनन्दका पवित्र भावनाहरूको विकास गराउन सकिने निश्चित छ । आजको सन्दर्भमा मानिसमा यी कुराको अभाव अत्यन्तै खड्किररहेको पाइन्छ । कलाले यसलाई जागृत गरिदिन सक्यो भने त्यो ठूलो कुरा हुने छ ।

नेपाली कलाक्षेत्रमा अहिले कलासिर्जना र कलालेखनको सशक्त सक्रियता पनि निकै नै बढिरहेको छ । वर्षदिन अगाडि मात्रै ‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान’ समेत हामीले लामो सङ्घर्षपश्चात् पाएका छौं । कलाप्रेमीका लागि यो अत्यन्तै सुखद कुरा हो । प्रतिष्ठानले तमाम कलाकारका भावना र मागलाई केही मात्रामा भए पनि पूरा गर्ने चेष्टा गरेको छ । तर यसमा गर्नुपर्ने कामहरू अझै धरै बाँकी नै छन् । आज नेपाली कलामा खासगरी युवापुस्ताको सिर्जनात्मक सहभागिता प्रशंसनीय रहिआएको पाइन्छ । खासगरी
कतिपय कलाकार्यशालाहरूमा स्थलगत रूपमा सिर्जना गरिएका कलाकृतिमा पाइने कलाचेतनाको स्तरले नेपाली कलाकारमा कलात्मक उचाइको सिलसिला अब राम्ररी नै प्रारम्भ भइसकेको अनुभव हुन्छ । त्यस्तै ग्यालरीहरूमा आयोजना गरिने कलाप्रदर्शनीमा बिक्री हुने चित्रका खरीदकर्ता समेत नेपाली हुनुले यसमा विदेशीको मात्रै आशा गर्नुपर्ने दिन अब टाढिसकेको पनि सहजै अनुभव गर्न सकिन्छ । यद्यपि कतिपय कलाकारहरूमा आफ्नो कामप्रति यथेष्ठ ज्ञान नभइरहेको पनि उनीहरूका कलाबाट बुझिन्छ । कलासिर्जना किन, केका लागि र कसरी गर्ने ? यी आदि सवालमा कलाकारहरू स्वयम् अलमलमा परिरहेको पाइन्छ ।
वास्तवमा सर्वप्रथम कलाको अर्थ, अभिप्राय वा भनौं कलाको परिभाषामा स्पष्ट भएपछि मात्रै कलामा हात चलाउनुको सार्थकता देखिन्छ । हुन त विभिन्न व्यक्तिले कलाको परिभाषा फरक–फरक किसिमले दिएका छन् । जसले जे जस्तो रूपमा कलाको परिभाषा दिए पनि कला भनेको कुनै पनि व्यक्तिको कलापूर्ण सुन्दर अभिव्यक्ति हो । त्यस अभिव्यक्तिले एकैसाथ रहस्य, सौन्दर्य, दीर्घायु तथा विश्वभाषाको काम गरिरहेको हुन्छ । त्यसैले कलाको कुनै भाषा नहुने भएको हुँदा पनि कलाका माध्यमबाट थोरै समयमा धेरै कुरा व्यक्त गर्न र बुझाउन सकिन्छ । यस्तो उपयोगी माध्यमलाई साथ लिएर लिन सकिने फाइदाका पाटाहरू पनि त्यत्तिकै धेरै हुन सक्दछन् । यद्यपि कलासिर्जनाको खास ध्येय चाहिँ हुनु पर्दछ । त्यसमा लामो साधना र समर्पण अनि सिर्जनात्मक भूमिका पनि उत्तिकै आवश्यक हुने गर्दछ ।

कला के हो र कला के चाहिँ होइन त ? भन्ने सन्दर्भमा पनि नवपुस्ताले अलिकति बुझ्नु फलदायी नै हुने छ । कलाको परिभाषामै अन्यौल उत्पन्न भएपछि द्विविधाका साथै अराजक स्थिति देखापर्नु स्वाभाविक हो । त्यसैे कलाकर्ममा आफ्नो नाता गाँसिसकेपछि त्यसको महत्व र सर्वमान्य परिभाषा वा सिद्धान्तमा प्रतिबद्ध हुनु आवश्यक छ । पहिलेका परम्परावादी कलाकारहरूको विचारमा कला भनेको प्रकृतिको दक्षतापूर्ण सुन्दर अभिव्यक्ति हो । त्यसैगरी आधुनिक कलाकारहरूले यस परिभाषामा सुधार गरी कलाको व्याख्या र बुझाईमा केही व्यापकता समेट्ने चेष्टा गरेका छन् । उनीहरूको बुझाइमा कला भनेको विचार र प्रकृतिको सकारात्मक, मौलिक वा सुन्दर–असुन्दर अभिव्यक्ति हो । त्यसैगरी उत्तर–आधुनिक कलाकारहरूले कुनै पनि विषयवस्तुलाई अनौठा रूपमा प्रस्तुत गरी दृष्टि आकर्षण गर्न सक्ने नितान्त निजी विचारको अभिव्यक्तिलाई कलाको परिभाषाभित्र समेटेका छन् ।

जे होस् कला भनेको जुनसुकै देश, जाति, भाषी, क्षेत्र, समुदायका मानिसको मौलिक र कलात्मक अभिव्यक्ति हो । पहिलेका कलाले सामाजिक रूपान्तरणमा ठूलो असर पार्ने गरेको पाइन्छ । त्यतिबेलाका चित्रकारहरू समर्पित र निःस्वार्थभावले चित्रसिर्जना गर्दथे । उनीहरूका चित्रमा प्राकृतिक सत्य र सौन्दर्यको उपस्थिति निकै सवलरूपमा हुने गर्दथ्यो । उनीहरू शाश्वतसत्य र सन्देशमूलक कलासिर्जनामा महत्व दिने गर्दथे । अहिले आएर कलामा वैचारिकपक्षको प्रभाव बढेकाले शाश्वतसत्यलाई बङ्ग्याउने काम हुन थालेको छ । यसले कलाको स्थापित मूल्य–मान्यतालाई नै तोडेर सुन्दर कलायात्रामा अराजक र उग्ररूप लिन बाँकी राखेको छैन । यसमा सचेत कलाकारवर्गले समयमै स्पष्ट नहुने हो भने कलाको अर्थ र अभिप्रायले अर्कै मोड लिने पनि निश्चित छ ।

प्रत्येक व्यक्तिलाई तत्कालीन परिवेश, वातावरणलगायत राजनीति, सामाजिक, धार्मिक, आर्थिक आदि अवस्थाले प्रभावित पारिरहेको हुन्छ । जस्तै कसैले राजनीतिक उद्देश्यले राज्य वा समाजलाई प्रभाव पार्न कलासिर्जना गरिरहेका हुन्छन् । कतिपय कलाकारहरूले सामाजिक, धार्मिक आदि क्षेत्रका विकृतिहरूलाई लिएर सन्देशमूलक कला बनाउने गरेका छन् । यसरी आफ्ना कलालाई कलाकारहरूले विभिन्न माध्यमका रूपमा प्रयोग गरिरहेको हामी पाउँछौं । आर्थिक दृष्टिकोणले बलिया राष्ट्रका धनी कलाकारहरूले क्लिष्ट र अध्यात्मवादी विचारहरू तथा वैचारिक दर्शनहरू बढीमात्रामा पस्किरहेका छन् । यता निर्धन राष्ट्रका कलाकारहरू कोही तिनका (पश्चिमी मुलुकका) पछि लागिरहेका छन् कोही अन्धानुकरण गर्नमा व्यस्त छन् । यसले गर्दा आफ्नो मौलिकता सङ्कटमा पर्न थालेको पनि पाइन्छ । कलामा मौलिकता भएन भने त्यसले आफ्नो राष्ट्रिय अस्तित्वको पहिचानलाई स्थापित गर्न सक्दैन । यस परिप्रेक्ष्यमा परम्परावादी कलाको बेग्लै महत्व छ । तर आज यसको मूल्य र महत्व कलाकारहरूकै कारण कमजोर हँुदै जानु दुःखलाग्दो विषय हो । यसमा सबै कलाकार सचेत हुनु आवश्यक छ । हिजोदेखि आजसम्म र भोलिका दिनमा समेत कलाको मूल्य–मान्यतालाई बचाएर राख्नका लागि समेत एउटा अभियानकै खाँचो खड्किएको छ । सधैँ सकारात्मक सोचका साथ अगाडि बढिरहने हो भने  र कलामा नवीनता र मौलिकतालाई कायम राख्ने कोसिस गरियो भने यसबाट हामीले अनेकौं उपलब्धी प्राप्त गर्न सक्ने छौं ।

bibas4mail@yahoo.com

Posted by Masti Entertainment on 9:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for लेख- कलामा नवीनता र मौलिकता

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011